मुख्यमन्त्रीसँग एकदिन

जब गुरुकिसान छनौट गरी उनीहरूलाई विषयविज्ञ बनाउने र तिनै गुरुकिसानको ज्ञान लिएर बाँकी किसानले कृषिमा सुधार ल्याउने गरेको विषय अगाडि आयो, जिउमा फरक रक्तसञ्चार भयो । अभिभावकशिक्षाको विषयले त झन् सुतिरहेको मस्तिष्कलाई जुरुक्कै उठायो । अभिभावक शिक्षित नभई परिवार शिक्षित हुँदैन, परिवार शिक्षित नभई समाज शिक्षत हुँदैन, सिङ्गो पालिका शिक्षित नभई विकासका कदम अघि बढ्न सक्तैैनन् भन्ने निष्कर्ष निकाल्नु नै रोङ गाउँपालिकाको पहिलो सफलता थियो । त्यस निष्कर्षलाई कार्यान्वयन गर्न पालिकाभरिका प्रत्येक अभिभावकलाई विषयविज्ञहरूबाट १५ दिनमा १ पटक अनिवार्य रूपमा शिक्षा दिलाउन थालियो । उपस्थित नहुनेलाई पालिकाले दिने सेवासुविधाबाट तीन महिना बञ्चित गर्ने, उपस्थित हुनेलाई थप प्रोत्साहनका कार्यक्रमहरू दिने गरियो र शिक्षित पालिका निर्माण अभियानसँगै उनीहरूका आवश्यक्ताहरूको पहिचान, प्राथमिकीकरण तथा समाधान गर्दै पालिकाद्वारा अघि सारिएका नयाँ नयाँ योजनाहरू उनीहरूमार्फत नै कार्यान्वयन गराउन थालियो भन्ने कुरा सुन्न पाउँदा रोङ गाउँपालिकाले दिन सार्थक बनाइदिएको महसुस भयो ।
अनेक ज्ञान सिप र कलाको भण्डार रहेछ इलाम । असल कर्म गर्ने मान्छेहरूको बसोबास स्थल रहेछ इलाम । २ लाख लिटर दुध दैनिक निर्यात गर्ने, सबैभन्दा धेरै पर्यटक भित्र्याउने, सबैभन्दा बढी चिया निर्यात गर्ने, गाईबाट ९० प्रतिशतभन्दा बढी बाछीमात्रै जन्माउने प्रविधि अपनाउने, बालमैत्री, प्रविधिमैत्री, वातावरणमैत्री सूर्योदय नगरपालिकाका तथ्याङ्कहरू हेर्न पाउँदा देशको उज्ज्वल भविष्यका लागि इलामलाई अगुवा बनाउनु जरुरी भएको महसुस भयो ।
यात्रा हतारबाट सुरु भयो । भान्जा पर्शु नेपालले एकै सासमा भनिसके ‘मामा अहिले म मुख्यमन्त्रीसँग छु । हामी पथरीबाट पूर्व लागिसक्यौँ । फिक्कलको कार्यक्रममा जानुपर्छ, तपाईँ २ वटा कोट बोकेर दमक चोकमा तुरुन्त आउनु ।’
गर्मी बेजोड थियो । पसलको सर्टर उठाउँदै थिएँ । स्टाफ १५ दिने छुट्टीमा । लुगा रफ लगाएका छन् । दारी पलाएर ठाडा ठाडा भएका छन् । पाँच मिनेटमा दमक चोक पुग्नुपर्ने । घर छ भृकुटी चौकमा । पुग्नै लाग्छ पाँच मिनेट । मुख्यमन्त्री दौडिएका छन् सुरक्षाघेराभित्र, प्रहरीको स्कटिङमा । फाल्तु कुरा नगरी मैले भनेँ ‘भान्जा म भ्याउँदिन, तपाईँहरू जानुहोस् ।’
भान्जाको हातबाट मोबाइल तानेर धनकुटाका प्रदेश सांसद निरन राईले भने ‘विष्णुजी दायाँबायाँ नगरी तुरुन्त झरिहाल्नोस् त । २६ वर्षपछि मौकाले भेट हुँदै छ, त्यसमा पनि आनाकानी ? एउटा नेप्किन पेपर पनि किनिराख्नोस् ल ।’
परेँ दोधारमा । श्रीमती र कान्छी छोरीलाई सुनाएँ । उनीहरूले भने ‘जानु नि त अनि, अवसर किन गुमाउनुहुन्छ ? अहिले व्यापार पनि छैन, हिँड्ने बर्खामा त हो नि ।’
