May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार

वृद्ध आमाबा हाम्रा लागि वरदान कि बोझ ?

मातृ देवो भव: पितृ देवो भव:

यो दिव्य उक्ति बाल्यकालदेखि हामी सुन्दै र पढ्दै आएका हौँ । उक्त उक्तिको अर्थ आमाबुबा देवता हुन् भन्ने कुरा हामीले राम्ररी नै बुझेका छौँ । साँँच्चै आमाबाभन्दा श्रेष्ठ को नै हुन सक्छन् ? नौ महिना कोखमा राखी, दुःखकष्ट भोगी हुर्काउने आमाको वात्सल्य र हाम्रा चक्षुमा एक महान् छाप छोडी स्वाभिमानी बन्न सिकाउने बुवा जस्ता अग्रज व्यक्तित्त्वको के बयान गरूँ ? 

वृद्ध आमाबा मेरा लागि आदर्श व्यक्तित्त्व हुनुहुन्छ । उहाँहरूको देनलाई कुन स्वरले धन्यवाद दिऊँ म ? आफ्ना हड्डी, शरीरका प्रत्येक अङ्‌ग खियाउँदै, आफ्ना इच्छा, आकाङ्‌क्षालाई त्यागेर छोराछोरीलाई मिठो याद, सद्भावका साथै बाल्यकालमा विभिन्न परिस्थितिहरूबाट जोगाउँदै, हुर्काउँदै, पालनपोषण गर्दै हाम्रो अस्तित्वका लागि कैयौँ दुःखकष्ट गर्ने मेरा जिउँदा भगवान् आमाबा मेरा लागि वरदान हुनुहुन्छ ।

वृद्ध आमाबा एउटा समाजको जीवन्त इतिहास हुन्, एउटा घरको अभिन्न अङ्‌ग हुन्, निधि र श्रृङ्‌गार हुन् । विगतको जीवनवृतान्तका साक्षी हुन् । समाजभित्र अवलोकन हुने सामाजिक संस्कार, रीतिरिवाज, परम्परा आदिका बाहक हुन् भने राष्ट्र निर्माणका सम्मानित व्यक्तित्त्वहरू हुन् । जीवनका अनेकन अनुभव, ज्ञान, बुद्धि, विवेक आदिलाई चलचित्र झैँ व्याख्या गर्दै आफ्ना भावी पुस्तालाई सत्‌मार्गतिर अग्रसर गराउने ती आमाबा हाम्रा प्रेरणाका स्रोत हुन् । यसरी बाधा, कष्ट, पीडा झेल्दै हामीलाई अघि बढ्न सिकाउने, डोर्‍याउँदै हिँडने हाम्रा आदरणीय आमाबाका लागि हामी सारथी हुनुपर्छ । बाआमाले छोराछोरीलाई उत्तम शिक्षादीक्षा, मायाममता, असल संस्कार दिई सभ्य, सुसंस्कृत बनाउँदै समाजिकीकरणमा सहयोग पुर्‍याउँछन् । तर, खोलो तर्‍यो लौरी बिर्स्यो भने झैँ निष्ठुरी बनेर समयसापेक्ष ती छोराछोरीहरू आमाबालाई बोझ ठान्दछन् । ती आमाबा आफ्ना सन्तानद्वारा बोझ ठानिनुमा न त जीर्ण शरीरको दोष हो न त चञ्‍चल युवावस्थाका किशोरकिशोरीको, दोष त केबल परिस्थितिको हो, जहाँ उमेरवृद्धिसँगै छोराछोरीको बुद्धि बढ्नुपर्ने ठाउँमा झन्‌ झन् तिनै सन्तान लाचार र आफ्ना मातापिताप्रति बेमतलवी बन्दै गएका छन् ।

म मेरी आमालाई माया गर्छु, बुवालाई आदर गर्छु भनी वकालत गर्नु र मातातीर्थे र कसेऔंसीका दिनमा सामाजिक सञ्‍जालका भित्ताहरूमा उहाँहरूका तस्बिर हाली साराका सामु ढोङ फैलाउनु मूर्खता हो, मानवताप्रति घिनलाग्दो हर्कत हो किनकि एउटा असल चरित्रवान् सुपुत्र, सुपुत्री भएर गर्नुपर्ने कर्म, दिनुपर्ने इज्जत त हामीले दिन सकेका छैनौँ, आमाबाले सुकेका रोटी खाएर छोराछोरीलाई नरम भात खुवाउनुपर्ने, आफूले पुराना लुगा लगाई चाडबाडमा नयाँ लुगा किनिदिने, ज्यालामजदूरी गरी छोराछोरीलाई हुर्काएको गाथा स्मरण गर्दा मेरा गहभरि आँसु टिलपिल हुन्छन् । छोराछोरीको सफलता चुम्‍न बाँचेका आमाबालाई तिनै सन्तानले बोझ ठान्दा म भक्कानिएर रुन थाल्छु, आमाबा बिरामी हुँदा, हात-खुट्टा भाँचिदा उहाँहरूको सेवामा तल्लीन हुन त परको कुरा हामी स्याहारसुसारमा लाग्‍नसमेत चाँहदैनौँ । के यही हो हाम्रो नैतिकता ? मातापिताले सन्तानको यस्तै कृतघ्‍न व्यवहार सहन हुर्काको हो ? उमेर बढेसँगै अचेलका युवाहरूमा न त जिम्मेवारीको भार बढेको छ न त विवेक नै पलाएको छ । घरमा ती वृद्ध आमाबाको उपस्थितिले रौनक बढ्छ तर तिनै आमाबाको उपदेश र अर्ती झन्झटिलो लागेर हामी उहाँहरूलाई वृद्धाश्रमतिर धकेल्छौँ । मुटुभरि रोदन, मस्तिष्कमा पीडा, आँखामा बलिन्द्रधारा आँसु र यादस्वरूप सन्तानको तस्बिर बोकेर तिरस्कार सहँदै आजीवन बैगुनी सन्तानका लागि रातदिन फेरि पनि तिनै आमाबा सन्तानसँग भेट्ने चाहना राख्छन् । सन्तानको स्वार्थी आदर आमाबाको निःस्वार्थ माया देख्दा सन्तानका लागि आमाबा वरदान हुन् तर आमाबाका लागि सन्तानको घिनलाग्दो व्यवहार बोझ साबित हुन्छ ।

ठक्कर खाएपछि फेरि उठेर गन्तव्य तय गर्न सकिन्छ तर गुमाएका आमाबालाई कुन पुकारले फिर्ता ल्याउन सकिएला ? हामी आफूलाई सभ्य र सुसंस्कृत ठान्छौँ तर तिनै भगवान‌्‌रूपी आमाबाको अपहेलना गरी हामी महान् बन्न खोज्छौँ । कुन देशको कुन भेषको संस्कार सिक्यौँ हामीले ? हाम्रा आमाबाले त पक्कै पनि सिकाएनन् होला, आमाबाले मप्रति गरेको अखण्ड बलिदान र सङ्घर्ष सम्झँदा आमाबा मेरा लागि ईश्वरकै वरदान हुन्, मेरो मर्म बुझ्‍ने, मलाई बुझिदिने एक सच्चा वर हुन् ।