February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

आशाका घाउ

म कसरी नभन्नु !
आशाका घाउ दुखाउँछन्
आशाहरूले झुक्याई झुक्याई
निराशामा झारिदिँदा
आशा नबाँची बाँच्‍नै ‌नसक्ने पारिदिँदा
बाँच्‍न कति गाह्रो !
बाँचेर पनि हाँस्‍न कति गाह्रो ! 
हाँसेर पनि… ?

जब आशाहरू यो मन मस्तिष्कबाट छुट्टिँदै जान्छन्
जान्छ यो सास पनि थोरै थोरै गरी
हराउँछ आफ्नै अस्तित्व आफैँबाट पनि
यहाँ कति काँडामा हिँडे पनि
घाउ आफ्नै दुख्छ
यो दुनियाँ आफ्नो नाफाबाहेक अरू सबैमा थुक्छ
थोरै मानवता देखाउन मात्रै सके पनि
‘यो दुनियाँ ठिकै छ’ लाग्थ्यो होला हेर्नेलाई पनि
मानवता हराइसकेको समाजमा 
के हेर्नु हेर्नेलाई पनि ?