September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

जित त यस्तो पो !

सोमनाथ दाहाल

“देवेन्द्र ! यहाँ आऊ त बाबु ।” कसैले यस्ता मीठा वचनले बोलायो भने देवेन्द्र मुसुमुसु हाँस्दै आउँथ्यो । अनि त उसले सक्ने जे काम अह्राए पनि खुरुक्क गरिदिन्थ्यो । अपशोच ! कसैले पनि उसलाई यति मीठो वचनमा बोलाउँदैनथ्यो । ऊ घरमा, छरछिमेकमा, विद्यालयमा, साथीसङ्गातीका बीचमा हेला र तिरस्कार मात्र पाउँथ्यो । उसको कुनै दोष थिएन । ऊ सबैसँग राम्रो व्यवहार गर्न र मीठो बोल्न चाहन्थ्यो । तर उसको बोली र व्यवहार कसले ख्याल गरोस् !

जन्मजात उसको एउटा दोष थियो । त्यो हो– आँखो । उसको एउटा आँखो बाङ्गो थियो । त्यसैले मानिसहरु उसलाई ‘टेढे’ भनी बोलाउँथे । आफूलाई यसरी बोलाउँदा देवेन्द्र साह्रै चित्त दुखाउँथ्यो । अरुलाई उसको चित्त दुखाइको के वास्ता !
“टेढेएएए ! एएए टेढेएएएए !” देवेन्द्र घरबाट बाहिर कतै गयो भने आमा आँगनमा निस्किएर कराउनु हुन्थ्यो, “काँ मरेछ यो; झट्ट घर आइज भनेको ।” आफूलाई जन्म दिने आमाले नै यसरी नाम बिगारी दिँदा विचरा देवेन्द्रलाई कस्तो लाग्दोहो !

विद्यालयमा पनि देवेन्द्रले मिल्ने साथी बनाउन सकेन । साथीहरु ऊसँग मिल्न र खेल्न चाहँदैनथे । कोही देवेन्द्रसँग मिलेको वा खेलेको देख्यो भने गोपाल भाजो हाल्न आउँथ्यो । ऊ त्यस्ता साथीलाई भन्थ्यो, “टेढेको मीत, टेढेको मीत ! अब तेरो पनि आँखो टोढो हुन्छ ।” यस्तो सुन्दा देवेन्द्रलाई माया गर्न खोज्नेहरु पनि टाटाढा हुन्थे । गोपाल अरुको मजाक उडाउन र विनाकारण निहु खोज्न सिपालु थियो । आफूले भनेको नटेर्नेलाई ऊ पिटिहाल्थ्यो । गोपालका आसेपासेहरु गोपालकै आडभरमा देवेन्द्रलाई गिज्याउँथे । अरू पनि उनीहरुकै देखासिकी गर्थे । शिक्षकले समेत देवेन्द्रको पक्ष लिएको देखिँदैनथ्यो । मौका परे उनीहरु नै देवेन्द्रलाई मजाकको पात्र बनाउँथे । देवेन्द्रका बारेमा जोक्स बनाएर विद्यार्थीलाई हँसाउँथे ।

विद्यालय त जान्थ्यो तर देवेन्द्रले पढ्ने अवसर पाउँदैनथ्यो । घाँस, दाउरा र गाईवस्तुलगायत घरका धेरै काम उसले नै गर्नुपथ्यो । बाआमालाई उसले पढेर खान्छ भन्ने लागेकै थिएन । देवेन्द्र आफैँले पनि हरेस खाइसकेको थियो ।

