पशुको वेदना बुझ्ने भूमि श्रेष्ठ
मान्छे चेतनशील प्राणी हो । ऊ सचेत भएर नै आफ्ना लागि धेरै थोक गर्न सक्छ । तर, पशुमा मानिसको जत्तिको चेतना छैन । उसले आफ्ना लागि के गर्ला ? त्यसमा पनि बिरामी पशुहरूले उचित स्याहार पाउँदैनन् । तिनीहरूले अकालमा मर्नु पर्ने मात्र होइन; बाँच्दा पनि अनेक दुःख कष्ट भोग्नुपर्छ । त्यसैले आफ्नो मात्र होइन; पशुको पनि उचित हेरचाह गर्नु; संरक्षण गर्नु हामी मानिसको कर्तव्य हो । म यो कर्तव्य निर्वाह गर्न तयार छु । कुराकानीका क्रममा भूमि श्रेष्ठले आफू पशुको स्याहारमा लागिपर्ने विचार यसरी व्यक्त गरिन् ।
२०६८ भदौ १२ का दिन ललितपुरमा जन्मिएकी भूमि श्रेष्ठ अहिले मोडन इन्डयिन स्कुलको कक्षा आठमा अध्ययनरत छिन् । बालापनमै उनका हृदयमा पशुप्रति हगिरो आत्मीय भव जागृत भएको देखिन्छ । सृजनशील हृदयमा प्रायः समभाव हुन्छ । मनभरि पशुप्रतिको समभाव बोक्ने भूमिमा सृजनशील क्षमता पनि छ । चित्रकलामा उनको राम्रो सृजनशील क्षमता देखिन थालेको छ । उनी कहिलेदेखि चित्रकलाम प्रवेश गरिन् भन्ने निश्चित त छैन । तै पनि उनी भन्छिन्, “मैले थाहा पाउँदादेखि नै म चित्र बनाउँथेँ । चित्र बनाएर ममीलाई देखाउँथेँ । उहाँ खुसी हुनुहुन्थ्यो र अझ राम्रा चित्र बनाउन प्रेरित गर्नुहुन्थ्यो ।”
आमा प्रतिबा कर्माचार्यले छोरीका बारेमा थप प्रस्ट्याउनुभयो, “उनी युकेजीदेखि नै आर्टमा रुचाउँथिन् । कसैले गुडियाहरूभन्दा पनि पेन्सिल, कलर आदि उपहार दिँदा खुसी हुन्थिन् । उनको चित्रकलाप्रतिको रुचि देखेर नै हामीले उनलाई आर्टसम्बन्धी सामग्री ल्याइदिने गरेका थियौँ ।”
मैले सातोआकी स्मृति भवनको पुस्तकालयमा भूमीश्रेष्ठ र प्रतिबा कर्माचार्यसँग भेट गर्ने र बोल्ने अवसर पाएँ । भूमिको कला र पशुप्रतिको मोहलाई नियाल्ने अवसर पाएँ । कुराकानीकै क्रममा भूमिले थपिन्, “सुरुमा म पनि निकै राम्रा चित्र बनाउँछु भन्ने लाग्थ्यो तर नोरा दिदीका चित्र देखेपछि मेरा चित्र त केही होइनन् । मलाई त राम्रा चित्र बनाउनै आउँदैन भन्ने लाग्न थाल्यो । नोरिन दिदी पनि उस्तै राम्रा चित्र बनाउनुहुन्थ्यो । मलाई पनि उहाँहरूका जस्तै राम्रा चित्र बनाउन मन लाग्थ्यो । उहाँहरूकै सल्लाहामा म योङ पिकासोमा आर्ट क्लास लिन आएँ र अझ राम्रा चित्र बनाउन थालेँ ।”
बाबा भूषण श्रेष्ठ उनलाई आर्टक्लासमा मात्र होइन अघिपछि पनि समय मिलाएर आर्ट गर्ने गर है नानी भनेर सम्झाउनुहुन्छ । यसरी भूमि श्रेष्ठको वातावरण नै सृजनशील हुँदै गयो ।
उनी चित्रकला सिक्न भनी योङ पिकासो आएको भर्खर ६/७ महिना हुँदै छ । यस अवधिमा उनले रेखाङ्कन तथा रङ संयोजन गर्न धेरै सजिलो भएको महसुस गरेकी छिन् ।
एकै पटकमा त भने जस्तो चित्र बनाउन कठिन हुने भूमिको अनुभव छ । प्रयास गरिरहँदा राम्रा चित्र बनाउन सकिन्छ भन्ने उनले विश्वास लिएकी छिन् । उनले पटक पटक प्रयास गरेर राम्रा चित्र बनाएकी छिन् ।