अनुमति पाएपछि मन जानेतर्फ एकोहोरियो । ‘मलाई घर पुर्याइदिनु न दाजु’ भनेँ लक्ष्मण दाइलाई । उहाँ बाइकमा तुरुन्तै पुर्याएर फर्कनुभयो । मैले लुगा फेरेँ । ठुली छोरीले कोट तयार गरिन् । नेप्किन पेपर र बिस्कुट किनेर सिटी चढेँ । चोक पुग्दा साइरनसहितका प्रहरी भेनबिचमा मुख्यमन्त्रीको कालोसिसा जडित सेतो गाडी आइपुगिहाल्यो । हात उठाएँ । किन रोक्न दिन्थे र सुरक्षाकर्मीले । बरु पछाडिको गाडीतर्फ सङ्केत गर्दै निरन्तर हिँडिरहे । पछाडि हेरेँ । मलाई चढाउने गाडि आउँदै रहेछ । सुरक्षाघेरा बाहिरै बस्नुपर्दा धेरै खुकुलो भयो मन ।
त्यो गाडी चाहिँ मुख्यमन्त्रीका स्वकीय सचिव जीवन कार्कीका लागि छुट्याइएको रहेछ । उहाँ अघिल्लो सिटमा हुनुहुन्थ्यो । महालक्ष्मी नगरपालिका धनकुटाका पूर्वप्रमुख पर्शु नेपाल, सांसद निरन राई र म दोस्रो सिटमा बस्यौँ । गुरुजी चाहिँ सबैका भान्जा हुनुहुँदोरहेछ । चिनजानपछि गफिँदै अगाडि बढ्यौँ । धनकुटा क्याम्पस पढ्दाका मेरा सहपाठी निरनजी पूर्व कमै आउनु भएको रहेछ । उहाँलाई धेरै ठाउँहरू चिनाउँदै, तिनीहरूका विशेषता बुझाउँदै हिँड्दा गफमा थपियो अर्को सौन्दर्य । चारआलीबाट उत्तर मोडिएर बुधबारे कटेपछि बर्नेको चियाबगानले आफ्नो एसी खोल्यो र २४ नम्बरमा लगायो । सुनमाई, जोरकलस, भालुखोप, कुटीडाँडा, हर्कटे हुँदै कन्याम पुग्दा चिसोको मात्रा १६ मा आइपुग्यो । भालुखोपदेखि नै कुहिरोको राज चलिरहेको थियो ।
हामी वातानुकूलित मौसममा रमाउँदै पाल्टाँगेको पल्लोछेउ, फिक्कलको मुखैमा रहेको एकोम (ACCOM) होटल पुग्यौँ । आँगनमा गाडी पार्किङ गराएर खानाका लागि सिँडी उक्लँदै हुनुहुन्थ्यो मुख्यमन्त्री हिक्मतकुमार कार्की । सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गा बराल, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, एमाले नगरअध्यक्ष दुर्गादेवी भट्टराईलगायत कर्मचारीहरूले होटलमै स्वागत गर्नुभयो ।
खानापछि फिक्कल मा.वि.मा आयोजित नगरको वार्षिक बजेट सार्वजनीकरण कार्यक्रममा सहभागी भयौँ । त्यहाँ विभिन्न झाँकी तथा नृत्यहरूको रमाइलो लिइसकेपछि प्रमुख अतिथि माननीयलाई सुइँको नदिई हामी ३ भाइ मञ्चबाट सुरुक्क ओर्लियौँ । अघि आएकै गाडीमा चढ्यौँ र पशुपतिनगर पुग्यौँ । धनकुटा छिन्ताङबाट फिक्कल बसाइँ सर्नुभएका निरनजीका साडुदाइ दुर्गा राईले हाम्रो अगुवाइ गर्नुभयो ।
कुहिरोको चिसो घुम्टो ओढेर दार्जेलिङ, मिरिकतर्फ अनुहार फर्काइरहने पशुपतिनगरले सीमापारिसम्म डुलायो हामीलाई । भारतीय भूमिमा जाडो खाँदै उभिएका, नेपाली पसिनाले हुर्काएका गोभ्रेसल्लाहरूसँग बहेली खेल्दै संवादमा हराउनुभयो पर्शुजी ।
“मेरै जस्तो एउटै आकाश, एउटै प्रकाश / ताप र जलवायुमा हुर्केका तिमीले मपाईँत्व र वैरत्व बोकी हिँड्ने मान्छेका धुर्त्याइँका पदचाप सहेर, अहङ्कारलाई मात्र छुने राजनीतिक सीमामा उभिएर कति बेइमानी जात्राहरू देख्यौ भन त ? कति अवैद्य गतिविधिहरू नियाल्यौ ? केही ओकल्न सक्छौ तिम्रा चस्मदिद गवाहहरू ?
