May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार

गाउँमा बिताएको एक दिन

मिति : २०८०/ ०७/ १०
गौरादह, झापा

आज बिहान सबेरै उठेँ । धेरै दिनपछि गाउँ आएकी हुनाले हो कि ! अरू दिनभन्दा आज चाडै आँखा खुले । बाहिर निस्किएपछि एकछिन दौडने निर्णय  गरेँ । कात्तिको महिना, चिसो बिहानी र बतासले मेरो मन नै शीतल भयो । मोबाइलमा गीत लगाएँ अनि गीतकै लयमा दौड सुरु गरेँ । गाँउको बाटो र हरियालीमा मेरो मन नै लोभियो । दौड सकिएपछि घर फर्किएँ ।

घरमा पुग्दा खाजा तयार रहेछ । खाजा खाएपछि पत्रिका पढ्न थालेँ । पत्रिकामा भएका  कुराहरूमा मेरो ध्‍यान तानियो । यहाँ भ्रस्टाचारको बारेमा छापिएको रहेछ । भ्रस्टाचार पनि कहिल्यै कम नहुने भयो भन्ने सोच्दै थिएँ । त्यतिकैमा तल्लाघरे काका टुप्लुक्क आइपुग्‍नुभयो । उहाँ हँसिया लिन आउनुभएको रहेछ । 

मलाई पत्रिका पढेको देखेर के खबर छापिएको रहेछ भनी सोध्नुभयो । म भ्रस्टचारका बारेमा पढिरहेको थिएँ । त्यही भनिदिएँ- “काका भ्रस्टचारले सबैलाई हैरान परेको छ । अरु समाचार के हुनु नि !” 

काकाले नम्र बोलीमा भन्नुभयो, “नानी, भ्रस्टाचारलाई त हामीले नै जन्म दिएका हौँ । यसलाई कम गर्न त सबै नागरिक सचेत हुनुपर्छ।” 

उहाँले भ्रष्टाचारका बारेमा धैरै कुरा गर्नुभयो । काकाले जे भन्नुभयो सही भन्नुभयो । भ्रस्टाचार त जानी नजानी हामी सबैबाट भइराखेको छ । 

“सबैले नियम कानुनको पालना गर्ने हो भने भ्रष्टाचार कम हुन्छ होला ।” मैले मेरा कुरा काकासामु राखेँ ।

“के गर्नु ! नेपालमा नियम कानुन भए पनि कसैले पलना गर्ने होइन, क्यारे!” भन्दै आमाले काकालाई हँसिया दिनुभयो । कुरैकुरामा आमा आउनुभएको त मैले चाल नै पाइन छु । 

आमाले खाना पाकिसक्यो आज यतै खान खाऔँ भन्नुभन्यो । घरमै खाना पाकिसकेको कुरा गर्दै काका हँसिया लिएर जानुभयो । खाना खाइसकेपछि मैले आमालाई घरको काम सघाएँ । बिहानको काम छिट्टै सकियो । आमासँग मिलेर घरका काम गर्दा आनन्द आयो ।

आज बजारमा मेला  लागेको रहेछ । भरे साँझतिर दिदी कामबाट फर्केपछि सबैजना मेला हेर्न जाने कुरा आमाले गर्नुभयो । मैले आमाका प्रस्तावमा सहमति जनाएँ ।

आमा र मैले छिट्टै घरमा काम सक्यौँ । काम सकिएपछि हामी खेतबारीतिर गयौँ । बारीमा भर्खर उम्रिएका तोरीका बोटहरू देख्दा मनमा धेरै विचारहरू उम्रिए । मलाई कता कता सधैँभरि गाउँमै बस्‍न पाए हुन्थ्यो भन्ने लाग्यो । हिजोआज गाउँमा पनि बाटाघाटा राम्रा भएका छन् । बिजुली बत्ती, इन्टरनेट आदिको सुविधा छ । हाम्रो गाउँ पनि अब सहरभन्दा कम छैन । सफा र सुन्दर वातावरण छ ।

“उः त्यो गरामा गहुँ छर्ने कुरा छ ।” मेरो एकाग्रता भङ्‍ग गर्दै आमाले भन्नुभयो । 

बारीमा बेथुको साग राम्ररी उम्रिएको रहेछ । हामी आमाछोरी मिलेर साग टिप्यौँ । खेतबारीको काम सकेर हामी घर फर्क्यौँ । फर्कँदा मनभरि मेरो बाल्यकाल खेलिरह्यो । सानामा म खेतका तिनै गरामा समय बिताउथेँ । कति रमाइलो थियो त्यो पल । 

समय बित्न बेर लागेन । कति छिट्टै बिहान बितेर दिउसो भइसके छ । मैले दुध चिया बनाएँ । आमाछोरीले मिठो मानेर खायौँ । चिया खाएर एकछिन ढल्किएकी म भुसुक्कै निदाएछु । 

उठ्दा दिदी आइसक्नु भएको रहेछ । खाजा खाएर हामी मेला हेर्न निस्कियौ । मेलामा खुब रमाइलो गरियो । धेरै खेलहरू रहेछन् । मन फुकाएर खेल खेल्यौँ । घर फर्कँदा निकै थकाइ लागेको थियो । अबेला खाजा खाएर होला भोक भन्ने पटक्कै थिएन । हात, मुख धोएपछि आमा र दिदी कुराकानी गर्न थाल्नुभयो । म चाहिँ आजको दैनिकी लेख्‍न बसेँ । सायद यो दैनिकी नै आजको मेरो अन्तिम कार्य हो । यसको समापनपछि घुत्रुक्क सुत्छु । मिठो निन्द्रा मेरै प्रतीक्षा गरिरहेको छ ।