चीन चिनाउने सेमिनारका २४ दिने अनुभूतिहरू

–मुकेश न्यौपाने
चाइना जाने रहर सानैदेखिको हो । पुस्तक, पत्रपत्रिकामा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको राजनीतिक तथा सांस्कृतिक क्रान्तिबारे पढ्दा, क्रान्तिपछि माओले अवलम्बन गरेका राज्यसञ्चालनका नीति तथा देङसियाओ पिङले नीतिमा गरेका फेरबदल र त्यहाँका नागरिकहरुले गरेको कठोर मेहेनत, परिश्रमका कारण देशले हासिल गरेको समृद्धिबारे अग्रजहरुका मुखबाट भएका प्रशंसा सुन्दा त्यहाँ पुग्ने हुटहुटी बढिरहेको थियो । कोशिस गरिरहे रहर पूरा हुने दिन पनि आउँदा रहेछन् ।
Ministry of Commerce of People’s Republic of China को प्रायोजन र Jiangxi Vocational College Of Foreign Studies को आयोजनामा भएको “Inclusive & Sustainable Development Of Industry and Trade For Developing Countries” नामक सेमिनारमा सहभागिता जनाउने अवसर जुर्यो । दक्षिणपूर्वी चिनमा पर्ने व्ष्बलनहष् प्रान्तको राजधानी ल्बलअजबलन शहरमा २८ मे २०२६ देखि १८ जुन २०२६ सम्म आयोजित उक्त सेमिनारमा नेपालका ५ सहित क्यारेवियन तथा अफ्रिकन मुलुकहरुबाट जम्मा २१ जनाको सहभागिता रहेको थियो ।

२०२६ मे २६ को रात, ११:३० बजे, चाइना साउदन एयरलान्सको CZ 3068 फ्लाइट नम्बरको A320 एयरबस चढिसकेपछि एकप्रकारको मानसिक तनाव हटेर आनन्द अनुभूत हुन थाल्यो । उज्यालो हुँदा गोन्जाओ शहरको Baiyun International Airport मा ओर्लियौँ । इमिग्रेसनको काम सिध्याउँदै बाहिर निस्कँदा एकजना चाइनिज महिला हामी सहभागी हुने सेमिनारको नेमप्लेट दुवैहातले माथि उचालेर उभिइरहेको देख्यौँ । निहाउ भन्दै हामी उनको अगाडि उभियौँ । निहुरेर उनले हामीलाई स्वागत गरिन् । एउटा बसमा चढाएर होटलसम्म पुर्याइन् र खाना खाएर आराम गर्न अनुरोध गर्दै ३:१५ बजे पुनः एयरपोर्ट प्रस्थानका लागि तयार रहनुहोला भनिन् र बाहिरिइन् ।
रातभरको अनिधो मान्छे, खाना खाएर सुतिहालेँ म । व्युँझँदा दिउँसोको २ बजेको रहेछ । तयार भएर काउन्टरमा निस्कँदा उनी पर्खिरहेकी रैछन् । उनले फेरि उही एयरपोर्टको डोमेस्टिक साइडमा लगेर बिदाइ गरिन् हामीलाई । हामी त्यहाँबाट Jiangxi का लागि उडान भरेर ५:३० मा Changbei International Airport पुग्यौँ । त्यहाँ कार्यक्रमको भोलेन्टियर्सका रुपमा रहेका Jiangxi University of Finance and Economics का विद्यार्थीहरु– लिबेला, फुन्नी र साथीहरु हामीलाई रिसिभ गर्न आइपुगे । यो विश्वविद्यालय हाम्रो कार्यक्रमको सहआयोजक पनि रहेछ । उनीहरुले हामीलाई त्यहाँबाट लगेर Holiday Inn नामको पाँचतारे होटलको चौथो तलाका छुट्टाछुट्टै कोठाहरुमा राखिदिए । मेरो रुम नम्बर थियो ४१५ । त्यो रात चाइनिज खाना खाएर सुत्यौँ हामी ।
