कोरोना र प्रवासी नेपाली विद्यार्थी
यतिबेला विश्व कोरोना भाइरसको महामारीले आक्रान्त बनेको छ। गतवर्षको डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहान सहरमा प्रथम पटक देखिएको यो भाइरसले साडेतीन महिनामा सम्भवतः संसारका सबै मुलुकको भ्रमण गरिसकेको छ। अप्रत्याशित रूपमा फैलिएको यो अदृश्य शक्तिले आधुनिक मानव सभ्यतामाथि कठोर धावा बोलेको यस परिवेशमा विश्व अर्थतन्त्रमा अत्यन्तै नकारात्मक असर पार्ने निश्चित छ। यो विशाल सङ्कट पार गरी विश्व समाज सामान्य अवस्थामा चलायमान हुन धेरै वर्ष लाग्नसक्ने आँकलन बुद्धिजीवीहरूले गरिरहेका छन्। यस्तो विषम परिस्थितिमा देशभित्र वा बाहिर रहेका नेपालीहरूलाई ठूलो मार परिरहेको हुनु र चिन्तित बनाउनु स्वभाविक नै हो। यसै सन्दर्भमा यस लेखले संसारका विभिन्न मुलुकमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई कोरोना भाइरसको महामारीले पार्नसक्ने सम्भावित असर र त्यसबाट बच्न अपनाउनुपर्ने सावधानीलाई चित्रित गर्न खोजेको छ।
नेपाल एक अल्प विकसित मुलुक भएका कारणले यहाँको शिक्षा केही हदसम्म परम्परागत पद्धतिमै आधारित छ। तर मानव जाति विवेकशील रहेको र नयाँ अन्वेषणमा तल्लीन रहिरहने स्वभावको भएको हुनाले नेपाली युवाहरू पनि नयाँ पद्धतिको खोजीमा लाग्नु पक्कै अनौठो होइन। यसैले हाल लाखौं नेपालीहरू विश्वका धेरै मुलुकमा विद्यार्थीका रूपमा उपस्थित रहेको जगजाहेर नै छ।
नेपाल सरकार शिक्षा मन्त्रालयको तथ्याङ्कअनुसार हाल ६० भन्दा बढी देशमा तीनलाखभन्दा बढी नेपालीहरू अध्ययनरत छन् । यो शिक्षा मन्त्रालयले जारी गर्ने वैदेशिक अध्ययन अनुमती पत्रको आधारमा देखाइएको सङ्ख्या हो। भारतमा भएका नेपाली विद्यार्थीको सङ्ख्यालाई यसले समेट्दैन किनभने त्यहाँ जान अनुमति पत्रको आवश्यकता पर्दैन। यस क्षेत्रका जानकारहरूका अनुसार लगभग ४०-५० हजार नेपालीहरू भारतमा हाल अध्ययनरत छन्। यसरी हेर्दा लगभग ३५०००० भन्दा बढी नेपालीहरू अध्ययनका सिलसिलामा विदेशमा रहेको तथ्य देखिन्छ जसको अर्थ अहिलेको विश्व महामारीबाट यो सङ्ख्या पनि प्रत्यक्ष प्रभावित छ।
कोरोनाले यो समुदायमा सिर्जना गर्नसक्ने वा गरेका समस्याहरू:
- विश्वभरिका विद्यार्थी वा अन्य मानिससँग प्रत्यक्ष सम्पर्कमा रहने हुँदा सङ्क्रमणले छिटो भेट्ने सम्भावना प्रवल रहने, सङ्क्रमित भइहालेमा उपचार पाइने वा नपाइने अथवा आवश्यक खर्चको व्यवस्था कसरी गर्ने भन्ने मनोवैज्ञानिक त्रास एक ठूलो समस्या।
- यस्तो डरलाग्दो समयमा परिवारबाट टाढा रहनुपर्ने विवशता कठिन परिस्थिति हो। उमेरका हिसाबले पनि नेपालीहरू कक्षा १२ पछि नै वैदेशिक अध्ययनमा जाने पद्धति भएकाले धेरैजसो विद्यार्थीहरू २० वर्षभन्दा कम वा हाराहारीका छन् जुन नेपालको परिवेशमा आत्मनिर्भर हुन नसक्ने उमेर हो। यस पक्षबाट हेर्दा बहुसङ्ख्यक विद्यार्थीहरू मनोवैज्ञानिक रूपमा विक्षिप्त अवस्थामा हुन सक्छन्।
- धेरै विद्यार्थीहरू पहिलो एक सेमेस्टरको मात्र शुल्क तिरेर गएका हुन्छन्। तिनीहरूले त्यहीँ नै आंशिक समय ज्यालादारीमा काम गरी पैसा आर्जन गर्ने र त्यसैबाट बाँकी अवधिको शुल्कलगायत दैनिक जीवीकोपार्जनसमेत गर्ने गर्छन्। हाल संसारभर आर्थिक गतिविधि ठप्प प्रायः भएको अवस्थामा करिब ९० प्रतिशतभन्दा बढीले रोजगारी गुमाएको हुनाले आर्थिक सङ्कट गहिरिएको छ।
