February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

   झोला महिमा

झोला हो परदेश भ्रमण सखे नेपालमा पूजने,
रित्तो पो छ कि वा पुटुक्क छ भनी सङ्केतमा बुझिने ।
झोलाकै बलमा युधिष्ठिर भए झोले ती दुर्योधन,
लेख्नै मुस्किल पो भयो कि त सखे झोला नबोकीकन ।।

झोला बोक्न नमान्दा कक्रिन पुगे ती हर्क बालेन बरा,
बोक्दै बोक्दिनँ म नभन्नू जन हो सुक्लान् कलिला जरा ।
झोलैका बलमा बिचौलियाहरु कुम्ल्याउँदै छन् धन,
लैख्नै मुस्किल पो छ हे हरिहरी झोला नबोकीकन ।।

झोला हो कलिको विकास ममता विद्यावरदायिनी,
बाँझै खेत रहोस् घुमिघुमी उसै व्यञ्जन मिठा खाइने ।
झोला हार्दिक साइनो नजिकको नाता अनि बन्धन,
चिन्नै मुस्किल पो छ है स्वजन नै झोला नबोकीकन ।।

झोला हो दलको प्रियत्तमा चिनो हो लोकतन्त्र पनि,
झोलै हो भगवान् मरेपछि हरी श्री रामचन्द्र पनि ।
झोलाकै बलमा पुरस्कृत भए दोषी बने सज्जन ,
स्वनामै पनि पो हराउने भयो झोला नबोकीकन ।।

झोलाले सब युद्ध जित्छ सहजै झोलै हतियार भो,
झोलामा सबथोक मिल्छ र सखे झोला चमत्कार भो ।
लामो जाहजमा पो उड्छ बिचरो बोक्न नमान्ने जन,
टिक्नै मुस्किल पो भयो मुलुकमा झोला नबोकीकन ।।                    
(भानु जयन्ती, २०८२
शार्दूल विक्रिडित छन्द)