अनुहार र व्यवहार

घमन्डले भरिएका हुन्छन्
अनुहार राम्रा हुनेहरू
काँडा फिँजाएर बस्छे गुलाफ
चिसो बोकेर बस्छ हिमाल
लेक चढेर फुल्छे गुराँस
गहिरिएर बग्छे नदी ।
टिप्नै हुँदैन
वैलिएर सड्छे सुनाखरी
हेर्नै हुँदैन
ज्योति छिनेर लान्छ प्रभाकर
डुब्नै हुँदैन
स्वास थुनेर मार्छ समुद्र ।
सुन्दर बगानहरूभित्र
पीडादायक छ मजदुरको जीवन
मनमोहक हिमालका काखमा
दुःखपूर्ण छ बाँच्ने सङ्घर्षको कथा
‘सुन्दरता’
देख्ने आँखा र रमाउने मनभन्दा
अलग अलग छ यो भोग्ने शरीर
अलग–अलग नै छन्
दृश्य र भोग्य संसार
स्वभावले सारै नम्र हुन्छन्
अनुहार नराम्रो हुनेहरू
फोहोरी छ माटो
फोहोरी छ भकारो
तर यिनै फोहोरीले दिइरहेछन्
सबैभन्दा सुन्दर जीवन
गन्धे माटोमै फुल्छन् मनमोहक फूलहरू
दुर्गन्धित भकारोमै फल्छन्
जीवन दिने अन्नबालीहरू
धुस्रे किसान र फुस्रे मजदुरहरू नै हुन्
सुनौलो संसार बनाउने परिश्रमीहरू,
मेहनतीहरू ।
लेखकको सम्वन्धमा