January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार

सिन्दुर यात्रा (विस्का जात्रा)

आयुष्मा तको

कक्षाः ९

लर्ड बुद्ध स्कुल,

मध्यपुर ठिमी, भक्तपुर

भक्तपुर जिल्लाको पश्चिम भेगको साबिक पाँचओटा नगरमध्ये नगदेश एक पर्छ । नगदेश नेवार समुदायको बसोबास भएको स्थान हो । थिमी र  बोडेमा जस्ता नगदेशमा पनि लायकू  दरबार रहेको कुराले नगदेश पनि तत्कालीन राज्यको एउटा प्रशासनिक एकाइ भएको सिद्ध गर्छ । यही  नगदेशमा रहेको लाछी टोलको सिद्धि गणेश मन्दिर र न्यागाँ टोलमा रहेको द्यः छेँ यहाँका जनताका धार्मिक आस्थाका केन्द्र बनेका छन् । सिद्धि गणेश मन्दिर ने.सं. ६००(वि.सं.१५३६)मा निर्माण भएको र द्यः छेँ ने. सं. ९१६(वि.सं.१८९८) मा स्थापना भएको मानिन्छ । अर्थात् यी मन्दिर लिच्छवी कालमा निर्माण भएका हुन् ।

पहिले पहिले नगदेशलाई नागदेश भनिन्थ्यो । यहाँ नागहरू बस्ने गर्थे भन्ने मान्यता रहेको छ । पछि एक राजाले शासन सुरु गरे । यहाँ कुनै देवीदेवता नभएकाले यहाँका राजाले भक्तपुरका राजासँग जनता र नगरको हितका लागि एक भगवान् माग्न गए । त्यहाँका राजाले थिमीमा बिस खतको जात्रा हुने कुरा बताए । त्यहाँबाट आफ्नो इच्छाअनुसार एक भगवान् लानू भने । त्यहाँबाट नगदेशका राजाले सिद्धि गणेश भगवान् ल्याए । सिद्धि गणेश भगवान् बालकुमारीका जेठा छोरा हुन् भन्ने मान्यता रहेको छ । त्यसैले नगदेशको रथ नलगेसम्म बालकुमारीको जात्रा सुरु हुँदैनथ्यो ।

नगदेशमा हरेक वर्ष सिद्धि गणेशको जात्रा गरिन्छ । यसलाई सिन्दूर जात्रा पनि भनिन्छ । यो जात्रा तीन दिन लामो हुन्छ । चैत्र ३१ गतेदेखि वैशाख २ गतेसम्म जात्रा हुन्छ । यो जात्रा यहाँका बासिन्दाले निकै उत्साहका साथ मनाउँछन् । जात्राको पहिलो दिन अर्थात् चैत्र ३१ गतेलाई मसानको दिन भनिन्छ । नगदेशको द्यः छेँमा सिद्धि गणेशको मूर्ति रहेको छ । यस दिन द्यः गुठी ( भगवान्को सुरक्षा र पुजारीका रूपमा काम गर्ने गुठी ) ले सिद्धि गणेशको मूर्तिलाई स्नान गराउँछन् । यसको न्वारान गराउनु पनि भनिन्छ । त्यसपछि भगवान्लाई गहना लगाइदिने पनि गरिन्छ । यसपछि द्यः गुठीका मानिसहरूले समेँ ( प्रसाद स्वरूपको वस्तु ) खान्छन् । बेलुकातिर द्यः छेँमा भगवान् दर्शन गर्न भक्तजनको भिड हुन्छ । राती द्यः छेँबाट भगवानको मूर्ति लाछी गणेश मन्दरमा ल्याइन्छ  । यो कार्य गर्न यहाँका बासिन्दाहरू ढिम्याबाजाका साथ भगवान् लिन जान्छन् । भगवान् ल्याउनुपूर्व द्यः गुठीका एउटा मानिस लाछीको मन्दिरमा पूजा गर्न आउँछ । देउता ल्याउन सोपु म्हुस्याँ ( त्रिशूलहस्तै तीनओटा बत्ती बाल्न मिल्ने, जसलाई महादेवको प्रतीक मानिन्छ ।) , मु, बाजा, छत्र आदि आवश्यक पर्छन् । भगवान्लाई रथमा राखी लाछीमा लगिन्छ र मन्दिरभित्र स्थापना गरिन्छ । यो दिन रथ द्यः गुठीका मानिसले मात्र बोक्ने चलन छ । लाछीमा दउता ल्यापछि यहाँका बासिन्दाहरू बत्ती बाल्न आउने गर्छन् र भजन गाउँछन् । देवताको रथ ल्याउनुअगाडि गुच्चा गुठीका मानिसहरूले मन्दिरको तल्लो तलामा बत्ती झुन्ड्याउने गर्छन् ।