कहिलेकहीँ त देवेन्द्र दिक्दार हुन्थ्यो । ऊ सोच्थ्यो, “जन्मँदै मेरो आँखो बिग्रियो । यसमा मेरो के दोष ? आँखो बिग्रिएको पीडा मलाई छँदै छ फेरि अरूको हेला मैले किन सहनु ? मैले कसको के बिगरिदिएको छु र ?” यस्तै कुरा उसका मनमा खेल्थे तर उसका कुरा सुनिदिने को ? धेरैजसो उसको मजाक उडाउन चाहन्थे । मजाक नउडाउनेहरु पनि अरुको हाँसोमा हाँसिदिन्थे । यसो गर्नु हुँदैन भन्ने कोही थिएन ।
यस्तै कुरा सम्झँदासम्झँदै देवेन्द्रका मनमा विद्रोहको भावना जाग्थ्यो । मुटुको ढुकढुकी बढ्थ्यो, अनुहार रातो हुन्थ्यो अनि सम्झन्थ्यो, “कम्फु कराँटे सिकेर एकएकलाई पिटूँ अथवा खुकुरी बोकेर एकएकलाई छिनाइदिऊ, अथवा बन्दुकले उडाइदिऊँ ।” सोच्दासोच्दै ऊ रिसले चुर हुन्थ्यो । दारा किट्थ्यो; मुठी बटाथ्र्यो र आफ्ना पाखुरा हेथ्र्याे । त्यहाँ मासुको डल्लो भुक्क उठेको हुन्थ्यो । चौध वर्षको देवेन्द्र एउटा जवान मान्छेझैँ बलियो थियो । झगडा नै पर्ने हो भने विद्यालयमा दुईचार जनालाई ऊ सजिलै लडाउन सक्थ्यो । एक दिन साँझ देवेन्द्रले जिस्क्याउनेसँग झगडा गरेरै छाड्ने निधो गर्यो । उसले निकै दह्रो हुँदै अठोट गर्यो, “भोलि तिनीहरुका बङ्गारा नझारी छाड्दिनँ ।”

यति निधो गरेपछि देवेन्द्रलाई खुसी लाग्यो । ऊ भोलिको प्रतीक्षा गर्दै सिरकमा गुटमुटियो ।
देवेन्द्रलाई माया गर्ने कोही थियो भने हजुरबा हुनुहुन्थ्यो । तर उहाँले लामो समय साथ दिनुभएन । प्यारो नाति देवेन्द्रलाई चटक्क छाडेर परलोक जानुभयो । ननिदाउन्जेल देवेन्द्रले हजुरबालाई सम्झिरह्यो । सायद यही सम्झनाले होला उसले सपनामा हजुरबालाई देख्यो ।

बिहान उज्यालो हुन लागेको रहेछ । देवेन्द्र बाटामा दौडँदै थियो । बुरुक बुरुक उफ्रँदै थियो । बालुवा हाली झुन्डाएको बोरामा बङबङ मुड्की हान्दै थियो । उफ्री उफ्री लात्ती हान्दै थियो । दुई खम्बामा अड्याइएको डन्डामा हातले झन्डँदै छाती ठोक्काउँदै थियो । घुरमैलो उज्यालोमा परबाट सेता लुगा लगाएको मान्छे देवेन्द्रतिर आउँदै थियो । ‘को रहेछ ?’ देवेन्द्रले त्यो मान्छेलाई नियाल्यो ।

“के गर्दैछस् है नाति ?” मान्छे बोल्यो, “यति राति नै उठेर यहाँ के गर्दैछस् ?”
देवेन्द्रलाई हजुरबा परलोक भइसकेको वास्तै भएन । ऊ त हजुरबासँग जसरी बोल्थ्यो त्यसरी नै बोलिदियो । उसले मनका सबै कुरा सुनायो । रिस पोख्दै भन्यो, “हजुरबा ! तिनीहरुले मलाई चिनेकै रहेनछन् । अब देख्छन् बाउको बिहे । तिनीहरुका बङ्गारा झारिदिनँ भने म पनि तपाईंको नाति होइन ।”
देवेन्द्रका कुराले हजुरबा गम्भीर बन्नुभयो । केही बोल्नुभएन । “किन हजुरबा ? किन नबोल्नुभएको ? के मैले ठीक गरिनँ ?” हजुरबाको गाम्भीर्यले देवेन्द्र चिन्तित भयो ।

“ठीक गरिनस् होला हाओ केटा ।” एकछिन सोचेर हजुरबाले भन्नुभयो, “हेर् न बलले त शरीर जित्न सकिन्छ; धन जित्न सकिन्छ तर मन जित्न सकिन्न । शरीर जिते शरीर मात्र पाइन्छ; धन जिते धन मात्र पाइन्छ अनि मन जिते संसार पाउन सकिन्छ । त्यसैले बलले शरीर होइन सीप, बुद्धि, कलाले मन जित्नुपर्छ बाबु, मन । तँलाई धृणा र तिरस्कार गर्नेहरुको लर्को ठुलै छ । भन् त कसका बङ्गारा झार्छस् ? कसका हातखुट्टा भाँच्छस् ? कसको गर्धन छिनाउँछस् ? तँमा केही विशिष्ट सीप, कला र खुबी छन् तिनलाई पहिचान गर् अनि दुनियाको मन जित् बाबु मन ।” हजुरबा एकछिन रोकिनुभयो; चनाखो भएर वरपर हेर्नुभयो अनि भन्नुभयो, “सुन् त तँलाई घृणा गर्नेहरु यहाँ पनि आइपुगे जस्तो छ ।”