भोलिपल्ट त्यही होटलको ग्राउण्ड फ्लोरमा रहेको सेमिनार हलमा राखेर हामीलाई सम्पूर्ण कार्यक्रमबारे अभिमुखिकरण गराइयो । चाइनिज सिमकार्ड पनि दिइयो त्यहीँ । हामीलाई अभिमुख गराउने गुरुआमा हुनुहुन्थ्यो प्रोफेसर व्बलभ ।
१२ बजेको खानापछि केहीक्षण आराम गराएर Jiangxi University (JUFE) को सेमिनार हलमा पुर्याइयो । त्यहाँ विश्वका अन्य देशहरुबाट आएका प्रतिनिधिहरुसँग भेटघाट, परिचयको आदानप्रदान गर्ने अवसर दिलाइयो । २ बजेदेखि विश्वविद्यालयका प्रोफेसरहरु Yuan Honglin- vice president of JUFE, Rao Jianhua- member of cpc ले मन्तव्यसहित स्वागत गरे । उनीहरुले चिनियाँ भाषामा बोले र फुन्नीले अंग्रेजीमा उल्था गरे । त्यही कार्यक्रममा हामीलाई छाता, डायरी, कलम, झोला, आइटिनरी बुक दिइयो । मलाई उत्साहित बनायो आइटिनरी बुकले । किनकि त्यहाँ जून १ तारिखमा बुलेट ट्रेन चढाएर सेन्जेन सहर घुमाउन लाने तालिका देखाइएको थियो । म त रेल नचढेको मान्छे । जीवनको पहिलो रेल चढाइ । त्यो पनि बुलेट ट्रेनबाट हुने निश्चित भएपछि उत्साहित नहुने त कुरै भएन ।
उद्घाटन कार्यक्रमपछि हामीलाई जुफेको म्युजियम घुमाइयो । यसको स्थापनाकालदेखि हालसम्मका गतिविधि, विकास र उपलब्धीहरु बारे जानकारी गराइयो । यो Jiangxi प्रान्तको दोस्रो ठुलो विश्वविद्यालय भएको जानकारी प्राप्त भयो । त्यो दिन बेलुका स्पेसल डिनर दिए उनीहरुले नै । अर्कै एउटा टप लेभलको रेस्टुरेन्टमा लगेर खुवाएको डिनरमा मैले चाहिँ विभिन्न सामुन्द्रिक खानाका प्रकारहरु र स्थानीय बियरको स्वाद लिएँ । खानापछि उनीहरुले होटलमा ल्याएर छोडिदिए हामीलाई ।
भोलिपल्ट बिहानको नास्तापछि ९–१२ को समयमा प्रोफेसर Ye Weihua द्वारा An Overview of China शीर्षकमा समग्र चाइनाको इतिहासदेखि वर्तमानसम्म भएका राजनीतिक परिवर्तनहरु, विकासक्रम, सांस्कृतिक परिवर्तनहरु, भाषा, भेषभूषा, जातजाति आदिको अवस्था सारांशमा ज्ञात गराइयो । यसैबाट हामीलाई थाहा भयो कि चाइनाले छिमेकी राष्ट्रहरुलाई धेरै महङ्खव दिएको छ भन्नेकुरा । चीनमा चिनिया कम्युनिष्ट पार्टीबाहेक अन्य ८ वटा राजनीतिक दलहरु पनि अस्तित्वमा रहेछन् तर ती दलहरु प्रतिश्पर्धी नभएर सहयोगी दलको भूमिकामा रहेछन् भन्ने कुरा प्रष्ट बुझियो । राज्यका नीति नीयमलाई आफैँले आफ्नालागि बनाएका नीति नियम जस्तो गरी सबैले आत्मसाथ गरेर पालना गरेको बुझियो । सरकारलाई भगवान् जसरी मानेको, राष्ट्रपति नै गडफादर हुन् भन्ने सबैको मनमा रहेको पनि पाइयो ।
खानापछि २ बजेदेखि ५ बजेसम्म प्रोफेसर Wang Xiaoping ले The Main Characteristics of China’s Economic Development शीर्षकमा चीनको समग्र आर्थिक विकास क्रम, अपनाइएका नीति, सिद्धान्तहरु र तिनले पारेको प्रभाव बारे अत्यन्तै गहकिलो कार्यपत्र अङ्ग्रेजी भाषामा प्रस्तुत गरे । १९७८ देखि Planned economy बाट Market Economy तिर गएको जानकारी प्राप्त भयो । अहिले चीनमा एकदमै खुला अर्थतन्त्र रहेछ भन्ने कुरा प्रस्ट थाहा भयो ।
