दमक स्रष्टा परिचय कोश

-विष्णु न्यौपाने

जसले सृष्टि गर्छ उसैलाई स्रष्टा भनिन्छ । सृष्टि गर्नु भनेको नयाँ कुराको रचना गर्नु हो, निर्माण गर्नु हो । सर्जकहरू सिर्जनाका मातापिताहरू हुन् । मातापिताहरू जहिल्यै पूज्य हुन्छन् । किनकि जन्म दिनु नै समाजलाई जीवन दिनु हो, जीवन्त चलाइराख्नु हो । अरूको भलाइका निम्ति आफूलाई समर्पित गर्ने यस्ता सर्जक स्रष्टाहरू, साहित्यकार कलाकारहरू, भाषाविद् संस्कृतिविद्हरु, अनुसन्धाताहरूको सम्मान गर्दै भावीपिँढीलाई यस्ता कार्यमा सम्लग्न हुन उत्प्रेरित गर्नु प्रत्येक सरकार तथा समाजको कर्तव्य हुनजान्छ । यही कर्तव्य पूरा गर्ने कार्यको थालनी गर्दै दमक प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको पुस्तक “दमक स्रष्टा परिचय कोश भाग–१” आज मेरो हातमा छ जसलाई म अलिअलि कोट्याउने प्रयत्न गर्दैछु ।

वि.सं २०७९ कार्तिकमा प्रकाशित भएको, दमक स्रष्टा परिचय कोश भाग –१ नामाकरण गरिएको यस पुस्तकको आवरणमा तोकिएका ५ विधा झल्काउने ५ वटा तस्विरहरुलाई कलात्मक ढङ्गले सजाइएको छ भने पछिल्लो भागमा दमकलाई चिनाउने तस्विर राखिएको छ । पुस्तकका लागि आवश्यक सामग्रीहरुको सङ्कलन, सम्पादन तथा प्रकाशन समितिको संयोजकमा प्रतिष्ठानका सचिव विष्णु न्यौपाने र सदस्यहरु मच्छिन्द्रकुमार याख्खा, कमला खनाल रिजाल, बाँस्कोटा धनञ्जय, धनकुटे कान्छा, खेमलाल पोखरेल र बिन्दु दहाल मूकदर्शक रहनुभएको छ । प्रकाशक संस्था दमक प्रज्ञाप्रतिष्ठान, मुद्रण पाथिभरा अफसेट प्रेस दमक र आवरण वविव धिमाल उल्लेख गरिएको छ । पुस्तकको चौथो पृष्ठमा प्रतिष्ठानको कार्यसमिति तथा परिषदको नामावली दिइएको छ । त्यसपछिका पृष्ठहरुमा नगरप्रमुख, उपप्रमुख, प्रमुखप्रशासकीय अधिकृत र अध्यक्ष हेमनाथ अधिकारीद्वारा प्रेशित छुट्टाछुट्टै शुभकामना सन्देशहरु छापिएका छन् । यस पुस्तकमा विषय सूची नराखी सिधै ‘क’ देखि ‘च’ सम्म खण्ड छुट्याएर स्रष्टाका नामलाई अल्फाबेटिकल अर्डर अनुसार राखी परिचय गराइएको छ ।

यो कोशमा मूलतः दमकमा जन्मेर यहीँ साधना गरिरहेका, दमकमा जन्मेर अन्यत्र बसोबास गर्दै साधना गरिरहेका, अन्यत्र जन्मेर दमकमा बसोबास गर्दै साधना गरिरहेका र दमकमा बसेको समयमा विशेष योगदान दिएर हाल अन्यत्रै पुगिसकेका भाषा, साहित्य, कला, संस्कृति र विज्ञान गरी ५ विधाका स्रष्टा÷साधकहरूलाई समेटिएको कृति हो । यसमा खासगरी स्रष्टाहरूको जीवनपरिचय, प्रकाशित कृतिहरू, प्राप्त सम्मान तथा पुरस्कारहरु, सम्बिन्धित संस्थाहरुमा उहाँहरुको संलग्नता र सम्पर्कलाई विशेष जोड दिइएको छ ।

