मेरी बहादुर आमा

सुमन राई

मलाई नौ महिना
कोखमा बोकेर हिँड्यौ
नौ महिनापछि
मलाई जन्माउँदा
सीमातीत ब्याथा सह्यौ
तिमी मेरी बहादुर आमा ।

मलाई बोकी बोकी
घरधन्दा, खेतबारी
हाँस्दै, मुस्कुराउँदै, ठट्टा गर्दै
मेरो बालपनमा
मलाई सम्हाल्यौ
तिमी मेरी बहादुर आमा ।

स्कुल जाने भएँ
मेरो स्कुल ब्याग,
मेरो टिफिन अनि
मलाई समेत बोकी
स्कुल पुर्यायौ
तिमी मेरी बहादुर आमा ।

भाइ बहिनी भए
जिम्मेवारी थपिए
कहिले हाँसोमा, कहिले रिसमा
कहिले आँसुमा, कहिले मौनतामा
आफ्ना जिम्मेवारीका भार
लुकाइरह्यौ र निभाइरह्यौ
तिमी मेरी बहादुर आमा ।

कलेज पढ्ने भएँ
कलेज पढ्न अर्को सहर जानुपर्ने
आफ्नो मुटुको टुक्रालाई
मन गरुङगो गरी
आफूबाट टाढा पठायौ
स्वार्थहीन तिमी
तिमी मेरी बहादुर आमा ।

तिमीले बहादुर सिपाहीले जस्तो
सम्मानस्वरूप तक्मा त पाउँदिनौ
तर, आमा !
तिमी बहादुर सिपाहीभन्दा कम बहादुर छैनौ
जिन्दगीमा तिमीले धेरै सफल लडाइँ लड्यौ
तिमी मेरी बहादुर आमा ।

तक्मा नै दिनु हो भने
तिम्रा छातीभरि नअटाउने गरीका
तक्मा पाउँथ्यौ
त्यसैले त,
तिमी मेरी बहादुर आमा
तिमीलाई मेरा अन्तर्हृदयको अनन्त सलाम !
फगत अनन्त सलाम !