- अर्को प्रमुख समस्या भनेको प्रत्यक्ष पठनपाठनबाट बञ्चित हुनु हो। अधिकांश नेपाली विद्यार्थी कक्षाकोठामा उपस्थित भई प्रत्यक्ष विधिबाट अध्ययन गर्न अभ्यस्त भएका छन्। परिस्थितिबस विश्वविद्यालयले अनलाइन कक्षा चलाउन थालेका छन्। प्रविधिको भरपुर ज्ञान नभएकाहरूलाई यो अर्को समस्या थपिएको छ, जसको कारण परीक्षामा असफल हुनसक्ने भय छ।
- अन्तर्राष्ट्रिय उडानहरू सबै बन्द भएको अवस्थामा कतिपयको भिसा अवधि सकिएको वा सकिन लागेको हुनाले अध्ययन पूरा गरेकाहरू स्वदेश फर्किन नपाएको समस्या पनि हुनसक्छ।
- कतिपय मुलुकमा आप्रवासीप्रति हेयका दृष्टिकोणले हेर्ने र विभेधकारी व्यवहार हुन थालेका समाचार आइरहँदा नेपाली विद्यार्थी पनि सो मारमा परिने हो कि भन्ने अर्को अमूर्त त्रास हुनसक्छ।
उल्लेखितबाहेक अन्य विविध समस्याहरू हुन सक्छन् तर हरेक समस्याहरू समाधानसहित आउँछन् भन्ने विश्वव्यापी मान्यताअनुसार प्रत्येक मुलुकले आफ्ना प्रचलित नियम, कानुनअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग गर्ने रणनीति बनाएका छन्। कतिपय मुलुकले हाल प्रयोगमा भएका कानुनी प्रावधानमा परिवर्तन, संशोधन वा परिमार्जन गरेरै भए पनि सहजता प्रदान गरिरहेका छन्। धेरैजसो विश्वविद्यालयले तिर्नुपर्ने शुल्कमा केही कटौती गरी तिर्नुपर्ने समयावधि पनि बढाएका छन्। रोजगार गुमाएका र आफ्नो देशबाट खर्च मगाउन नसकेर समस्यामा परेका हरूलाई नगदै वा अन्य सहयोगहरू पनि भइरहेका छन्। भिसाको समस्यामा रहेकाहरूलाई भिसा अवधि बिनासर्त बढाइदिने, शुल्क नलिने जस्ता सहुलियत पनि सम्बन्धित मुलुकले दिएका छन्। तर यस्ता सुविधाहरू कसरी प्राप्त गर्ने भन्ने सम्बन्धमा भर्खरै गएका विद्यार्थीहरू अनविज्ञ हुनसक्छन्। त्यसको सहजीकरणका लागि विभिन्न पक्षहरूले सक्रियतापूर्वक काम गर्नुपर्ने हुन्छ। विद्यार्थी स्वयं यसमा बढी चनाखो हुनुपर्छ। अभिभावक, सम्बन्धित शैक्षिक संस्था, सम्बन्धित मुलुकमा भएको नेपालको कूटनैतिक निकाय, त्यस देशमा रहेका नेपाली कल्याणकारी संस्थाहरू, गैरआवासीय नेपाली सङ्घ, शैक्षिक परामर्शदातृ संस्थाहरू यो समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्नसक्ने पक्षहरू हुन्। ती पक्षहरूले निम्नानुसार भूमिका निर्वाह गर्न सक्छन्:
विद्यार्थी स्वयंले गर्नुपर्ने:
- अपरिचित वा परिचित नै भए पनि दोस्रो व्यक्तिका समीपमा नजाने । जानै पर्नेभए सुरक्षाका उपायहरू अवलम्वन गरेर मात्र जाने। घरमै बस्दा पनि सुरक्षित रहने र सङ्क्रमण हुनबाट जोगिने।
- नेपालमा रहेका आफ्ना अभिभावकसँग नियमित सम्पर्कमा रही सकेसम्म सकारात्मक कुराहरू गर्ने। सम्भावित आर्थिक समस्याको अग्रिम जानकारी गराउने ता कि अभिभावकलाई सोको व्यवस्था गर्न सहज होस्।
- आफू अध्ययनरत संस्थासँग निरन्तर सम्वाद गर्ने, आफूले तिर्नुपर्ने शुल्क बाँकी भए र तत्काल तिर्न नसक्ने भए सोका लागि अनुरोध गर्ने। अनलाइन कक्षा नछुटाउने। गृहकार्य नियमितरूपमा गर्ने र बुझाउने। कुनै विषयमा बुझ्न कठिनाइ भए सम्बन्धित प्राध्यापकसँग निसङ्कोच छलफल गर्ने।
- आफूले सेवा लिएको शैक्षिक परामर्शदातृ संस्थासँग निरन्तर सम्पर्क तथा सम्वाद गरी कलेजसँग वा भिसासँग सम्बन्धित तथा अन्य समस्याहरू भए छलफल गर्ने।
