May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार

साहित्यकार बालकृष्ण भट्टराईको समीक्षावली लोकार्पित

वैशाख ११, काठमाडौँ ।

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा साहित्यकार रमा शर्माले साहित्यकार बालकृष्ण भट्टराईको समालोचनासङ्ग्रह ‘समीक्षावली’ को एक समारोहबिच लोकार्पण गर्नुभयो । साहित्यकार सूब सेनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रा. डा. भागवत ढकालले लोकार्पित कृतिको समीक्षा गर्नुभएको थियो ।

प्रमुख अतिथि रमा शर्माले त्रिभुवन विश्वविद्यालयमा लामो समय सहकर्मीका रूपमा रहेको चर्चा गर्दै कृतिकार भट्टराईले साहित्य र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको स्मरण गर्नुभयो । ठाकुर शर्मा भण्डारीले स्वागत गर्नुभएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, साहित्यकार श्रीओमश्रेष्ठ रोदन,  पूर्व प्रहरी महानिरीक्षक कुबेरसिंह रानालगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै कृतिकार भट्टराई शिक्षा र साहित्यका क्षेत्रमा एक समर्पित निष्ठावान् व्यक्तित्व भएको बताउनुभयो ।

कृतिकारका सुपुत्र तथा प्रतिष्ठानका महासचिव यादव भट्टराईद्वारा सञ्चालित कार्यक्रममा कृतिकार भट्टराईकी अर्धाङ्गिनी नेत्रकुमारी भट्टराई, साहित्यकारहरू जय छाङ्छा, किशोर पहाडी, गुप्तबहादुर श्रेष्ठ, रामेश्वरी पन्त, अनुराधा ढकाल, अनुपम रोशी, जयन्ती स्पन्दन, कमलप्रसाद ज्ञवाली, रामकाजी कोने, डा. नम्रता पाण्डे, डा. प्रद्युम्न पाण्डे, जयदेवकृष्ण श्रेष्ठ, सिर्जना ज्ञवाली, प्रदीप पाण्डे, लक्ष्मण बस्याल, किशोर पाण्डे, सुमन पाठक, कृतिकार भट्टराईका सुपुत्रहरू हरि, दिनेश र हेमन्त भट्टराईसमेतको उपस्थिति रहेको थियो ।

साहित्यकार बालकृष्ण भट्टराई विगत बिस महिनादेखि अस्वस्थ भई उपचाररत हुनुहुन्छ । निजी निवास इमाडोल ललितपुरमा आयोजित कार्यक्रममा उपस्थित सबैले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानको २०९औँ कृतिका रूपमा प्रकाशित ‘समीक्षावली’ मा लक्ष्मीप्रसाद देवकोटा, जगदीशशमशेर राणा, तीर्थराज अधिकारी, भद्रकुमारी घले, सूब सेन, अजम्बरध्वज खाती, प्रा. डा. कपिल लामिछाने, नीलाम्बर पन्थी र सुनीता कार्कीका कृतिहरूको समालोचना-समीक्षा गरिएको छ ।