May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार

जेन आयरभित्र रमाउँदा

पुस्तकको नाम: जेन आयर (Jane Eyre)
लेखक: सार्लोट ब्रोन्टी (Charlotte Brontë)
प्रकाशन मिति: १९ अक्टोबर १८४७
प्रकाशक: स्मिथ, एल्डर र सह
भाषा: अङ्ग्रेजी 

थोरै किताबहरू हुन्छन्, जसले पाठकलाई पूर्ण रूपमा फरक युग र संसारमा पुर्‍याउन सक्छन् । तीमध्येको एक हो- जेन आयर । १९औं शताब्दीमा प्रकाशित जेन आयरले एक अनाथ जेनको अपमानजनक बाल्यकालदेखि एक आत्मनिर्भर महिला बन्ने यात्राका बारेमा वर्णन गर्छ । जेन धेरै कठिनाइ र सामाजिक बाधाहरूको सामना गर्छिन् । अटल जेन जीवनमा आफ्नो मार्ग आफैँ कोर्छिन् । उनी बाल्यकालमा दुर्व्यवहार गर्न अस्वीकार गर्ने एक जिद्दी केटी भए पनि समयअनुसार परिवर्तन हुन्छिन् । आज्ञाकारी महिलाहरूको माग गर्ने त्यो संसारमा जेन विद्रोही छिन् । जीवनको उतारचढावका माझमा जेन खुसी सिर्जना गर्छिन्, राम्रा पक्षहरू खोज्छिन् । 

जेन आयरमा जेनको भित्री मनको भावना र सङ्‌घर्षको विस्तृत चित्रण गरिएको  छ । मलाई जेनको चरित्र विकासको क्रम अत्यन्तै सुन्दर लग्यो । गहिरो, सुन्दर र वर्णनात्मक लेखन यस उपन्यासका अरू राम्रा पक्ष  हुन् । त्यसैगरी, सुख, दुःख, डर, घृणा र दया जस्ता मानवीय भावनाहरू पनि यस पुस्तकमा जीवन्त पारिएका छन् । लेखकको साहित्यमाथिको दक्षता पुस्तकका हरेक पानामा स्पष्ट छ । पात्रहरू भावनात्मक रूपमा विकसित हुन्छन् र त्याग गर्न सिक्छन् । यो उपन्यास पढेपछि पाठकहरू समय कति परिवर्तन भएको छ भन्ने बुझ्‍ने छन् । निम्‍न र उच्च वर्गका बिच भेदभाव र पुरुषहरूसँग  महिलाहरूभन्दा बढी अधिकारहरू हुने समयको झलक पाउने छन् । 

यो पुस्तक प्रकाशनको पनि अनौठो कथा छ ।  पहिले कुरर बेल (Currer Bell) को नाममा यो कृति प्रकाशन भएको थियो । त्यसबेला महिला लेखक हुन धेरै कठिनाइ थियो । उनीहरूले लेखक हुन युद्धको सामना नै गर्नुपरे जस्तो हुन्थ्यो । समाजले महिलाहरूका कृतिलाई खराब र पढ्न लायक नभएको ठान्थ्यो । एक नक्कली पुलिगङ्‍ग नाम अपनाएर, सार्लोटले आफ्नो सुयोग्य कृति न्यायको आशामा पाठकसामु राखिन् । पछि १८४९ मा सार्लोटले प्रकाशकलाई आफ्नो परिचय खोलिन् । यसले उपन्यास र लेखकको वरिपरि जिज्ञासा जगायो । 

यो पुस्तक पढ्न लामो समय लागे पनि मलाई यसको लेखन निकै राम्रो लग्यो । सार्लोट ब्रोन्टीले यस उपन्यासको माध्यमबाट उत्कृष्ट कला प्रदर्शन गरेकी छन् । नारीवाद, लैङ्गिक भूमिका र इतिहासका बारेमा पढ्न चाहनेले यो पुस्तक पढ्नुपर्छ । प्रेम, आत्मनिर्भरता र आत्ममूल्यताको यो उपन्यास आज पनि सान्दर्भिक छ । त्यसैले  सबैले यो पुस्तक एक पटक पढ्नु उचित हुन्छ ।