May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार

कर्मले भविष्य बनाउने आइशा

आइशा सुनुवारले पुरस्कार त कति पाइन् कति ! ती पुरस्कार उनले पढाइ, लेखाइ र बोलाइमै पाएकी हुन् । आफूले पाएका सबै पुरस्कारहरूमध्ये कक्षा पाँचमा पढ्दा पाएको पुरस्कार उनी कहिल्यै बिर्सिन्नन् । यो उनले पाएका ठुला पुरस्करमध्येको पहिलो थियो ।

आइशा अहिले एसओसए हर्मन माइनर स्कुल, सानोठिमी भक्तपुरको दसौँ कक्षामा पढ्दै छिन् । उनी त्यस बेला युनाइटेड एकेडेमी, ललितपुमा पढ्थिन् । त्यही बेला पाएको पुरस्कार उनी अहिले पनि झलझली सम्झिरहन्छिन् ।

त्यस बेला आइशा युनाइटेड एकेडेमीका तर्फबाट ‘रियल स्कुल अफ नेपाल २०१९’ मा सहभागी भइन् । साथमा अन्य केही साथीहरू पनि थिए । लगनशीलता, इच्छाशक्ति र दृढ आत्मविश्वासका कारण उनीहरू त्यस प्रतियोगिताका विजेता भए । हो, यही क्षण आइशाले पुरस्कारका रूपमा ल्यापटप पाएकी थिइन्; उनी खुसीले फुरुङ्‍ङ भएकी थिइन् ।

नेपाल राष्ट्र बैङ्ले आयोजना गरेका विभिन्न चित्रकला प्रतियोगितामा पनि उनले पटक पटक प्रथम पुरस्कार पाएकी छिन् ।

२०७९ सालमा आइशा कक्षा ८ मा पढ्थिन् । त्यस बेला भक्तपुर नगरपालिकाले बोडेका मन्दिरहरू बनाउने आर्ट प्रतियोगिता आयोजना गरेको थियो । यस प्रतियोगितामा पनि उनी प्रथम भइन् । यस पटक उनले नगद रु. दश हजार, प्रमाणपत्र र ट्रफी पाएकी थिइन् ।

२०८० सालमा भक्तपुर प्याब्सनले ओम ज्ञान मन्दिर, भक्तपुरमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा पनि प्रथम भएर आइशाले मेडल, ट्रफी र प्रमाणपत्र पाइन् ।

२०८० मै युएनडिपीले चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । त्यहाँ उनले गुलाबको फूलमाथि बसेकी एउटी नारी, उनका परिधिमा गुलाबका कोपिला र सक्षम महिलाहरू अवस्थित पेन्टङ बनाइन् । यस कार्यक्रममा प्रथम, द्वितीय घोषणा नगरी दश विजयी छनौट गरिएको थियो । यस पटक पनि दश विजयीमध्ये पर्न सफल हुँदा आइशाले ट्रफी, युएनडिपीको ब्याग र प्रमाणपत्र पाइन् । यस प्रतियोगितामा आइशाले बनाएको पेन्टिङ युएनडिपीले आफ्नो २०८१ सालको क्यालेन्डरमा प्रकाशनसमेत गरेको छ । यसलाई उनी आफ्नो अर्को महत्त्वपूर्ण उपलब्धि ठान्छिन् ।

विद्यालयमा हुने हस्तलेखन र वक्तृता कला प्रतियोगितामा आइशा पटक पटक प्रथम भएकी छिन् । 

आइशाको मुख्य रुचि चित्रकाल नै हो । यसका साथै गीत सुन्ने, कथा उपन्यास पढ्ने पनि उनका रुचि हुन् । सफल मान्छेका रुचि पनि राम्रै हुन्छन् । आइशाका रुचि पनि सिर्जनात्मक छन्; उनको बौद्धिक क्षितिज फराकिलो पार्न सहयोगी छन् ।

आइशालाई सानैदेखि आर्टमा रुचि थियो । घरमा दादा र फुपू आर्ट गर्नुहुन्थ्यो । उहाँहरूले आर्ट गरेको देखेर आइशा पनि आर्ट गर्न थालिन् ।

