April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार

हुने बिरुवाको चिल्लो पात

हामी सबैले भगवान् बुद्धको नाम त सुनेका नै छौँ । भगवान् बुद्धलाई हामी शान्तिका दूत पनि भन्छाँै । नेपालको रुपन्देही जिल्लामा जन्मिनुभएका भगवान् बुद्धलाई एसियाका तारासमेत भनिन्छ जो हामी सबै नेपालीहरूका लागि यौटा गौरवको कुरा पनि हो । भगवान् बुद्धले सबैलाई शान्तिपूर्ण जीवन बाँच्न, प्राणीहरूलाई माँया गर्न तथा सधैँ सत्यता पूर्ण जीवन बाँच्ने शिक्षा दिनुहुन्थ्यो । उहाँ धेरै ज्ञानी पनि हुनुहुन्थ्यो । तर के तिमीहरूलाई थाहा छ, भगवान् बुद्ध त्यसै भगवान् मानिनु भएको होइन । उहाँको व्यावहारिक, जीवन परिवर्तन गराउँने यस्तै अमूल्य नैतिक शिक्षाहरूका कारण उहाँ भगवान् भनिनुभएको हो ।
हुने बिरुवाको चिल्लो पात भनेझैँ भगवान् बुद्ध सानैदेखि शान्तिपूर्ण हुनुहुन्थ्यो । उहाँको सरल, सहज एवं सबै प्राणीहरूलाई मायाँ गर्ने स्वभाव बाल्यकालदेखि नै विद्यमान् थियो । हामीलाई थाहै छ भगवान् बुद्धको जन्म यौटा राज परिवारमा भएको थियो । उहाँको बाल्यकालको नाम सिद्धार्थ गौतम थियो । राजाहरूको घरमा सुख सुविधाको कमी हुँदैन । यही कारण कतिपय राजाहरूका सन्तान बिग्रिएका पनि हुन्छन् । तर सिद्धार्थ गौतमको विषयमा यो कुरा विपरीत थियो । बालक सिद्धार्थमा सुखसुविधामा अत्यधिक रमाउँने वा विलासी हुने कुनै किसिमको स्वभाव थिएन । सिद्धार्थकी आमाको मृत्यु सिद्धार्थ सानै छँदा भएको थियो । जसकारण सिद्धार्थका पिता महाराजा शुद्धोदनले बालक सिद्धार्थको पालनपोषणमा कुनै किसिमको कमी राखेका थिएनन् ।
बालक सिद्धार्थका फुपूका छोरा थिए देवदत्त, जो उमेरले सिद्धार्थका भाइ बराबर थिए । सानैदेखि देवदत्त र सिद्धार्थ सँगै खेल्थे । एक समय सिद्धार्थ आफ्नो बगैचामा घुमिरहेका थिए । बाटैमा उनले यौटा परेवा बाँण लागेर पीडामा छट्पटिएको देखे । त्यो दृश्य देखेर सिद्धार्थलाई साह्रै नराम्रो लाग्यो । उनले त्यो परेवालाई उठाएर नजिकै बोटबाट औषधी टिपी त्यसको उपचार गर्नतर्फ लागे । त्यत्तिकैमा देवदत्त धनु बोकेर परेवा खोज्दै आए । देवदत्तले सिद्धार्थको हातमा परेवा देखेर नजिकै गई परेवा आफूलाई दिन आग्रह गरे । तर सिद्धार्थले त्यो परेवालाई उपचार गरेर त्यसको घाउ हेर्दै साह्रै दयाका साथ समाइरहे । देवदत्तलाई त्यो देखेर साह्रै रिस उठ्यो र झोक्किएर उनले त्यो परेवा दिन भने । सिद्धार्थले देवदत्ततिर हेर्दै सोधे – “किन दिने नि यो परेवा तिमीलाई ? यो तिम्रो हो र ?”
देवदत्तले आफूले छोडेको बाँण देखाउँदै भने – “देखेनौँ ? मैले हानेको बाँण यसलाई लागेको छ ! यो त मेरो हो !”
सिद्धार्थले तुरुन्तै जवाफ दिए – “त्यसो भए त यो परेवा मेरो हो किनकि मैले मर्न लागेको परेवाको ज्यान बचाएँ जबकि तिमीले यसलाई मार्न खोज्यौ । कुनै पनि वस्तु त्यसको हुन्छ जसले त्यसको संरक्षण गर्छ न कि नाश गर्छ ।”
यति सुनेपछि देवदत्तलाई साह्रै रिस उठ्यो तर उनले केही भन्न सकेनन् र आफ्नो बाटो लागे । परेवा पनि ठिक भएर सिद्धार्थको कोमल हत्केलामा सुम्सुम्याउँदै साह्रै स्नेहका साथ खेलिरह्यो । हामी सबैलाई हाम्रा आमाबुवाले जन्म दिनुहुन्छ, पोषण गर्नुहुन्छ, पढाउनुहुन्छ लेखाउनुहुन्छ तथा यौटा ज्ञानी बन्ने प्रेरणा दिनुहुन्छ । हाम्रो जीवन आमाबुवाको लागि भइदिन्छ जसकारण हामी उहाँहरूको चित्त दुखाउन चाहन्नौँ । आमाबुवाले हामीलाई नयाँ जीवन दिएका कारण हाम्रो जीवन उहाँहरूको ऋणी हुन्छ । देवदत्तले प्राण हर्ने चेष्टा गरे जो दुष्टको विशेषता हो जबकि सिद्धार्थले जीवन दिने । यसरी जीवन रक्षा गरेका कारण परेवा पनि सिद्धार्थको भयो । सिद्धार्थले परेवाको प्राण रक्षा गरेर आफ्नो असलपनको परिचय दिए ।
यसै कारण हामीले पनि सबै प्राणीलाई माया गर्नुपर्छ । बालक सिद्धार्थ हुने बिरुवाको चिल्लो पात भनेझैँ पछि गएर पनि सबैलाई माया गर्ने बने र अन्तिममा बुद्ध भगवान् बने । देवदत्त बाल्यकालदेखि नै दुष्ट थियो र पछि पछि यौटा दुष्ट साधु बन्यो । ऊ यतिसम्म दुष्ट थियो कि बुद्धलाई सधैँ दुःख दिन्थ्यो र एकचोटि त उनलाई मार्ने प्रयास पनि गर्यो । यही कारण हो आज पनि देवदत्तलाई हामी सबै यौटा खराब पात्रका रूपमा लिन्छौँ । यस कारण हामीले बुद्धजस्तै बन्न बुद्धको जीवनबाट पाठ सिक्नुपर्छ र आफूलाई सधैँ सिधा बाटोमा लैजानुपर्छ ।