मे ३० को पहिलो सत्रमा Asso. pro. Wan Yina द्वारा Thoughts and Practics on Good Governance and Governance Capacity of China शीर्षकको कार्यपत्र प्रस्तुत भयो । जसमा चीनले बनाएका जनता केन्द्रित नीति नियमहरु र सरकारले गरेको जनसेवालाई छर्लङ्ग देखाइएको थियो । दिइएका सेवा सुविधा र भ्रष्टाचार न्यूनिकरण गर्न अपनाइएका विधि, प्रविधि विषयमा अत्यन्तै गम्भीर र महङ्खवपूर्ण ढङ्गले प्रशिक्षित गराएका थिए । यसबाट हामीलाई के जानकारी प्राप्त भयो भने जति नीति नियमहरु बनाइएका छन् ती पूर्णतः जनता केन्द्रित छन् र सबै नागरिकलाई बराबर लागु भएका छन् ।
दोस्रो सत्र २ देखि ५ बजेसम्म चल्यो । यसमा Innovation and Practice of China’s Trade Models बारे छलफल भयो । यसैगरी ३१ मे मा Integration Development of Digital Economy with Industry and Trade विषयमा छलफल भयो । यसबाट के बुझियो भने चीनमा अहिले कागजी रुपियाँ नै देखिन छोडेको छ । कसैको खल्तीमा रुपियाँ हुँदैन र कसैले लिन पनि मान्दैन । जति व्यापार हुन्छ सबै डिजिटल पेमेन्ट हुन्छ । अधिकांश खरिदबिक्री अनलाइन सिस्टमबाट हुनेगर्छ । डाटा(Data)लाई महङ्खवपूर्ण सम्पत्तिको रुपमा लिएर सुरक्षित राखिन्छ र त्यसलाई विश्लेषण (analysis), संस्लेषण (sumarise), गरी जानकारी (information) मा परिणत गर्दै राष्ट्रिय अन्तर्रराष्ट्रिय सूचना, घटना, आवश्यकता, माग, आपूर्ति आदि सम्पूर्ण कुराहरु क्षणभरमा ग्रहण गर्दै सोही अनुसारका आवश्यक कदमहरु चाल्ने कार्य गरिन्छ । जनताले डिजिटल माध्यमबाट देखाएका गतिविधिहरुलाई संवेदनशील ढङ्गबाट हेरिने, विश्लेषण गरिने र तुरुन्त त्यसलाई सम्बोधन गरिहाल्ने प्रविधि तथा प्रवृत्तिको विकास भएको जानकारीसमेत हामीले प्राप्त गर्ने अवसर यही कार्यक्रम मार्फत पायौँ ।
१ जूनको दिन बिहान ९ बजे सेन्जेनका लागि बुलेट ट्रेन चढियो । प्लेनभन्दा सफा, शान्त, सुरक्षित, हलचलको कुनै अनुभूति नहुने, कुनै आवाज नआउने, ३२० किलोमिटर प्रतिघण्टाका दरले दौडिँदा पनि म रेलको डब्बाभित्र छु भन्ने महशुस नै नहुने, बाहिरी संसार हेर्दामात्रै दौडिरहेछ भन्ने भान हुँदोरहेछ । तोकिएको समयभन्दा एराइभल र डिपार्चर टाइममा सेकेन्डको होला तर मिनेटको अन्तर नहुँदोरहेछ । ३ घण्टामा सेन्जेन पुगियो । २० वर्षअघिसम्मको फिसर भिलेज आजको डिजिटल शहरमा परिणत भएको जानकारीसहित आँखाले प्रतक्ष देख्न पाउँदा चीनको वैभवले आकाश छोएका अनुभूति भयो । शहरभन्दा अग्लो पहाडमा निर्मित Lianhuashan पार्कमा भएको Bronze statue of Deng Xiaoping को अवलोकन गरियो । त्यहाँबाट देखिने सेन्जेन शहरको रमणीयतालाई अक्षरमा वर्णन गर्न सकिँदैन ।

