January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

जीवन, यात्री र स्वप्रेरणा

दीपकिरण खड्का
एमबीबीएस अध्ययनरत
हाल : च्यामुसी, चीन

प्रत्येक मानिस, एउटा मानिस, तपाईं, म, ऊ, कोही पनि सिङ्गो एउटा हौं, एउटा पृथक मान्छे, एउटा पृथक सपना बोकेर हिंडेका यात्री। सपना सबैको एउटै होला तर पुग्ने मार्ग वा गोरेटा फरक फरक छन्। मानौं एउटै बाटो भए पनि हिंड्ने तरिकाहरु फरक छन्।

हामी दोबाटोमा मिल्काइएको ढुङ्गो बन्न पुगेका छौं, हामीले आफैंलाई चिन्नुछ, हामी स्व पूजिन हामीले आफूलाई  चिन्नुछ, तपाईंभित्रको तपाईं चिन्ने प्रयत्न गर्नुहोस्। अनि बल्ल हामी मनभित्र नै आफ्नै मन्दिर बनाउन सक्नेछौं, हामी पुजिनेछौं, हामी पुजिंदा संसार मन्दिर मानेर पूजा गर्नेछ। तर आफूले पहिलो पूजा नगरी कसैले पूज्नेवाला छैन। सम्झनुस् त त्यो ढुङ्गोलाई देवता बनाउन तपाईंले कुन कस्ट उठाउनु भएको छ।

आफूभित्रको त्यो `ढुङ्गो´ चिन्नुस्! सक्नुहुन्छ भने प्रतिभा र क्षमतालाई संगै लाने प्रयत्न गर्नुस्। नत्र कर्मले दिएको प्रतिभाको बाटो हिंड्नुस् या त कडा मिहेनतले दिने क्षमतालाई समात्नुस्। बस यात्री भएर यात्रामा हिंडिरहनुस्। सबै यात्री पुग्ने ठाउं एउटै होला तर सबैले देख्ने दृश्य एउटै हुनेछैन।

`यात्रा भनेकै आफ्नो हृदयको त्यो ठाउँ पत्ता लगाउनु हो जहाँसम्म आजसम्म पुगिएको छैन।’ साच्चै यो उद्गार पढ्दा यति सरल र छोटो लागे पनि यत्तिको सरल पक्कै होइन, एउटा गहिरो अर्थ बोकेको वाक्य भन्छु म। हेर्नोस् त सारा यात्रा गर्दागर्दै पनि हामी हृदयको अन्तस्करणमा पुगेका पो छैनौँ कि?

हाम्रो यात्राको मामिलामा एउटा कथन छ नि, हामी कोही खहरे, कोही खोल्सा, कोही खोला, कोही नदी भए पनि अन्तिम यात्रा सागरकै तय हुन्छ। त्यसैगरी शिखरको यात्रा जुन पदमार्ग या कुनै अर्को बाटोबाट गरे पनि त्यो शिखरमा पुगेपछि देखिने दृश्य एउटै हुन्छ। सत्यको शिखर पनि त्यस्तै हो। शिखरमा त यात्रीहरु मात्र पुग्छन्, पर्यटक पुग्दैनन् बरु उसले टाढाबाट शिखर हेर्छ, फोटो खिच्छ अनि सायद ऊ यतिमै सीमित पनि हुन्छ।

पर्यटकले शिखरका गुणदोष बारे समीक्षा गर्न सक्छ तर, त्यहाँ पुग्न भने सक्दैन । यस मानेमा ऊसँग प्रतिभा नभएर भने होइन। प्रतिभा नभएको कोही पनि हुन्न। कुनै न कुनै प्रकारको प्रतिभा हरेक मानिसमा छ।

एरिका जोङको सुन्दर कथन छ, जो ‘खुसी’ भन्ने किताबमा पनि उल्लेख छ, ‘प्रतिभा सबैसंग हुन्छ। तर त्यो प्रतिभाले डोर्‌याएर लैजाने डरलाग्दा ठाउँहरूमा जाने साहस बिरलै मानिसमा हुन्छ।’ मानिस प्रतिभा नभएर प्रतिभाहीन भएको होइन। प्रतिभाले ‘हिँड, सँगै जाऊँ’ भन्दा जाने आँट नभएर मात्र त्यस्तो देखिएको हो।

एउटा बुझ्नु पर्ने कुरो, हामी संसारमा बस्ने सात अर्ब मानिसको सात अर्ब संसार छ, सबै भिन्न भिन्न, भलै हामी एउटै सपनामा लड्दै किन नहौं र?  तर सपना एउटै भए पनि प्रत्येक व्यक्ति आफ्नै तरिकाले लड्छ, र यो नै एउटा मानिसको पहिचान पनि हो। सङ्कल्प, दृढ निश्चय र उद्देश्यदेखि नलडेका होइनन् तर सपना पूरा नहुनुमा मिहेनत र परिश्रम वा उद्देश्यमा मलाई खोट देखाउनु पर्छ भन्ने लाग्दैन? बरु यो अकाट्य सत्य हो कि, हाम्रो समय संयोग मिल्दै छैन, कर्म कारक हुन्छ प्रत्येक प्रसङ्गमा।

निलो मनमा पनि काला बादलहरु हुँडलिन्छन् । कहिले आफैंभित्रको फेवा तालको बादलले घेर्छ । कहिले त मित्रहरूबाट आउने बङ्गाली कालो बादलले घेरिनुपर्छ, त्यस मानेमा तपाईं पहाड बनेर उभिनैपर्छ नत्र तपाईंलाई तिनले दु:ख दिइरहनेछन्। तपाईं पहाड बनी उभिएको खण्डमा उनीहरु तपाईंसामू ठोक्किन पुग्नेछन्, तपाईंका सपनालाई घेर्न पुगेकाहरु आफैं पानीपानी बन्नेछन् तर तपाईं पहाडको पहाड भएर उभिनुहुनेछ। तपाईं झन् रसिलो बन्ने मौका पाउनुहुनेछ, बढीमा क्षति भए तपाईमा पहिरो जाला तर तपाईंको अस्तित्व कहिले मेटिनेछैन।

स्वप्रेरणाबाट जागृत बन्नूस्, मनलाई क्षितिजझैं फराकिलो भएर फैलिन दिनूस्, एकदिन देशले खोजेको व्यक्ति तपाईं हामी बन्नेछौं। किताबका पाना चहारेर आफूलाई खोज्ने मानिसहरु कसैको मस्तिष्कबाट हराउलान् तर ऊ स्वयम् कहिले हराउँदैन। ‘अरु के हुँदैछ’ वा ‘के बन्यो’सँग साइनो राख्दै नराख्नु, जीवन एउटा खुसियालीको यात्रामा डोरिन्छ् र यो यात्राले आफ्नो हृदयविजय सम्भव गराउँछ।

बस्, स्वप्रेरित भएर आफ्नो मन-मस्तिष्कका चक्षुबाट आफूभित्र रहेको थोपोको संसारलाई विविध कोणबाट नियाल्ने प्रयत्न गर्नुस्। अरु को हो/होइन, आफू को हो खोज्नुस्!