आमा

आमालाई सन्तान
भारी हुँदैनन् कहिले पनि
तर आजकल
सन्तानलाई आमा
भारी हुन थाल्या छन् ।
मेरा लागि आमा !
तिमी दयाको सागर
माया, ममता, करुणा,
स्नेह, प्रेम र प्रेरणा
आत्मीयताको खानी
दिव्यज्ञानी हौ
सद्भाव र समर्पण हौ
तिमी मान हौ सान हौ
जीवनदान हौ
तिमी छौ र त जीवन छ
यो जीवन नै तिम्रो आयोजना हो
तिम्रो कल्पना हो, सिर्जना हो ।
तिम्रै रक्तपिण्डको उपहार
तिम्रै प्यार र स्याहारको उपज
त्यसैले त जीवन हराभरा छ
तिम्रो प्रेमको लगानी कति होला
तिम्रो स्नेहको व्याज कति होला
तिम्रो ममताको हिसाब
जर्नल भौचरमा कसरी भर्ने होला
यो देह सिञ्चि त छ तिम्रो दुग्ध–धारा
कसोरी तिरुँला यो अभिभारा
बनुँला आमा म तिम्रै सहारा ।
तिमी पाठशाला हौ, ज्ञानचक्षु हौ
तिमी ब्रह्मा, विष्णु, महेश्वर हौ
देवी, लक्ष्मी, सरस्वती तिमी हौ
तिमी साक्षात भगवान् हौ
तिमी अन्धकारकी ज्योति हौ
तिमी श्रद्धा हौ, भक्ति हौ
तिमी महान् हौ, अनमोल रत्न हौ
सृष्टिकै सुन्दर फूल हौ
आफैँ सृष्टिकर्ता मूल हौ ।
तिमीमा घृणा, द्वेषको जालो छैन
कुण्ठा र आशा छैन, अपेक्षा छैन
सन्तानको खुसीका लागि,
आफ्नो दुखमा पर्दा लगाउँछ्यौ
र आफ्नो सुखको बली चढाउँछ्यौ
दर्दमा प्रेमको मल्हम लगाउँछ्यौ
स्नेहको अँगालोमा सुताउँछ्यौ
आफू चिसो भुईँमा सुत्छ्यौ
अनि आफ्नै फरिया गुथाएर
न्यानो थाङ्नामा सुताउँछ्यौ
पटुका कसेर भोक दबाउँछ्यौ
र नानीको पेट भर्दछ्यौ
भन्छ्यौ को–खाइ, को–खाइ
खुवाउँछ्यौ फकाइ–फकाइ ।
तिम्रो काखमा टाउको राख्दा
सारा थकान मेटाउँछु
तिम्रै काखमा निदाउँदा
टन्टा–चिन्ता भुल्दछु
यदि देवता छन् भने
यस ब्रह्माण्डमा
घरकै मन्दिरमा खोज्दछु
आमा वा भगवान् रोज्नु परे
आफ्नै आमा रोज्दछु ।
लेखकको सम्वन्धमा