विवाहको त्यो चलन
सुनौँ सुनौँ सबै जना म त केही भन्छु
पहिलाको विवाहकाे रितिथिति कहन्छु
पारि गाउँमा फलानाकी छाेरी छन् रे भन्थे
आइनाे साइनो केलाएर कुरा गर्न जान्थे ।।
कुरा गर्न जान्थे त्यहाँ अलिक बुढापाका
घरमा नभए पठाउँथे खाेजी गाउँमा भाका
गफ गर्दै जान्थे तिनी हेर्दै पाखा भिर
भिर्ने झाेला बाेकी हाल्थे लौरो काँधतिर ।।
साँझ साँझमा पुग्थे काेही काेही दिउँसै पनि
हजुरको घरमा आयौँ कन्यार्थु पाे बनी
स्वगत गर्थे त्याे घरमा आए पाउना भनी
सबै थोक बिचारेर गर्थे कुराकानी ।।
छाेरी काँप्थिन् थर थर मनमा राखी डर
अगाडि गै बाेल्ने चलन थिएन है तर
हित्तचित्त मिलेपछि कुराकानी छिन्थे
केटी पक्षबाट जनै सुपारी नै दिन्थे ।।
न केटीले केटा देख्थिन् न केटाले केटी
विवाह पो पक्का गर्थे देख्दा नि नदेखी
पत्र लाउँथे दुईचार दिनमा लान्थे दहीठेकी
निम्तो गर्ने चलन थियो त्यसैदिनदेखि ।।
पञ्चैबाजा लावालस्कर सिलाेके कबिते
बस्या हुन्थे बाटाभरि हेर्नलाई रमिते
कालो दाल, साग, भात फुरौला र घिउ
सिलाेकबाटै ज्वारी खेल्थे अनि खाेज्थे निउँ ।।
रहर गर्थे साना पनि हामी जन्ती जाने
अरू कुरा मतलब थे’न उफ्रिने र खाने
बुढापाका व्यवस्थाकाे चासाे राख्दै जान्थे
उनलाई मात्र विचार गरे हुन्थ्यो ठान्थे ।।
युवाहरू मनमा अर्कै रहर बाेकी जान्थे
कस्ता हाेलान् बेहुलीका साथी भनी ठान्थे
धेरै थियो रीतिरिवाज बिहे हुन्थ्यो राति
बिहान हुँदा अन्माइदिन्थे लाउँदै तिलक पाती ।।
लेखकको सम्वन्धमा