February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

पूर्वराष्ट्रपतिलाई नलेखेको चिठी

मन आफ्नो नियन्त्रणमा नहुँदोरहेछ । कहिलेकाहीँ मनमा अनौठा कुरा आउँदा रहेछन् । अहिले चाहिँ मेरा मनमा देशका ठुला र साना मानिने धेरै मानिसहरूका कुरा खेल्न थालेका छन् । को होला त यो देशको ठुलो मान्छे ? अनि सानो मान्छे नि ? कर्म, पद र धनका आधारमा मानिसलाई ठुलो वा सानो मान्ने हाम्रो चलन छ । मान्छे मान्छे समान हुनुपर्छ; कुनै आधारमा विभेद हुनुहुँदैन भन्ने पनि लाग्छ । नेपालको संविधानले मर्यादाका आधारमा राष्ट्रपतिलाई सबैभन्दा माथि राखेको छ । संविधानले नै भनेपछि हामीले राष्ट्रपतिलाई सबैभन्दा ठुलो मान्नैपर्‍यो । पदबाट अवकास हुँदा पनि राष्ट्रपतिको गरिमा उत्तिकै उच्च हुन्छ ।   

पूर्वराष्ट्रपति भनेको आफैँमा एउटा सम्मानित सर्वमान्य संस्था पनि हो । यो संस्थाले असीमित अधिकार बोकेको हुन्छ । फराकिलो हैसियत सुरक्षित राखेको हुन्छ । सिङ्गो मानव सेवा, चराचर जगत् सेवाका लागि अत्यन्तै ठुलो प्लेटफम तयार गरेको हुन्छ, बोकेको हुन्छ । जनभावना अनुकूलको काम गर्न वा मानवजातिको भलाइ हुने काम गरेर राष्ट्रको मन जित्न कुनै रोकावट हुँदैन । राष्ट्रपतिहरू केवल पदमा रहँदा मात्र होइन, पदबाट हटेपछि पनि वैश्विक हित र मानवीय सेवामा सक्रिय नै रहन सक्छन् ।  

यस्ता काम विभिन्न राष्ट्रका पूर्वराष्ट्रपतिहरूले गरेर विश्वलाई नै चकित बनाएका अनगिन्ती उदाहरणहरू छन् । आफ्नो उच्च क्षमता देखाएर विश्वशान्ति कायम गराउन सक्षम बनेका पूर्वराष्ट्रपतिहरू नोवेल शान्ति पुरस्कार समेतले विभूषित बनेका छन् । कसैले स्वास्थ्यसेवा, कसैले स्वयम् सेवा, शिक्षासेवा, मेलमिलाप जस्ता मानवीय सेवाका क्षेत्रमा काम गरेर इतिहास निर्माण गरेका छन् ।

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको ३९ औँ राष्ट्रपति रहे । आफ्नो कार्यकाल सकिएपछि ‘द कार्टर सेन्टर’ स्थापना (१९८२) गरेर मानव अधिकार, स्वास्थ्य, लोकतन्त्र प्रवर्द्धन, चुनावको निगरानी र शान्ति स्थापना गर्न विश्वभरि उपशाखाहरू खोले । उनले ‘ह्याबिटेट फर ह्युमानिटी’ सँग मिलेर घर निर्माण अभियानमा स्वयंसेवकको रूपमा पनि काम गरे । अफ्रिकामा गिनी वर्म रोग अन्त्यको अभियानमा विशेष योगदान दिए, विश्वभर शान्ति र मानव अधिकारको स्थापना गर्न गहिरो भूमिका निर्वाह गरे । त्यसवापत उनलाई सन् २००२ को नोबेल शान्ति पुरस्कारले विभूषित गरियो । लामो जीवन बाँचेका अमेरिकी पूर्वराष्ट्रपति कार्टर सबैभन्दा उच्च सम्मानका साथ जीवन जिउने व्यक्तित्वमा पर्छन् । 

