February 8, 2025, Saturday
२०८१ माघ २६, शनिबार

छन्दका कुरा

कविता सुन्नमा राम्रो लेख्दा पढ्दा खुसी हुने
राम्रा राम्रा पनि हुन्छन् कुनैले त मनै छुने
गद्य पद्य दुवै ठिक छन् लयमा झ्याउरे गाउने
छन्द हुन् वेदका गाेडा वेदलाई हिँडाउने ।

बाबले भन्ने गर्नुहुन्थ्यो काव्यकाे महिमा कति
धेरै कुरा गर्नुहुन्थ्यो छन्द त छन् लाखौं जति
शार्दूलविक्रीडित फेरि शिखरिणी पनि भए
स्रितविलम्वती त्यस्तै वसन्ततिलका रहे।।

अनुष्टुप, स्रग्विणी, भुजङ्गप्रयात मातृका
द्रुतविलम्वित, उपजाति, मन्दक्रान्त परे नि त
सरिता, टाेटक यिनै पञ्चचामर छन्द हुन्
लाेकछन्द अरे जसले झ्याउरे पारा भन्दछन् ।

इन्दिरा, माेदक भयाे सुवास, चक्रपदहरू
हारी स्वगता, शालिनी, मालिनी धेरै छन् अरू
धेरै छन्द भए पनि जान्दिनँ  म त के गरूँ ?
दिमाग चलेको बेला झ्यउरे लेख्तछु बरु ।

छन्दविज्ञहरूलाई दुवै हात जाेडी सम्झँदै
वेदका गाेडामा पनि शिर राख्तछु म त है
लय हालेर गाउँने छन्द न बन्दका कुरा
लेखेँ है मैले त यस्तै जान्ने म त कहाँ हुँ र !