कोशको सम्पादकीयले सुझाएको छ कि भाषा, साहित्य, कला, संस्कृति र सभ्याताका सम्पूर्ण आविष्कारहरू स्रष्टाको कल्पनाशक्तिका उपज हुन् । जोसँग अथाह कल्पनाशक्ति छ र कलात्मक ढङ्गले सिर्जनामा बदल्न सक्छ उही विशिष्ट सर्जक कहलाउँछ । यस्ता सर्जक र तिनका सिर्जनाहरूको संरक्षण गर्नु राज्यको दायित्व हो । यो दायित्व पूरा गर्न समाजको सबैभन्दा तल्लो तहमा बसेर त्यो तहलाई माथि उठाउन सिर्जनाकर्म गरिरहने सर्जकहरूको खोजी गरी उनीहरूको संरक्षण, सम्वर्धन र विकास गर्ने उद्देश्य राखेर प्राज्ञिक तथा साहित्यिक संस्थाहरुको स्थापना भएको हुन्छ । यस्तै प्राज्ञिक संस्थाहरुमध्ये दमक प्रज्ञाप्रतिष्ठान पनि भाषा, साहित्य, कला, संस्कृति र विज्ञान–प्रविधिको संरक्षण, सम्बर्धन र विकास गर्न, स्रष्टाहरूको पहिचान, उनीहरूका सिर्जनाहरूको अभिलेखीकरण, संरक्षण, सम्वर्धन गर्न, पुस्तकालय तथा विभिन्न पुरस्कारहरूको स्थापना, नलेज बैंक, सङ्ग्रहालय, वाचनालय, प्रदर्शनी कक्ष, नाट्यशाला, काव्यवाटिका आदिको स्थापना क्रमशः गर्दै अघिबढ्ने स्थानीय सरकारको उद्देश्यलाई कार्यान्वयन गर्न स्थापना गरिएको सरकारी संस्था हो । यही उद्देश्य पूरा गर्ने पहिलो खुड्किलो हो दमक स्रष्टा परिचय कोशको निर्माण । पहिलो चरणमा आफ्नो क्षेत्राधिकारभित्र रहेका स्रष्टाहरुको पहिचान गरी उनीहरुसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्न गरिएको अभिलेखिकरणको पहिलो दस्तावेज नै दमक स्रष्टा परिचय कोश हो ।

यो पुस्तकले योगदान कम बेसी जे भए पनि सबै स्रष्टाको मूल्य बराबर हुन्छ भन्ने कुरालाई व्यवहारबाटै प्रमाणित गरिदिएको छ । सुरुमा स्रष्टाको तस्विर र साहित्यिक नाम, त्यसपछि वास्तविक नाम, जन्ममिति, जन्मस्थान, पितामाता, हालको बसोबास ठेगाना, प्रकाशित कृतिका नाम, प्रकाशन मिति, सम्पादित कृतिहरु, प्रसारित÷रेकर्डिङ, अनुसन्धानका विषय, विधा, प्राप्त सम्मान तथा पुरस्कारहरु, सम्पर्क नम्बर, इमेल आदि कुराहरु समेटिएका छन् ।
यो कृतिभित्र समेटिएका स्रष्टाहरु उल्लेख गर्नुपर्दा कृति प्रकाशित भएका स्रष्टाहरुलाई खण्ड–‘क’ मा राखिएको छ । ती नामहरु यसप्रकार छन्ः डा. अन्जना वस्ती, अभिषेककुमार दास, अमृत लिम्बू, अशोक बस्नेत, आचार्य प्रभा, उत्तम प्रसाद भट्टराई, ऋचा भट्टराई, कमन देवान, कमल जङ्गली आचार्य, कर्ण कुमार श्रेष्ठ, कविन्द्र शेर्मा लिम्बू, पं. काशीनाथ उपाध्याय कट्टेल, कृष्ण उदासी, कृष्ण दंगाल, कुलप्रसाद ढकाल, खगेन्द्र भट्टराई खेमलाल पोखरेल, गणेश श्रेष्ठ, गणेश हिमाल न्यौपाने, गोपालप्रसाद भण्डारी, डा. गोविन्दराज भट्टराई, गोपाल दाहाल, गङ्गाधर कट्टेल, गङ्गाप्रसाद बराल, घनश्याम पथिक, जगन्नाथ दाहाल, जीवन आचार्य, टंक आचार्य, टंकप्रसाद पाठक, डिल्लीश्वर मुसाहाङ लिम्बू, तुलसीप्रसाद भट्टराई, तोया गौतम, दक्षराज शर्मा, दुर्गा खनाल काफ्ले, दुर्गाप्रसाद अधिकारी, दुर्गाप्रसाद दाहाल, देवदास राई लुगुन, धनकुटे कान्छा, नरपति पाण्डे, प्रा. नारायण प्रसाद शर्मा कट्टेल, पृथीमाया लावती, बाबुराम न्यौपाने उत्स, बास्कोटा धनञ्जय, बिन्दु दाहाल मूखदर्शक, विवेक दुलाल क्षेत्री, मेघराज तिम्सिना, मोहन प्रसाद भण्डारी, यमन सुवेदी, यादव प्रसाद अधिकारी झाँक्रीखोले, युवराज नयाँघरे, रमेश गुरागाईँ, राजकुमार खड्गा, राधा कार्की, रामकुमार नेपाल उपाध्याय, राम राना साम्पाङ, लछामी शेर्पा पापो, लक्ष्मीप्रसाद निरौला, डा. लेखनाथ न्यौपाने, लोकेन्द्र बन्जारा, डा. व्यञ्जना शर्मा, वीरेन्द्र बहादुर खड्का ‘विनोदी’, विवस बलिभद्र कोइराला, विष्णु न्यौपाने, विष्णुप्रसाद भट्टराई, श्यामकृष्ण लम्साल, शारदा निरौला, सन्तोष पोखरेल मनिष, सुमित्रा वाङ्देल चेली, सुधादेवी भट्टराई, सेसेमी सेरेहाङ नाल्बो, सेसेहाङ फियाक लिम्बू, हिमाल सुब्बा गुराँस, हेमनाथ अधिकारी, नवीन प्राचीन, वाइ.एन. चम्लागाईं, हिरामणि दाहाल, शिवलाल दाहाल ।

