राष्ट्रिय भिटामिन ए कार्यक्रमको औचित्य
हरेक साल वैशाख र कार्तिक महिनामा सञ्चालन हुने राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत २०८१ सालको पहिलो कार्यक्रम वैशाख ६ र ७ गते आयोजना हुुन गइरहेको छ । वर्षमा दुई पटक गरी पाँच वर्षसम्मका बाल–बालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने गरिएको छ । जुकाको औषधी एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ । नेपाल सरकारले २०५३ सालदेखि राष्ट्रव्यापी रूपमा भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै १५ वटा बहुशूक्ष्म पोषण तत्त्वले बनेको बालभिटा ६ देखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटालाई २०६६ सालदेखि समावेश गरिएको हो ।
किन आवश्यक छ भिटामिन ‘ए’ ?
हाम्रो शरीरमा आवश्यक पर्ने विभिन्न किसिमका पोषक तत्त्वहरूमध्ये भिटामिन पनि एक हो । भिटामिनहरूका विभिन्न प्रकारहरू हुन्छन् । तीमध्ये एक भिटामिन ए पनि हो । स्वास्थ्य सम्वर्धन र रोग प्रतिरक्षा शक्ति अभिवृद्धि गर्न मानव शरीरमा भिटामिनको भूमिका हुने गर्दछ । शरीरमा भिटामिन अन्य पोषक तत्त्वको तुलनामा अत्यन्तै थोरै मात्रामा आवश्यक पर्छ तर निरन्तर परिपूर्ति भइरहनुपर्छ । हाम्रै करेसाबारीमा सजिलै प्राप्त हुन सक्ने भिटामिन ए युक्त खाद्य पद्धार्थको नियमित आहारले समग्र रूपमा स्वस्थ रहन र त्यसको अभाव वा कमीले हुने रोगविरुद्ध प्रतिरक्षात्मक कार्य गर्दछ । यसको उपयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै राति वा कम प्रकास भएको अवस्थामा नदेख्ने स्थिति जसलाई हामी रतन्धो भन्दछौं, त्यसबाट जोगाउँदछ । भिटामिन एले छाला, श्वासप्रश्वास तथा प्रजनन स्वास्थ्यसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ ।
भिटामिन एको कमीका कारण बालबालिकाहरू दृष्टिविहीन हुन सक्छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार भिटामिन एको कमीका कारण हरेक वर्ष साढे २ लाखदेखि ५ लाख बालबालिकाहरू अन्धोपनको शिकार हुन्छन् । आहारमा भिटामिन एको कमी हुनाले नेपाललगायत दक्षिणपूर्वी एसियाका बालबालिकाहरूमा, आँखासम्बन्धी समस्याको जोखिम अति उच्च छ ।
यसको कमीले हुने पखालाजस्ता स्वास्थ्य समस्याले बच्चाको ज्यानै पनि जान सक्छ । त्यसैले हरेक मानिसलाई भिटामिन ए आवश्यक हुन्छ । विशेषगरी आमा र शिशुका लागि झन् आवश्यक हुने गर्दछ ।
भिटामिन एयुक्त खाद्यपदार्थ नखाँदा पनि शरीरमा यसको कमी हुन गई दृष्टि कमजोर हुनु, आँखामा आँसु नबन्नु, आँखा सुख्खा हुने, छाला, ओठ फुट्ने र मुखमा घाउ आउने समस्या हुन्छ । कमजोर दृष्टि वा अन्य कोर्नियल समस्याहरूको उच्च जोखिम हुन सक्छ ।
यसका साथै घाउ चाँडै निको नहुने, मूत्रासयमा सङ्क्रमण हुने सम्भावना पनि हुन्छ । भिटामिन एको कमीले बालबालिकाको वृद्धिविकासमा असर गर्ने, कुपोषण हुने र गर्भवती महिलाको स्वास्थ्यलाई असर गर्ने, प्रतिरोधात्मक क्षमतामा कमी आउनुका साथै दीर्घरोगहरू देखापर्दछन् । शरीरमा रगतको जाँचबाट भिटामिन एको मात्रा पत्ता लगाउन सकिन्छ ।
भिटामिन एले रक्तअल्पताबाट बचाउँछ । सङ्क्रमणको सामना गर्न मजबुत प्रतिरोधक क्षमता तयार पार्नुका साथै गर्भको शिशुको मुटु, फोक्सो, मिर्गाैला, हड्डी र आँखा बनाउन मद्धत गर्दछ ।
भिटामिन एको प्रयोग विशेषगरी बाल स्वास्थ्यसम्बन्धी रोग तथा अन्य समस्याहरूको उपचारमासमेत हुने गर्दछ । जस्तै; रतन्धो रोग, दादुरा, दीर्घ किसिमको झाडापखाला, कडा प्रकारको कुपोषण, श्वासप्रश्वाससम्बन्धी रोग तथा छालाको रोग आदि ।
बालबालिकाको ५ वर्ष उमेरभित्रमा मानसिक र शारीरिक विकास तीव्र गतिमा हुने भएकाले पोषणको कमी हुन नदिन भिटामिनयुक्त खानाहरू खुवाउनुपर्दछ ।
भिटामिन ए कसरी प्राप्त गर्ने ?