- सम्बन्धित देशमा रहेको आधिकारिक कूटनैतिक नियोगसँग सम्पर्कमा रही प्राप्त निर्देशनहरू पालन गर्ने।
- आफू रहेको मुलुकमा भएका कल्याणकारी संस्था तथा गैरआवासीय नेपाली सङ्घसँग नियमित सम्पर्कमा रही समस्याहरू भए छलफल गर्ने।
- आफ्ना साथीहरू तथा अग्रजहरूसँग अनलाइनमा निरन्तर सम्पर्क गरिरहने।
- सम्बन्धित देशका आप्रवासी सम्बन्धी कानुन वा भिसाका सर्तहरू पूर्ण पालना गर्ने।
अभिभावकले गर्नुपर्ने:
- आफ्ना छोराछोरीसँग निरन्तर सम्पर्कमा रहने, सम्वाद गर्ने तर नअत्तालिने, अनावश्यक तनाब नलिने र तनाब छोराछोरीलाई नसुनाउने। उनीहरूको आर्थिक समस्या समाधानका लागि योजना बनाई तयारी गर्ने किनभने अप्रत्याशित सङ्कटले अनपेक्षित जोखिम बढाएको छ र हरेक अभिभावकले छोराछोरीलाई विदेशमा अध्ययनका लागि पठाउनु भनेको सामान्य वा विषम जस्तोसुकै परिस्थितिमा जोखिम उठाउनु नै हो। अत: जोखिम बहन गर्नुपर्छ।
- सेवा लिएको परामर्शदातासँग सम्पर्क गरी आफ्ना छोराछोरीलाई अधिकतम सहयोगका लागि अनुरोध गर्ने।
शैक्षिक परामर्शदातृ संस्था (Consultancy) ले गर्नुपर्ने:
- विद्यार्थीसँग निरन्तर सम्पर्कमा रही सम्वाद गर्ने, समस्याको जानकारी लिने र समाधानका लागि सर्वोत्तम र सहज मार्ग देखाई सल्लाह दिने।
- सम्बन्धित कलेज/विश्वविद्यालयसँग सम्पर्क गरी विद्यार्थीलाई अधिकतम सहुलियत प्रदान गर्नका लागि अनुरोध गर्ने र समन्वयात्मक भूमिका खेल्ने। शुल्क तिर्न तथा अनलाइन कक्षामा विद्यार्थीले भोगेका कठिनाइ सम्बन्धमा कलेजलाई जानकारी गराइदिने।
- भिसा सम्बन्धी केही समस्या भए उचित सल्लाह दिने।
- नेपालमा भएका अभिभावकसँग सम्पर्क र सम्वाद गर्ने।
- सम्बन्धित देशमा रहेका नेपाली कूटनैतिक नियोग तथा अन्य कल्याणकारी संस्थासँग सम्पर्कमा रही सहयोग तथा समन्वयका लागि अनुरोध गर्ने।
नेपाल सरकारले निर्वाह गर्नुपर्ने भूमिका:
यो विषम परिस्थिति हो। यस्तो समयमा सबैको अपेक्षा सरकारसँग ठूलो हुन्छ किनभने सरकार अभिभावक हो। सरकारसँग स्रोत, साधन, सम्पर्क र पहुँच सबै हुन्छ। यस्तो बेलामा नेपाल सरकारले आफ्ना नागरिकहरू कुनकुन देशमा अध्ययनरत छन् भन्ने आफ्नो आधिकारिक तथ्याङ्कअनुसार ती मुलुकमा रहेका आफ्ना कूटनैतिक नियोगमार्फत सम्पर्क र सम्वाद गरी आवश्यक सहयोगका लागि समन्वयको पहल गर्नुपर्छ। प्रत्येक विद्यार्थी सो मुलुकमा सुरक्षित रहून् भनेर सरकारले सम्बन्धित पक्षसँग अनुरोध गर्दै सबैलाई आश्वस्त पार्नुपर्छ। यदि कुनै नेपाली विद्यार्थी सङ्क्रमणबाट पीडित भएको भए नि:शुल्क उपचारको व्यवस्था गर्न सरकारकै पहल अनिवार्य हुनुपर्छ। समग्रमा हरेक विद्यार्थी सरकारले अनुमति दिएरै विदेश गएका हुन्छन् र तिनको त्यहाँ सुरक्षाको प्रत्याभूति दिनु सरकारकै प्रमुख जिम्मेवारी हुनुपर्छ।
अन्त्यमा:
मानव जातिमाथि धावा बोलिरहेको यो अदृश्य शक्तिबाट विश्वका सबै व्यक्ति कुनै न कुनै रूपमा प्रताडित रहेको यस विषम अवस्थामा हामी सबै जो जहाँ छौँ त्यहीँबाट समस्यासँग जुध्नुको विकल्प नै छैन र सबैले आ-आफ्नो ठाउँबाट प्रयास र सहयोग गरेमा पक्कै पनि विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई सङ्कटबाट मुक्त गर्न सकिने नै छ।
हामी जहाँ छौँ; सुरक्षित रहौँ !
#कोरोना र प्रवासी नेपाली विद्यार्थी #कोरोनाको विद्यार्थीमा प्रभाव #वैदेशिक अध्ययन र कोरोनाको प्रभाव
लेखकको सम्वन्धमा