January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

प्रेरक चित्रकार : नोरा श्रेष्ठ

त्यस दिन आर्ट क्लास भरिभराउ थियो । ससाना नानीहरू सिसाकलमले स्केच गर्दै थिए । अलिक ठुलाहरू रङसँग रमाइहेका थिए । अजय सर, सितु म्याम र प्रिन्स सर वरपर घुमेर विद्यार्थीहरूलाई सिकाइरहनुभएको थियो । म पनि रमाउँदै विद्यार्थीका कला नियालिरहेको थिएँ । झ्यालमा क्यानभास अड्याएर कुची नचाइरहेका दुई दिदीबहिनी र उनीहरूका कलामा मेरा आँखा अडिए । उनीहरूका कलाले पूर्णता पाएको थिएन तर हात हलुका थिए; कुची छरितो थियो । उनीहरूले संयोजन गरेको रङ फक्रिएको फूलझैँ खुलेको थियो; आकर्षक थियो । कसको कला बढी राम्रो ! मैले छुट्याउन सकिनँ । अनि सोधेँ, “तिमीहरूमध्ये को बढी राम्रा चित्र बनाउँछौ ?”

दुवैले सहज रूपमा अर्कालाई औल्याउँदै भने, “ऊ ।”

ती दिदीबहिनी थिए- नोरा श्रेष्ठ र नोरिन श्रेष्ठ । हो, नोरा र नोरिन दुवै राम्रा चित्र बनाउने बाल चित्रकार हुन् तर पनि उनीहरू अर्कालाई आदर गर्दै ‘मेरो भन्दा तिम्रो कला राम्रो छ’ भन्ने गर्छन् ।

नोरिनको सुन्दर चित्रकला मैले नियालिसकेको थिएँ । उनीसँग कुरा गरिसकेको थिएँ । त्यस कुराकानीमा नोरिनले दिदी नोराबाट प्रभावित भएर कलाका क्षेत्रमा आएको जानकारी दिएकी थिइन् ।

मैले केही दिन पहिले भूमि श्रेष्ठसँग कुराकानी गरेको थिएँ । भूमि उदीयमान बाल चित्रकार हुन् । उनले आफू नोरा र नोरिनको चित्रकलाबाट प्रभावित भएर चित्रकलामा लागिपरेको जानकारी दिइन् ।   

अजय सर पनि घरी घरी नोराको चित्रकलाको कुरा गरिरहनुहुन्थ्यो । त्यसैले पनि म नोराका चित्रकला नियाल्न चाहन्थेँ । उनीसँग चित्रकारिताका बारेमा कुरा गर्न चाहन्थेँ । बल्ल आज नोराको घर बालाजुमै त्यो अवसर मिल्यो । त्यहाँ अस्टेलिया बसोबास गर्ने रत्न पौडेल सर पाहुना आउनुभएको रहेछ । उहाँले बनाएको मिठो चियाको चुस्की लिँदै हामीले धेरै बेर चित्रकलाका कुरा गर्यौँ ।

नोराले सानैदेखि परिवारपाट व्यक्तित्व विकासका लागि राम्रो साथ पाइछिन् । उनलाई बाल्यकालमै गायन, एबाकस, हस्तलेखन, चित्रकला आदिका कक्षामा राखिएछ । उनले ती सबै सिप सिकिछिन् तर उनी सबैभन्दा बढी चित्रकलामा नै रमाइछिन् । उनले अहिले चित्रकलालाई खुसी जीवन जिउने आधार ठानेकी छिन् । उनी भन्छिन्, “मानिस सधैँभरि खुसी खोजिरहन्छ । म पनि खुसी नै खोजिरहन्छु । अनि मिहिनेत गरेर चित्र बनाउँछु । आफैँले बनाएको चित्र हेर्छु र खुसी हुन्छु । भविष्यमा मेरो आय आर्जनको आधार चित्रकला नहोला तर खुसीको आधार चाहिँ चित्रला नै हुन्छ ।”

मिठो, प्रस्ट र निर्भीक बोली थियो नोराको । उनको बोलीले मलाई प्रभावित पर्‍यो । जिज्ञासु हुँदै सोधेँ, “भविष्यमा तिमीलाई तिम्रा चित्रकलाले कसरी खुसी दिन्छ नानी ?”   

