June 3, 2026, Wednesday
२०८३ जेष्ठ २०, बुधबार

सामाजिक यथार्थवाददेखि समाजवादी यथार्थवादसम्म : विचार गोष्ठी सम्पन्न

काठमाडौं, माघ १७ – जनसांस्कृतिक महासङ्‌घको कार्यालय, पुतलीसडकमा आज “सामाजिक यथार्थवाददेखि समाजवादी यथार्थवादसम्म” शीर्षकमा विचार गोष्ठी सम्पन्न भएको छ। उक्त कार्यक्रमको सभापतित्व महासङ्‌घका अध्यक्ष भूमिका सुब्बाले गर्नुभएको थियो।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष तथा संस्कृति विभागका अध्यक्ष रघुजी पन्त प्रमुख अतिथि रहनुभएको थियो भने प्रा.डा. जीवेन्द्रदेव गिरीले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो। स्वागत मन्तव्य जनसाहित्यिक सङ्‌घ नेपालका अध्यक्ष नर्मदेश्वरी सत्यालले दिनुभएको थियो।

प्रा.डा. गिरीले कार्यपत्र प्रस्तुत गरी यथार्थ र यथार्थवाद, साहित्यमा यथार्थवादको पृष्ठभूमि, सामाजिक तथा आलोचनात्मक यथार्थवादको चर्चा गर्दै समाजवादी यथार्थवाद/प्रगतिवादका विविध पक्षहरूलाई गहन रूपमा व्याख्या गर्नुभयो। उहाँले प्रगतिवादको उद्भव, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी मान्यताको आत्मसातीकरण, अन्तर्वस्तु र रूपको सन्तुलन, वर्ग सङ्घर्ष, श्रमप्रतिको आस्था, असमानता अन्त्यको अठोट, समाजवादी मानवतावादको पक्षपोषण, अन्तर्राष्ट्रियतावाद र राष्ट्रियतावादको सबलीकरण लगायतका विषयमा विस्तृत विवेचना गर्नुभयो।

गोष्टिपत्र प्रस्तुतिपछि टिप्पणीकार प्रा.डा. हेमनाथ पौडेलले प्रस्तुत कार्यपत्र अत्यन्त अनुसन्धानमूलक रहेको उल्लेख गर्दै यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्वान्‌का सन्दर्भ समेटिएकोले अझ ओझपूर्ण भएको बताउनुभयो। उहाँले केही त्रुटि पनि औँल्याउनुभएको थियो। अर्का टिप्पणीकार महासङ्‌घकी उपाध्यक्ष नमुना शर्माले प्रस्तुत कार्यपत्रको महत्त्व उल्लेख गर्दै प्रगतिशील लेखकहरूले यसलाई साहित्यिक अभ्यासमा मार्गदर्शक बनाउन सक्ने विचार व्यक्त गर्नुभयो।

सहभागीमध्ये प्रा.डा. केसव प्रसाद सुवेदीले गोष्ठीपत्रमा समावेश गरिएका पूर्वीय चिन्तनलाई थप प्रकाश पार्नुभएको थियो। समय अभावका कारण अन्य सहभागीहरूले विचार राख्न पाउनुभएन।

प्रमुख अतिथि रघुजी पन्तले आफ्नो मन्तव्यमा मार्क्सवादी चिन्तन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक अवस्थाको चर्चा गर्दै आलोचनात्मक यथार्थवाद नै हाम्रो सन्दर्भमा प्रगतिशील हुने विचार व्यक्त गर्नुभयो। अन्त्यमा उहाँले प्रस्तोतालाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रमका अध्यक्ष भूमिका सुब्बाले प्रमुख अतिथि, प्रस्तोता, टिप्पणीकार तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो।

प्रा.डा. केशव सुवेदी, प्रा.डा. जगत्‌ उपाध्याय, डा. हरिप्रसाद सिलवाल, डा. गोविन्द आचार्य, विनोद मञ्जन, आरसी न्यौपाने, वसन्त रिजाल, लक्ष्मण तिमल्सिना लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रम राष्ट्रिय जनसाहित्यिक सङ्‌घ, नेपालका सचिव सोमनाथ दाहालले सञ्चालन गर्नुभएको थियो।