साँझपख Shenzhen Bay Park बाट पारिपट्टि नजिकै देखिने हङकङलाई पनि नजिकबाट नियाल्न पाइयो । भोलिपल्ट YonYou software co. Ltd. को भ्रमण गरियो र Path of Industrial Digital Transformation and Practices of Sustainable development का बारेमा जानकारी प्राप्त भयो । यसैदिन हामीलाई Skywrth Group co. Ltd. को भ्रमण गराइयो र Construction of Green Supply Chain In the Electronic Information Industry सँगै Intelligent Manufacturing and Inclusive Employment Promotion Models बारे समेत सोही कम्पनीका G.M. Liao Jie बाट जानकारी दिलाइयो । जून ३ को बिहान ९ बजे Shenzhen Getai Group co.Ltd को भ्रमण गराइयो र Low Carbon Production Processes in the Optoelectronic Industry, Innovative Development of Small and Medium Sized Enterprises and Sustainable Development Cooperation का विषयमा सोही कम्पनीका G.M. Li Yonggang द्वारा जानकारी गराइयो । त्यही दिन अपरान्ह ४ः१५ को बुलेट ट्रेन चढाएर अर्को शहर Ganzhou पुर्याइयो । रेलभित्र नै खानाको व्यबस्था मिलाइएको हुनाले होटलमा त्यताको झन्झट व्यहोर्नु परेन । नुहाएर सुतिदिँदा भैहाल्यो ।
जुन ४ का दिन हामीलाई Gree Electric Appliances Co. Ltd. को भ्रमण गराइयो । त्यहाँबाट हामीले Green Manufacturing System, Circular Economy Model / Emperience in Sustainable Industrial Development of the Home Appliance Industry को बारेमा जानकारी पायौँ र त्यही दिन दिउसो २ बजेपछि Nankang New Furniture Centre को अवलोकन भ्रमण गराउँदै Transformation and Upgrading of the Furniture Industrial Cluster, Green and Low Carbon Trade and Inclusive Industrial Development Paths बारे जानकारी दिलाइयो । जुन ५ का दिन बिहान ९ बजे Ganzhou ड्राइपोर्ट भ्रमण गराउँदै Construction of Inland Open Ports, Multi Model Transport System and Cross Border Trade को विकास बारे जानकारी दिलाइयो । त्यो ठाउँबाट रेलको कनेक्टिभिटी रसिया हुँदै जर्मनीसम्म पुगेको रहेछ । फेरि त्यही दिन बेलुका ४ः१५ को बुलेट ट्रेन चढाएर हामीलाई नान्छाङ शहरमै ल्याइयो ।
भोलिपल्ट ६ जुनका दिन हामीलाई थकाइमार्ने छुट्टि दिएर बिहानको सेसन चलाइएन । दिउँसो China’s Industrial and trade position in Global Value Chains शीर्षकमा प्रोफेसर Deng Jun ले प्रशिक्षित गराइन् । त्यो कार्यपत्रसँगै जुन ९ सम्मका पूरै कक्षाहरु Accounting, Financial Reporting, Green Development in Industry and Trade आदि विषयहरुमा केन्द्रित भएर सञ्चालित भए । यो बिचमा Giangling Motors कम्पनीमा गई EV गाडीको निर्माण र बिक्रीवितरण सम्बन्धी जानकारी पनि गराइयो ।
