अन्धो मान्छे

जताततै अन्धकार छ
झिलिमिली उज्यालोमा पनि
कति बाँच्नु यस संसारमा
हाँसोको पात्र बनी ।
चोक चोक सडकहरुमा
जीवन धान्छु मागेर
मर्नलाई काल आउँदैन त्यो
कहाँ जाऊँ म भागेर ।
मान्छेहरु भेला हुन्छन्
मेरो गीत सुनेर
दुईचार पैसा, मुठी चामल दिन्छन्
अन्धो मान्छे भनेर ।
एकदिन काल आउँछ भनेर
दिन गनी बिताउँछु
अन्धो हुँ म तर पनि
सबको भलो चिताउँछु ।
कोही हाँस्छन् मेरो हालत देखेर
कोही भन्छन् बेकार छ !
के अन्धाको जीवन साच्चै
यस संसारमा धिक्कार ?
जहाँ गए अन्धकार मात्र छ
सक्दिनँ काम गर्नलाई
रहर छैन मलाई पनि
अरूको भर पर्नलाई ।
किन अन्धो बनायौ ईश्वर
मलाई देऊ जवाफ
तीन तीन आँखा छन् तिम्रा त
थाहा नहोला तिमीलाई आँखाको अभाव ।
कि त मलाई अरूको जस्तै
संसार हेर्ने आँखा देऊ
नत्र बाँच्ने रहर छैन भो
मेरो यो प्राण लेऊ ।
जन्म लिएर पनि संंसारमा
पाइनँ संसार हेर्नलाई
अन्धो जीवन यो मेरो
तयार छु म त्याग्नलाई ।
घामले पोल्छ शरीर यो
भिज्छ हावापानीले
बाँच्न मलाई गाह्रो भो हे मनुष्य !
तिम्रो यो हेप्ने बानीले ।
मेरो पनि मन रुन्छ हेर
मानिस नै हुँ म पनि
मलाई पनि इज्जत गर दाजुभाइ
आफ्नै भाइ हो भनी ।
टीका लगाइदेऊ दिदीबहिनीहरूहो
तिम्रा ती सुकोमल हातले
ता कि अर्को जुनीमा आँखा देखूँ
तिम्रै आशीर्वादले ।
लेखकको सम्वन्धमा