March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

मान्छे अजम्मरी बन्ला त ?

प्रिन्स पन्त

हिजोको कुरा हो, साँझको समय थियो । मेरा दाजु र म बालकनीमा बसेर भरखर जोतेको खेतको दृश्य हेरिरहेका थियौँ । शीतल हावा हाम्राबिचबाट गयो । केही दिनअगाडि मरेको हाम्रो कुकुरको विषयलाई लिएर हाम्रा बिच छलफल भइरहेको थियो । कसरी जीवन मृत्युमा गएर अन्त्य हुन्छ भन्ने कुराबारे चर्चा भयो । मैले के मृत्यु अपरिहार्य नै हो भनेर सोधेँ । “हामी सबै एकदिन मर्नुपर्छ, हजुर र म पनि ?” उहाँले, “यो सबै हाम्रा डि.एन्.ए.मा लेखिएको हुन्छ र एउटा विशेष जिनले हाम्रो बुढेसकालको जिम्मेवार लिन्छ” भन्नुभयो– “यदि हामीले त्यस जिनलाई हटाउन सक्यौँ भने सायद हाम्रो जीवनकाल लम्बिन सक्छ ।” यस विचारले मेरा दिमागमा विभिन्न प्रश्नहरू ल्यायो । मैले आफूलाई सोधिरहेँ, “हामी कसरी लामो जीवन बाँच्न सक्छौँ र त्यस्तो भएमा के हुन्थ्यो ?”

अचानक हुरी लाग्न थाल्यो । हावा यसरी हतारिरहेको थियो कि लाग्छ ऊ केही कुराको खोजीमा छ । हामी घरभित्र गयौँ । म इन्टरनेटमा मेरा मनका प्रश्नहरूको उत्तर खोज्न थालेँ । के यस्तो गर्न सकिन्छ ? कसरी ? र के होला त्यस्तो भएमा ? यी प्रश्नको उत्तर खोज्ने म मात्र होइन रहेछु । विगतमा थुप्रै महान् व्यक्तिहरूले यी प्रश्नको उत्तर खोजका रहेछन् ।

सन् १९९३ मा सिन्धिया केन्यन र उनका सहयोगीहरूले राउन्डवर्म क्यानोरहाब्डाइटिस इलेगनमा परीक्षण गरेका थिए । उनीहरूले त्यस राउन्डवर्मको एउटा विशेष जिनलाई हटाउँदा त्यसको जीवनकाल लगभग दुई गुना लम्बिएको पाइयो । यस खोजले बुढेसकालको कारण पनि कुनै किसिमको आनुवंशिक नियन्त्रण हो भन्ने विचारलाई फैलायो । यो विचार केही अन्वेषकहरूमा यो खोजभन्दा धेरै अगि नै उब्जिसकेको थियो । सन् २००३ मा कोलिन टि.मर्फी र उनको टोलीले जीवनकाल कसरी बढ्छ भनेर एउटा लेख छपाएका थिए । उनीहरूले डि.एन्.ए. माइक्रोएरे विश्लेषण र आर.एन्.ए. हस्तक्षेपका माध्यमबाट जानकारी प्राप्त गरेका हुन् । डि.ए.एफ्–१६ नामक जिन जीवनकाल बढाउन जिम्मेवार रहेछ । यसबाट प्रभावित अन्य जिनको सामूहिक असरले गर्दा आयु लम्बिने वा घट्ने हुँदा रहेछ । डि.ए.एफ.–२ जिनलाई आर.एन्.ए. हस्तक्षेपद्वारा बन्द र खुल्ला गरिएको थियो । डि.ए.एफ्.–२ ले डि.ए.एफ्–१६ को प्रभावलाई कम पार्ने रहेछ । डि.ए.एफ्–१६ ले भने अरू विभिन्न जिनहरूलाई प्रभावित पार्ने रहेछ जसले जीवनकाललाई एक्लै मात्र थोरै मात्रामा असर गर्ने रहेछ । यसले तनाव–प्रतिक्रिया, एन्टीअक्सिडेन्ट, एन्टिव्याक्टेरियल, प्रोटिन–पाचन र मेटाबोलिक जिनहरू जसले जीनकाल बढाउँछन् तिनलाई सक्रिय गर्ने हो भने जीवनकाल घटाउने अन्य जिनहरूलाई निष्क्रिय गर्ने रहेछ । बुढेसकालका साथ यस जिनले डिउर चरण र प्रजनन क्षमतालाई पनि अलग्गै प्रभाव पार्दो रहेछ ।

कहिले मेरा आँखा कम्प्युटरका स्क्रिनमा दौडँदै हुन्थे भने कहिले म मनभरि कुरा खेलाएर टोलाइरहेको हुन्थेँ ।