यो अत्यावश्यक भिटामिन दैनिक आहारमार्फत प्राप्त गर्न सकिन्छ । हामीले आफ्नो आहारमा बिटा क्यारोटिनयुक्त खाद्यवस्तुहरू समावेश गर्नुपर्दछ । जस्तै; पालक, गाँजर, आँप, मेवा, पाकेको फर्सी, ब्रोकाउली, गोलभेंडा, पालुङ्गो, रायोलगायत हरियो सागसब्जी, पहेंलो फलहरू, दुध, माछा, घिउ, अन्डाको पहेँलो भाग, आदि भिटामिन एको भरपर्दो स्रोत हुन् ।
भिटामिन एको आवश्यक मात्रा कति हो त ?
अनुसन्धानका अनुसार पुरुषले ९०० एम.सी.जी., महिलाले ७०० एमसीजी र बालबालिका र किशोर किशोरीले प्रतिदिन ३००–६०० एमसीजी भिटामिन ए आवश्यक पर्दछ ।
भिटामिन एका फाइदाहरू के के छन् ?
क) आँखाका लागी राम्रो
भिटामिन ए आँखाको ज्योति तेजिलो राख्नका लागि आवश्यक हुन्छ । किनकि भिटामिन एले आँखामा आउने प्रकाशलाई मस्तिष्कमा पठाउन विद्युतीय सङ्केतमा रूपान्तरण गर्न आवश्यक पर्दछ । भिटामिन एयुक्त आहारको पर्याप्त सेवनले आँखामा लाग्ने केही रोगहरूबाट बचाउन मदत गर्छ ।
ख) प्रतिरक्षा बढाउँछ
भिटामिन एले शरीरको प्रतिरक्षा प्रणालीको प्रतिक्रियात्मक क्षमतालाई उत्तेजित गरी रोग र सङ्क्रमणबाट बचाउने कार्यमा सहयोग गर्दछ ।
ग) हाडलाई बजबुत राख्ने
मानिसको उमेरअनुसार हाडलाई स्वस्थ र मजबुत बनाईराख्न प्रोटिन, क्याल्सियम र भिटामिन डी आवश्यक पर्ने मुख्य पोषक तत्त्वहरू हुन् । अनुसन्धानका अनुसार खानामा भिटामिन एको मात्रा पर्याप्त हुने मानिसमा हाड भाँचिने जोखिम ६ प्रतिशतले कम हुन्छ ।
घ) क्यान्सर जोखिम कम
केही विज्ञहरूले क्यारोटिनोइड्सको पर्याप्त सेवनले फोक्सो, प्रोस्टेट तथा अन्य प्रकारको क्यान्सरको जोखिम कम गर्न मदत गर्छ भनी पत्ता लगाएका छन् । भिटामिन एले कोशिकाहरूको वृद्धि र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यसैले यसले क्यान्सरको जोखिम कम गर्न सक्छ ।
ङ) प्रजनन र भ्रूण विकास
भिटामिन एले शुक्राणु र डिम्बको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले महिला र पुरुष दुवैको प्रजनन क्षमताका लागि आवश्यक हुन्छ । यसले भ्रूणलाई ढाकेर राख्ने झिल्लीलाई मजबुत बनाउनुका साथै भ्रूणका तन्तुहरूको वृद्धि विकासमा सहयोग गर्दछ ।
च) अन्य फाइदाहरू
छालाको समस्या छुटकारा मिल्नुका साथै कपालको वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । छालालाई स्वस्थ राख्दै छालामा हुने सुजनलाई पनि कम गर्न मदत गर्छ । अनुसन्धानका अनुसार भिटामिन ए नपाएका मानिसहरूमा एक्जिमा, छाला सुख्खा हुने, चिलाउने र सुन्निने समस्या हुन सक्छ साथै छालाका कोसिकाहरूलाई पनि दीर्घकालीन रूपमा क्षति पुर्याउन सक्छ । पेटको सङ्क्रमण, मुत्रमार्गको सङ्क्रमण स्वासमार्गको सङ्क्रमण आदिबाट समेत जोगाउने कार्य गर्दछ ।
रोग लागेर उपचार गर्न जानुभन्दा निरोगी हुनु धेरै राम्रो हुन्छ । तर, हामी धेरै जना यसप्रति सचेत छैनौ । त्यसैले रोगी भएर औषधोपचारमा धेरै पैसा खर्च गर्छौँ । भिटामिन ए कार्यक्रमले हामीलाई रोग लागेर उपचार गर्न जानुभन्दा निरोगी हुनु सिकाउँछ । घरआँगनमै स्वयम्सेवक पुगी भिटामिन ए वितरण गरिने भएकाले यो कार्यक्रम सर्वसुलभ र औचित्यपूर्ण छ ।
लेखकको सम्वन्धमा