February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

सामुदायिक विद्यालय अभिभावक सङ्‍घको साधारण सभा सम्पन्न

पुस १२, झरना सञ्‍चार ।
भक्तपुरको सिद्ध पोखरी पार्टी प्यालेसमा सामुदायिक विद्यालय अभिभावक सङ्‍घको साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम सङ्‍घका अध्यक्ष रामप्रसाद नेउपानेको अध्यक्षतामा तथा राष्ट्रिय गानका रचयिता कवि प्रदीप कुमार राई (व्याकुल माहिला) को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सभाको उद्घाटन प्रमुख अतिथि व्याकुल माहिलाले पानसमा बत्ती बालेर गर्नुभएको थियो। सङ्‍घका उपाध्यक्ष रमेश पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव बद्री तिवारीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा शैक्षिक अभियन्ता तथा सामुदायिक विद्यालय महासङ्‍घका प्रस्तावित अध्यक्ष सुप्रभात भण्डारी, चाँगुनारायण नगरपालिका वडा ३ का वडाध्यक्ष श्यामसुन्दर धिमाल, अविभावक सङ्‍घ नेपालका अध्यक्ष केशव पुरी, पूर्व जिशिअ तथा किताबखानाका महानिर्देशक रामहरि दाश श्रेष्ठलगायतका उच्च पदस्थ व्यक्तिहरूले शुभकामना व्यक्त गर्नुभएको थियो भने सङ्‍घका काठमाडौँ जिल्ला अध्यक्ष वासुदेव अधिकारीद्वारा ‘शिक्षा सन्देश’ नामक कवितासमेत वाचन गरियो । 

सभामा न्याय क्षेत्रमा लामो समय योगदान पुर्‍याएका वरिष्ठ अधिवक्तात्रय दुर्गा मोहन श्रेष्ठ, रमेश पौडेल र मनोहर लामिछानेलाई प्रमुख अतिथिद्वारा दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै महासचिव बद्रीप्रसाद तिवारीले साङ्‍गठनिक प्रतिवेदन र कोषाध्यक्ष नारायण थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि व्यापक छलफल गरी हलले पारित गरेको थियो ।

कार्यक्रमको अन्त्यमा अध्यक्ष नेउपानेले अतिथिहरूको सल्लाह सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबै सहभागीप्रति आभार प्रकट गर्नुभएको थियो । साथै चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले कार्यक्रम सम्पन्न गर्न नगद रू.१०,००० (दस हजार) आर्थिक सहयोग गर्नुभएकोमा सङ्घका अध्यक्ष रामप्रसाद न्यौपानेले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।