देवेन्द्रले सुन्यो; कोही उसलाई हपार्दै थियो, “टेढे, ओए टेढे ।” को होला यसरी हपार्ने ? देवेन्द्रले नियाली सकेकै थिएन । आमाले सिरक तानेर उठाउँदै भन्नुभयो, “छिटो उठ् टेढे; घाँस काट्न जान ढिलो भयो ।”

सपनाले देवेन्द्रको मन बिथोलिदियो । ऊ झगडा गर्न नसक्ने भयो । आफ्ना सीप, कला र खुबी के हुन् तिनको पहिचान गर्न पनि नसक्ने भयो । उसलाई आमासँग रिस उठ्यो । उसले मनमनै भन्यो, “बेकार आमाले उठाइदिनुभएको । नत्र म हजुरबासँग सोध्थेँ ।” आमासँग रिसाएर के फाइदा ! आमाप्रतिको उसको रिस मत्थर भयो । उसले अर्को सपनामा हजुरबासँग सोध्ने निधो ग¥यो । तर उसलाई फेरि सपनामा हजुरबा देख्न पाइएला भन्ने कुरामा विश्वास भएन । उसले सोच्यो, “अरुले त बाटो देखाइदिने मात्र हो । हिँड्ने कर्तव्य आफ्नै हो । हजुरबाले बाटो देखाइदिनुभयो । त्यसलाई पहिचान गर्ने खुबी मेरै हो ।”

अर्को रात देवेन्द्र विस्तारामा किताब छरेर पढ्ने प्रयास गर्दै थियो । मनमा अनेक कुरा खेलिरहेका थिए । गोपाल एउटालाई फकाउन सके स्थिति सामान्य बन्थ्यो भन्ने उसलाई लाग्यो । कसरी फकाउने उसलाई ! त्यस्तो छुचो केटो ! गोपालको रिसाहा अनुहार देवेन्द्रका मस्तिष्कमा नाचिरहेको थियो । हातको सिसाकलम आफ्नै सुरले कपीमा रगटिँदै थियो । निकैबेरपछि देवेन्द्र झस्कँदै बोल्यो, “हँ के कोरेँ ?” सिसाकलमले गोपालको रिसाहा अनुहारको चित्र उतारेको रहेछ । आश्चर्य ! देवेन्द्रले त्यो चित्र नियालेर हे¥यो । उसलाई आफू यति राम्रो चित्र कोर्न सक्छु भन्ने लागेकै थिएन । ऊ आफूलाई सबैभन्दा कमजोर र असक्षम व्यक्ति सम्झन्थ्यो । उसले फेरि चित्र नियाल्यो । चित्र दुरुस्त थियो तर कताकता त्यो चित्र देवेन्द्रलाई मन परेन ।

देवेन्द्रले गोपालको अर्को चित्र बनाउन मन ग¥यो । उसले सोच्यो, “रिसाएको चित्र राम्रो हुँदैन; मुस्कुराएको चित्र बनाउनु पर्ला ।” गोपाल मुस्कुराउँदा कस्तो देखिन्छ भनी उसले सम्झन खोज्यो तर सकेन । अरुलाई माजाकमा उडाउन पाए उत्ताउलो पाराले हाँस्ने गोपाल सितिमिति मुस्कुराउँदैनथ्यो । धेरै बेरपछि देवेन्द्रले गोपालको मुस्कान सम्झ्यो । त्यही आधारमा चित्र कोर्न थाल्यो । अचम्म ! उसका हातबाट अझ सुन्दर चित्र कोरियो । रिसाएको भन्दा मुस्कुराएको गोपाल सुन्दर देखिँदो रहेछ । देवेन्द्रको खुसीको सीमा रहेन । “के गरूँ यो चित्र ?” उसले आफैँलाई प्रश्न गर्यो । अनेक उत्तर आए । तीमध्ये गोपालका जन्म दिनमा उपहार दिनु देवेन्द्रलाई उचित लाग्यो ।

देवेन्द्र गोपालको जन्मदिनको प्रतीक्षामा थियो । उसले लामो प्रतीक्षा गर्नु परेन । फेसबुकमा साथी र शुभ चिन्तकहरुले गोपाललाई जन्मदिनको शुभकामना दिन थाले । आफूले बनाएका दुवै चित्रमुनि ‘जन्मदिनको शुभकामना !’ र त्यसमुनि चित्रकारको नाम ‘टेढे” लेख्यो । दुवै चित्र एउटै खाममा राख्यो । गोपाललाई भेटिहाल्ने र उपहार दिने कुराले ऊ निकै उत्तेजित भएको थियो । आजको रात छिट्टै बितोस् भन्ने कामना गर्दै ऊ निदायो ।