लाइबेरियाका पूर्वराष्ट्रपति एलेन जोनसन सिरलीफ जो अफ्रिकाकी पहिलो महिला राष्ट्रपति पनि हुन् उनले आफ्नो कार्यकालपछि महिला सशक्तीकरण र लोकतन्त्रका क्षेत्रमा उल्लेखनीय कार्य गरेकी छिन् । अहिले पनि महिला नेतृत्व, सार्वजनिक स्वास्थ्य, महामारी तयारी र शान्ति निर्माणका क्षेत्रमा व्यापक काम गरिरहेकी छिन् । सन् २०१८  मा स्थापना गरिएको EJS Center (Ellen Johnson Sirleaf Presidential Center for Women and Development) नामक संस्था अफ्रिकी महिला नेतृत्वलाई प्रवर्द्धन गर्नमै समर्पित छ जसले २०२० देखि महिला नेतृत्त्वका लागि मार्गप्रशस्त गर्दै करिब ५० जना अफ्रिकी महिलालाई शीर्ष नेतृत्‍वका लागि तयार गरिसकेको छ । 

दक्षिण कोरियाका राष्ट्रपति किम डे-जुङ (Kim Dae-jung) ले आफ्नो पदावसानपछि पनि दक्षिण–उत्तर कोरियाबिच शान्ति, लोकतन्त्र, मानव अधिकार र क्षेत्रीय मेलमिलाप प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरे। उनले ‘Sunshine Policy’ लाई निरन्तरता दिए । राष्ट्रपति कार्यकाल (1998–2003) मा सुरु गरिएको यस नीतिको प्रभाव कार्यकालपछि पनि जारी रह्यो, जसले उत्तर कोरियासँग आर्थिक सहयोग, समुद्री मार्ग, विभाजित परिवार पुनर्मिलन र शान्ति वार्तालाई समर्थन गर्‍यो  । सन् २००० मा ऐतिहासिक Pyongyang शिखर सम्मेलन सम्पन्न भयो र June 15 मा Joint Declaration जारी भयो  । उनका यी कार्यले सन् २००० मा जनमत, मानव अधिकार र दोस्रो कोरियाबिच शान्तिमा योगदान पुर्‍याएको भन्दै नोबेल शान्ति पुरस्कार दिलायो । पुरस्कारपछि उनले सार्थक विश्वव्यापी समावेशी संवाद र शान्ति अभियन्ताको भूमिका निर्वाह गरिरहे । उनको एउटा नारा ‘म अनुरोध गर्छु कि बाँकी बाँच्ने जीवनको हिस्सा हामी सबैले शान्तिका लागि समर्पित गरौं’ ले उनको विचार विश्वभरि नै फैलाउने काम गर्यो । 

कोस्टारिकाका दुईपटकका राष्ट्रपति (1986–1990 तथा 2006–2010) ओस्कार एरियास सान्चेज (Óscar Arias Sánchez) ले पनि राष्ट्रपतिबाट पदमुक्त भइसकेपछि शान्ति, लोकतन्त्र र मानव अधिकार प्रवर्द्धनमा निकै सक्रिय भूमिका निर्वाह गरेका छन् । उनले Arias Foundation for Peace and Human Progress नामक संस्था  स्थापना गरे । यो संस्था उनले १९८७ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि त्यही रकमले १९८८ मा स्थापना गरेका हुन् । यो फाउन्डेसन शिक्षा, शान्ति, लोकतन्त्र, महिला समावेशीकरण र मध्यअमेरिकी क्षेत्रको सैन्यबहिष्कारप्रति लक्षित छ । महिला अवसर, च्यारिटी/फिलान्थ्रोपी र शान्तिका लागि मध्यस्थता विकास यस संस्थाका महत्त्वपूर्ण कार्यक्रम हुन् ।

दक्षिण अफ्रिकाका नेल्सन मन्डेलाले The Nelson Mandela Foundation स्थापना गरी शिक्षा, सामाजिक न्याय, र एचआइभी/एड्स बारे जनचेतना फैलाउने, Truth and Reconciliation Commission मार्फत जातीय मेलमिलाप गराउने कार्य गरे । 

बिल क्लिन्टनले Clinton Foundation मार्फत स्वास्थ्य, जलवायु, आर्थिक समावेशीकरण जस्ता क्षेत्रमा, विश्वका गरिब मुलुकहरूमा एचआइभी/एड्स औषधि पहुँचका लागि पहल गरे ।