जुन १० र ११ मा Nanchang Wanshou Palace र Anyi- an Ancient village (एक पौराणिक गाउँ)को भ्रमण गराइयो । यो चाहिँ एउटा अति पुरानो गाउँलाई संरक्षण गरी जस्ताकोतस्तै राखिएको रहेछ । “हाम्रो धरातलीय यथार्थ यही हो वा हामी यो पृष्ठभूमिबाट आएका हौँ” भन्ने हेक्का आफूभित्र पनि राखिरहेर विकासले मात्तिन, पात्तिनबाट जोगिनका लागि, भावी पुस्तालाई आफ्नो इतिहास चिनाउन सकियोस् भन्नका लागि र संसारलाई त्यही दृश्यावलोकन गराएर पर्यटन व्यवशाय प्रवर्धन गर्नका लागि पनि यस्तो पुरानो गाउँलाई संरक्षण गरी राखिएको रहेछ ।
१२, १३ र १४ जुनमा हाम्रालागि Human Resource developnemt, Finiancial Support System, Cultural Factors and Cross cultural communication in Industrial and Trade Development सम्बन्धी कक्षाहरु सञ्चालन गराइए । १५ जुनका दिन बिहान ८ बजे बसमा चढाएर Jingdezhen शहर लगियो । यो ठाउँमा माटाका भाँडाहरु उत्पादन गर्ने उद्योगहरु सञ्चालित रहेछन् । त्यो ठाउँबाट उत्पादित सामग्रीहरुले विश्वबजार छाएको रहेछ । हातले बनाउने केही परम्परागत उद्योगहरुलाई पनि संरक्षण गरिएका रहेछन् । ती उद्योगबाट उत्पादन भएका सामग्रीहरुको मूल्य चाहिँ आधुनिक मेसिनहरुबाट उत्पादित सामग्रीको तुलनामा दशौँगुणा महङ्गो मूल्यमा बिक्री हुँदारहेछन् । बाँकी सबै आधुनिक मेसिनहरु प्रयोग गरी उत्पादन गरिँदोरहेछ । सेरामिक क्यापिटल भनिने यो ठाउँको जस्तो माटो चीनका अन्य कुनै पनि क्षेत्रमा नपाइँने रहेछ ।
दिनभर सेरामिक क्यापिटल घुमाएर बेलुका हामीलाई नान्छाङ नै ल्याइयो । भोलिपल्ट बिहान ९ बजेदेखि सेमिनारको समीक्षा तथा सारांश लेखनको कार्यमा व्यस्त गराइयो । दिउँसो २ बजेपछि समापन समारोहको आयोजना गर्दै हामीलाई प्रमाणपत्र, मायाको चिनो आदि दिलाइयो । सहभागीहरुले आआफ्नो देशबाट लगेका सामग्रीहरु पनि यही कार्यक्रमपछि आदानप्रदान गर्यौँ । हामीले नेपालबाट नेपाली झण्डाको लोगो लगेका थियौँ । केन्याका प्रतिनिधिहरुले चिया, किरिबाटाका साथीहरुले हेण्डीक्र्याफ्टहरु ल्याएका रहेछन् । यो दिन बेलुका त्यहाँको एउटा विशाल होटल ‘साङ्ग्रीला’मा हाम्रालागि एउटा भव्य रात्रिभोजको आयोजना गरिएको थियो ।
उपर्युक्त औपचारिक कार्यहरुका अतिरिक्त बिहानबेलुकाको स्वतन्त्र समयमा हामीले गरेका गतिविधि र लिएको आनन्दको पाटो त यहाँ उल्लेख गरिसाध्य नै छैन । अङ्ग्रेजी नाम ‘थम’ भएका होटल होलिडे इन एक्सप्रेस रिभरसाइडका मेनेजरले हरेक बेलुका उनको गाडीमा राखेर नयाँनयाँ ठाउँमा घुमाउन लान्थे । Bayi square park, Wanda Plaza, Qingshan Lake आदि अनेक रमाइला ठाउँहरु घुमाउने, स्थानीय परिकारहरु चखाउने, त्यहाँका ऐतिहासिक पुरातात्विक महङ्खवका विषयवस्तुहरुबारे विस्तृत जानकारीहरु दिलाउने आदि काम अत्यन्तै उत्साहका साथ गरिरहे । उनको यो हार्दिकताले हामीलाई चिनियाँ नागरिकहरुको सुन्दर हृदयलाई आफ्ना हृदयले छुने अवसर दिलायो ।
