October 3, 2023, Tuesday
२०८० आश्विन १६, मंगलवार

धाननाच

धाननाच नेपालको पूर्वी पहाडी जिल्लामा बसोबास गर्ने लिम्बू जातिले नाच्ने परम्परागत नाच हो । यो साँस्कृतिक पहिचान अर्थात् मौलिक साँस्कृतिक पहिचान बोकेको एक प्रकारको नाच हो । लिम्बू जातिको धाननाच अर्थात् पालाम कहिलेबाट उत्पति भएको हो भनेर ठ्याक्कै मिति तोकेर भन्न सकिँदैन । यो मानव सभ्यतादेखि चलिआएको हो । यो पूर्वी अञ्चलको ताप्लेजुङ जिल्लाको सामाजिक मुन्धुम, कोङमादेन, युमपिरी, याङ्यामाङ तमोर नदीको आसपासमा रहेका गाउँहरूमा बस्ने तुमतुम्याहाङ मुन्धुम, साबा मुन्धुम, सामाअनुसार यो लिम्बू जातिको यालाङ् अर्थात् धान नाच यसप्रकार छ ।

परापूर्व कालमा मानिसहरूका बस्तीमा ठुलो भोकमरी आयो । त्यसबेला एक माक्चेरिपु अर्थात् धान चराले खैया धानको बिउ ल्याएर रोप्नु भनी मानिसलाई दियो । मानिसहरूले त्यो धान आफ्ना बारीमा लगाई बेस्सरी धान फलाए । त्यसबेला माक्चेरिपु अर्थात् धानचराले आएर धान खानथाले । धान खाने बेलामा मानिसहरूले चरालाई खेद्ने प्रयास गरे । माक्चेरिपुले मानिसलाई भन्यो, ‘मैले बिउ ल्याएर धेरै धान फलायौ अब मलाई पनि धान दिनुपर्छ ।’ मानिसहरूले चराको कुरा काट्न नसकेर ‘हुन्छ’ भने । त्यसपछि माक्चेरिपु सधैँ आएर धान बाली खाइदिने गर्नथाले । खलामा राखेको धान पनि खान थालेपछि मानिसले एक जुक्ति निकाली धान रुँग्ने बेलामा ‘हा हा’ गर्दै खेदाउने शब्द निस्कियो । सबै मानिसहरू यसरी नै धान रुँग्न थाले । खलामा धान झार्ने बेलामा सबै धान आएपछि मानिसहरूले एकआपसमा हात समातेर धान झर्ने गरी नाच्दै धानचरा खेद्नलाई ‘हा हा’ गर्दै धपाउने चलन नै पछि गएर धाननाचको चलन भएको हो भन्ने लिम्बू समुदायमा ठुलो मान्यता छ ।

यसरी बसेको धाननाचको चलन नै आज लिम्बू जातिहरूको परम्परागत मौलिक संस्कृतिका रूपमा स्थापित भएको छ । यो विभिन्न कार्यक्रम, विवाह, भोज, हाटबजार, मेलापातमा गाउँदै नाच्ने चलन छ । यसलाई गोलो घेरामा उभिएका सहभागीहरूले एकअर्काको हात समाई खुट्टा हल्लाई हल्लाई विभिन्न भाका र शैलीहरूमा नाच्न सकिन्छ । तरुनी तन्नेरीहरू साइनो केलाएर यसरी धान नाच्दानाच्दै एकआपसमा मन परापर गरी विवाह पनि गर्ने चलन छ ।