अन्तवार्तामा छोडेर पर्शुजीलाई हामी केही समय दार्जेलिङतिर र केही समय मिरिकतिरको पैदल यात्रामा निस्कियौँ । पछि फर्केर फादेनजीको होटलमा दार्जिलिङको ग्रिन टीसँग चारै जना रमायौँ र बरबोटे झरेर साहित्यकार तारानाथ शर्मा, दुर्गानाथ शर्माको पुर्ख्यौली घरको अवलोकन गर्यौँ । तान्त्रिक पाण्डेको पैसा कमाउने धन्दास्थल, झलनाथ खनाल र मेयरसाबको सर्प पालन केन्द्र डुल्ने फुर्सद थिएन हामीलाई । बरु बाह्रैकाल, चौबिसै घण्टा ढाकिरहने कुहिरोका बेफाइदाहरूभित्र फाइदा उठाउनेहरू कति होलान् पशुपतिनगरवरिपरि भन्ने सवालमाथि बहस चलाउँदै आइपुग्यौँ हामी फिक्कलकै कार्यक्रममा । फेरि बस्यौँ आआफ्नै सिटमा र सुन्न थाल्यौँ मुख्यमन्त्रीको भाषणपछि मेयर साहेबको मन्तव्य ।
नगरपालिकाभित्र बायोक्यामेस्ट्रीको रिपोर्ट १५ दिनमा दिने मेसिन जडान गरिएको, प्रदेश सरकारको लागतमा कन्याममा चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि गुणस्तर मापन, प्रदर्शन र बिक्री कक्षसहितको केन्द्रका लागि उच्च तहका भव्य भवनहरूको निर्माण सम्पन्न गरिएको, सिओफोरको घाँस उत्पादन गरेर परालको आवश्यकतालाई विस्थापित गरिएको, नगरको इच्छा नारीलाई शिक्षा भन्ने नाराका साथ नारीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको, धुलोरहीत कक्षाकोठा, ल्याबसहितका कक्षाकोठा, बालमैत्री नगरपालिका बनाइएको, कर्फोक माविमा इनोभेसन सेन्टर स्थापना गरिएको, दैनिक २ लाख लिटर दुध निर्यात गरे पनि खोरेँतमुक्त बनाउन नसकिएको हुँदा विदेश सप्लाई गर्न नसकिएको, नगरको ६० प्रतिशत भूमि चियाले ढाके पनि किसानलाई राम्रो मूल्य दिन नसकिएको, अन्तर्राष्ट्रिय बजार विस्तार गर्न नसकिएको जस्ता कुराहरू राख्तै कार्यक्रम समापन गर्नुभयो ।
साउन पन्ध्रको दिन । खिर खुवाएर मुख्यमन्त्रीलाई नवनिर्मित चिया बिक्रीकेन्द्र देखाउन लगियो । सँगै पुग्यौँ हामी पनि । चाइनिज प्रविधिबाट निर्मित भवन, डेकोरेसन, लाइटिङ र जडित उपकरणहरू हेर्दा प्रदेश सरकारको काम औचित्यपूर्ण लाग्यो ।