बराक ओबामाले Obama Foundation स्थापना गरी युवा नेतृत्व विकास, सामाजिक न्याय र नागरिक सहभागिताका लागि काम गरे । उनले  ‘My Brother’s Keeper’  मार्फत काला व्यक्ति तथा ल्याटिनो युवाहरूका लागि अवसर सुनिश्चित गर्ने कार्य गरे । 

यी सबै उदाहरणहरूले देखाउँछन् कि कुनै पनि देशको पूर्वराष्ट्रपति भनेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सामाजिक संस्था हो । विश्वका सबै राष्ट्र, सबै संस्था र सबै हृदयले अनुमोदन गरेको सर्वमान्य, सार्वकालिक संस्था हो । यसले विश्वका कुनै पनि स्थानमा पुगेर सम्बन्धित राष्ट्रका विशिष्ट मान्यताहरूको प्रतिकूल नहुनेगरी कुनै पनि प्रकारका सेवामूलक कार्य गर्न गराउन सक्छ । यो कुनै एउटा देशभित्रको अमूक पार्टीको, अमूक पदको हैसियतसँग दाँजिने, तुलना गरिने, तुलना हुने पद होइन ।  यो त विश्वकै सर्वमान्य संस्था हो । सम्माननीय पद हो । त्यो पदभन्दामाथि अन्य कुनै पद नै हुँदैन । त्यो उचाइ बराबरको अन्य कुनै कद नै हुँदैन । 

अब जोडिन्छ कुरा नेपालका पूर्वराष्ट्रपतिहरूसँग । डा. रामवरण यादव पूरापूर निष्क्रिय जीवन बिताइरहेका छन् भन्दा अत्युक्ति हुँदैन । बेलाबखत एकदुई कार्यक्रममा एकदुई शब्द बोल्नुबाहेक उनी गुपचुप नै छन् । तर चुपचाप बसे पनि राष्ट्रले उनलाई दिएको मान, सम्मान र मर्यादालाई एक इन्च तलमाथि हुन दिएका छैनन् । राजा फालेर गणतन्त्रको स्थापना भएपछि जनताका छोराछोरी पनि राष्ट्राध्यक्ष हुन सक्छन्, मर्यादामा रहन सक्छन्, गणतन्त्रको विराषतलाई अत्यन्तै अग्लो उचाइमा स्थापित गरेर अगाडि बढाउन सक्छन् भन्ने भान छर्न सफल भएका छन् । संस्थागत हुने क्रममा रहेको गणतन्त्रका जरा मजबुत बनाउन उनले पालन गरेको मर्यादा सम्मानयोग्य छ ।

बाँकी रह्यो भरखरै पुनः पार्टी प्रवेश भएकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कुरा । संविधानले सुरक्षित गरिदिएको पूर्वराष्ट्रपति भन्ने हैसियत, आफ्नै जनसरोकारका अनुभव र मदन भण्डारी जस्तो लोकप्रिय नेताको स्मृतिले भेला गरिदिने सञ्जाललाई सदुपयोग गरेर  यदि सक्रियतापूर्वक सामाजिक क्षेत्रमा लाग्न चाहेकी थिइन् भने संसारका स्मरणीय पूर्वराष्ट्रपतिहरू झैँ सार्वकालिक सर्वमान्य बन्नसक्थिन् भन्ने लाग्यो । 

मलाई एक मन त पूर्वराष्ट्रपतिका हैसियतले यस्ता यस्ता काम गर्नु उचित हुन्छ भनी सुझावसहितको चिठी लेखूँ कि भन्ने पनि लाग्यो । फेरि अर्को मनले भन्यो- सुझाव दिनु र काम गर्नु फरकफरक कुरा हुन् । अनि म झस्किएँ र घोरिएँ । मेरो मनले मैलाई सोध्यो, “यदि तँ पूर्वराष्ट्रपति विद्या भण्डारी भएको भए के गर्थिस् ?” साँच्चि म के गर्थेँ होला ? सोच्दैजाँदा मैले गर्नसक्ने अनेक काम देख्न थालेँ । गर्न चाहेर पनि हुन नसकेका, थालेर पनि अघि बढाउन नसकेका, समस्या पहिचान नै नभएका, पहिचान भएर पनि समाधानको सुरूवात नभएका अनगिन्ती विषयहरू देखेँ । अभावै अभाव, कामैकाम देखेँ । तीमध्ये समाजमा बढ्दो लैङ्‍‌गिक असमानता  हिँसा र विभेद देखेँ । लैङ्‌‌गिक समानताबिना समतामूलक समाज कसरी निर्माण होला भन्ने लाग्यो । 

