November 5, 2024, Tuesday
२०८१ कार्तिक २०, मंगलवार

केबल म

अन्कन्टार ठाउँका ती अप्ठ्यारा बाटा
जानु छ मलाई प्रकृतिले जता लान्छ त्यता
मानव समाजभन्दा टाढा आफ्नै रङ्‌गिन दुनियाँमा
जहाँ केबल मेरा पाइला र मर्मले भर्दछन् सुनौलोपना । 

सबैको प्रिय बन्ने चाह छैन मभित्र
सबैको प्रशंसा गरी ढोङ फैलाउने कार्य हुँदैन मबाट
केबल राम्रो ‘म’ बनाउन जुट्दै छु आजभोलि
घुमिफिर गरी जीवन बुझी लम्किँदै छु म फेरि ।

कसैले ‘तुच्छ’ भन्दा मनको संसार तहसनहस हुन्छ
कसैले मिठो बोल्दा पग्लिएर पहिलेझैं बन्छ
कुन नीति पालना गर्नु र खै आफूले आफूलाई बदल्न
उही उडी छुन त्यही सुरम्य अभीष्ट चुम्‍न ।

केवल म एक्ली छु ती सपनाहरूमाझ
रुँदै छु पूरा गर्न ती स्वप्‍न दिनरात र साँझ
परिवारको आशा र विद्यालयको आड
कृत्रिमताको ‘हो हो’ अनि आफन्तको कुरो
बुझ्दै छु आजभोलि घुम्दै आफ्नै सेरोफेरो ।