आँखैमा झल्को हजुर,कानैमा छ गुञ्जन : वाङ्मयका मिठा कुरा दमकतिर हुन्छन्

दमक जाने सन्दर्भ यसरी जुर्यो भनूँ न ।
लगातार दुई दशकदेखि सङखुवासभाको खाँदवारीमा नजिकै बगेको अरुण नदीको प्रवाहसँगै भाषा, कला र साहित्यको अविरल सेवामा निर्लिप्त हुँदा जीवन आनन्दमय बन्दै गएको अनुभूति हुन थालेको छ । सातओटा पुस्तक लेखन र दर्जन बढी पुस्तकको सम्पादन गरिसक्दा घरमा राख्ने कपडा र बैङ्कमा राख्ने पैसा त कहिल्यै भएन तर मनमा राख्ने खुसी भने चुलिएर मकालु जस्तै अग्लो हुँदै छ । थुप्रै खुट्टा तान्ने प्रिय दुस्मनहरू र अझ मायालु सज्जनहरूका बिचमा सृष्टि र सिर्जनालाई हुर्काउनुको मजा पनि बहुत चिन्मय नै हुने रहेछ । जिल्लाभित्र कहिले भिख मागेर, कहिले सहयोग पाएर त कहिले आफैं दानी भएर अनगिन्ति साहित्यिक कार्यक्रम सञ्चालन गर्दाको अनुभव नै त स्रष्टाहरूसँग जीवनको मिठो सम्झनाको रूपमा रहने अमूल्य नीधि हुन् । १६ भाषाको लोक भाका सङ्कलन गर्दा होस् अथवा कुलुङ जातिको ‘चारसिल ’नृत्य राष्ट्रिय सांस्कृतिक महोत्सवमा साँस्कृतिक संस्थान र बसन्तपुर डबलीमा देखाउन पाउँदा, कुलुङ, शेर्पा, तामाङ, नेवार, लोहोरुङ, याख्खा, मेवाहाङ, लिम्बू जस्ता महान् जनजातिका नाचबारे शोधपत्र बनाउँदा हिमाल चढे जस्तै खुसीहरू बटुलेको छु । सायद स्रष्टा मनहरूलाई मलाई जस्तै हुँदो हो । हुड्कादेखि धाननाच र स्याप्रुदेखि धिमालसम्मका २७ ओटा जातीय साँस्कृतिक नृत्य एउटै मञ्चमा मनकामना धामको एकादशी मेला (२०७४) मा आयोजना / संयोजन गर्न सफल बनेका दिन तपस्याको एक चरण पूरा भए झैँ लाग्यो । यसकारण कि सधैँ कार्यक्रम गर्दा घाटा परेको कारण रिसाउने मेरी पत्नी शारदाले त्यो दिन अनुहार भरि मुस्कानको आभा पोतेर भनिन्–“यति महान् कार्यक्रम सफल पार्नुभो । नाथे ५०/६० हजार घाटा भए होस् न त । बधाइ छ मेरो बुढो ।”
मकालु साहित्यिक समाज (२०४९) स्थापना भएयता संस्थापक र ६० को दशकदेखि लगातार १६ वर्ष अध्यक्ष भएर जिम्मेवारी सम्हाल्दा जिल्लाबाहिर पनि साढे दुईदर्जन बढी कार्यक्रमको निम्तो स्वीकार गरी सहभागिता जनाइयो । तिसओटा कार्यक्रममा सहभागी हुँदा जम्मा चारओटा कार्यक्रममा मात्र यातायात खर्च पाएको अनुभव छ । आफूले प्रत्येक कार्यक्रममा जिल्लाबाहिरका अभ्यागतलाई यातायात खर्च नदिई बिदा गरिएन । महाकवि देवकोटाले भनेकै छन् :–
“खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू मिटाइ अरूलाई दिनु जहाँ छ ।”
पाहुनाहरूलाई बाटो खर्च दिनमा कहिले जिविस, कहिले खाँदबारी नगरपालिका, कहिले खाँदबारीका उद्योगी व्यापारी त कहिले समाजसेवीहरूको सहयागे रही नै रह्यो, पुगनपुग यदाकदा आफूले पनि हात फुकाइयो । नेप्रप्रका कुलपति गङ्गा उप्रेतीदेखि भाषविद् टङ्क न्यौपानेलगायत देशका चार दर्जन स्रष्टा हाम्रो निम्तोमा खुसी भएर अभ्यागत भइदिनुभयो । अनेक पटकका गरिमामय उपस्थिति सङ्खुवासभाको माटोले त भुल्दैन नै नेपाली साहित्यको इतिहासले ससम्मान सम्झिरहने छ । भाषा, कला र साहित्यको हिसाबले सङ्खुवासभामा राष्ट्र ओर्लिइसकेको छ, पटक पटक ओर्लिइरहने छ, विचरण गरिरहने छ ।
महान् स्रष्टा व्यक्तित्वहरूको आगमन अरुण किनारमा भइसकेपछि निमन्त्रणालाई मान्न जानु हाम्रो पनि कर्तव्य हो । एकोहोरो रोटी पाक्दैन भन्छन् ।
२०७५ चैत्र अन्तिम हप्ता मेरो मोबाइलमा घन्टी आयो–“ हल्लो ताराजी । तपाईँलगायत पाँच जना सङ्खुवासभाली स्रष्टाहरू आउनु पर्यो है झापा ।”
मैले जिज्ञासा राखेँ–“केलाई ? किन हो ? को बोल्नुभो ?”
