May 30, 2026, Saturday
२०८३ जेष्ठ १६, शनिबार

दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टा-साधकहरू सम्मानित

काठमाडौँ । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले २७औँ वार्षिकोत्सवको अवसर पारेर हालै नेपाली साहित्य, संस्कृति र समाजसेवाका क्षेत्रमा योगदान गर्ने दस जना स्रष्टा-साधकहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ ।

पूर्व राजदूत तथा कुटनीतिज्ञ प्रा.डा. जयराज आचार्यको प्रमुख आतिथ्य एवं प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा दायित्व वाङ्मय विशिष्ट सम्मानबाट साहित्यकार पवन आलोक र डा. रामप्रसाद दाहाल तथा दायित्व वाङ्मय सम्मानबाट प्रा. माधव घिमिरे र नारायण ज्ञवालीलाई सम्मान गरिएको थियो । यसैगरी विद्वच्छिरोमणि हेमराज पुरस्कारबाट प्रा. नीलमणि ढुङ्गाना, हरिकला-गुणाकर दायित्व रचना पुरस्कारबाट माधव काफ्ले, दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कारबाट नि:सहाय सेवा सदन, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार २०८२ र २०८३ बाट क्रमश: सरस्वती चौलागाई र गार्गी चौलागाई र दायित्व सीता पन्त स्रष्टा पुरस्कारबाट निर्मलरमण पराजुलीलाई सम्मानित गरिएको थियो ।

विद्वच्छिरोमणि हेमराज पुरस्कार रु. २५,०००/- राशिको रहेको छ भने दायित्व मुरलीदेवी-गुरुदत्त काफ्ले स्मृति पुरस्कार रु. २०,०००/- राशिको रहेको छ । यसैगरी हरिकला-गुणाकर दायित्व रचना पुरस्कार, दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार र दायित्व सीता पन्त स्रष्टा पुरस्कारको राशि प्रत्येकको रु. १५,०००/- रहेको छ ।

कार्यक्रममा कृष्णप्रसाद बस्यालको कविताकृति ‘समयका झिल्का’, केशवराज पन्तको यात्रासंस्मरण ‘कैलासदेखि सागरसम्म ‘ र ‘भावनाका झिल्का’ कवितासङ्ग्रहका साथै दायित्व साहित्यिक पत्रिकाको पूर्णाङ्क १५८ को लोकार्पण गरिएको थियो ।

प्रमुख अतिथि प्रा.डा. जयराज आचार्यले राष्ट्रको समृद्धिमा साहित्य, कला र संस्कृतिको विकास अपरिहार्य रहेको बताउँदै दायित्व वाङ्मय प्रतिष्ठानले साहित्यका क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो । कार्यक्रममा सम्मानित एवं पुरस्कृत स्रष्टा-साधकहरूले आफू सम्मानित भएकामा खुसी व्यक्त गर्नुभएको थियो । पुरस्कृत संस्था नि:सहाय सेवा सदनका तर्फबाट पुरस्कार ग्रहण गर्दै सदनका अध्यक्ष करुणा गोविन्द श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । यसैगरी कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, उपाध्यक्ष प्रा.डा. भागवत ढकाल, महासचिव यादव भट्टराईलगायतले प्रतिष्ठानका गतिविधि र सम्मानित प्रतिभाहरूको योगदानको चर्चा गर्नुभएको थियो ।