उनले सहज उत्तर दिइन्, “हेर्नुस् ! म अहिले आइटी पढिरहेकी छु । भविष्यमा यही  क्षेत्रमा काम गर्छु, आय आर्जन गर्छु । तर, यो पेसा निकै नीरस छ । आइटीको काम दिक्क लाग्दो हुन सक्छ, कामका भारले थाक्न सकिन्छ । त्यस बेला एउटा राम्रो स्केच गर्‍यो, त्यसमा सुन्दर रङ सजायो, सुन्दर कला तयार हुन्छ, त्यही हेर्‍यो, रमायो । मन हलुका हुन्छ; खुसी प्राप्त हुन्छ ।”

आहा ! कत्ति मिठा कुरा गरिन् नोराले । उनका कुरामा व्यावहारिक ज्ञान थियो; कल्पनाशील क्षमता थियो र सुन्दर भविष्यको सानो योजना थियो ।

२०६३ कार्तिक २५ का दिन काठमाडौँमा जन्मिएकी नोरा एनसिसिएस कलेज, पकनाजोलमा भर्खर आइटीमा स्नातक तह अध्ययनरत छिन् । उनी कला, विचार र व्यवहारमा भने निकै खारिएकी छिन् ।

गायन, गिटार, पियानो, चित्रकला आदिसँग सम्बन्धित सिप सिक्ने राम्रो अवसर पाएकी नोराले कक्षा ८/९ सम्म गाउने र बजाउने काम राम्ररी नै गरिन् । अहिले पनि उनी विभिन्न अवसरहरूमा गाउने गर्छिन् । तर, उनका हृदयमा चित्रकला कहिल्यै नमेटिने छाप बनेर बसिसकेको छ । त्यसैले त उनी अहिले पनि चित्र बनाइरहन्छिन्; समय मिलाएर नै रङ र कुचीमा खेल्दै रमाइरहन्छिन् ।

उनले चित्रकलालाई राम्ररी बुझेकी छिन् । पछि अरू केही गर्न सकिएन भने आर्टबाट नै गरिखान सकिन्छ भन्ने आत्मविश्वास छ उनमा तर पनि उनी आर्ट बेचिखान चाहन्नन् । उनी कलालाई भावनाको अभिव्यक्ति सम्झन्छिन् । व्यक्तिको प्रतिभा पनि कला हो भन्ने ठान्छिन् । उनका विचारमा अभ्यासले कलाकार बनाउँछ । सुरुमै त कसैसँग पनि सिप हुँदैन । अभ्यास गर्दै जाँदा मान्छेले कला सिक्छ । कला मानिसको मन झैँ अमूर्त हुन्छ । त्यसैले कलालाई यसै हो भनेर बुझाउन सकिँदैन । बरू कलाबाट मानिसको मन छर्लङ्ङ देखाउन सकिन्छ ।

कहिलेदेखि चित्रकलामा प्रवेश गरेँ भन्ने उनलाई एकिन छैन । उनी सम्झँदै भन्छिन्, “त्यस्तै एक कक्षादेखि नै चित्र बनाउन थालेँ होला । ममु सानैदेखि तिमी चित्र बनाउँथ्यौ भन्नुहुछ । तर, त्यस बेला चित्रकलासम्बन्धी उचित मार्गनिर्देशन नभएर राम्रो गर्न सकिनँ । अहिले अजय सरले राम्ररी प्रेरणा दिँदै चित्रकला सिकाउँदा धेरै सजिलो भएको छ ।”  