मेरो सङ्क्षिप्त तर विवरणमूलक उत्तर मागिएको जिज्ञासाको प्रत्युत्तरमा उहाँ खुलेर बोल्नु भो :–
“म दमक प्रज्ञा–प्रतिष्ठानको अध्यक्ष हेमनाथ अधिकारी बोलेको । नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा हामी प्रदेश –१ स्तरको त्रिदिवसीय वाङ्मय संगोष्ठी गर्दैछौँ । मकालु साहित्य समाजको नेतृत्वमा सङ्खुवासभाबाट ५ जना झापाको दमक आउनु पर्यो ।”
साहित्यकै सन्दर्भले चिनजान आउजाउ भएकै मान्छे परेपछि भलाकुसरी त भयो नै । जोसका साथ मैले पनि–“ल हुन्छ ।” भनिदिएँ ।
हुन्छ त भनियो । अन्तिम परीक्षाका कापीहरू पनि असरल्ल थिए । साथीहरूलाई “जाऊँ ।” भन्यो कोही के, कोही के भनेर पन्छिने मात्र । समस्या त होला नै तर श्रम, समय र सम्पत्ति सकेर साहित्यमा लाग्नु जसकसैको लागि सजिलो पनि छैन । कि त साधना चाहियो कि साधन । जे होस् चैनपुरका कवि शेरबहादुर विस्वकर्मा र धर्मदेवीका याख्खा संस्कृतिविद् माघमान जिमी जाने हुनुभो । हाम्रो जिल्लाबाट मेरो नेतृत्वमा एक जनजाति र एक दलितसहित तीन सदस्यीय समावेशी प्रतिनिधि मण्डल तयार भएपछि फुरुङ्ग भएर तीन दिन तीन रातमा लगातार बाँकी कपी परीक्षण र नम्बर चढाउने काम सकेर झिसमिसेमै ट्याक्सी चढेर हिँडे ।
अर्जुन चैनपुरे दाइको गीतले भनेजस्तै –“काँचो अम्बक, म जान्छु दमक …. आँखा झमक्क ।” त्यो दिन एकै झमक सुतेर बसपार्कतिर जाँदा निन्द्रा काँचै थियो । घरबाट हिँडेपछि निदाउँदै, बात मार्दै, इटहरीमा गाडी परिवर्तन गरेर जम्मा दश घन्टामा दमक पुगियो ।
दमकको घुर्मैलो साँझमा सिर्जनाको आलोक
दमकको बस बिसौनीबाट निकै बेर पूर्व हिँडेपछि आकासे पुल आइपुग्यो । बायाँपट्टिको होटल बुक गरेका रहेछन् आयोजकहरूले । म मेरा जिल्लाबासी मित्र शेरब.दाइ र माघमानसँग निरन्तर सम्पर्कमा थिएँ । आयोजक हेमनाथ अधिकारी र विष्णु न्यौपानेसँग पनि फोनमा जोडिइरहेकै थिएँ ।
होटलमा पुग्नासाथ मैले मेरा लोककथा सङ्ग्रहका दुईओटा पोका बिसाएँ । भोलिपल्टको समुद्घाटन कार्यक्रममा मेरो “काँडेभ्याकुरको बिहे” भन्ने लोककथा सङ्ग्रह विमोचन प्रधानमन्त्रीबाट गर्न मजाले मञ्च उपलब्ध गराउने भनेर आयोजकले भरोसा दिएका थिए । पुस्तक बिसाएपछि हेमनाथ सर,विष्णुजीलगायतसँग मुलाकात भयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति माननीय गङ्गाप्रसाद उप्रेतीज्यू, उपकुलपति जगमान गुरुङ्गज्यू, प्रज्ञा सचिव डा.जगत्प्रसाद उपाध्याय, प्राज्ञहरू दिनेशराज पन्त, हेमराज पौड्याल, देवी नेपाल, सुभद्रा भट्टराई, अघि नै आइपुग्नुभएको रहेछ । केहीबेरमै “हौ पाख्रिबासे ।” भन्दै अनिल दाइले पछाडिबाट बोलाउनुभयो । फर्केर हेर्दा उहाँ मुसुक्क हाँस्नुभयो । एकसे एक स्रष्टाहरूसँग धमाधम भेटघाट हुनथाल्यो । अघि पहाडबाट झर्दाको हैरानी, दुई काटूृन पुस्तक उचाल्दा र पछार्दाको थकाइ मबाट टाढा भागेर दूरदेशका पाहुना भैसकेको थियो । मेरो नसामा नयाँ उत्साहको रक्त सञ्चार भैसकेको थियो । देशका अग्रज स्रष्टाहरूको मुहारबाट छरिएको उज्यालोले मेरो मनमा आलोक पोखिँदै गर्दा दमक बजारमा आकाशबाट र्ओर्लिँदै गरेको साँझको घुर्मैलो निशी हटाएर झलमल्ल बिजुलीबत्तीको रोशनी सबैतिर छाइसकेको थियो ।
गोलो डाइनिङ टेबुल वरिपरि विराजमान कुलपति,उपकुलपति र प्रज्ञा सचिवलगायत सबै प्राज्ञज्यूहरूले आफूहरूका बिचको मेचमा बडो प्रेमपूर्वक मलाई पनि बसालेपछि आदरपूर्वक बसेँ । पहिले चिया र पछि भात पनि सँगै खाइयो । प्रेमिल बसाइले मलाई पनि आफ्नो कामप्रति अझ जिम्मेवार बनायो । म गद्गद् भएँ ।
चियाको चुस्की चल्दै गर्दा कुलपतिज्यूले मलाई खुसहाल सोध्नुभयो । उपकुलपतिज्यूले ठाउँ ठेगाना सोध्नुभयो । मैले उहाँहरूको जिज्ञासाको विनयपूर्वक उत्तर दिएँ । हाम्रा कुराकानीको प्रसङ्गमा कुलपतिज्यूले “यतिबेला के लेख्दै हुनुहुन्छ ?” भनी सोधनी हुँदा मैले “बाउ” लेख्दै छु भनेँ । मैले मेरा पिताजीको जीवनमा घटेका घटनाको एउटा जीवन्यास तयार पार्दै गरेको कुरा बताएँ । कुलपतिज्यूले “तपाईको बाबाको कुनै क्षेत्रमा योगदान छ ?” भनेर सोधनी हुँदा मैले –“खास योगदान नभएका आम सर्वहारा, शोषित, पीडित, निम्न वर्गको जीवन पनि लेखिनु चाहिँ प्रगतिशील लेखनीको मर्म हुनुपर्ने हो, यसबाट नलेखिएको सामाजिक इतिहासको दस्तावेजीकरण हुन्छ ।” भन्ने आफ्नो भित्री विचार राखेँ । केही बढी पो बोलेँ कि भनेर डराएको थिएँ तर कुलपतिज्यूबाट त–“स्याबास ! ताराजी !” भन्ने आवाज निस्कियो । उपकुलपतिज्यू उठेरै हात मिलाउनुभो । सबै जनाले मेरो कुरालाई मन पराएर हात मिलाउनुभयो । उपकुलपतिज्यूसँग पहिलो पल्ट आम्नेसाम्ने भएको थिएँ, उहाँले मेरो घर सोध्नुभयो । मैले चिचिला, सङखुवासभा भनेँ । अझ स्पष्ट पार्न “मानवीर गुरुङ्ग दारी लामाको गाउँ” भनिदिएँ । उपकुलपति जगमान गुरुङ्गज्यूले मेरो गाउँ चिचिला आउने इच्छा गर्नुभयो । मैले फागुन अन्तिम हप्ता प्रज्ञासँग मिलेर कार्यक्रम गरी निम्तो दिने छु,अवश्य आउनु हुने छ । उहाँले ओके भनेर हात मिलाउनुभयो । सबै प्राज्ञहरूले प्रस्ताव लिएर कमलादी आउन निम्तो हुँदा दमक भ्रमण प्रारम्भमै फलदायी भएको अनुभूति भयो ।
उसै त दमक बजार । सम्माननीय प्रधानमन्त्री, माननीय मुख्य मन्त्री, मन्त्रीगण, कुलपतिलगायत प्राज्ञहरू जम्मै भेला भएर वाङमय सङ्गोष्ठी उद्घाटन गर्दा भोलि कस्तो होला ? भव्य र सभ्य समारोहमा देशका प्रमुख कार्यकारीले विमोचन गर्दा दुर्लभ प्राणी “काँडेभ्याकुरको बिहे” कति रमाइलो होला ? सोच्दासोच्दै त्यो रात होटलका नरम बिछ्रयौनामा पहाडे ठिटो भुसुक्कै निदाएछ ।
उद्घाटनको दिन मिश्रित अनुभूति
खाना खाने बेलामा जिल्लाका सहभागी स्रष्टाद्वय दाजु शेरबहादुर विश्वकर्मा र मित्र माघमान जिमी आइपुग्नुभयो । प्राज्ञ विवश पोखरेल टुप्लुकिनुभयो । निकै अबेला जस्तो लाग्यो सम्माननीयको आगमन । आफ्नै गृहनगर दमकमा सम्माननीय केपी शर्मा ओलीको आगमन यसपटक फरक प्रसङ्गमा भएको थियो । झापा नेपालमा सबैभन्दा बढी धान फल्ने जिल्ला । नेता, कलाकार, साहित्यकार फल्ने जिल्ला । झापा जिल्ला यहाँका आदिबासी र इलाम, पाँचथर, तप्लेजुङतिरबाट बसाइँ सरेर गएका लिम्बू, क्षेत्री, बाहुन, जनजाति र दलितहरूले बनाएको जिल्ला हो ।
झापा झर्यो कि ? माया मेची तर्यो कि ?