संयुक्तरुपमा कृति प्रकाशित भएका र फुटकर रचनाहरु मात्र प्रकाशित समेतलाई खण्ड ‘ख’ मा राखिएको छ । उहाँहरु हुनुहुन्छः इन्द्रकुमारी सम्बाहाम्फे, ओमप्रकाश गौतम उज्ज्वल, ओमप्रसाद उपाध्याय आचार्य, ओमप्रसाद खनाल, कृष्णकुमार सुवेदी, छविलाल सिटौला, ज्योति भट्टराई, टीकाराम पुरी, डील्लीराज निरौला, दीपा दाहाल सुवेदी, दुर्गाप्रसाद कोइराला, देवीप्रसाद रिजाल, बाटोघरे कान्छा, प्रकाश बुढाथोकी, पुस्ता राई, पूर्णप्रसाद शर्मा मिश्र, पं. भवानीप्रसाद गौतम, भूमिप्रसाद दाहाल, मेघनाथ खनाल, यादवप्रसाद नेपाल, रेणुका घिमिरे, रुद्र निरौला, विश्वराज अधिकारी, शारदाप्रसाद खनाल, सपना कन्दङवा, साङसेन पन्धाक, हरिप्रसाद घिमिरे र हरिप्रसाद पौडेल ।

दमकमा रहँदा विशेष योगदान दिनुहुने स्रष्टाहरुलाई खण्ड ‘ग’ मा राखिएको छ । उहाँहरु हुनुहुन्छः प्रकाश आङ्देम्बे, स्वागत नेपाल, मधु पोख्रेल, स्व. रूपा सुब्बा र लक्ष्मी निरौला ।
यसैगरी घण्ड ‘घ’ मा कला संस्कृति र विज्ञानको क्षेत्रमा योगदान दिनुहुने स्रष्टाहरुलाई राखिएको छ । जसअनुसार कलामा हुनुहुन्छः अनिल फागो, अशोक थापा, कमला खनाल रिजाल, चन्द्रा गड्तौला, चोमु शेर्पा खुसी, जितबहादुर विश्वकर्मा जेबी, भीमप्रसाद न्यौपाने, रविन तामाङ, रामबहादुर बिष्ट, लक्ष्मीप्रसाद खनाल, एल.पी. जोशी, विमल नेपाल र शकुन्तला कार्की । संस्कृतिमा हुनुहुन्छः खड्गबहादुर सिंह राई, गणेशमान धिमाल, जितमान राई, मच्छिन्द्रकुमार याक्खा, सन्तवीर लामा र हरिलाल देवान याक्खा ।
त्यसैगरी विज्ञानमा हुनुहुन्छः अरुण कुमार श्रेष्ठ, डा. खगेन्द्र सुवेदी, जसहाङ लिम्बू, जीवनकुमार गुरुङ, डा. तुलसीप्रसाद दाहाल, डा. बलराम राय र सुजित कुमार शाह ।

बालप्रतिभाहरुलाई खण्ड ‘ङ’ मा राखिएको छ । उहाँहरु हुनुहुन्छः अभिष्ट पोखरेल, अन्वेषा चापागाईं, अशोक दर्जी, अभिमन्यु चापागाईं, आकृति बस्नेत, एन्जिला बेघा लिम्बू, गरिमा न्यौपाने, दीक्षा वाग्ले, प्रेनुसा पाण्डे, मनिकुमार बुढाथोकी, रुजु दुलाल, रामप्रसाद खतिवडा, रियाज रिजाल, लुना न्यौपाने, वसन्त चापागाईं, स्वस्तिका पाण्डे र सेलिया श्रेष्ठ ।