मानवलाई सभ्यताको प्रारम्भदेखि नै अमरत्वको चाहना रहेको हो । हामी हाम्रा पूर्वजहरूभन्दा धेरै लामो समय बाँचेका छौँ । रोमन साम्राज्यका सेनाहरू ३० वर्षसम्म मात्र बाँच्थे र आजभन्दा एकसय पचासवर्ष अगाडिका मानिसहरू पनि केबल ४०–५० वर्ष बाँच्थे । यो आजको हाम्रो बहत्तरबर्से औशत आयुभन्दा निकै कम हो । यदि हाम्रा पूर्वजले छयत्तर वर्ष पुगिसक्नुभएको मेरी हजुरआमालाई देखे भने कस्तो प्रतिक्रिया दिन्थे होला ? असम्भवजस्तै देखिने यस दृश्यले उनीहरूका अनुहारमा पक्कै पनि आश्चर्यको भाव देखिँदो हो । मलाई लागेको अर्को जिज्ञासा हो– के हामीले अहिले पाएको भन्दा बढी समय बाँच्न पाउनुपर्छ त ?

आजको औशत आयु मानव जातिलाई ठुल्ठुला उपलब्धिहरू हासिल गर्नका लागि अत्यन्तै कम छ भन्ने कुरामा मलाई विश्वास छ । विज्ञान र प्रविधिको विकासले मानिस अवश्य नै आजभन्दा धेरै समय बढी बाँच्ने छ । तर, यसले विवाह, अवकाश, बुढेसकालजस्ता क्षेत्रमा थुप्रै सामाजिक समस्या ल्याउन सक्छ । यसका लागि सायद अझै हामी तयार भएका छैनौँ । त्यस समयमा बढ्दो बुढो जनसङ्ख्यालाई टिकाउन गाह्रो पर्नसक्छ । यसले गर्दा यहाँ ठुलो पुस्तान्तरण देखिने छ । अर्को समस्या, हाम्रो बुढो शरीरलाई हृष्टपुष्ट राख्नु पनि हो । शरीर बुढो भएर केही गर्न नसकी केबल पुराना सम्झनामा मात्र बाँच्न त सकस नै पर्ला ।

सुपर हिरो र उनीहरूको महाशक्तिबाट म पहिल्यैदेखि मोहित हुन्थेँ र सधैँ सोच्थेँ, “के यो सम्भव छ ?” यस प्रसङ्गमा म उल्भरिन नामक मार्बल कमिक्सको एउटा पात्र सम्झन्छु । उल्भरिन अर्थात् लोगन मानवले लडेका थुप्रै युद्ध लडेर सामान्य मान्छेभन्दा निकै लामो समयसम्म बाँचेको छ । उसका घाउचोटहरू तुरुन्तै निको हुन्छन् । यो हेर्दा उसको लामो जीवनको कारण उसका घाउचोटलाई निको पार्नसक्ने क्षमता नै हो जस्तो लाग्छ । यो सि. इलेगनको जीवनकाल उसको मर्मत गर्ने जिन सक्रिय भएकाले दोब्बर हुनुको समान छ । यसै गरी मार्वल कमिक्सकै अर्को चरित्र क्याप्टेन अमेरिका पनि निकै लामो समयसम्म बाँच्छ । लोगनको शक्ति जन्मजात जिनले प्राकृतिक विकासका कारण भएको हो भने क्याप्टेन अमेरिकालाई प्रयोगशालामा परीक्षण गरेर शक्ति प्राप्त भएको हो । सायद हामी पनि केही जिन हेरफेर गरेर घाउचोट छिटो निको पार्न र लामो जीवन बाँच्न सक्छौँ । अहिले भने यस्ता कुरा काल्पनिक लेख र चलचित्रमा मात्र सीमित छन् । दीर्घायु पाउनका लागि हामीले अनेकौँ बाधाहरू पारगर्दै अघि बढ्नुपर्छ । दीर्घायु प्राप्त गरेर मात्र हुन्न, यसबाट उब्जने अनेकौँ समस्यहरूको यथोचित व्यवस्थापन पनि हाम्रासामु गम्भीर चुनौतीका रुपमा रहनसक्छ । 

विचारका दहमा डुबुल्की मार्दै म कुन बेला बालकनीमा आइपुगेँ होसै भएन । एक दिन मान्छेले दीर्घायु प्राप्त गर्नेछ । सायद अमरत्व नै प्राप्त गर्नेछ भन्ने कुरामा म निश्चित भएँ । सुनसान वातारणमा मध्यरातसम्म आकाशका तारा हेरेर टोलइरहेँ । यस्तै यस्तैमा मैले म आफूलाई एउटा रोबोटसँग तुलना गरेँ र अमरत्वको कामनासहित ओछ्यानतिर गएँ ।