मेरो माया तराईतिर बसाइँ सर्यो कि ?” भन्दै पहाडबाट मानिसहरू ओरालो लागेर झापा झरेपछि झापा समृद्ध बन्दै गएको हो । झापा जिल्लाले फलाएका प्रधानमन्त्री केपी ओली सधैँ राजनीतिको मियोमा घुम्दै गृहनगर आउनुहुन्थ्यो । आज उहाँलाई साहित्यको मालदाम्लोले डोहोर्-याएर शब्दहरूको दाइँमा चुम्बकले झैँ तानेर ल्याइपुर्याएको थियो । उसो त प्रधानमन्त्री केपी ओलीले हरेक अभिव्यक्तिमा अधिकतम् उखान र टुक्का मिसाएर जनजिब्राको लोक साहित्यलाई सधैँ बचाइराख्नुभएको छ । भन्नेहरूले “उखाने”, “टुक्के” उपनाम राखेर सम्माननीयलाई बर्कीभित्रबाट धारेहात पारे पनि भाषा र साहित्यको मर्म र जनभावना नबुझ्नेहरूको रुढ, जडसूत्रवादी सोचको उपज हो उहाँमाथिको उपहास । दस्तावेजहरू कण्ठ गरेर हुबहु तत्सम र प्राविधिक आगन्तुक शब्द प्रयोग गरेर भाषण गर्दा कुन सर्वसाधारण जनताको समुदायले बुझ्छ ? उखान, टुक्का, लोकगीत, लोककथा त लोकको धड्कन हो । लोकबोलीको भाषा प्रयोग गरेर गहिरा दर्शन र सपनाहरू जनताको बिचमा सम्प्रेषण गर्न सक्नु चाहिँ वक्ताको शक्ति हो । यसो गर्दा जनताले नेताको भावना त बुझ्छ नै, जनबोलीको सम्मान पनि त हुन्छ । विश्व समुदायका सामु उच्च स्तरीय कुटनीतिक अङ्ग्रेजीको प्रयोग गर्न सक्ने ओलीज्यूले प्राविधिक र तत्सम शब्द नजानेर उखानटुक्का प्रयोग गर्नुभएको होइन भन्ने कुरा मलाई धेरै पहिले नै लागेको थियो । बरुण क्याम्पसमा सामजिक भाषाविज्ञान अध्यापन गर्न थालेपछि मैले पनि यसरी बुझ्न थालेको हो । लगभग १ः०० बजेतिर सम्माननीय प्रधानमन्त्रीको आगमन भयो ।
प्रमुख अतिथिको आगमनसँगै प्रदेश नं. १ का मा. मुख्यमन्त्री शेरधन राईज्यू, मा. सामाजिक विकाशमन्त्री जीवन घिमिरेज्यू, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीज्यू, महान्यायाधिवक्ताज्यू, कुलपतिलगायत प्राज्ञज्यूहरू, दमक नगर प्रमुख रोमनाथ ओली मन्चासीन हुनुभयो । दमक प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको सभापतित्वमा प्रदेश नंं.१ का साहित्यकार, कलाकार, उद्योगी, व्यापारी, राजनीतिज्ञ, पत्रकार, किसान, मजदुर, जम्मै मानिसहरूको तुमुल उपस्थितिले नगरको आँगन ढाक्यो । र्यालीले उडाएको धुलोले झापाली आकाश आच्छादित भयो । कार्यक्रमको उद्घाटन भयो । तालीको गड्गडाहट टाढा टाढासम्म फैलियो । उद्घोषण भाषणदेखि उद्घाटन भाषणसम्म धाराप्रवाह गए । दुईजना प्रमुख वक्ताको मिठो दोहारी अद्यापि कानमा गुन्जिरहेका छन् ।
उपकुलपति जगमान गुरुङ्गज्यूले “ओलीबा, भन्छु । सम्माननीयलाई ओलीबा भन्यो भनेर नभन्नु होला । धेरै सम्मान गरेर भनेको हामीले । प्रदेश नंं. १ कोशीको प्रस्रवण क्षेत्र हो । यसलाई स्पष्ट पार्न यो कार्यक्रम राखिएको हो । हामी प्रज्ञा–प्रतिष्ठानबाट नेपालका सबै जाति भाषाको एउटा महाग्रन्थ प्रकाशन गछौँ । यसको लागि ओली बाले ५ करोड बजेट दिनु पर्यो । सानो मुखले ठुलो कुरा भन्यो भनेर ओलीबा पक्कै रिसाउनु हुने छैन ।”
प्रधानमन्त्री ओलीज्यूले जगमान गुरुङ्गलाई पण्डित भनेर सम्बोधन गर्नुभयो र भन्नुभयो –“डा.जगमान गुरुङ्ग मेरो देशको विद्वान् व्यक्तित्व । पाँचकरोड माग्न पनि डराए जस्तो लाग्यो । महान् काम गर्ने प्रस्ताव लिएर आउनुस् । कति पैसा चाहिन्छ ? केपी ओली दिन तयार छ । तर महान् काम महान् तरिकाले गर्नुस् । पारदर्शी गर्नुस् ।”
भर्खरै लगानी सम्मेलनमा सहभागी हुँदाको प्रसङ्ग संस्मरण गर्दै प्रधानमन्त्री ओलीले सेयर गर्नुभयो –“भर्खरै काठमाडौँमा लगानी सम्मेलन सम्पन्न भयो । त्यहाँ मैले दाता राष्ट्रहरूलाई भनिदिएँ–‘हामी लगानीबिना बाँच्नै नसक्ने गरी गरिब भएका छैनौँ, हात पसारेर चाहिँ माग्दैनौँ । तपाईँहरूलाई नेपालमा केही गर्ने इच्छा नै छ भने मेरो देशमा लगानीको ढोका बन्द चाहिँ छैन ।’ ठट्यौलो भाषामा पनि देशको इज्जत बचाउने र लगानी पनि भित्र्याउने उहाँको कुटनीतिक चातुर्य सुन्दा मलाई बहुत गौरवको अनुभूति भयो । दुःख त्यतिबेला लाग्यो, जतिबेला मेरो आँखा एउटा अनलाइन खबरमा पुगेर ठोक्कियो । त्यहाँ त “प्रधानमन्त्रीले विदेशी लगानी चाहिँदैन भने” भनेर पो शीर्षक दिएको छ बा ! मलाई लाग्यो बायेस पत्रकारिता पनि नेपालको लागि अभिशाप नै हो ।
सम्माननीय प्रधानमन्त्रीको हातबाट मेरो लोककथा सङ्ग्रह विमोचन गर्ने भनेर ढुक्क पारेको भए पनि अनेक ढिपी गर्दा आयोजकले आलटाल नै गरिरहे । अनेक तरिकाले पुस्तक कुलपतिज्यूको हातबाट विमोचन गराइयो । विमोचनपूर्व नै उक्त पुस्तक अतिथिहरूलाई दिन मञ्चमा उक्लन प्रधानमन्त्रीज्यूको स्वकीय सचिव र सुरक्षा प्रमुखबाट स्वीकृति लिँदा पनि मन्चमा उक्लिन आयोजकले दिएनन् । किनकिन रोक लगाउनुभयो । तलैबाट सम्माननीयलाई पुस्तक दिएँ र आँखाको इशाराले मेरो पुस्तक भन्ने जनाएँ । प्रधानमन्त्रीले मतिर आँखा जुधाएर मुन्टो हल्लाउँदै मुस्कुराउनुभो र पाना पल्टाउनुभयो । पहाडबाट विमोचनको निकैे ठुलो आकाङ्क्षा बोकेर तराई झरेको म बबुरो यतिमै चित्त बुझाउन बाध्य भएँ । आयोजकसँगको त्यत्रो सहमति र आश्वासन त नेपालीको सल्ला खरानीको डल्ला पो भयो । जे होस् यसै गरिन्छ भनेको भए त्यति दुःख गरेर बनाएको सिर्जना त्यो भिडमा लैजाने थिइँन । म मात्र जान्थेँ कृति बोकेर लान्न थिएँ । छुट्टै कार्यक्रम गरेर बरु मकालुको नुम बजारमा गर्ने थिएँ । सम्माननीय हिँडेपछि, पत्रकारहरू हिँडेपछि विमोचन त भयो तर पुरै चर्चाविहीन । चर्चा हुन्छ त सोचेको थिइनँ तर लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीको हातबाट लोककथा उचाल्न पाएँ भने चर्चा त गर्दै गरुँला भन्ने लागेको थियो । प्रधानमन्त्रीको बाहुलीबाट भन्दा कुलपतिबाट गराउनु असल भनेर विमोचन भयो ।