विद्यालयमा बिहानको प्रार्थना हुन बाँकी थियो । विद्यार्थीहरु भेला हुँदै थिए । गोपाल साथीहरु भेला गरेर उट्पट्याङ गफ गर्दै थियो । केही साथीहरु जन्मदिनको चक्लेट खाँदै थिए । देवेन्द्र मुसुमुसु हाँस्दै आयो । उसले अलि परैबाट बोलायो, “गोपाल दाइ ! गोपाल दाइ !!” गोपालले देवेन्द्रको अनुहार पुलुक्क हेर्यो र मुख बिगार्दै अर्कातिर फर्कियो । उसले देवेन्द्रको वास्ता नै गरेन । उसले सोच्यो, “खुसियालीको क्षणमा यस्तो लोद्दर मान्छे नआए हुन्थ्यो ।” देवेन्द्रलाई त उपहार दिएर गोपालको स्यावासी पाउनु थियो; मन जित्नु थियो । अगाडि बढेर गोपाललाई कोट्याउँदै भन्यो, “गोपाल दाइ ! गोपाल दाइ !!”
यसपटक गोपाल नराम्ररी रिसायो । ‘भाग् टेढे’ भन्दै गोपालले देवेन्द्रलाई लात हान्यो । रुँलारुँला जस्तो अनुहार पारेर देवेन्द्र गोपालकै छेउमा उभियो । उसले केही भन्न खोजेको थियो । भन्न सकेन । गोपालका साथीहरु देवेन्द्रको दयालाग्दो अवस्था देखेर हाँसे । देवेन्द्र जिल्ल पर्यो । “तँ यहाँबाट भागिहाल्छस् कि !” गोपालले हात उज्याउँदै देवेन्द्रलाई धम्क्यायो ।

गोपालको मन जितौँला भन्ने कत्रो आशा बोकेर आएको देवेन्द्र निराश बन्यो । तैपनि उसले जे त पर्ला भन्ने सोची खाम निकालेर गोपाललाई दियो । देवेन्द्रका क्रियाकलाप देखेर गोपाल आगो भयो । “के हो यो ? के हो ? मलाई चिठी दिने ! तेरो यो हर्कत ?” रिसले मुर्मुरिँदै गोपालले खाम समायो । देवेन्द्र आफ्नो बाटो लाग्यो ।

“के रहेछ, हेरौँ न ।” एउटा साथीले भन्यो ।
रिसाहा गोपाल देवेन्द्रलाई आँखा तर्दै थियो । साथीहरुसँग भाउ देखाउँदै खाम खोल्यो । भिन्न अवस्थाका आफ्ना दुई चित्र ! गोपालले यस्तो सोचेको पनि थिएन । निकै बेर चित्र हेरिरह्यो । उसलाई आफ्नो रिसाएको अनुहार पटक्क मन परेन । उसले सोच्यो, “म मुस्कुराउँदै राम्रो देखिने रहेछु ।”
आखिर मन न हो, कसको पग्लँदैन र ! गोपाललाई भित्र कताकता गाँठो परेजस्तो लाग्यो । अनुहार रातोकालो खै कस्तोकस्तो भयो । रिसाउनु कि खुसी हुनु उसले निधो गर्नै सकेन । उसले साथीहरुका अनुहारमा हेर्नसम्म सकेन । साथीहरु पनि ती चित्र हेर्दै थिए । कसैले केही बोलेनन् ।
सधैँझैँ निराश र अँध्यारो अनुहारमा देवेन्द्र कक्षामा बसिरह्यो । आज गोपालले देवेन्द्रलाई सधैँजस्तो गिज्याएन । अरुले पनि त्यति गिज्याएनन् । खै कसले पो हो एकपटक ‘अए टेढे’ भनेको थियो । गोपाल तात्तिँदै बोल्यो, “त्यसको नाम छैन ? नामले बोला ।” गोपालको यति बोली सुन्दा देवेन्द्रलाई अपार जितको महसुस भयो ।