दमकमा रहेर पत्रकारिता गर्नुहुने पत्रकारहरुलाई खण्ड ‘च’ मा राखिएको छ । उहाँहरु हुनुहुन्छः गञ्जबहादुर दाहाल, विमल लामिछाने, टीकाराम उप्रेती, विष्णु सुब्बा, कोशिस शिवाकोटी, कमन देवान, मिन प्रकाश उप्रेती, गिरिराज भट्टराई, मनकुमार गदाल, सरोज चम्लागाईं, कृष्ण कार्की, केदार पौडेल, देशराज नेममाङ, विष्णु पौडेल, गोपाल झापाली, सुदीप अधिकारी, गीता ढुङ्गाना रिजाल, भूमिराज पराजुली, सुष्मा नेपाली, राजु पोखरेल, विष्णुप्रसाद पोखरेल, युवराज विवस ‘पौडेल’, र डिकेस लामा ।

भाषा साहित्यबाहेक अन्य विधाका स्रष्टाहरुलाई परिभाषित गर्नु, उनीहरुलाई समेट्ने मापदण्ड तयार गर्नु र सोही अनुसार विवरणहरू सङ्कलन गर्नु यो कृतिको पहिलो उल्लेखनीय पाटो हो । त्यसैगरी दमकमा जन्मेर दमकमै बसोबास गर्दै सिर्जना कर्म गर्ने स्रष्टा मात्र नभएर दमकमा जन्मेर अन्यत्र गई सिर्जना कर्म गर्ने, अन्यत्र जन्मेर दमकमा आई सिर्जना कर्म गर्ने र दमकमा बसोबास गरेकाबखत विशेष योगदान दिने स्रष्टाहरूलाई समेत अटाउने प्रयत्न गर्नु दोस्रो महत्वपूर्ण पक्ष हो । फेरि प्रकाशित कृति भएकाहरुको छुट्टै खण्ड, संयुक्तरुपमा कृति प्रकाशित गर्नेहरुको, कृति प्रकाशित नगरे पनि निरन्तर साधनाकर्ममा लागिरहेर एउटा लामो इतिहास बनाइसकेका स्रष्टाहरुको, कलाकार, संस्कृतिविद्, भाषाविद्हरुको, बालप्रतिभाहरु र पत्रकारहरुको समेत छुट्टाछुट्टै खण्ड तयार गरी सबैखाले सर्जकहरुलाई बराबरको मान्यता दिई एउटै पुस्तकभित्र अटाउने कार्य गर्नु तेस्रो महङ्खवपूर्ण पक्ष हो ।

समग्रमा भन्नुपर्दा ‘दमक स्रष्टा परिचय कोश, भाग–१’ दमक क्षेत्रको बौद्धिक, साहित्यिक, सांस्कृतिक र वैज्ञानिक इतिहासलाई एउटै ग्रन्थमा सुरक्षित गर्ने अत्यन्तै प्रशंसनीय प्रयास हो । यस कृतिले स्रष्टालाई केवल नामको सूचीमा सीमित नगरी उनीहरूको साधना, योगदान र पहिचानलाई संस्थागतरूपमा अभिलेखित गरेको छ, जुन भावी पुस्ताका लागि अमूल्य धरोहर बन्ने निश्चित छ । योगदानको परिमाणभन्दा साधनाको निरन्तरतालाई सम्मान गर्दै सबै स्रष्टालाई समान हैसियतमा प्रस्तुत गर्नु यस कोशको सबैभन्दा ठुलो विशेषता हो । स्थानीय तहबाटै सुरु गरिएको यस्तो गम्भीर प्राज्ञिक कार्यले राष्ट्रिय स्तरमै उदाहरणीय अभ्यासको सन्देश दिएको छ । यस कृतिले सबै स्रष्टाहरुलाई समेट्न सकेन होला, कृति प्रकाशित नगरेका स्रष्टाहरुले यो समीक्षा तयार हुँदासम्ममा धेरै कृतिहरु प्रकाशित पनि गरिसक्नुभयो होला, ती सबै समयक्रमसँगै चलिरहने प्रकृया सम्झेर नसमेटिएकाहरुलाई समेट्तै आगामी भागहरू पनि यसैअनुसार निरन्तररुपमा अद्यावधिक गर्दै विस्तार गर्न सकेमा ‘दमक स्रष्टा परिचय कोश’ केवल परिचयात्मक ग्रन्थ मात्र नभई दमकको समग्र स्रष्टा इतिहासको आधिकारिक दस्तावेजका रूपमा स्थापित हुनेमा दुईमत रहन्न ।