कार्यक्रम दोस्रो सत्रमा माइक समाउन पुगे झापाली गजलका बाघ विवश बलिभद्र कोइराला । गजल तथा कविता बाचनको क्रम सुरु भयो । झापाली कवि मुनाराज शेर्माको शक्तिशाली कविता गुन्जियो । ६० को दशक नाघेका लगभग १५० किलोमिटर दूरी पार गरेर गाडीमा झरेका मेरा शेर ब.बिक. दाइले कविता भन्ने मञ्च माग्नुभयो, दिइएन । मैले सिर्जना बाचन गर्न पाइन्छ भनेर लगेको त्यहाँ नपाउँदा हामीलाई मजा त पक्कै भएन नै । बल्लबल्ल ३१ औँ नम्बरमा मेरो पालो आयो, मैले गजल सुनाएँ । सूर्यास्त भयो, दिन अघि नै ढलिसकेको थियो ।
दमक बजारमा खाँदबारी उभिएपछि
बेलुकी खाँदबारीको गुवाबारीबाट झापा झरेर दमकमै बसोबास गरेका भाइ श्याम कार्कीसँग भेट भयो । उनी नेकपाको तर्फबाट दमक नगरको नगर सभा सदस्यको जिम्मेवारीसहित जनप्रतिनिधिमा निर्वाचित भएका रहेछन् । बहुत माया गरेर सद्भावपूर्वक मोटर साइकलसहित होटलमै लिन आएपछि म उनको घर गएँ । बाटामा दिउँसो पुस्तक विमोचन गर्न आयोजकले नमानेको कुरा सुनाएँ । उनले –“बिहानै दाजुभाइको भेट भएको भए म प्रधानमन्त्रीको हातबाटै गराइदिन्थेँ । मैले भनेसि हुन्थ्यो के गर्नु ?” हुन्थ्यो हुँदैनथ्यो तर मलाई उनीसँग समयमा भेट नभएकोमा पश्चाताप लाग्यो । मोटरसाइकल दमक नगरपालिकाको भवनबाट पूर्वपट्टि पश्चिमोत्तर फर्केको एउटा भव्य घरअगाडि गएर अडियो ।
ओर्लँदै गर्दा मैले एकजना चिरपरिचित मानिसलाई देखेँ । झन्डौ २० वर्षपछि देख्दा पनि मुहारको सदाबहार कान्तिले मभित्र आस्था पलायो । उहाँ श्यामका पिता लोकबहादुर कार्की हुनुहुन्छ । लोकबहादुर कार्की काकालाई देखेपछि ३५ वर्षअघि उहाँले कल्छे बेंसीमा थाप्नु भएको पानी मिलमा बारम्बार भेटेको याद आयो । बहुदल पछिको पहिलो स्थानीय निर्वाचनमा तत्कालीन पांमा ३, गुवाबारीबाट उहाँले नेकपाको तर्फबाट उम्मेद्वार भई भारी बहुमतले वडाध्यक्ष जितेका ती पलहरू सम्झनामा आए । मधेस झर्नुका कारणहरू, मधेस झरेपछिका सङ्घर्ष र प्राप्तिका क्षणहरू, श्याम भाइको वैदेशिक रोजगार र नेकपाको राजनीति, स्थानीय निर्वाचन, केपी ओलीसँगको निकटता, विजय र विजयपछिका समाज सेवामा चुनौती र अवसर जम्मै विषयमा कुरा भए । झापामा आएर पनि नेता बन्नु, चुनाव जित्नु श्याम भाइको महान् उपलब्धि मानेँ । म काकातिर नै आर्किर्षत भएँ । लोकबहादुर कार्की मेरो हाइस्कुल जीवनमा नै अनुभव गरेको आदर्श मान्छे । काकी, बुहारीहरूको स्नेह र आदर पनि सम्झनलायक नै रह्यो । श्यामलाई मोबाइलमा फोन आयो । उनी कतातिर हो झगडा भएछ, मिलाउन जान्छु भनेर करिब आठ बजेतिर बाइक चढेर निस्किए । हामी काकाभतिज टन्न बात गरेर सुत्यौँ । लोकबहादुर काकाको चिनो पहाडमा उहाँका जेठा छोरा प्रेम कार्की छन्, जो मेरो खाँदबारीको घरअगाडिबाट प्रत्येक बिहान हिमालय मावि पढाउन हिँड्छन् र मलाई देखे भने आउँदा जाँदा मुठ्ठी कसेर अभिवादन गर्छन् । काकाको अर्को छोरो कृष्ण कार्की छन्, जसले मेरो घरअघिको मोटरबाटो बनाउँदा उपभोक्ता समिति बनेर निकै दुःख गरेका थिए । आज ओछ्यानमा ढल्केपछि मैले प्रसङ्गबस झापाबाटै पहाडका यी दुई मान्छेलाई सम्झेछु । झापामै खाँदबारी उभिन पुगेछ ।
दोस्रो दिन छ ओटा सत्र : मेरा सुझाव, विद्वान्हरू र कार्यपत्र
आज सङ्गोष्ठीको दोस्रो दिन । बिहानदेखि नै निर्दिष्ट विद्वान्हरूबाट कार्यपत्र प्रस्तुत गर्ने सेसन चालु भयो । म निर्दिष्ट विद्वान्हरू नै भन्न रुचाउँछु किनभने केही प्रस्तोताभन्दा सम्बन्धित विषयका प्रखरहरू बाहिर देखिनुहुन्थ्यो । जम्मा छ जना विद्वान्हरू आ–आफ्ना विषयमा कार्यपत्र प्रस्तुत गर्न थाल्नुभयो । विद्वान्हरूमा प्राज्ञ सभा सदस्य हरिचन्द्र लावती, त्रिवि संस्कृति विभाग प्रमुख प्रा.डा.सोमप्रसाद खतिवडा, त्रिवि सहप्राध्यापक डा. डिल्ली प्रसाईं, दमक क्याम्पस प्रमुख उत्तम प्रसाद भट्टराई, गोरखापत्र धिमाल भाषा पृष्ठका सम्पादक डा. सोम बहादुर धिमाल र काठमाडौँ निवासी राजेश्वर थापा हुनुहुन्थ्यो । विषयसँग सम्बन्धित प्राज्ञ तथा विज्ञहरू प्रत्येक सत्रको सभापति बन्नुभएको थियो ।
पहिलो सत्र : किराँत मुन्धुमको दार्शनिक चिन्तन : हरिचन्द्र लावती (प्राज्ञ सभा सदस्य, नेप्रप्र )
यस सत्रको सभापति प्राज्ञ एवं इतिहासविद् दिनेशराज पन्त बन्नुभयो । कार्यपत्रमा लावतीज्यूले किराँत सभ्यताका धार्मिक, सांस्कृतिक, लोक साहित्यिक, भाषिक आयामहरूको निकै गहिरो अध्ययन, चिन्तन र विश्लेषणको सार पक्ष स्पष्ट रूपमा लेखेको पाइयो । शोध आर्टिकलकै रूपमा १८ पेज लम्बाइको यो कार्यपत्रले मुन्धुमका विषयमा प्रामाणिक खुराकहरू पस्केर निकै रोचक, पठनीय र जानकारीमूलक सामग्री तयार गर्नुभएको पाएँ । लिम्बू भाषाको सिरिजोङ्गा लिपी पनि ठाउँठाउँमा लेखेर यसलाई मुन्धुमकै झझल्को दिनेगरी तयार गरिएको थियो । यद्यपि यस कार्यपत्रमा मुन्धुमको परिभाषा अधुरो भएको, सुप्तुलुङ्गको प्रसङ्ग नै नभएको र कोथीमुडा शब्दको अर्थ स्पष्ट नआएको हुँदा मैले फ्लोरबाट यसप्रकारको टिप्पणी र सुझाव दिएँ ।
मुन्धुमबारे मेरो सुझाव –१.
