May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार

प्रेम के हो ?

प्रेम के हो ?
के यो भयानक रोग हो ?
भोक या भोग हो ?
के भय, डर, त्रास, आस वा साहस ?
के यो आकर्षण हो कि गुरुत्वाकर्षण ?
अत्यावश्यक हो वा अर्थहीन ?
के यो गङ्‍गासागरभन्दा गहिरो
या आकाशभन्दा फराकिलो छ ?
के यो कमजोरी हो या आत्मबल ?
यो समस्या हो या समाधान ?
के एक्लोपनको जडी ओखती हो
या अमनचयनको साध्य ?
के यो बन्धन हो या सम्बन्धन ?
समर्पण हो या आत्मसमर्पण  ?
के यो तपस्या हो या तागत ?
तृष्णा हो या अभिलाषा ?
सेवा, सद्भाव, स्‍नेह वा दयाभाव
आखिर के हो, प्रेम ? 

यो मौसमी हुन्छ वा सदाबहार ?
हरियाली हुन्छ वा खडेरी ?
नाप, तौल, उचाइ वा योग्यता
कति होला यसको ?
गुलियो–नुनिलो, अमिलो–पिरो
स्वाद कस्तो हुन्छ यसको ?
यो संयोग हो या योजनाबद्ध ?
लाभ–हानि हो या योगदानी ?
धर्मको फल वा कर्मको उपज ?
पाप हो या पुण्य ?
सर्वश्व हो या शून्य ?
अवसर हो वा चुनौती ?
सुनिश्चित हो या अनिश्चय ?
भागफल हो या शेष ?
जोड, घटाउ वा गुणन ?
ब्रह्माण्ड हो या अवशेष ?
खास हो या सर्वनास ?
सबथोक हो या विशेष ?
नाम हो या सर्वनाम ?
क्रियापद हो या विशेषण ?
शून्यता या सम्पूर्णता ?
फूल हो या फल ?
सगुन हो या सौगात ?
दान हो या अनुदान ?
वरदान हो या श्राप ?
आशीर्वाद हो या अभिषाप ?
विशेषण हो या विभीषिका ?
आविष्कार हो या अन्वेषण ?
आखिर के हो प्रेम ? 

नीति, सिद्धान्त, विचार, दर्शन
केमा आधारित छ यो ?
पानी हो या आगो हो ?
सुखको द्योतक या दुःखको प्रतीक ?
निर्लज्ज वा निकृष्ट कस्तो हुन्छ ?
के यसको आकारप्रकार हुन्छ ?
वा निरञ्‍जन निराकार हुन्छ ?
के यो जादु हो, या टुनामुना ? 

के यो अनुपम संगम हो ?
वा आत्मामिलनको योग हो ?
प्रसङ्‍ग या प्रारब्ध के हो ? 
आत्मीयता, प्रतिबद्धता, लगाव,
अनुभूति या अनुमान ? 
अतीत वा वर्तमान ? 
इज्जत वा सान ?
लज्जा वा अपमान ?
मधुपर्क या मधुमास ?
श्वास हो वा अन्धविश्वास ?
कारक हो वा प्रकार ?
कर्तव्य हो या नैसर्गिक अधिकार ?
आखिर के हो प्रेम ? 

के यो सजीलै प्राप्त होला ?
या कठिनाइ भोग्‍नुपर्ला ? 
के यो प्रणालीगत हुन्छ ?
वा अन्धाधुन्द हुन्छ ?
व्यवस्थित हुन्छ ?
वा अस्तव्यस्त हुन्छ ?
के यो सिर्जनशील हुन्छ ?
वा जडसूत्रवादी 
यो प्राकृतिक हो या मानव–निर्मित ?
स्वचालित हो या समय–सिर्जित ? 
सहकार्य, सन्तुष्टि हो ?
या अरू केही ?
अधुरो होला या मधुरो होला ?
युद्ध होला या बुद्ध होला ?
सस्त्रास्त्र वा परमाणु बम ? 
कि कोमल मनको हतियार ? 
वाल्मीकि हो या रत्नाकर ?
ध्यान हो या दिव्यज्ञान हो ?
सचित्र हो वा विचित्र ?
के यो प्रसारित हुन्छ ?
साटासाट वा क्रय–विक्रय हुन्छ ?
ऋण–धन, आय-व्यय, दायित्व
वा नगरी नहुने कार्य ?
परम्परा वा रीत हो कि अनमोल प्रीत ?
नियति या सौभाग्य ?
ज्ञातव्य हो वा भवितव्य ?
ठोस, तरल, ग्याँस
नास वा अविनाशी ?
साश्वत सत्य हो ? या
गठित दिग्भ्रम ?
देह हो या आत्मा ?
आखिर के हो प्रेम ? 

मलाई लाग्छ यो द्रूत गतिमा
फैलिने महामारी हो
खतरनाक पाण्डामिक प्रकोप हो
हर्मोन नामक आत्मरस मौलाएर
शरीरभर फैलिएपछि
कहिले यसले सुवास छर्छ
कहिले दुर्गन्ध फैलाइदिन्छ
र विश्वयापी रूपमा दुनियाँलाई
यसको प्रकोपले डढेलो झैँ सखाप पार्दछ
कतिपयलाई सिकिस्त पार्दछ
प्रपिण्डीय चेतनाको रसविज्ञानद्वारा
सञ्‍चालित र नियन्त्रित हुन्छ
जीवशास्त्रीय पुरातत्त्वभित्रको
एक बुँद आवश्यक्ताको ध्वनि मिश्रित
अश्रुगुप्त अनि प्रेरकतत्त्व
जसले जीवाश्म को खोजी गर्दै
उत्तरपिँढीको पक्षपोषण गर्दछ
हो त्यो नै हो प्रेम ।
न चोरले चोर्ने न राज हर्ने
नमर्ने, सदा अमर रहने
जति बाँढ्यो उति भाँडो भरने
रिसराग, आग्रह, छलकपट, सडयन्त्र
वा तन्त्रमन्त्र, लोभलालच,
आशाइच्छा आग्रह र आकाङ्‍क्षालाई
थाँती राख्दै मन र मस्तिष्कको
बरोबर सहकार्य र सन्तुलन नै प्रेम हो ।
कहाँ होला ?, कसरी होला ?, के होला ?, किन होला ?
यी सबै कुरा सबैले सधैँभरि सिकिरहनुपर्छ
पढिरहनुपर्छ, प्रक्रियाभित्र परिरहनुपर्छ
परिबन्धमा पाकिरहनुपर्छ
तर एउटै कुरा छ जसलाई पढाइरहनुपर्दैन
बुझाउनुपर्दैन, देखाउनुपर्दैन आफैँ सिक्दछ
देख्दछ, जान्दछ, बुझ्दछ र प्रेम गर्दछ
अनि प्रेमपिण्डको पक्षपोषण गर्दछ
र निसानी चिन्ह प्रदान गर्दछ
यो बहुअस्तित्ववाद र बहुआयामिक हुन्छ
हो त्यो नै हो प्रेम ।