साँझ खस्नै लागेको थियो । रोङ गाउँपालिकाको घण्टी बजिरहेथ्यो स्वकीय सचिवको फोनमा । सूर्योदय न.पा. परिवारलाई हात हल्लाएर रोङ आइपुग्यौँ । अनुहार नचिनिने अँध्यारोमा पनि गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीहरू मुख्यमन्त्रीको स्वागतका लागि लामबद्ध हुनुहुन्थ्यो । खादा, माला र फूलका गुच्छाको स्वागतपछि अध्यक्षको कार्यकक्षमा नुनखोर्सानीसहित अर्गानिक काँक्राको स्वागत पाइयो । उपाध्यक्ष विष्णुमाया खवासबाट शब्दस्वागत भयो । सबैको परिचय आदानप्रदान भयो । र अध्यक्ष मनि कुमार स्याङ्बोबाट पालिका प्रगति विवरण प्रस्तुत गरियो ।
पालिकाले चलाएका अभिभावक शिक्षा, गुरुकिसान शिक्षा र डायरी प्रणाली, क्षेत्रगत खेतीप्रणाली, अर्गानिक सब्जी उत्पादन र ब्रान्डिङ, गुन्द्रुक तथा महको ब्रान्डिङ गरी पाँच हजार किलो गुन्द्रुक र पचास हजार किलो मह प्रतिवर्ष गरिएको निर्यात, उच्च शिक्षा अध्ययनको खर्च आजैबाट सञ्चित गर्नुपर्छ भन्ने भावना जागृत गराउन पालिकाभरिका प्रत्येक विद्यार्थीको बैङ्कखाता खोली दैनिक कम्तीमा १ रुपियाँ जम्मा गर्न लगाउने र पालिकाले पनि प्रतिविद्यार्थी दैनिक रु.१ जम्मा गरिदिने व्यवस्था, ४० किलोमिटर लामो कर्सोङ पदमार्ग निर्माण, अर्गानिक चिया, दुध, चिज, खुवा, अम्लिसो, अलैँची, लिची, सुन्तला निर्यात, सानो पाथीभरा जस्ता धार्मिक पर्यटन स्थलहरूको निर्माण तथा विकास आदि अनेक अनुकरणीय कार्यहरू वैज्ञानिक ढङ्गबाट सञ्चालन गरी विकासका लागि स्वनिर्भर रहेको कुरा सुन्न पाउँदा मन त्यसै प्रफुल्लित भयो ।
दुवै पक्षका मन्तव्यपछि कर्सोङ पदमार्गको वृत्तचित्र हेरियो । रमाइलो कुराकानी गरियो र अन्त्यमा, पालिकाका उत्पादनहरूमध्ये मह र गुन्द्रुकका साथमा गुरुकिसान डायरी र अभिभावक शिक्षा किन ? भन्ने पुस्तिका उपहार पाइयो । गर्व गर्न लायक कामहरू देखे सुनेर मनभरी हर्ष छायो । बिदाइमा देखाउनुभएको हार्दिकताको न्यानो अँगालाभरि च्यापेर झर्यौँ ओरालैओरालो । बिर्तामोडमा आएर खाना खायौँ । हिक्मतजीसँग पहिले एउटै मोर्चामा रहेर काम गर्दाका कुरा कोट्याएँ मैले । पुनर्ताजगी गराइए स्मृतिहरू । नजिक भए मन । जानेका केही सुझावहरू पनि दिने प्रयत्न गरेँ मैले । र, त्यहीँबाट बिदा भएर गाडी चढ्यौँ । सुरक्षाघेरामा मुख्यमन्त्री दौडनुभयो, हामी स्वतन्त्र रूपमा आफ्नै खुसीले । ११ बजे राति मलाई दमकमा छोडिदिएर उहाँहरू लाग्नुभयो विराटनगरतिर । म लागेँ सुमुसुमु आफ्नै वासस्थान दमक ६, किराँत मन्दिरतिर ।
अध्यक्ष
साहित्य कला सङ्गम, दमक
भ्रमण मितिः साउन १५, २०८१
संस्मरण लेखन मितिः वैशाख २१, २०८२
लेखकको सम्वन्धमा