“मुन्धुमको अर्थ किराँतको वेद भनेर मात्र पुग्दैन, सृष्टि हो । बाख्रा पाठा जन्मने बित्तिकै पहिलो पटक म्या गरेको मुन्धुम हो । उत्पत्तिको बोली हो । मुन्धुम गर्दा चाहिँ केराको पात उत्तानो पारेर माथिबाट चिन्डो उभिन्डो पारेर जाँडको छोक्रा छरिन्छ । केराको पात (पोथी) स्त्री जननेन्द्रीयको प्रतीक र चिन्डो भाले (पुरुष) जननेन्द्रीयको प्रतीक अनि जाँडको छोक्रा चाहिँ वीर्यको प्रतीक हुन्छ । यसरी भालेको वीर्य पोथीको जननेन्द्रीयमा परेपछि जन्म हुन्छ, सृष्टि हुन्छ । ठिक यही प्रक्रिया आकाश र धर्ती अनि वर्षामा पनि घटित गरेर वनस्पति र प्राणीको सृष्टिको व्याख्या गर्न सकिन्छ । यही व्याख्या मुन्धुम हो भनी थप गर्नुहोस् । मुन्धुम संस्कृतिको जरा हो, सभ्यताको भूमि हो ।”
सुप्तुलुङ्गबारे मेरो सुझाव २.
“सुप् तु लुङ गरी तीन शब्द मिलेर सुप्तुलुङ्ग शब्द निर्माण भएको छ । सुप्तुलुङ्ग किराँत परम्परा हो । यसको अर्थ तीनओटा ढुङगा भन्ने हुन्छ । किराँतले माखालुङ्ग भनेको आमा, बाबु र इष्टमित्र बन्धुबान्धवलाई क्रमशः माखालुङ, पाखालुङ र दाखालुङ भनी तीनओटा ढुङ्गा स्थापति गरी पुज्ने परम्परा थियो । यही परम्परा अद्यापि छँदैछ । गैरकिराँतीहरूको पनि तीन ढुङ्गे चुलोको निर्माण यसैबाट भएको मानिन्छ । कार्यपत्र लेखकले यसबारे अझ गहन खोज गरी कार्यपत्रमा विषय समावेश गर्नु सान्दर्भिक हुने छ ।”
‘कोथीमुडा’को अर्थ बारे मेरो सुझाव–३.
“बिँडमा सुनको काँजो र सुनको छाप भएको खुकुरी र सुनको कन्तकारी भएको चाँदीको बुट्टे दापसमेत गरी दाप– खुकुरीको संयुक्त स्वरूपलाई कोथीमुडा भनिन्छ भनेर परिभाषित गरियोस् । यसबारे पुरानो लोकगीत पनि उल्लेख गरे अझ स्पष्ट हुने छ –‘असामै जाउँला धन कमाई ल्याउँला नाङ्लैमा खन्याउँला ।..बाबैलाई कोथी आमैलाई बाला नाउँ मेरो चलाउँला ।।’ ”
उल्लेखित ३ सुझावहरू कार्यान्वयन गर्न मैले राय प्रस्तुत गरेको थिएँ । उपस्थित विद्वान्हरूले मेरो तारिफ गरेका थिए ।
दोस्रो सत्रः कोशी प्रस्रवण क्षेत्रका धार्मिक एवम् पर्यटकीय क्षेत्रहरू : प्रा.डा. सोम प्र.खतिवडा ,त्रिवि
कार्यपत्रमा डा.खतिवडाले प्रस्रवण क्षेत्र चिनाउने कोसिस गरेका छन् । यस क्षेत्रका प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक गुदीलाई पनि उजागर गरेर ल्याएका छन् । यस क्षेत्रका ७४ ओटा धार्मिक एवम् पर्यटकीय स्थलको परिचय राखेर यसलाई ऐना बनाउने प्रयास गरेको अनुभव हुन्छ । यसमा प्रस्तुत प्रस्रवण क्षेत्रको परिभाषा अलि पूर्ण हुन नसकेको, पर्यटनलाई वर्गीकरण नगरिएको, कतिपय महत्त्वपूर्ण स्थलहरूको नाम छुटेको र कार्यपत्र भावी सम्भावना र योजना बारे पूरै मौन देखिएकोले मैले केही सुझावहरू प्रस्तुत गरेँ ।
कोशी प्रस्रवण क्षेत्रको परिभाष बारे मेरो सुझाव –१.
“कौशिक ऋषिले तपस्या गरेको कोशी सभ्यता भएको हिमाल, पहाड, तराई ,मधेशका जम्मै भू–भाग जहाँ सगरमाथा, मकालु र कन्चनजङ्घा हिमाल, हिमालय श्रृङ्खलाबाट निःसृत सप्तकोशी, तिनका सहायक नदी र सहायक नदीमा मिसिने जम्मै खोलानालाले सिंचित मूलतः प्रदेश नं.१ को सिङ्गो भूगोललाई कोशी प्रस्रवण क्षेत्र भनिन्छ भनेर परिभाषित गरियोस् ।”
पर्यटन क्षेत्रको वर्गीकरण नगरिएको बारे मेरो सुझाव–२
“पर्यटनको परिभाषा र वर्गीकरण गरेर यस कार्यपत्रमा पर्यटकीय स्थलबारे विवरण प्रस्तुत गरे राम्रो हुने छ । धार्मिक स्थल त कार्यपत्रको अघिल्लो विषय हो । पर्यटकीय स्थलको कुरा गर्दा यहाँ खेल पर्यटन, रक, क्लाइम्बिङ, र्याफ्टिङ पर्यटन, फिसिङ पर्यटन, पौडी पर्यटन, आरोहण पर्यटन, प्याराग्लाइडिङ्ग पर्यटन, राजनीतिक पर्यटन (जस्तैः छिन्ताङको सहिद पार्क), भाषिक पर्यटन (जस्तैः कोचमेचे भाषाको अध्ययन), सांस्कृतिक पर्यटन (जस्तैः हिमाली संस्कृति, कुलुङ्ग संस्कृति आदि हेर्न कहाँ जाने?) आदि क्षेत्रमा कार्यपत्र पूरै मौन छ । यस प्रकारका क्षेत्रको पनि उल्लेख गर्न सके कार्यपत्रले पूर्णता पाउने छ ।”
छुटेका स्थलहरूका नाम बारे मेरो सुझाव –३
“हाल सिलिचोङ्ग गाउँपालिकामा रहेको शैसिमा गुम्बा (बुद्धिष्टहरूको साङ्गग्रिला), शाल्पाराजा शाल्पारानीलाई सैराजा सैसैरानी सैसै भन्ने साल्पा सिलिछो गाउँपालिकाको प्रसिद्ध साल्पापोखरी, गुराँसको राजधानी तीनजुरे मिल्के गुराँसे (टिएम्जे), मकालु, कञ्चनजङ्घा र सगरमाथा हिमालको परिचय, खेम्पालुङ गुफा, मत्स्यपोखरी, पाँचपोखरी, बन्दुके पोखरी, कालापोखरी, बौलाहा पोखरी, मकालु बेसक्याम्प, घोर्ले झरना, चुरिया माई, माइपोखरी, ह्यातुङ झरना, आदिको खोजी गरी समावेश गरिनुपर्छ । कार्यपत्र ६० प्रतिशत मोरङ, झापा र सुनसरीमा घुमेको छ । बाँकी ११ जिल्लालाई ४० प्रतिशत स्थान दिइनु असन्तुलित भयो । गुम्बाहरू त उदयपुरदेखि इलामसम्म जम्मै छुटेका छन् । मोरङकै सुन्दरपुरमा भएको किराँतेश्वर मन्दिर पनि छुटेकोले थपियोस् ।”
