स्नेहा मल्ल : डक्टर बनूँ कि कलाकार ?
आज २०८१ सालको वैशाख २२ गते शनिवारको दिन ! म पाटन म्युजियमभित्रको भण्डारखाल बगैँचामा छु । यहाँ मानिसहरूको राम्रै चहलपहल छ । केही समूहका विदेशी पर्यटकहरू क्यामेरा तेर्स्याएर फोटा खिचिरहेका छन् । केही गाइडहरू पर्यटकलाई आवश्यक जानकारी दिइरहेका छन् ।
अर्को एउटा अलि छुट्टै समूह छ । त्यहाँ ससाना नानीबाबुहरू छन् । उनीहरूका अगाडि उभिएर अजय सर बोल्दै हुनुहुन्छ । नानीबाबुहरू अजय सरका कुरा ध्यान दिएर सुन्छन् । सरको निर्देशन सकिएपछि चहुरमा यत्रतत्र छरिन्छन् । अनि, विदेशी पर्यटकले क्यामेरा तेर्स्याए जसरी नै आफ्ना तिखा आँखाले विषयवस्तु खोज्छन् । मनपरेको विषयवस्तुलाई मनमा सजाउँछन् । त्यसपछि सिसाकलम र कुचीले जीवन्त चित्र उतार्छन् ।
हो, त्यही समूहमा छिन् सानी नानी स्नेहा मल्ल । उनी पनि आफ्नो मनपर्ने चित्र उतार्न तल्लीन छिन् ।
“नमस्कार ! स्नेहा कसको नाम होला ?” मैले सोधेँ ।
“मेरो” सानो आवाजमा बोल्दै उनले मलाई पुलुक्क हेरिन् ।
“एकछिन कुरा गरौँ न, हुन्छ ?”
उनले मेरो प्रस्ताव स्वीकार गरिन् ।
स्नेहाको जन्म २०७१ माघ १ गते ज्वागल, ललितपुरमा भएको हो । उनी रातो बङ्गला स्कुल, ललितपुरको चार कक्षामा पढ्छिन् । उनको विद्यालयको पढाइ राम्रो छ । विद्यालयभन्दा बाहिरका पुस्तक पढ्न पनि उनी रुचाउँछिन् । उनले अङ्ग्रेजी र नेपाली भाषाका थुप्रै पुस्तकहरू पढेकी छिन् । तीमध्ये उनलाई मनपर्ने पुस्तकहरू हुन्- My father’s dragon, Pippi long stocking, Magic tree house, Mr. popper’s penguin, Matilda, Danny the champion of the world, दाल भात तरकारी, कस्को भोटो ? आदि । यीमध्ये पनि एउटा पुस्तक छान्नुपर्दा उनी Matilda छान्छिन् । उनका विचारमा यस पुस्तकमा एकदम राम्रा शब्द छन् । यस पुस्तकले नराम्ररी बोल्नु हुँदैन भन्ने पाठ सिकाएको छ । अरू पनि पुस्तक पढ्न प्रेरित गरेको छ । पढ्न मन भएका मान्छेलाई अरू कसैले पनि पढ्न रोक्नु हुँदैन भन्ने सन्देश पनि दिएको छ ।
स्नेहालाई पढाइबाहेक पियानो बजाउन, स्विमिङ गर्न, जिम्नेस्टिक गर्न, डान्स गर्न र आर्ट गर्न मन लाग्छ । उनले आफ्ना रुचिलाई सिपमा परिवर्तन गर्ने प्रयास पनि गरेकी छिन् । त्यसका लागि उनले पियानो, स्विमिङ, जिम्नेस्टिक र डान्सका कोर्सहरू गरेकी छिन् । स्नेहालाई भ्रमण गर्न पनि उत्तिकै मनपर्छ । उनले स्वदेशका विभिन्न ठाउँलगायत भारत र इन्डोनेसियाको भ्रमण गरेकी छिन् । उनी चार वर्षको उमेरमा गरेको इन्डोनेसिया भ्रमणका सन्दर्भ अहिले पनि उत्तिकै सम्झन्छिन् ।
आफ्ना रुचिमध्ये स्नेहालाई सबैभन्दा धेरै आर्ट मनपर्छ । त्यसैले उनी समय मिलेसम्म आर्ट गरिरहन्छिन् ।
स्नेहालाई पहिलेदेखि नै आर्ट गरूँ गरूँ लाग्थ्यो । उनले केही आर्ट गरेकी पनि थिइन् । तर, कसरी राम्रो आर्ट गर्न सकिन्छ भन्ने चाहिँ उनलाई थाहा थिएन । एक दिन उनी प्रज्ना श्रेष्ठका घरमा गइन् । उमेरमा ठुली भए पनि प्रज्ना स्नेहाकी भदै हुन् । स्नेहाले प्रज्ना आर्ट क्लास जान लागेको देखिन् । प्रज्नाकै साथ लागेर उनी पनि योङ पिकासोमा आर्ट क्लास लिन थालिन् । त्यसपछि उनी कसरी राम्रो आर्ट गर्न सकिन्छ भन्ने बुझ्दै छिन् । उनलाई घरमा मामु, बाबा, दिदी र आर्ट स्कुलमा अजय सरले आर्ट सिक्न प्रेरित गर्नुहुन्छ । विद्यालयमा आर्ट सरले पनि उनलाई आर्ट सिकाउनुहुन्छ ।
विभिन्न प्रकारका आर्टमध्ये स्नेहालाई पेन्टिङ गर्न मनलाग्छ । उनलाई ड्रइङमा मार्करले कलर गर्न पनि उत्तिकै मनलाग्छ । उनी कलर पेन्सिलले ब्याकग्राउन्ड बनाउन रुचाउँछिन् ।
स्नेहा आठ वर्षकी हुँदा पाटन म्युजियममा योङ पिकासोले एउटा आर्ट एक्जिबिसन गरेको थियो । त्यसमा स्नेहाका ६ ओटा पेन्टिङ सेलेक्ट भएका थिए । तीमध्ये एउटा पेन्टिङ तीन हजार पाँच सय रुपियाँमा बिक्री भयो । पेन्टिङ बिक्दा उनलाई एकदम खुसी लागेको थियो । आफ्नो पेन्टिङ त्यति पैसामा बिक्यो भन्ने उनलाई विश्वास नै भएको थिएन ।
स्नेहाले थुप्रै सुन्दर पेन्टिङ गरेकी छिन् । तीमध्ये केही यस प्रकार छन् :
१.