हाम्रा आँखामा चीन विकसित मुलुक हो । हामीलाई देखाइएको, चिनाइएको र सुनाइएको आधारबाट हेर्दा एकैसाथ उसले गरेको सर्वाङ्गिण विकाशले चीनलाई स्वर्गको टुक्रा बनाएको छ । तर उनीहरु आफूले आफूलाई कहिल्यै विकसित मुलुक भन्दैनन् । डेभ्लपिङ कन्ट्री नै भनिरहेका छन् । हुन पनि हो । उनीहरु रातारात परिवर्तन गरिरहेका छन् हरेक कुराहरुलाई । आज जस्तो छ, भोलि त्योभन्दा नयाँको खोज, अनुसन्धान र प्रयोग गरिरहेछन् । चीनीयाँ नागरिकहरु धेरै शिक्षित, विकसित, सभ्य र सहयोगी भावनाले भरिपूर्ण भएका छन् । अरुदेशको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति उनीहरुको अत्यन्तै मूल्यवान गहना हो । शान्ति, सद्भाव, सहयोग र सहकार्य उनीहरुको संस्कार रहेछ । व्यापारका माध्यमबाट विश्वलाई जोड्ने सिजिङ पिङको महङ्खवपूर्ण योजना द्यच्क्ष् पनि कुनै रणनीतिक योजना नभएर तिनै संस्कारबाट बनेको संस्कृतिको एउटा विकसित नमूना रहेछ ।
यसरी हेर्दा मैले प्रत्येक चिनियाँ नागरिकमा इमान्दारिता र सहयोगीपन देखेँ । उनीहरु अत्यन्तै सौहार्द, शान्त र जगत्मैत्री रहेछन् भन्ने थाहा पाएँ । हार्दिकता उनीहरुको गहना रहेछ । राष्ट्रप्रेम, सरकारप्रेम, प्रकृतिप्रेम त उनीहरुको रगतका हरेक कणकणमा घोलिएको अनुभूति भयो मलाई । आजसम्मका सबै राष्ट्रपतिहरुलाई उनीहरुले समकालीन समयका मुख्य देवताका रुपमा पूजा गर्दारहेछन् । अर्काको आत्मसम्मानमा कुनै चोट लाग्न नदिन हमेसा ख्याल गरिरहने, त्यस्तो केही भइहालेमा निहुरिएर क्षमा याचना गर्ने र बिग्रिएको काम आफैँ लागेर सपारिदिने गर्दारहेछन् ।

कार्यक्रममार्फत बाँड्न खोजेको सन्देशः
मेरो बुझाइमा चीनले हामीहरुलाई यो कार्यक्रममा बोलाएर दिन खोजेको सन्देश यसप्रकारको थियो– “आउनुहोस्, हामीलाई तपाईँको आफ्नै आँखाले नियाल्नुहोस्, हातले छाप्नुहोस्, मस्तिष्कले अनुभूत गर्नुहोस् र हृदयले जे बोल्छ त्यही धुन आफ्नो देशलाई सुनाउनुहोस्, समाजमा गुञ्जायमान गराउनुहोस् । त्यस कार्यले हामीलाई संसारले चिन्ने छ कि जनमैत्री चीनको वास्तविक सौन्दर्य के रहेछ भन्ने कुरा । संसारले बुझ्नेछ कि चीनले कसैको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप गर्नेछैन भन्नेकुरा । चीनलाई विश्वका नागरिकहरुको कोमल हृदयमा खुसी भर्दै आफ्नो व्यापार तथा प्रविधिको विस्तार गर्ने र सम्पूर्ण विश्वलाई उत्तिकै समृद्ध बनाउँदै लान मद्धत गर्नुबाहेक बाँकी कुनै स्वार्थ छैन भन्ने कुरा संसारले बुझ्नु जरुरी छ । किनभने अहिलेको ग्लोबलाइजड विश्वमा कुनै एउटा देश, एउटा क्षेत्र, एउटा जाति वा एउटा भाषा मात्रै समृद्ध भएर दिगो भविश्यको परिकल्पना हुन्छ भन्नु मूर्खतासिवाय केही होइन भन्नेकुरा चीनले बुझिसकेको छ । प्रकृतिले दिएको अमूल्य उपहारलाई मानव मस्तिष्कको अधिकतम प्रयोग गरेर आफूसँगै चराचर जगत्को हितमा प्रयोग गर्नु मानवीय कर्तव्य हो र त्यही कर्तव्य पूरा गराउन आफ्नो सचेत चेतनालाई विश्वभर फैलाउन चाहन्छ चीन ।”
एरिया मेनेजर
नेशनल हेल्थ केयर नेपाल
विराटनगर, मोरङ

लेखकको सम्वन्धमा