भावी योजना बारे मेरो सुझाव –३
“यो सुझाव कार्यपत्रको सैद्धान्तिक पक्षसँग सम्बन्धित छ । कार्यपत्र अध्ययनपछि अध्येतालाई अगाडि सुधार अर्थात् विकास गर्न मार्ग प्रशस्त गरेन भने त्यो विवरणपत्र मात्र बन्छ । सामन्यतः कार्य गर्न सहयोग सुझाव र परामर्श उपलब्ध गराउने पत्र भएकैले कार्यपत्र भनिएको हो । तसर्थ यस कार्यपत्रले कम्तीमा यो कोशी प्रस्रवण क्षेत्र भएकाले यस प्रदेशको नामाकरण कोशी नै गर्दा उपयुक्त हुन्छ । यहाँको पर्यटन प्रवद्र्धन गर्न यस्ता रणनीति लिनुपर्छ भन्ने सुझाव अनिवार्य राखिएको भए गुराँसको फूल त छँदै थियो, सुनाखरीको सुगन्ध पनि थपिन्थ्यो । अझ अघि बढेर भन्दा कार्यपत्रले पूर्णता पाउँथ्यो ।”
तेस्रो सत्रःकोशी प्रस्रवण क्षेत्रको हिमाली जनजीवन : राजेश्वर थापा
विद्वान् राजेश्वर थापाले हिमाली क्षेत्रको भूगोल छुट्याउँदै कोशी प्रस्रवण क्षेत्रको हिमाली जनजीवनलाई सीमाबद्ध गरेका छन् । संस्कारअन्तर्गत गर्भाधान संस्कारदेखि मृत्यु संस्कारसम्मको उल्लेख गरेका छन् । संस्कृतिमा नववर्षदेखि अन्तिम सालसम्मको कुरा गरेका छन् । भेषभूषा, भाँडावर्तनदेखि बाजागाजा र हातहतियारसम्मको उल्लेख गरेर कार्यपत्रलाई एउटा पूर्ण दस्तावेज बनाउने कोसिस गरिएको छ । थापाज्यूको उक्त कार्यपत्रमा पनि भाषा, लिपिको नाम उल्लेख छैन । जातिका बारेमा स्थलगत अध्ययन र भ्रमणको अभाव कार्यपत्रमा स्पष्ट देखिन्छ ।
हिमाली भाषा र लिपिबारे मेरो सुुझाव–१
“हिमाली क्षेत्रका जनजातिहरूले प्रयोग गर्ने लिपिलाई साम्बोटा लिपि भनिन्छ । नेपालमा देवनागरी, रन्जना, सिरिजोङ्गा र साम्बोटा गरी चार लिपिमा लेखिन्छन् । हिमाली जाति भनेको शेर्पा र भोटे भएकोले हिमाली भाषा पनि शेर्पा भाषा र भोटे भाषा हो भन्ने कुरा छुटेकाले कार्यपत्रमा समावेश गरियोस् ।”
जातिका रूपमा वालेङ्ग ,सिङ्गसावा र ल्होमीमा भएको त्रुटि सच्याउन मेरो सुझाव–२
“वालेङ्ग र वलाङ्गचुङ्गको चर्चा बढी छ । जातिका रूपमा सिङ्गसावा भनी कार्यपत्रमा उल्लेख भएकोमा सिङ्गसावा कल्याण केन्द्र भनी जातीय संस्था दर्ता गरेर सङखुवासभाबाट वाङ्गडाबी भोटे जनजाति महासङ्घको केन्द्रीय उपाध्यक्षसमेत बन्नुभएको आधार लिएको देखिन्छ । तर २०७० सालपछि छिदाङ्गजुक भोटेले–‘सिङ्ग भनेको जमिन,सा भनेको जोत्ने वा भनेको मान्छे हो । सिङ्गसावाको अर्थ जमिन जोत्ने मान्छे नै हो, हाम्रो जात होइन । हाम्रो सक्कली पहिचान खुल्ने जात भोटे नै हो । तसर्थ सिङ्गसावा कल्याण केन्द्र खारेज गरी पाऊँ ।’ भनी अदालतमा दिएको रिट निवेदनउपर सुनुवाइ भएर सिङ्गसावा कल्याण केन्द्र नै खारेज भएको पनि चार वर्ष पूरा भइसकेको छ । हटिया, चेपुवा, किमाथाङ्का, पावाखोलामा बस्ने हिमाली जाति भोटे नै कायम भएको र उहाँहरूको पहिचान खुल्ने गरी गाउँपालिकाको नाम भोटखोला कायम रहेको समेत उल्लेख गरियोस् । डुक्पा, नुप्पा र थिकेपा गरी तीन थरका भोटे बस्ने कुरा कार्यपत्रमा राखिनुपर्छ । शेर्पाको अर्थ स्यार भनेको पूर्वको र वा को अर्थ मान्छे हुन्छ । शेर्पा र भोटे संस्कृति, जाति बिल्कुल अलग हुन् तसर्थ यस बारे प्रष्ट धारणा कार्यपत्रमा आउनु पर्यो । जहाँसम्म ल्होमीको कुरा छ, भोटे जातिका मान्छेहरू क्रिश्चियनमा आस्था राख्न थालेपछि ल्होमी लेख्न थालेका हुन् । अरुण किनार किनारका केही भोटेहरू आफ्नो नामसँग ल्होमी जोडेर लेख्छन् । यसबारे थप अध्ययन गरी उक्त कुरा स्पष्ट लेखियोस् । ”
हिमाली विश्वास र चाडपर्वका बारेमा मैले दिएको सुझाव–३
“हिमाली संस्कृति त्रिपिटक ग्रन्थ र लामा पुराणमा आधारित छ । लामा पुराणले स्वर्ग भनेको बाल्यकाल, मर्त्य भनेको यौवनावस्था र प्रौढावस्था, नर्क भनेको वृद्धावस्था हो भन्ने मान्यता राख्दछ । बाल्यकालको स्वतन्त्रता र आनन्दलाई स्वर्ग, युवावस्थाको श्रम र प्रौढावस्थाको जिम्मेवारीलाई पृथ्वीलोक, बुढेसकालको दुःख, हैरानी र दिक्दारीलाई नर्क मान्ने हिमाली समुदाय मृत्युपछिको स्वर्ग र नर्कमा विश्वास गर्दैनन् । अवतारमा विश्वास गर्छन् । चाडहरूमा सोनाम ल्हाोसार, ग्याल्बो ल्होसार, तमु ल्होसार हुन्छ । शेर्पाहरू ग्याल्बो ल्होसार र भोटेहरू सोनाम ल्होसार मान्छन् भन्ने कुरा कार्यपत्रमा खुलेन, स्पष्ट आउनु पर्छ ।”
चोथो सत्रः नेपाल उपत्यकासँग राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध : डा.डिल्ली प्रसाईं
जम्मा साढे दुई पृष्ठको कार्यपत्र आयामका हिसाबले सबैभन्दा सङ्क्षिप्त कार्यपत्र रह्यो । यसभित्र राजवंशी जातिको परिचय, वर्गीकरण र काठमाडौँ उपत्यकासँग राजवंशी जातिको सांस्कृतिक अन्तर सम्बन्धबारे निकै महत्त्वपूर्ण तथ्यहरू खोजमूलक ढङ्गले आएका छन् । कार्यपत्रमा राजवंशी जातिको बाजागाजा, भेषभूषा, चाडपर्व, भाषा, संस्कार, मेला,उत्सव,नाचगीत, खुवाइ, बसाइ, पूजाआजा आदिबारे कार्यपत्र मौन छ । कार्यपत्रमा नेपाल उपत्यकाका यी सांस्कृतिक पक्षको पनि कतै उल्लेख छैन । विषयप्रति कार्यपत्र नै मौन भएपछि दुवै ठाउँका यी संस्कृतिबिच कुनै प्रकारको तालमेल, अन्तरसम्बन्ध कार्यपत्रमा देखिने सवालै आएन ।
