May 31, 2026, Sunday
२०८३ जेष्ठ १७, आईतवार

रहर

सुमन राई

साँझ झमक्क पर्न लाग्दा
घर पुग्नको हतारो छोडी कुनै
खुल्ला चौरमा बसी
त्यो सुनौलो रङ्ले रङ्गिएको आकाश
मनभरि हेर्ने रहर छ

घर फर्कँदै गर्दाको अँध्यारो गल्लीमा
कुनै मानिसको छाया मात्र देख्दा पनि
बड्ने मुटुको धड्कन
त्यो डरबिना निर्धक्कसँग
हिँड्ने रहर छ

बस, माइक्रोका भिडमा उभिँदा
आफ्ना वरिपरिका मान्छेसँग
झुक्किएर ठोक्किदा पनि
तर्सिंदै होइन, सङ्कालु भएर पनि होइन
मुस्कुराउँदै यात्रा गर्ने रहर छ

कहिलेकहीँ घर पुग्न अलि ढिला हुँदा
आमाबुबा चिन्तित भै
के लिन आउनुपर्छ ? भन्ने प्रश्न
कारण म वहाँहरूको छोरा नभई
छोरी हुनुको त्रास
मेटिएको हेर्ने रहर छ

बलात्कारीको पक्राउका लागि
महिनौँ माइतिघर मन्डलामा
धर्ना र जुलुस होइन
बलात्कारी बन्नुअघि
हजार पटक सोच्नु परोस्
येस्तो कनुन आएको
हेर्ने रहर छ ।