सराना गिरी : कलामा पहिचान खोज्दै
सेन्जेबियर स्कुल, जउलाखेलको कक्षा ६ की छात्रा सरानाको पढाइ राम्रो छ । त्यस्तै राम्रो छ उनको कलाकारिता । उनी आफ्ना कलामा मनका अनुभूति प्रस्तुत गर्न चाहन्छिन् । त्यसैले उनका कलामा मनका दुःख वा सुख प्रतिबिम्बित भएका हुन्छन् । अर्थात् उनका कला हेर्दा यो सरानाले खुसी भएका बेला वा दुखी भएका बेला बनाएको कला हो भन्ने अनुमान गर्न सकिन्छ ।
जे देख्यो बालबालिकाले त्यही सिक्छन् । बालबालिकालाई जस्तो बनाउन चाहन्छौँ त्यस्तै काम हामीले पनि गर्नुपर्छ । हामीले असल काम गर्यौँ भने बालबालिका पनि असल काम नै गर्छन् । धेरै कुरा बालबालिकाले अभिभावककै देखासिकीबाट जानेका हुन्छन् । सरानाले पनि त्यसरी नै कला सिकिन् । बाबा सविन गिरी स्केच बनाउनुहुन्थ्यो । त्यो देखेर सराना पनि स्केच बनाउन थालिन् । उनले बनाएका स्केच बाबाले हेर्नुभयो । नमिलेका ठाउँमा यसरी मिलाउनु भनेर सिकाइदिनुभयो । उनमा स्केचप्रतिको रुचि र सिप बढ्दै गयो । छोरी राम्रा कला सिर्जना गर्न सिपालु बनुन् भन्ने बाबामामुको चाहना भयो । त्यही बेला उहाँहरूले योङ पिकासोका बारेमा जानकारी पाउनुभयो । त्यसपछि सरानालाई कला सिक्नका लागि योङ पिकासोमा भरना गरियो ।
देश गुनाको भेश, कपाल गुनाको केश भने झैँ मानिस आफूलाई वातावरण अनुकूल बनाउँछ । घरमै कलाकारिताको प्रारम्भिक वारावरण पाएकी सरानालई योङ पिकासोमा पुगेपछि ढुङ्गा खोज्दा देउता मिले झेँ भयो । उनी त्यहाँ अजय सरको कला सिकाउने सिपबाट प्रभावित भइन् । उनकै शब्दमा, “अजय सर फ्रेन्डली हुनुहुन्छ । उहाँ राम्ररी सिकाउनुहुन्छ । राम्रो नभएका ठाउँ देखाइदिनुहुन्छ र यसरी बनाऊ भनी सिकाइदिनुहुन्छ । त्यसैले मलाई आर्ट सिक्न सजिलो भएको छ ।”
आर्ट कक्षा सकिएपछि उनी फुरुक्क परेर घर पुग्छिन् । आफूले बनाएको आर्ट मामुपापालाई देखाउँछिन् । त्यो देखेर उहाँहरू खुसी हुनुहुन्छ । उहाँहरूले छोरीका सबै कला सङ्कलन गरेर घरमा राखिदिनुभएको छ ।
सरानालाई डुडल र प्राकृतिक दृश्यहरूका पेन्टिङ बनाउन मनपर्छ । अहिलेसम्ममा उनले धेरै पेन्टिङ बनाएकी छिन् । तीमध्ये केही पेन्टिङ अजय सरले दिएका कन्टेन्टमा बनाएकी छिन् भने केही आफैँ हेरेर अनि कल्पना गरेर बनाएकी छिन् । उनलाई पेन्टिङ बनाउन मामु रमिता मास्के पनि प्रेरित गरिरहनुहुन्छ ।
चित्रकलाका साथै सरानालाई स्विमिङ, डान्स, फुटबल र जिम्नास्टिक जस्ता खेलमा पनि रुचि छ । विद्यालयमा आयोजित जुनियर फुटबल प्रतियोगितामा उनी सहभागी हुने गर्छिन् । एक पटक त उनी सहभागी भएको टिमले खेल जितेको पनि छ । सरानाले आफ्नो टिमलाई जिताउन राम्रो खेल प्रदर्शनी गरेकी छिन् । उनी फुटबल खेलाडीका रूपमा पुरस्कृतसमेत भएकी छिन् ।
खेलका बारेमा जिज्ञासा राख्दा उनी भन्छिन्, “पापा पहिले स्कुल पढ्दा जिम्नास्टिक खेल्नुहुन्थ्यो । उहाँले नै मलाई जिम्नास्टिक सिकाउनुभयो ।” उनी समय मिलाएर आफ्ना सबै रुचि पूरा गर्ने प्रयत्न गरिरहन्छिन् । यी सबै रुचिमध्ये चित्रकलामा सराना विशेष ध्यान दिन्छन् । त्यसैले त उनका चित्रहरू आकर्षक छन् । उनी विद्यालयभित्र र बाहिर भएका चित्रकला प्रतियोगितामा धेरै पटक पुरस्कृत पनि भएकी छिन् ।
अब बालचित्रकार सरानाका केही कलात्मक सिर्जना हेरौँ :
१.
२
३.
४.
५.
६.
७.
सरानाका रुचिका क्षेत्र धेरै छन् । आउँदा दिनमा यी क्षेत्र अझ बढ्न सक्छन् । तिनीहरूलाई उनले व्यवस्थित तरिकाले अघि बढाउन सक्नुपर्छ र सक्छिन् पनि । बाल्यकालमा प्राप्त विविध क्षेत्रको ज्ञानबाट नै उज्ज्वल भविष्यको बलियो जग निर्माण हुन्छ । सराना आज त्यो जग निर्माण गर्दै छिन् । सरानाका पापामामु दुवै जना दन्तचिकित्सक हुनुहुन्छ । उहाँहरू आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी छोरीलाई हरतरहले सहयोग गरिरहनुभएको छ । यो सरानाका सुन्दर भविष्यको सुलक्षण हो ।
२०१३ आप्रिल १२ का दिन जन्मिएकी सराना भर्खर एघार वर्षकी भइन् । यो त उनको साथीभाइ र बाबाआमासँग खेल्ने, आफूले भने जस्तो नहुँदा झगडा गर्ने उमेर हो । आफ्नो सरसफाइसमेत राम्ररी गर्न सक्ने उनको बेला नै भएको छैन । अहिले नै भविष्यमा के गरुँला ? कसो गरुँला ? भनी सोच्ने त कुरै भएन । तथापि उनमा राम्रो सिर्जनात्मक चेतना छ । सिर्जनात्मक सिप पनि परिपक्क हुँदै छ । कागजमा पोखिएको रङलाई सुन्दर कलामा परिणत गर्ने क्षमता देखिन थालेको छ । यही सिप, क्षमता, केही गर्छु भन्ने अठोट र कला सिर्जनाले निरन्तरता पाइरह्यो भने कलाकारिता सरानाको पहिचान हुने छ । यति सानो उमेरदेखि नै कलामा आफ्नो पहिचान खोजिरहेकी सराना भविष्यमा कुशल चित्रकार, पेन्टर बन्ने पक्का छ ।
लेखकको सम्वन्धमा