विषयवस्तुबाट बहकिएको प्रस्तुत कार्यपत्रमा सुधारका लागि मेरो सुझाव :–
“संस्कृतिका नाचगीत, बाजागाजा, भेषभूषा, मेला उत्सव, जन्म, मृत्यु आदि संस्कार, खानपान, बसाइ, पूजाआजा, धार्मिक विश्वास जस्ता अभिन्न आयामहरूको तथ्यपूर्ण खोज समावेश हुनुपर्दछ । दुवै सांस्कृतिक भूगोलका यी सांस्कृतिक आयामहरू बिचको समानता र असमानता पर्गेल्नु पर्दछ । साझा मूल्यहरू कार्यपत्रले निरूपित गर्दै एकार्का संस्कृतिको आपसी प्रभाव मूल्याङ्कन गरिनु पर्दछ । साथै राजवंशी संस्कृतिको पहिचान, प्रगति र प्रतिष्ठाको लागि आवश्यक कार्यक्रमहरू सुझाउनुपर्छ । तबमात्र ‘नेपाल उपत्यकासँग राजवंशी समुदायको सांस्कृतिक अन्तर सम्बन्ध’ शीर्षकले खोजेको विषयवस्तुले कार्यपत्रमा सार्थकता पाउँछ ।” भन्ने सुझाव मैले कार्यशालामा दिएँ ।
पाँचौ सत्रः सन्थाल जातिमा प्रचलित संस्कृति तथा लोक साहित्य : उत्तमप्रसाद भट्टराई
दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराईद्वारा प्रस्तुत गरिएको ९ पृष्ठ लम्बाइको यो कार्यपत्र विषयवस्तुको नजिकबाट निकै गहिराइसम्म पुग्न सफल छ । सन्थाल जातिको उत्पत्ति, थरको उत्पत्ति, रोचक किम्वदन्तीहरूको सिलसिलेवार प्रस्तुतिबाट कार्यपत्र अघि बढ्छ । रहनसहन, धर्म, संस्कार, चाडपर्व, बाजागाजा, मेला, तन्त्रमन्त्र समेतको उल्लेख गरेर कार्यपत्रको तीनचौथाइ भाग साँच्चै सांस्कृतिक अनुसन्धान पत्रको रूपमा रहेको छ । संस्कृतिको तुलनामा लोकसाहित्य भने कार्यपत्रको एकचौथाइ (दुई पेज) मा खुम्चिएको छ । केही कृषि सामग्री उत्पत्तिका किम्वदन्ती, केही रोग उपचारका गीति मन्त्र, केही उखान टुक्का मात्र यसमा समावेश भएका छन् । नाचको वर्गीकरण र बाजाका नामहरूलाई लोकसाहित्यको खण्डमा राखिएको छ । कथाको वर्गीकरणमा लोकसाहित्यको सैद्धान्तिक अध्ययनमा कतै नभएको ‘पशुकथा’ भन्ने शव्दावली प्रयोग भएको छ ।
यस कार्यपत्रको सम्बन्धमा मैले दिएको सुझावः–
“संस्कृति र लोकसाहित्य’ भन्ने शीर्षक भएपछि दुवै विषयमा समान सामग्री प्रस्तुत गरिनु पर्थ्यो । लोकसाहित्य विधामा सामग्री नपाइने र नभएको पक्कै होइन, कार्यपत्रले कम महत्त्व दिएको हो । लोकसाहित्यमा लोककथा, लोकगित, लोकगाथा, लोकनाट्य, उखान टुक्का र गाउँखाने कथा गरी छ ओटा उपविधा हुन्छन् भन्ने कुरा कार्यपत्रमा उल्लेख हुनुपर्थ्यो । यी छ ओटै उपविधाका सम्पदा सन्थाल भाषा र जातिमा अवश्य प्रचलित छन् तर कार्यपत्रमा किम्वदन्ती, मन्त्र गीत र एकदर्जन जति उखान टुक्कामात्र समाविष्ट छन् । उपचारका मन्त्र भन्ने भए संस्कृतितिर, मन्त्रगीत भन्ने भए लोकगीततिर राखिनु पर्थ्यो । नाचलाई संस्कृतितिर राखिनु पर्थ्यो । नाचलाई लोकनाट्य उपशीर्षक दिएर लोक साहित्यतर्फ राखिनु व्यावहारिक हुन्छ । बाजाका नाम र तिनको वर्गीकरण लोक संस्कृतितिरै राखेको भए मिल्थ्यो । बाजा प्रकारान्तरले लोकसाहित्यको उपविधा होइन । लोककथाको वर्गीकरणमा पशुकथा भनेर लेखिनुको सट्टा पशुसम्बन्धी कथा भनेको भए सुहाउँदो हुन्थ्यो । प्रस्तुत कार्यपत्रमा संस्कृतिको सापेक्षतामा सन्थाल लोकसाहित्यलाई थप खोजी गरी प्रकाश पारेर पुनर्लेखन गरिनुपर्छ । दुवै विधाका विषयले आधाआधा ठाउँ पाउनु पर्ने भएकोले उत्तमप्रसाद भट्टराईज्यूको यो कार्यपत्रमा सन्थाल लोकसाहित्यका जम्मै उपविधा समावेश गरी अब तीन पृष्ठ थप गर्न सके साँच्चै राम्रो कार्यपत्र हुने निश्चित छ ।” भन्ने सुझाव मैले कार्यशालामा दिएँ ।
छैटौ सत्र : धिमाल लोकसाहित्यको वर्तमान अवस्था : डा. सोम बहादुर धिमाल
जम्मा छ पृष्ठको लम्बाइमा लेखिएको डा. धिमालको कार्यपत्रले निर्दिष्ट विषयवस्तुलाई निकै न्याय दिएको छ । सम्बन्धित जातिका विद्यावरिधि उपाधि प्राप्त विद्वान्ले आफ्नो जाति र संस्कृतिका निकै महत्त्वपूर्ण कुरा खोजेर उजागर गरेका छन् । विषयवस्तुलाई सिलसिलेवार तरिकाले कार्यपत्रकै ढाँचामा पस्कन डा. धिमाल सफल छन् । कार्यपत्रमा विषय प्रवेशबाट छिरेको उनको प्रस्तुति धिमाल लोकसाहित्यको परिचय, विशेषताहरू, वर्गीकरण हुँदै अगाडि बढ्छ । लोककथा, गाउँखाने कथा र उखान टुक्का, लोकोक्ति, जीवनी तथा संस्मरण, किंवदन्ती, निबन्ध, लोकनाट्य र कविता तथा गीत गरी आठ उपविधामा वर्गीकरण गर्दै चार उपविधा थप गरी साविक लोकसाहित्य सिद्धान्तभन्दा एक पाइलो अगाडि बढ्ने प्रयासमा देखिन्छ कार्यपत्र । अत्यन्त मिहिन ढङ्गले जम्मै उपविधाका प्रतिनिधि उदाहरणहरू प्रस्तुत गरी कार्यपत्रमा डा. धिमालले पाठक र स्रोतालाई डोहोर्याएर धिमाल बस्तीमै पुर्याएका छन् । लोकसाहित्यको ऐनामा धिमाल बस्तीको प्रतिविम्व प्रस्तुत गरेपछि कार्यपत्रमा यसका लागि भएका प्रयासहरूमाथि सङ्क्षिप्त छलफल पनि गरेका छन् । सबल पक्ष, सुधारात्मक पक्ष, चुनौतीहरू र निष्कर्ष गरी चार उपशीर्षकमा विश्लेषण खण्डलाई प्रस्तुत गरिएको कार्यपत्र यही मात्र रह्यो । अन्य कार्यपत्रमा कसैकोमा निष्कर्ष मात्र,कसैकोमा सुझाव मात्र र कसैकोमा निष्कर्ष र सुझाव शून्य रहेको पाइयो ।