चित्रकलामा धेरै रङ हुन्छन् । तीमध्ये जुन रङ पनि प्रयोग गर्न सकिन्छ । अहिलेसम्म उनले स्केच, वाटरकलर, पेन्सिलकलर, पोस्टर कलर, एक्लेरिक कलर आदिमा चित्र बनाएकी छिन् । मान्छेले आफ्नो रुचिअनुसार रङ प्रयोग गर्न सक्ने उनको धारणा छ । तथापि रङको उचित संयोजन गर्न सके मात्र राम्रो चित्र बनाउन सकिन्छ । कस्तो भाव व्यक्त गर्नका लागि कुन कुन रङको संयोजन गर्न सकिन्छ भन्ने जानकारी ‘कलर थ्योरी’ ले दिन्छ । त्यसको ज्ञान भयो भने उच्च स्तरीय चित्र बनाउन सकिन्छ भन्ने उनको बुझाइ छ ।

एउटा विचारकझैँ बोलिरहिन् नोरा । यति राम्रो वक्ताको अतिरिक्त अध्ययनका बारेमा मलाई जान्न मन भयो ।

उनले अतिरिक्त पुस्तक पढ्ने गरेको जानकारी दिइन् । उनमा उपन्यस पढ्ने रुचि रहेछ । उनले प्रायः अङ्‍ग्रेजी उपन्यास पढ्ने गरेकी रहिछिन् । उनी कहिलेकहीँ कविताहरू पनि पढ्दिरहिछिन् । उनलाई जीवन र जगत्‌सँग सम्बन्धित कृतिहरू अध्ययन गर्न मनपर्दोरहेछ । उनले पढेका कुरा सम्झन सजिलो होस् भनेर अनि कहिलेकहीँ पुस्तकका बारेमा टिप्पणी गर्न ‘बुक रिभ्यु’ पनि लेख्ने गरेकी रहिछिन् ।

उनका कुरा सुनेर खुसी हुँदै मैले भनेँ, “नानी ! कुची चल्यो । अब कलम पनि चलोस् । चित्रकला र साहत्य दुवै कला नै हुन् । साहित्यमा पनि अमूर्त मन छर्लङ्‍ङ देखिने गरी प्रस्तुत गरिएको हुन्छ ।”

उनले मेरा कुरामा सहमति जनाइन् । म फुरुङ्ङ भएँ । फेरि चित्रकलातिर नै फर्कियौँ हामी ।

अहिलेसम्म कति चित्र बनाइयो भन्ने नोरालाई थाहा छैन । त्यो गन्न पनि सकिँदैन । उनाक कति चित्रकला विदेश पुगे, कति म्युजियममा छन् । कति घरमा छन् । कक्षा सातमा पढ्दा सार्क स्तरीय चित्रकला प्रतियोगितामा सहभागी हुन उनी यहीँ बनाएका केही चित्र लिएर बङ्लादेश पुगिन् । उनले त्यहाँ गएर अरू पनि  चित्र बनाइन् । ती चित्र अहिले पनि बङ्लादेशमा सुरक्षित होलान् भन्ने उनको आशा छ । उनी त्यस प्रतियोगितामा उत्कृष्ट दश चित्रकारभित्र परेर पुरस्कृत भएकी थिइन् । त्यपछि उनी सिङ्गापुरमा हुने चित्रकला प्रतियोगिताका लागि छनौट भइन् । तर, कारणबस उनी सिङ्गापुर जान सकिनन् ।

योङ पिकासोले पुराना बाजाहरूको सङ्‍ग्रहालयमा सहकार्य गरेको थियो । त्यस बेला नोराले एउटा बाजाको चित्र बनाएकी थिइन् । त्यो चित्र आज पनि बाजा सङ्‍ग्रहालय थापाथलिमा सुरक्षित छ ।

उनले बनाएका धेरै चित्रहरू घरमा सुरक्षित छन् । 

उनी अब्बल कलाकारका रूपना पुरस्कृत पनि भएकी छिन् । एक पटक राष्ट्रिय स्तरको हस्तलेखन प्रतियोगितामा उत्कृष्ट दुईसयभित्र परिन् र प्रशंसा पत्र पाइन् ।  अर्को पटक अजय सरको सहयोगमा उनी स्विटजरल्यान्डका राजाले ‘स्पोन्सर’ गरेको एउटा चित्रकला प्रतियोगितामा सहभागी भइन् । त्यहाँ उनले द्वितीय स्थान हासिल गरी नगद पुरस्कार तथा प्रशंसा पत्र पाइन् । त्यसपछि योङ पिकासोले आयोजना गरेको चित्रकला प्रतियोगितामा उनी सम्मानित तथा पुरस्कृत भइन् ।