मैले महिला तथा लैङ्गिक समानताका क्षेत्रका कामलाई पहिलो प्राथमिकतामा राखेँ । यस क्षेत्रमा जनस्तरदेखि उच्च तहसम्म गर्नुपर्ने कामको डङ्‍‍गुर रहेछ । सुरक्षित मातृत्व र प्रसूति स्वास्थ्य  सम्झँदा पहाडी र ग्रामीण क्षेत्रमा ‘सुरक्षित डेलिभरी केन्द्र’ तथा प्रसूति आवास (Maternity Waiting Home) जस्ता नमूना कार्यक्रम चलाउन सकिने रहेछ । सबै तहका निर्वाचित महिलालाई नीति–कौशल, बजेट निर्माण क्षमता र सार्वजनिक वकालत (advocacy) तालिम दिने ‘विद्या लिडरसिप एकेडेमी’ स्थापना गर्न सके समाज परिवर्तनका लागि अर्को अत्यन्तै प्रभावकारी काम बन्ने रहेछ । महिलाको “सम्पत्ति अधिकार सचेतना राष्ट्रिय अभियान” चलाउन सके महिलाले जन्मसिद्ध पाउने अधिकारको संवैधानिक व्यवस्था (धारा ३८) बारे गाउँ–सहरसम्म सचेतना पुर्‍याउन सकिने रहेछ । “वैवाहिक सम्झौता फाउन्डेसन” स्थापना गरी वैवाहिक सम्बन्धमा महिला अधिकारको सुरक्षाका लागि जागरण, काउन्सेलिङ, र आपतकालीन सहायता प्रदान गर्ने निजी–सार्वजनिक संस्था खोलेर चलाउन सकिने रहेछ । त्यस्तै “महिला जग्गाधनी प्रोत्साहन कार्यक्रम” अगाडि सारी छोरी वा श्रीमतीको नाममा सम्पत्ति राख्ने परिवारलाई राज्यबाट कर छुट वा अनुदान दिने मोडलको वकालत गर्न सकिने, ‘समान जोडी – समान जग्गा’ योजना कार्यक्रम मार्फत घरजग्गा संयुक्त नाममा राख्ने परिवारलाई कर छुट र बैंक ऋणमा प्राथमिकता दिनेबारे दूरदराजसम्म चेतना विस्तार गराउन सकिने रहेछ । “वैवाहिक उत्तराधिकार शिक्षा कोष” स्थापना गरी छोरीहरूलाई कानुनी, वित्तीय र सम्पत्ति हकबारे विद्यालय स्तरमै सशक्त बनाउन सकिने रहेछ । 

अर्को क्षण सम्झेँ, मानिसले हरियाली मासेर सहर बनायो र त्यसको पीडा भोग्न स्वयम् तम्तयार भयो । यो कर्मले जलवायु र वातावरणमा परेको नकारात्मक प्रभाव डरलाग्दो छ । यदि म पूर्वराष्ट्रपति भएको भए जलवायु र वातावरणका क्षेत्रमा विश्वको दृष्टि केन्द्रित हुने खालका काम गर्ने थिएँ भन्ने लाग्यो । हाम्रा हिमनदी, हिमताल, कुण्ड, पोखरीहरूको संरक्षण लगायत जलवायु र वातावरणका क्षेत्रमा गर्नुपर्ने अनन्त कामहरूको फेहरिस्ता तयार गरी विश्वव्यापी बनाउने थिएँ  ।  हिमालहरू कालापहाडमा परिणत हुँदै गइरहेको विषय, वन विनास, अल्पवृष्टि अनावृष्टि, बाढी पहिरो, डुबान, क्षयिकरण, मानवीय क्षती जस्ता अनेक कुराहरू आँखामा झलझली आउन थालेपछि विपद् व्यवस्थापन तैयारी र पुनर्बासलाई मेरा कार्यको सूचीमा थपेँ । 

