आमा…

आमा !
मलाई तिम्रो चित्तबाट
एक अँजुली विश्वास देऊ
त्यो विश्वास बालेर बल्नु छ,
निभ्दै गरेको मेरो अन्तर मनमा
हजारौँ रातपछि उदाएको सूर्यसरि
त्यो विश्वास रोपी फुल्नु छ
कागजी फूलहरू फुल्ने बगैँचामा
इन्द्रकमल झैँ महक छर्ने फूल बनी ।

आमा !
मलाई तिम्रो चरित्रबाट
एक अँजुली स्वाभिमान देऊ
त्यो स्वाभिमानको मुकुट लगाई
त्यो स्वाभिमानको धनुष बनाई
म उभिनुपर्छ, जीवनको रणमा
मैले जित्नुपर्छ,
कपटको चक्रव्यूहभित्र
हार्नै लागेको
मेरो अस्तित्वको लडाइ ।

आमा !
मलाई तिम्रो मुटुबाट
एक अँजुली आत्मसम्मान देऊ
आत्मसम्मानको त्यो  कवच लगाई
आत्मसम्मानलाई नै सारथी बनाई
म लड्छु, त्यो मेरो अन्तिम युद्ध
अनन्त फैलिएको
अहङ्कारको भिडसँग
अनन्त फैलिएको
तिरस्कारको भिडसँग ।

आमा !
मलाई तिम्रो आँखाबाट
एक अँजुली सपना देऊ
त्यी सपनाहरूको बादल बनाउँछु
दूर हिमालयको काखमा रमाउँछु
म उड्छु बताससँगै रहरको सगरमा
म शीत बनी कमलमा मगमगाउँछु
सपनाहरू मेरो खल्तीमा लुकाई
म पुग्छु त्यो दूर अपरिचित सहरमा
शीतल हावाको कुनै झोक्का बनी
जेठमा छिट्टिएका पानीका छिटा बनी
म बर्सिन्छु मरभूमिको एक्लो नगरमा
थोपा थोपा पग्लिँदै आशा बनी ।

आमा !
मलाई तिम्रो हृदयबाट
एक अँजुली करुणा देऊ
त्यो करुणालाई मेरो हृदयमा भरी
म हिँड्छु तिनै प्राचीन बाटाहरूमा
पछ्याउँदै बुद्धका पाइलाहरू
म पुग्छु फेरि त्यही अज्ञात देशमा
रोप्छु एउटा अर्को बोधीवृक्ष
जसको छायाँमा ओत लाग्ने छन्
युद्धको गर्भबाट जन्मिएका
नवजात शिशु बुद्धहरू ।

आमा !
मलाई तिम्रो अस्तित्वबाट
एक अँजुली ‘तिमी’ देऊ
तिम्रै पिण्डबाट बनेको ‘म’ मा
पिण्डभन्दा पृथक केही त छैन
तिमीबाट एक अँजुली ‘तिमी’ लिएर
आफैँसँग पराजित भई निभेको ‘म’
निभिसकेको चिसो रातमा
चम्किएर बल्नु छ जुनकिरीसरि
चिहान भित्र सेलाएका संवेदनाहरूको भिडमा
ब्युँझिएको कृष्णको प्रेमसरि ।