जात्राको दोस्रो दिन दिउँसो मन्दिरभित्रबाट सिद्धि गणेशको मूर्ति निकालेर मन्दिर परिक्रमा गराई रथमा राख्छन् । मूर्तिलाई द्यः गुठीको मान्छेले नै बोकेर मन्दिर परिक्रमा गराई रथमा राख्छन् । देवता बोक्ने मान्छेलाई हिँड्न कपडा ओछ्याइदिन्छन् । यस बेला पनि छत्र घुमाइन्छ र च्वाँमो ( देवता) लाई पङ्खाको पनि प्रयोग गरिन्छ । मानिसहरूले बाजा बजाएर निकै रमाइलो गर्छन् । यसपछि मानिसहरू देवताको दर्शन गर्न आउँछन् र द्यः सङ्ग ( देवतालाई सगुन ) दिन आउँछन् । बेलुका भएपछि मन्दिरपछाडि रहेको पोखरीमा भिजाइएको नोँ ( मोटो बाँस ) बच्चाहरूले वरलपरि परिक्रमा गराउँछन् र त्यसपछि नोँ बाँधिन्छ । रथलाई फूलले राम्ररी  सजाइन्छ । विभिन्न गुठीका ढिम्या बाजा बजाउनेहरू मन्दिरपरिसरमा भेला हुन्छन्। यसपछि रथ उठाउनुभन्दा अगाडि सिनँ ( अबिर दल्ने ) गुठीका मानिसहरू पूजा गर्न आउँछन् । धंचाँ स्वाँ (  धनिया जस्तो देखिने फूलजस्तो बोट ) चार मुठा चढाउँछन् । त्यस्तै सिनँ गुठीका मानिसहरू पमाँहरू ( पहिलेका नगरका नाइकेहरू, जसलाई राजा खलः पनि भनिन्छ ) लाई चार पाउ सिन्दूर दिन्छन् । पमाँ रथमा चार मुठ्ठा सिन्दूर चढाउँछन् । त्यसपछि मात्र अरू सिन्दूर खेल्न पाउँछन् । रथ उठाउन सोपु म्हुस्याँ रथअगाडि बढ्छ र पमाँले उठाऊ भनेपछि रथ उठाउँछ । पमाँहरू सुनको सानो देउता पनि रथमा राख्छन् ।  रथलाई मन्दिरको तीनचोटि परिक्रमा गराइन्छ र जता जता ईलाँ हुन्छ त्यसको तल रथ रोकेर पूजा थाप्ने गरिन्छ । ईलाँ ( झल्लर )भएको घरबाट पुण्य कमाउन चटाँ म्हरी ( चामलको पिठाको रोटी ) फाल्ने चलन चलिआएको छ । यसरी सबै नगर परिक्रमापछि अन्तिममा फेरि मन्दिरको परिक्रमा गराइन्छ र क्षेत्रपालको माथि रथ बिसाइन्छ । यसपछि रथको जिम्मा द्यः गुठीले लुपोलँ गुठीलाई दिन्छन् । रातभरि रथ त्यहीँ रोकिन्छ । रातभरि एक वर्षलाई पुग्ने गरी क्षेत्रपाललाई थिचेर बस्ने बस्ने मान्यता रहेको छ किनभने पहिले पहिले क्षेत्रपालले दिनमा एक र रातमा एक मानिस मार्थ्यो ।

तेस्रो दिन बिहान लुपोलँ गुठीले फेरि रथको जिम्मा द्यः गुठीलाई दिन्छ । सबै बाजा आएपछि रथ उठाइन्छ । यसदिन भने हलि पता ( नौ ग्रह भएको झन्डा ) रथको अगाडि लगिन्छ । यसले मानिसलाई निरोगी बनाउँछ भन्ने विश्वास रहेको छ । यस दिन पनि सबै नगर परिक्रमा गराई द्यः छेँको अगाडि रथ रोकिन्छ र रथमा भएका फूलहरूको फाल्ने काम हुन्छ । फूल समात्न मानिसहरू निकै उत्सुक हुन्छन् । सिद्ध गणेशको मूर्ति रथबाट निकाली द्यः छेँभित्र पुनः स्थापित गरिन्छ । २ गतेको जात्रा करिब आठ घण्टा लामो हुन्छ । रथ रोकेपछि मानिसहरू लाछीको गणेश मन्दिरमा नखा ( मूल ) पूजा गर्छन् । व्यापार बढाउन घरमा भीमसेन पूजा गर्छन् र भोज खान्छन् । द्यः गुठीका ६ जनाले ६ दिन सिन्दूर नुहाउनुहुँदैन ।

पुनश्चः वि.सं. २०२१ मा काजीबहादुर सिंकेमनले ५ जना छोरा जन्माएकछि बिस्केटका लागि नयाँ रथ राखिदिएका थिए । त्यस्तै रत्नबहादुर तकोले सन्तानको माग गर्दै इन्द्रजात्राका लागि रथ राखिदिएका थिए । वि.सं. २०५१ को झगडाअगाडि वि.सं. २००८ सालमा राजा त्रिभुवन दुई पोखरीमा सिद्धि गणेश मन्दिर दर्शन गर्न गएका थए ।