२.
३.
४.
५.
६.
यति राम्रा कला सिर्जना गर्ने स्नेहाले राम्रो पारिवारिक वातावण पाएकी छिन् । यो उनको सफलताको एउटा कराण हुन सक्छ । यति हुँदाहुँदै पनि उनलाई भविष्यमा राम्रो चित्रकार बनिँदैन भन्ने चिन्ता छ । किनभने असल चिकित्सक बन्नु उनको एउटा उद्देश्य हो । उनका पिता सृजन मल्ल र माता रोजी वैद्य मल्ल दुवै जना चिकित्सक हुनुहुन्छ । साथै दिदी पनि चिकित्सा अध्ययनको तयारीमा हुनुहुन्छ । यो घरायसी वातावरणले उनी चिकित्सक बन्न प्रेरित भएकी हुन् । दिदीले एउटा पुस्तक लेख्नुभएको थियो । त्यो प्रकाशन चाहिँ भएन । उक्त अप्रकाशित पुस्तक पढेपछि त स्नेहामा झन् डक्टर बन्नैपर्छ भन्ने भाव जागेको छ । डक्टर बनेपछि धेरै समय काम गर्नुपर्छ । अनि आर्टिस्ट बन्न सकिँदैन भन्ने स्नेहालाई लागेको छ । तर, स्नेहा ! त्यसो होइन । ठुला ठुला डक्टरहरू पनि राम्रा कलाकार भएका छन् । भोला रिजाल विशिष्ट डक्टर हुनुहुन्छ । उहाँ उत्तिकै विशिष्ट साहित्यकार पनि हुनुहुन्छ । साहित्यकार पनि कलाकार नै हो । त्यसैले डक्टर हुँदैमा कला छाड्नै पर्छ भन्ने छैन । जुनसुकै पेसा अपनाउने व्यक्ति पनि कलाकार बन्न सक्छ । पाइलट विजय लामा पनि राम्रो कलाकार हुनुहुन्छ । उहाँले सिनेमामा राम्रो अभिनय गर्नुभएको छ ।
धेरै पहिले सर्जन पेसाका सिलसिलामा डा. हेनरी एम्बुर्स ओल्डफिल्ड बेलायतबाट नेपाल आउनुभएको थियो । उहाँ प्रसिद्ध आर्टिस्ट हुनुहुन्थ्यो । उहाँले नेपाली समाज, इतिहास, संस्कृति आदिलाई आफ्ना चित्रकलामा उतार्नुभएको थियो । उहाँ जङ्गबहादुरको शासनकालमा करिब चौध वर्ष नेपाल बस्नुभयो । त्यसैले स्नेहा ! चिन्ता नगरी अघि बढ, तिमी चिकित्सक र कलाकार दुवै बन्न सक्छ्यौ ।
स्नेहा चित्रकलाका साथै शब्दकलामा पनि सिपालु छिन् । अर्थात् उनी साहित्य लेख्न सिपालु छिन् । उनले नेपाली र अङ्ग्रेजी भाषामा सातओटा जति कथा लेखिसकेकी छिन् । ती कथा प्रकाशित भएका चाहिँ छैनन् । उनले विद्यालयमा कथा लेख्न सिकेकी हुन् ।
लामै कुराकानी गरिएछ । हामी छुट्टिने बेला भयो ।
“तपाईंले लेखेका कथा म हेर्छु है” मैले भनेँ ।
हुन्छ भनेर स्नेहाले सहमति जनाइन् । अनि भविष्यमा डक्टर भए पनि कला सिर्जना गर्न नछाड्ने अठोट गरिन् । उनका कुरा सुनेर म खुसी भएँ ।
“अब दश वर्षपछि भेटेर यसरी नै कुरा गरौँला है । त्यस बेला तपाईं डक्टर पढ्दै हुनुहुने छ” मैले भने ।
उनी मुसुक्क मुस्कुराइन् ।
म दश वर्षपछिको दिन सम्झिरहेको छु । त्यस बेला म विदेशी पर्यटकले जस्तै क्यामेरा तेर्स्याइरहेको होऊँ । मेरा अगाडि डक्टर स्नेहा मुसुक्क मुस्कुराइरहेकी होउन् । म प्रश्न गरूँ, “तपाईं डक्टर बन्नुभयो कि कलाकार ?”
उनले जवाफ दिउन्, “दुवै ।”
लेखकको सम्वन्धमा