चिनौं गुराँस, बुझौं गुराँस
नेपालको राष्ट्रिय जनावर, पन्छी, फूल, झन्डा, रङबारे कसैले प्रश्न गर्यो भने भाइ बहिनीलाई पक्कै पनि अलमल हुँदैन । सामान्य ज्ञान, विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकमा दोहोरिने भएकाले अलमल हुने कुरै भएन । अन्य बोट बिरूवाका पात झरेर तिम्रो हाम्रो आसपासको वातावरण उजाड देखिएपनि हिजो–आज राष्ट्रिय फूल लालिगुराँसले भने वन पाखा उज्यालो बनाएको छ । विज्ञले निकै लामो अध्ययन गरेर राय सुझाव दिएपछि तत्कालीन राजा महेन्द्रले २०१९मा लालिगुराँसलाई राष्ट्रिय फूल घोषणा गरेका थिए ।
राजा महेन्द्रले २०१९ पुस १ मा सार्वजनिक गरेको संविधानमा राष्ट्रिय जनावर, पन्छी, फूल, झन्डा, रङसहित अन्य राष्ट्रिय पहिचान समेटिएको थियो । त्यसपछि रूख आकार अर्थात् वृक्ष कदको लालिगुराँसले राष्ट्रिय पहिचान पाएको हो । नेपालको पूर्वदेखि सुदुरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी र हिमाली भेगमा ३१ थरीका गुराँस पाइन्छन् । लालिगुराँस पूर्वदेखि सुदूर पश्चिमका डाँडा–पाखामा भेटिने भएकाले विज्ञहरूले यो वनस्पतिलाई राष्ट्रिय फूल बनाउन सिफारिस गरेका थिए ।
झाडी, बुट्यान र मझ्यौला रूख आकारका गुराँस सयौं थरीका छन् । तर सबै लालिगुराँस होइनन् । ठूलो रूख आकारको लालिगुराँस भने नेपाल र चीनमा मात्रै पाइने वरिष्ठ वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठले जानकारी दिए । वृक्ष कदको लालिगुराँसले अन्य देशका राष्ट्रिय फूल भन्दा छुट्टै परिचय दिएको उनको बुझाइ छ । लालिगुराँसले राष्ट्रिय पहिचान पाएको केही महिनाभित्रै इजरायलको हाइफा सहरमा भएको विश्वस्तरिय राष्ट्रिय फूलको चित्र प्रर्दशनीमा नेपालले पनि भाग लिएको थियो । त्यो प्रर्दशनीमा नेपालको राष्ट्रिय फूलबारे धेरै विदेशीले चासो लिएका श्रेष्ठ स्मरण गर्छन् ।
ल्याटिन भाषाको ‘रोडो’ (रातो) र ‘डेन्ड्रन’ (वृक्ष) शब्दको संयोजनबाट अंग्रेजी शब्द रोडोडेन्ड्रन बनेको वनस्पतिविद् बताउँछन् । संसारभर गुराँसका एक हजार एकसय ५७ प्रजाति फेला परेका छन् । नेपालमा ३१ प्रजाति पहिचान गरिएको वनस्पति विभागले जनाएको छ । नेपालको कूल वन क्षेत्रको करिब १० प्रतिशत भू–भाग गुराँस पाइने मिश्रित जंगल छ । यस्तो जंगलले करिब ६ लाख ९२ हजार हेक्टर क्षेत्रफल ओगटेको छ ।
नेपालको पूर्वी भेगका ताप्लेजुङ, संखुवासभा र तेह्रथुमलाई जोड्ने संगमस्थल तीनजुरे, मिल्के, जलजले (टीएमजे)मा लालीगुराँसको जंगल लै छ । टीएमजेमा मात्रै गुराँसका विभिन्न २८ प्रजाति पाइने भएकाले सो ठाउँलाई गुराँसको राजधानी समेत भनिन्छ । फागुन, चैत, बैशाख, जेठ महिनाभर अनेक थरीका गुराँसले जंगललाई रंगीचङ्गी बनाउने भएकाले टीएमजे पुग्ने आन्तरिक र वाह्य पर्यटकको संख्या निकै बाक्लो हुन्छ ।