हामी कुरा गरिरहेका थियौँ । नोरिनका बुबा नारायणकाजी श्रेष्ठ टुप्लुक्क आइपुग्नुभयो । उहाँसँग पनि कुराकानी गर्ने मौका मिलक्यो । कुराको सिलसिला जोड्दै मैले सोधेँ, “तपाईँका दुइटै छोरी राम्रा चित्र बनाउँछन् । उनीहरूमा चित्रकलासम्बन्धी वंशानुगत कुनै प्रभाव परेको त छैन नि ?”

नारायणकाजी श्रेष्ठले आफ्नो विगत कोट्याउनुभयो । उहाँको परिवारमा त्यस्तो राम्रो चित्रकार कोही रहेनछ । बरु उहाँ नै स्कुल पढ्दा कहिलेकहीँ चित्र बनाउनुहुँदोरहेछ । उहाँलाई चित्रकलामा राम्रै रुचि रहेछ । तर, त्यस बेला चित्रकलाको महत्त्व थिएन । त्यससम्बन्धी मार्गदर्शन गराउने विज्ञहरू पनि थिएनन् । आफ्नै रहरले केही चित्र बनाउनुभएछ । साथीसङ्गतका कारण उहाँले चित्रकलालाई निरन्तरता दिन सक्नुभएनछ । उहाँको कुरा सुनेपछि मलाई लाग्यो- कतै बुबाको चित्रकलासम्बन्धी अपूर्ण इच्छा छोरीहरूले पूरा गरेका त होइनन् ! जे होस् नोरा र नोरिन उहाँका दुवै छोरी राम्रा चित्रकार बन्दै छन् । दुवै अब्बल चित्र बनाउने क्रममा छन् ।

आफ्ना छोरीको चित्रकला देखेर नारायणकाजी प्रसन्न हुनुहुन्छ । उहाँले खुसी हुँदै एउटा प्रसङ्‍ग सुनाउनुभयो, “एक पटक योङ पिकासोले एउटा चित्रकला प्रदर्शनी आयोजना गरेको थियो । त्यहाँ नोराले बनाएको चित्र पनि राखिएको थियो । त्यो अत्यन्तै जीवन्त चित्र देखेर अजय सर प्रभावित हुनुभयो । अनि त्यो चित्र ‘नट फर सेल’ मा राख्नुभयो ।”

हामी कुराकानीका अन्त्यतिर पुगेका थियौँ । नारायणकाजीले गुनासो गर्नुभयो, “अहिलेसम्म त राम्रै गर्दै छन् । यिनीहरूले पछि चित्रकला चटक्कै छाड्ने पो हुन् कि ! चित्रकलालाई निरन्तरता दिए हुने थियो ।”

नोराले बुबालाई आस्वास्त पार्दै भनिन्, “अहिले म पढिरहेकी पनि छु । त्यसले गर्दा चित्रकलालाई धेरै समय दिन सकिएको छैन । पछि त म चित्रकला, अध्ययन र आफ्नो पेसालाई सँगै अघि बढाउन सकिहाल्छु नि ।” हामी मिठा मिठा कुरा गरिरहेका थियौँ । समयले नेटो काट्यो । मैले घर फर्कनु थियो । बिदा मागेर म घरतिर लागेँ । मनभरि नोरालाई सम्झिरहेँ, उनकै कुरा गुन्जिरहे । चित्रकलाप्रति उनको गहिरो लगाब देखेर प्रभावित भइरहेँ । आफ्नो लगाब भएको विषयमा मानिसले साँच्चै राम्रो गर्न सक्छ । नोराले चित्रकलामा राम्रो प्रगति गर्न सक्छिन् भन्ने विश्वास मनभरि पलायो । उनको कुची प्रेरक बनेर सधैँ सधैँ चलिरहोस् ! उनको सफलताको गीत सधैँ सधैँ गुन्जिरहोस् !