मैले शिक्षाको अवसरबाट बञ्‍चित बालबालिकाहरू सम्झेँ । कतिपय विद्यालयको दुरावस्था तथा कमजोर शिक्षण पद्धति सम्झेँ । स्वास्थ्य तथा ज्येष्ठनागरिक, लोकतन्त्र र सुशासन, दिगो विकासजस्ता कति हो कति काम सम्झेँ र एउटा पुस्तिका नै तयार गरेँ । 

यस सम्झनाले अर्को चिन्ता उत्पन्न गरायो । यति धेरै काम पूर्वराष्ट्रपतिका हैसियतले कसरी गर्न सकिएला र ? त्यसका लागि त राजनीतिमा हाम नफाली हुँदैहुँदैन ।  त्यहाँ त एउटा बलियो सङ्गठन हुन्छ । त्यो सङ्गठनको नेतृत्व गर्दै देशको प्रमुख कार्यकारी पदमा पुग्न सके मात्रै सोचेका सबै कामहरू एकैपटकमा गराउन सकिन्छ । नत्र कसरी सम्भव हुन्छ ? सब असम्भव छन् । मेरा कोरा कल्पनाहरू कागजमै मात्र सीमित हुन्छन् । पस्नुपर्छ राजनीतिमा । म भोलि नै पूर्वकार्यरत सङ्गठनको सदस्यता लिन्छु । तर फेरि सम्झेँ । हँ ? म यो के सोच्तैछु ? के भएको छ मलाई ? हिजो  यो देशको सर्वोच्च पद प्राप्त गरिसकेको मान्छे होइन म ? राज्यका सबै अङ्गको प्रमुख भएको होइन ? म आज फेरि राजनीतिमा पसेर युद्ध लड्दै नायकको ताज पहिरन सकुँला ? बहुमत प्राप्त दलको प्रमुख बनेर राष्ट्रको प्रमुख कार्यकारी पदमा विराजमान हुन सकुँला ? सकेँ भने त ठिक छ, सकिँन भने चाहिँ नि ? दुनियाँको नजरमा मेरो शाख कहाँ पुगेर अडिएला ?  

गुमाएर यस्तो महामहिमको हैसियत एउटा कुनै अमूक पार्टीको, कुनै अमूक पदाधिकारीको सिमित घेराभित्र खुम्चन, गिजोल्लिन खोज्नु हुन्छ मैले ? त्यो त मेरो कमजोरी मात्र होइन सारै ठुलो भुल हुने छ ।  राष्ट्रको अभिभावकत्व ग्रहण गरिसकेका व्यक्तिको महानता त परिवारका अरू सदस्यहरूलाई अवसर दिलाउनुमा पो हुन्छ त । देशका सबै दलहरू राष्ट्रनायकका परिवारका सदस्यहरू हुन् । देश चलाउने सरकार त दलका प्रतिनिधिहरूको समूह मात्रै हो । त्यस्तो सरकारको पनि अभिभावकत्व ग्रहण गरिसकेको पूर्वराष्ट्रपतिले फेरि दलमै झरेर दलदलमा लुटपुटिनुभन्दा राष्ट्रलाई आइपर्ने जुनसुकै समस्याको समाधानका लागि संयोजनकारी भूमिका पो निर्वाह गर्नुपर्ने हुन्छ त ।

हुनसक्छ, मलाई फेरि एकपटक देशको कार्यकारी बन्ने रहर जागेको होस् तर त्यो लोभमा मैले लत्पत्तिनुभन्दा अरूलाई अवसर दिलाउनुमा पो मेरो महानता झल्किन्छ त ।  म त राष्ट्रको बहालवाला राष्ट्रपतिले पनि सल्लाह लिँदा सल्लाह दिने ठाउँमा पुगेको मान्छे हुँ । अर्थात् राष्ट्रलाई अफ्ठ्यारो पर्दा सल्लाहकार बनेर सही सल्लाह दिने संस्था हो पूर्वराष्ट्रपति । राष्ट्रले चाहेको र दिएको भूमिका पनि राष्ट्रको सल्लाहकारकै हो ।

