कोरोना र एकता

सजल भट्टराई

फैलिएको छ कोरोना विश्वभरिका मानवमाझ
उत्पत्ति यसको कसरी भयो छैन खुलेको राज
भकाभक मार्छ मान्छे, बिहान, बेलुका, साँझ
विलखबन्द भएर हेरिहेछु यत्रतत्र म आज ।

बढ्दो यसको सङ्क्रमण अहिल्यै रोकिने हैन
विज्ञहरु भन्छन्– अझसम्म उपचार बनेको छैन
स्तब्ध छ दुनियाँ कुनै आशा छैन
सुन्छु– गर्दै छन् रे कोही कोही आज पनि चैन ।

मास्क, स्यानिटाइजरको त के कुरा भो खाने अन्न छैन
रिनको भारी थपिँदैछ कुनै आयस्रोत छैन
केवल लकडाउन थपिँदैमा समस्या समाधान हुने हैन
घाउमा मलम दल्न कसैले अझै सकेको छैन ।

परदेशलाई सिँगार्ने नेपाली युवाहरू हो
सिँगार्नु छ यही देश फर्किएर आओ
आपसमा दोषारोपण गरेर मात्र के भो ?
बन्नेथ्यो यो देश मिलेर केही गर्न सके पो ।