अब भने देवेन्द्रको जीवनमा खुसीको बहार आएजस्तो छ । उसलाई ठूलो बोझ बिसाएझैँ लागिरहेको छ । ऊ यति खुसी कहिल्यै भएको थिएन । किताबकपी उसका अगाडि छन् । खुसीका उन्मादले ऊ पढ्नै सकेन । कक्षाका साथीहरु सम्झिरह्यो । उसलाई आफ्ना सबै साथीहरु कति हँसिला, खुसी र दयालु लाग्यो । उसले शिसाकलम टिप्यो । साथीहरुका उज्याला अनुहार सम्झँदै कोर्न थाल्यो । आहा ! कति सुन्दर चित्र । ऊ आफैँ मुस्कुरायो ।
भोलिपल्ट विद्यालयमा गोपाल देवेन्द्रको प्रतीक्षा गरिरहेको थियो । परैबाट देवेनद्रलाई देखेर गोपाल मुस्कुरायो । उसले हात मिलाउँदै भन्यो, “के छ देवेन्द्रजी ?” “ठीकै छ ।” छोटो उत्तर दिँदै देवेन्द्रले हिजो बनाएको चित्र गोपालका हातमा थमाइदियो । “आहा ! क्या राम्रो चित्र !” मख्ख पर्दै गोपालले भन्यो । “तिमी साँच्चै राम्रा चित्रकार रहेछौ ।” गोपालले चित्रमा आफ्नो अनुहार पहिचान गर्यो । “क्या राम्रो ! ठ्याक्क कक्षामै जस्तो सबै साथीहरु आआफ्ना ठाउँमा बसेका । सबैको अनुहार प्रस्टै चिन्न सकिने ।” गोपालको उज्यालो अनुहार देखेर देवेन्द्र मुस्कुराइरह्यो । “जाऔँ, हिँड ।” देवेन्द्रको हात समाउँदै गोपालले भन्यो । कक्षामा सबैले देख्नेगरी त्यो चित्र गोपालले टाँसिदियो । यसमा पनि चित्रकारको नाम ‘टेढे’ लेखिएको थियो ।

साथीहरु चित्रमा आफ्नो हँसिलो अनुहार देखेर खुसी भए । देवेन्द्रको चित्रकारिताको प्रशंसा गरे । तर उनीहरुलाई चित्रकारको नाम ‘टेढे’ लेखेको मन परेन । कक्षामा आउने शिक्षकहरुले बडो उपेक्षापूर्वक त्यो चित्र हेरे । सायद उनीहरुले सोचे, “टेढे पनि यस्तो चित्रकार !” अर्को दिन पनि देवेन्द्रले ल्याएको चित्र गोपालले भित्तमा टाँसिदियो । यो देखेर विद्याथीहरु हाँसे । शिक्षकहरु दुखी भए । त्यहाँ शिक्षकले रिसाउँदै विद्यार्थीलाई हप्काएको चित्र थियो । सायद प्रत्येक शिक्षकले ठाने, “छिः रिसाउँदा कस्तो घिनलाग्दो !”
यसरी आफ्नो चित्रकारिताबाट देवेन्द्रले विद्यार्थी र शिक्षक सबैलाई आक्रमण गर्यो । सबैलाई घायल बनायो । उनीहरुका शरीरमा कहीँकतै कुनै चोट लागेन तर उनीहरुका मनमा नमेटिने छाप पर्यो । उनीहरुले कसैलाई पनि असक्षम, कुरूप आदि भनी हेला नगर्ने अठोट गरे । उनीहरुले मान्छेभित्रको प्रतिभा अवसर पाउँदा निस्कँदो रहेछ भन्ने कुरा बुझे ।

बिस्तारै दिनहरु फेरिँदै गए । देवेन्द्रलाई हेला गर्नेहरु माया गर्न थाले । विद्यालयमा साथी र शिक्षकको माया पाउँदा देवेन्द्रलाई पढाइमा रुचि बढ्न थाल्यो । ऊ विद्यालयमा र घरमा मन लगाएर पढ्ने पढैया केटो भयो । कक्षा सातबाट आठमा जाँदा देवेन्द्र प्रथम भयो । थुप्रै अतिरिक्त क्रियाकलापमा पनि उसले प्रथम स्थान हात पार्यो । चित्रकलामा उसलाई जित्ने कोही पनि देखिएन । विद्यालयको वार्षिक कार्यक्रममा हातभरि पुरस्कारै पुरस्कार र अनुहारभरि अबिर दलेर घर जाँदा आफ्नै बुबाआमाले चिन्न सकेनन् । साथी, अभिभावक, छरछिमेकी सबैले सोचे, “हामीले ‘टेढे टेढे’ भनी हेला गरेको व्यक्ति नै आज प्रथम भयो ।”