त्यस्तो हैसियत गुमाएर, बिर्सेर सम्पूर्ण जिम्मेवारी मैले पुनः दलको टिकट लिएर फेरि तँ ठुलो कि म ठुलो भन्ने, रस्साकस्सी गर्ने, गुट बनाउने, पछारापछारी खेल्ने हो भने कहाँ गयो त जनताको अपेक्षा ? कता गयो राज्यको ममाथिको लगानी ? कस्तो देख्छ अन्तर्राष्ट्रिय दृष्टिले ? कसको भयो सबैभन्दा कमजोर मस्तिष्क ? कता पुग्यो राष्ट्रकै सर्वोच्च पदको महत्त्व ?

अन्तर्राष्ट्रिय व्यक्तित्व बनी/बनाइसकेका व्यक्तिले त आफ्नै जस्तो छवि भएका अरूहरूले बिताइरहेको निवृत्त जीवन हेरेर सोही अनुसारको फैसला लिने हो । हिजो कहाँ कुस्ती खेलेको थिएँ भनेर खोज्दै त्यहीँ जाने होइन नि । नयाँ सोच र शैलीका साथ नयाँ कामको सुरूवात गर्ने हो मैले । देश र जनताको भलाइका लागि राष्ट्रिय साथ र अन्तर्राष्ट्रिय हात खोज्ने हो । रानी मौरी बनिसकेपछि भान्सामा भुन्भुनाउनुभन्दा गोलाको संरक्षक बनेर सर्वमान्य स्थान ग्रहण गरिरहनु नै न्यायसङ्गत हुन्छ । देवी बनेर मन्दिरमा पूजिएकी मान्छे हुँ म । अब फेरि ढुङ्गा बनेर बगरमा पछारिनु हुँदैन । जनताको मन जितिरहन त कि योभन्दा माथिको उचाइ लिन सक्नुपर्छ कि त उनीहरूले दिएको स्थानमा इज्जतसाथ अडिइरहन सक्नुपर्छ मैले । किशोरावस्थामा प्रवेश गर्दैगरेको गणतन्त्रको गरिमा बढाउनका लागि पनि मैले दायाँबायाँ गर्नु हुँदैन । 

उसो भए म मेरा कार्यक्रमहरू कसरी लागु गर्न सक्छु त भनेर एकान्तमा घोरिँदै थिएँ । यस्तैमा मैले  ‘पूर्वराष्ट्रपति सुविधा तथा सुरक्षा ऐन-२०७४’ अन्तर्गत कार्यालय, सुरक्षा र प्रारम्भिक कोष सम्झेँ । यसै कोषका आधारमा म मेरा काम प्रारम्भ गर्नसक्छु भन्ने लाग्यो । फेरि राष्ट्रपतिका रूपमा मैले केही विश्वास पनि त कमाएको हुँदो हुँ नि । त्यसलाई नै म मेरो मूल शाख मान्न सक्छु । जन समर्थन र सहयोगको आह्वन गर्न सक्छु । त्यो जनबलमा म धेरै काम गर्न सक्छु । म व्यक्ति र पार्टीको सीमाभन्दा धेरै माथि ‍पुग्न सक्छु । मेरो समाज, राष्ट्र र सिङ्‌गो संसारलाई अर्को एक अनुकरणीय पात्र बनेर बाटो देखाउन सक्छु । 

यस्तो निष्कर्षमा दृढसङ्कल्पित बनिसकेपछि मन धेरै हलुका भयो । सबै थकान बिर्सेर म मुस्कुराइरहेको थिएँ । मोबाइलमा करर्र घण्टी बज्यो । म झसङ्‌ग भएँ । गर्मी र मछ्छडले निकै सताइरहेको रहेछ । झटपट उठेँ, पसिना पुछेँ र चिसो पानी पिएँ । यिनै कुरा समेटेर पूर्वराष्ट्रापतिलाई चिठी लेखौँ कि भन्ने लाग्यो । तर खै केले केले छेकिरहेको छ । अहिलेसम्म पनि लेख्‍न सकेको छुइनँ ।