अभिभावकको साथ पाएपछि बालबालिकाका असल रुचि जीवन्त बन्न थाल्छन् । आइशाले पनि अभिभावकबाट सक्दो साथ पाइन् । उनले माता दीपा सुनुवारबाट सधैँ हौसला पाइरहिन् । उहाँ सधैँ पढाइबाहेक अन्य सिप पनि सिक्नुपर्छ भन्दै चित्र बनाउन हौसला दिनु हुन्थ्यो । बाबा आफ्नो कार्यालयले आयोजना गरेका प्रतियोगितामा सहभागी गराउनुहुन्थ्यो । फुपू आफूले बनाएका चित्र देखाउँदै ‘यस्तै चित्र बनाऊ है मुसु’ (फुपू माया गरेर आइशालाई ‘मुसु’ भन्नुहुन्छ ।) भन्नुहुन्थ्यो । आइशा फुरुक्क परेर त्यस्तै चित्र बनाउने प्रयास गर्थिन् तर ठ्याक्क त्यस्तै चित्र बनाउन त सक्दिनथिन् । तै पनि फुपू ‘आहा कस्तो राम्रो !’ भनेर हौसला दिनुहुन्थ्यो । कक्षा सातदेखि बाबा अशोक सुनुवारले आर्ट सिक्न योङ पिकासोमा भरना गरिदिनुभयो । त्यसपछि उनी निरन्तर आर्ट गरिरहेकी छिन् । त्यहाँ अजय सरले उनलाई हौसला दिइरहनुभएको छ ।

आफ्ना विद्यार्थीहरूलाई अवसर प्रदान गर्नका लागि योङ पिकासोले आर्ट प्रदर्शनी गर्ने गरेको छ । पाटन म्युजियममा भएको प्रदर्शनीमा आइशा पनि सहभागी भइन् । त्यहाँ उनको एउटा आर्ट २५ हजार रुपियाँमा बिक्री भयो । त्यो भगवान्‌ गणेशको चित्र थियो । पहिलो पटक त्यति धेरै पैसामा आफ्नो कला बिक्री हुँदा उनी असाध्यै खुसी भइन् । त्यो खुसी सम्झँदै उनी भन्छिन्, “त्यति धेरै पैसामा मेरो आर्ट बिक्ला भन्ने लागेकै थिएन ।”

आइशा कलाका साथै पढाइमा पनि अब्बल छिन् । भविष्यमा साइन्स पढेर केही गर्ने उनको इच्छा छ । उनलाई चराहरू धेरै मनपर्छ । उनी धेरैजसो चराकै पेन्टिङ बनाउँछिन् । चरासँग सम्बन्धित भिडियोहरू हेर्छिन् । “त्यसैले चराकै बारेमा वैज्ञानिक अध्ययन गर्नुपर्ला” उनी भन्छिन् ।

आफ्ना भावना अभिव्यक्त भएका, कलरफुल र मान्छेको मन छुने कला आइशालाई मनपर्छ । स्केच, पेन्टिङ, पोट्रेट अब्स्ट्रयाक्ट आदि उनलाई मनपर्ने आर्ट हुन् । तीमध्ये उनले स्केच, पेन्टिङ र पोट्रेट बनाए पनि अब्स्ट्रयाक्ट आर्ट चाहिँ बनाएकी छैनन् ।

अब आइशाले बनाएका केही कला हेरौँ :

आइशा जति राम्रा चित्र बनाउँछिन् त्यति नै मिठो बोल्छिन् । उनी नम्र बोल्छिन्; प्रस्ट बोल्छिन् । कलामा उनको झुकाव छ; कलाकारितामा सहज गुण छ; उपयुक्त वातावरण छ त्यसैले त उनी एकपछि अर्को सफलता चुमिरहेकी छिन् । आइशा आफू मात्र सफल भएकी छैनन्, पुरस्कृत मात्र भएकी छैनन्; मनबाट नै कर्ममा जुट्ने हो सानैदेखि सफलता चुम्दै चुम्दै अघि बढ्न सकिन्छ भन्ने प्रेरणा पनि बनेकी छिन् ।

२००९ जुन १४ का दिन ललितपुरको इमाडोलमा जन्मिएकी आइशा भर्खर तेह्रौँ वर्षमा हिँड्दै छिन् । यो उनको औपचारिक अध्ययन गर्ने बेला हो; परिवार र साथीहरूसँग खेल्ने र रमाउने बेला हो । सोहीअनुसार उनी अहिले अध्ययन गर्दै, खेल्दै, रमाउँदै कर्मले सुन्दर भविष्यको बलियो जग निर्माण गरिरहेकी छिन् । आइशाका आजका कर्ममा उनको भोलिको सुन्दर जीवन छर्लङ्‍ङ देख्‍न सकिन्छ ।