त्यसैले त सरकारले गुराँसको राजधानी टीएमजेलाई नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्र घोषणा गरेको छ । पूर्वको पर्यटकीय सहर धरान–धनकुटा हुँदै तेह्रथुमको बसन्तपुर टुटेदेउराली हुँदै सो क्षेत्र पुग्न सकिन्छ । ताप्लेजुङ र संखुवासभाका विभिन्न क्षेत्रबाट पनि त्यहाँ पुग्न सकिन्छ ।
नेपालमा समुद्र सतहको एक हजार तीन सयदेखि दुई हजार पाँचसय मिटर उचाई हाराहारीमा लालिगुराँस गुराँस पाइन्छ । लालिगुराँस बाहेक तर अन्य थरीका गुराँस भने चार हजार पाँचसय मिटर उचाई हाराहारीमा पनि फेला परेका छन् । हिमाली क्षेत्रमा हुने ‘रेडोडेन्ड्रन निभाल’ नामको गुराँसलाई ‘स्नो’ अर्थात् हिउँ गुराँस समेत भन्ने गर्छन् । अहिले हिमाली भेग हिउँले ढाक्ने भएकाले रेडोडेन्ड्रन निभाल जस्ता उच्च भेगका गुराँस साउन भदौमा मात्रै फुल्छन् ।
उन्यूको झाँडी झैं देखिने रेडोडेन्ड्रन निभालको उचाई एक मिटर भन्दा पनि कम हुने वनस्पतिविद् डा.श्रेष्ठले जानकारी दिए । ‘लालिगुराँसको रूख जतिकम उचाईमा हुन्छ, त्यसको उचाई र लालिरङ निकै गाढा हुन्छ, उनी भन्छन्, ‘जति उचाईमा यो वनस्पति भेटिन्छ, फूलको रङ पनि फिका र सेतो हुँदै जान्छ ।’ उनका अनुसार टीएमजे बाहेक ताप्लेजुङको कञ्चनजंघा र मनाङ र गोरखाको लार्के भञ्याङ, डिम्जाकोठी क्षेत्र आसपासका भेगमा पनि लालिगुराँसका धेरै प्रजाति पाइन्छन् ।
गुराँस नेपालसहित चीन, भारत, भुटान, म्यानमार, भियतनाम, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, उत्तर कोरिया, दक्षिण कोरिया, जापान र अस्ट्रेलियामा पाइन्छ । यी बाहेक अन्य देशमा गुराँस भेटिएपनि अन्यत्रबाट ल्याइएकाले प्राकृतिक वातावरणमा हुर्किएका भन्न नमिल्ने अर्का वनस्पतिविद् पुष्पमान अमात्य बताउँछन् ।
गुराँसको राजधानी टीएमजेबारे विदेशी विज्ञले पञ्चायतकालदेखि चासो राख्दै आएका थिए । पर्यटक पथ प्रर्दशक समेत रहेका फ्रान्सेली नागरिक रेने डी मिलभिल्लेले पञ्चायतकालमा पटक–पटक टीएमजेको स्थलगत अध्ययन अवलोकन गरेका थिए । त्यहाँको जैविक विविधता र गुरासँका प्रजातिबारे रिपोर्ट तयार गरेका उनले तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापालाई सो भेगलाई संरक्षण गर्न सुझाव दिएका थिए ।
मिलभिल्लेले सुझाएका पथ पछ्याउँदै अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले २०५० देखि टीएमजेमा संरक्षण क्रियाकलाप सुरू गरेको थियो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी २०५४मा वन मन्त्री हुँदा संरक्षणकर्मीले त्यहाँको महत्व अवगत गराउँदै संरक्षित क्षेत्र बनाउन सुझाव दिए । तत्कालीन वातावरण तथा जनसंख्या मन्त्रालयले २०५५मा राष्ट्रिय लालिगुराँस संरक्षण क्षेत्र घोषणा गरेपछि त्यहाँ समुदायद्धारा संरक्षित क्षेत्रको अवधारणा अघि बढेको छ । टीएमजेको महत्वलाई टेवा पुर्याउन तत्कालीन वातावरण तथा जनसंख्या मन्त्रालयले २०५५मा राष्ट्रिय लालिगुराँस संरक्षण क्षेत्र समेत घोषणा गरेको थियो । सो क्षेत्र पाँचसय ८५ वर्ग किमिमा फैलिएको छ ।
(अन्नपूर्ण अंकुरमा गत फागुनमा प्रकाशित)
प्रतिकृया दिनुहोस्