मर्यादा पुरुषोत्तम श्रीराम
हरेक प्राणीमा आआफ्नै किसिमको मर्यादा हुन्छ । मर्यादाको परिधिलाई उल्लङ्घन गर्ने एउटै मात्र प्राणी त्यो हो मानव । विशेष गरी मानवले धेरै दुःख र सुखका अवस्थामा मर्यादा गुमाउँछन् । जसका कारण आफू र आफ्ना संसर्गमा रहेका हरेकलाई विपरीत दिशातर्फ धकेल्न बाध्य हुन्छन् । मानिसले मर्यादाको परिधिलाई हरेक देश, काल, परिस्थितिमा पालना गर्नुपर्छ भन्ने शिक्षा श्रीरामबाट प्राप्त हुन्छ । त्यैसैले पनि उहाँलाई मर्यादा पुरुषोत्तम श्री राम पनि भनिएको हो । यसो भन्दै जाँदा प्रश्न उठ्न सक्छ : त्यसोभए रामले गर्भिणी सीतालाई बाल्मीकिका आश्रममा किन छाड्नुभयो त ? सीतालाई रावणको अपहरणबाट मुक्त गराएपछि अग्नि परीक्षा गरिएकै थियो त । यसको आशय अर्कै छ :
१. मर्यादा पालनाका क्रममा जब राम अयोध्याका राजा हुनुभयो, त्यतिबेला सीताका पति मात्रै हुनुहुन्नथ्यो । सम्पूर्ण प्रजाको राजा हुनुहुन्थ्यो । आफ्नो परिवारका कारण एकै मात्र प्रजाको गुनासो पनि सिङ्गो देशको गुनासो हो भन्ने विचार राजाले लिनुपर्छ । यस्ता विचारवान् राजा नै सच्चा राजा कहलिन्छन् ।
२. एक अपयशभन्दा सय ठक्करको सामना गर्ने व्याक्ति मर्यादित हुन्छ । रामले आफ्नो पारिवारिक अपयशबाट बच्न अनेक दुःख सहनुभयो । पत्नी सीतासँगको वियोग सहनु पर्यो। त्यसैले पनि उहाँ मर्यादित हुनुभयो ।
(३) उहाँले सीतालाई त्याग्नु भएको होइन; आफूले सुख त्यागी राज्यलाई सुखी पार्नुपर्छ भन्ने मर्यादाको सन्देश दिनुभएको हो ।
यस प्रसङगबाट बुझ्नुपर्ने सन्देश : के आजका हाम्रा शासकहरू देश र जनताको हितका लागि आफ्नो पारिवारिक सुख त्याग्न तयार छन् ? यदि छैनन्, उनीहरू आफ्नो र पारिवारिक सुखकै लागि मात्र काम गरिरहेका छन् भने तिनीहरू हाम्रा वास्तविक र मर्यादित शासक हुन सकेनन् । हाम्रा शासकहरू पनि मर्यादित र प्रजापालक हुनुपर्छ भन्ने ।
लेखकको सम्वन्धमा