उक्त कार्यपत्रमा केही सुधारात्मक पक्ष पनि नभएका हैनन् । आजभोलि लेखेका कवितालाई लोककविता भनेर वर्गीकृत गर्नु कार्यपत्रको कमजोरी हो । लोकगाथालाई लोकोक्ति उपशीर्षकमा राखेको उपयुक्त देखिएन । लोकनिबन्ध सिद्धान्ततः हुँदैन नै र लोकजीवनी पनि लोकसाहित्यले भन्दैन । यति गजबको कार्यपत्रभित्र धिमाल भाषाको लिपि कुन हो ? र कुन भाषा परिवारभित्र पर्छ ? आदि सवालमा डा. धिमाल मौन देखिनुहुन्छ ।
डा. धिमालको कार्यपत्रमाथि मेरो टिप्पणी तथा सुझाव :
“लोकजीवनी भनिएको सामग्रीलाई लोकगाथा उपविधाभित्र समावेश गरेर छलफल गरिनु उपयुक्त हुन्थ्यो । लोकोक्ति उपशीर्षकमा राखिएका लोकगाथालाई लोकगाथा शीर्षकमै राखिनु सही हुन्थ्यो । उखान, टुक्कालाई लोकोक्ति उपशीर्षकमै राखेर चर्चा गर्दा पनि हुन्छ । ३०/४० वर्षयता रचना गरिएका कविता र निबन्धलाई लोककविता वा लोक निबन्धभन्दा लोकसाहित्यमा रचनाकारको अज्ञातता हुन्छ भन्ने विशेषतासँग बाझिने हो कि भन्नेसम्म हो । कार्यपत्रका प्रस्तोता डा. धिमालले आफ्ना जातिका लोकस्रष्टाको सिर्जनालाई सम्मान गरेर सम्झन खोजेको कुराले भने छुट्टै महत्त्व राख्छ । अध्ययन, अङ्ग र प्रस्तुतिका हिसाबले विषयको सापेक्षतमा मलाई यो कार्यपत्र नै वाङमय गोष्ठीमा प्रस्तुत छ ओटामध्ये उत्कृष्ट कार्यपत्र लाग्यो । यहाँ लोकसाहित्यको वर्गीकरणमा सामान्य सैद्धान्तिक त्रुटिबाहेक अरू कुनै कमजोरी छैन । लोकसाहित्यको कार्यपत्र बनाउँदा डा. धिमालले धिमाल भाषाको लिपि र भाषा परिवारको सामान्य परिचय कतै दिनुभएको भए हुन्थ्यो तथापि यो पनि कमजोरी नै हो भनेर औंल्याउन नमिल्ने सुझाव मात्र हो ।” मैले यही सुझाव प्रस्तुत गरेको छु ।
उपर्युक्त कार्यपत्रहरू प्रस्तुत गर्दा डा.टङक न्यौपाने, डा. गोविन्दराज भट्टराई, उहाँका दाजु डा. तुलसी भट्टराई, दिनेशराज पन्त जस्ता विद्वान् व्यक्तित्त्वहरूले पालैपालो सभापतित्व गर्नुभयो, टिप्पणी र सुझावहरू पनि प्रस्तुत गर्नुभयो । गजल साँझ त जम्न बाँकी छँदै थियो ।
केशवको शक्तिशाली गजलको गुन्जन : थोरै भाग्यमानीले सुन्छन् ।
भोलिपल्ट छन्द कविता वाचन र गद्य कविता वाचनका श्रृङखलाहरू भए । समापनमा १ नं. प्रदेश प्रमुख डा. गोविन्द तुम्याहाङ्गज्यूको अभिव्यक्तिमा भएको मिठास त भुल्नै नसकिने । मेची–महाकाली, सिलोङ–सोलुका कविहरूले पालैपालो कविता वाचन गर्नुभयो । झापाको दमकमा आज साहित्यको महक र स्रष्टाहरूको चमक शब्दमा वर्णन गर्न नसकिने थियो । मैले काठमाडौँ पुग्नपर्ने समय नजिकिँदै थियो ।
नेपालका महामहिम सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट मलाई जनसेवाश्री पाँचौँद्वारा २०७६ बैशाख १ गते विभूषित गर्ने गरी नेपाल सरकारको निर्णय संविधान दिवसकै दिन प्रकाशित भएको थियो । गृह मन्त्रालयको निम्तो पाइसकेको थिएँ । बैशाख १ गते बिहान ७ः०० बजे नै शीतल निवास प्रवेश गरिसक्नु पर्ने भएकोले म त्यहाँबाट बिदा भएर एक दिन अगावै काठमाडौँ पुग्ने गरी ३ः०० बजेतिर रात्री बसमा चढेर लागेँ । दमक प्रज्ञा–प्रतिष्ठानका मित्रहरूले मलाई रु. दुई हजार आतेजाते बसभाडा दिनुभयो । उत्साहहरूको चाङमा उत्साह थपेर पश्चिम हुइँकिएँ । दोस्रो दिनको बेलुकी सम्पन्न गजल साँझमा गजलकार केशवले वाचन गरेका सेरहरू त बसभित्र निदाएर ब्युझँदा पनि कानमा गुन्जिरहे ।
“ताप के हो ? आगोमा पसेर हेर अनि थाहा हुन्छ
विछोड के हो ? मायामा फसेर हेर अनि थाहा हुन्छ ।
देशको पनि आमाको जस्तै माया लाग्छ र?
विदेशमा बसेर हेर अनि थाहा हुन्छ ।
मान्छेलाई डस्दा त मजा आउँदो हो,
डस्दा डस्नेलाई पनि विष लाग्छ र ?
यो ‘केशव’ लाई डसेर हेर अनि थाहा हुन्छ ।”
वाह ! क्या गजब थियो त्यो । क्या दमदार थियो त्यो । गजल होस् त यस्तो पो । हुन त गजलकार मधु पोखरेलको गजलले दिने माधुर्य र अरू युवा गजलकारका गजलले दिएका सेर पनि कहाँ कमजोर थिए र !
दमक साहित्य कला महोत्सवका विषयमा लेख्न मन लाग्ने अविस्मरणीय झझल्को आँखामा कति छन् कति ? तर मैले नै जम्मै कुरा लेखेँ भने अरू स्रष्टा सहभागीहरूले के लेख्नुहोला । आजलाई गजलकार केशवका गजलमा एक सेर थपेर बिदा मागेँ :
आँसु के हो ? आँखाबाट खसेर हेर अनि थाहा हुन्छ ,
कला के हो ? वाङ्मय गोष्ठीमा पसेर हेर अनि थाहा हुन्छ ।
अचेल वाङ्मयप्रति पनि मान्छेको झुकाव हुन्छ र ?
दमक बजारमा केही दिन बसेर हेर अनि थाहा हुन्छ ।
खाँदबारी, २०७६ कार्तिक १७ गते
लेखकको सम्वन्धमा