चित्रकलामा भूमिको प्रगति देखेर खुसी व्यक्त गर्दै आमाले भन्नुभयो, “अहिलेको प्रगति हेर्दा त उनले राम्रै गर्न सक्छिन् भन्ने आशा र विश्वास छ ।”
भूमिले अभिभावकबाट यसै गर्नुपर्छ वा यस्तै बन्नुपर्छ भन्ने दबाब पाएकी छैनन् । उनलाई अध्ययन र पेसा छान्ने छुट छ । जे गरे पनि, जुन पेसा अपनाए पनि राम्रो गरे हुन्थ्यो भन्ने अभिभावकको चाहना छ । पेसाकै कारणले भविष्यमा छोरीले चित्रकला छाड्ने पो हुन् कि भन्ने चिन्ता पनि छ ।
“पेसा जे अपनाए पनि चित्रकला त छाड्दिनँ; चित्रकला र आफ्नो पेसालाई सँगसँगै अघि ढाउँछु ।” भूमिले चित्रकलाप्रतिको आफ्नो अभिरुचि प्रकट गरिन् ।
उनलाई चित्रकलामा पनि सेमी रियालिजम कला मनपर्छ । उनी त्यस्ता कला राम्ररी बनाउन सक्ने त भइसकेकी छैनन् । त्यस क्षेत्रमा राम्रो गर्ने उनको रहर छ । त्यही रहर पूरा गर्न आफूले मिहिनेत गरिरहेको जानकारी भूमिले दिइन् तर उनको मिहिनेत यथेष्ट नभएको गुनासो गर्दै आमाले भन्नुभयो, “उनले आफूभित्र भएको क्षमतालाई बाहिर निकाल्न जति प्रयास गर्नुपर्ने हो त्यो गर्न सकेकी छैनन् । क्षमताअनुसार मिहिनेत गरे अझ राम्रो हुन्थ्यो ।”
अभिभावकले धेरै आशा राख्नु स्वाभाविकै हो । त्यो आशा भूमिले पूर्ण रूपमा पूरा नगरे पनि धेरै मात्रामा पूरा गरेकै देखिन्छ । उनको लगनशीलता र मिहिनेत उनको चित्रकलामा झल्केकै देखिन्छ । त्यही मिहिनेतको परिणामस्वरूप उनी विद्यालयले यही वर्ष (२०८१ सालमा) आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रथम भइन् । त्यहाँ उनले दृष्टिभ्रमसँग सम्बन्धित चित्र बनाएकी थिइन् । त्यस चित्रले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दा भूमि धेरै खुसी भइन् । उनले यस परिणामलाई आफ्नो मिहिनेतको फल सम्झिएकी छिन् ।
“समय मिल्दा चित्रकलामा नै फोकस हुन्छु” भूमिले सिलसिला जोड्दै भनिन्, “चरा, गणेश, बुद्ध आदिका चित्र बनाउँछु । अन्य विभिन्न विषय (थिम) मा आधारित भएर पनि चित्र बनाउने प्रयास गरिरहेकी छु ।”
भूमिको हस्तलेखन पनि राम्रो छ । २०८१ सालमै उनले विद्यालयस्तरीय हस्तलेखन प्रतियोगितामा पनि प्रथम पुरस्कार प्राप्त गरिन् । अनि त उनको खुसीको सीमा नै रहेन । यी प्रतियोगिताले उनमा प्रतिस्पर्धात्मक भावना अझ बढेर गएको छ । त्यसपछि उनले अझ बढी मिहिनेत गर्ने अठोट प्रकट गरिन् ।
शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि खेलकुद आवश्यक छ । भूमि खेलकुदमा पनि सक्रिय छिन् । उनले ब्याडमिन्टन खेल्ने गरेकी छिन् । समय दिन सक्ने हो भने यस खेलमा राम्रै गर्न सकिन्छ भन्ने उनलाई लागेको छ ।
आफूसँग भएको थोरै समय कतितिर दिने होला ? भूमिलाई पनि समय व्यवस्थापन गर्न नकै कठिन भएको देखिन्छ । उनले समय मिल्दा अतिरिक्त पुस्तक पढ्ने पनि गरेकी छिन् । कोर्सबाहिरका पुस्तक पढ्दा ज्ञान बढ्छ भन्ने उनको बुझाइ छ । आफूले पढेका पुस्तकहरूबाट प्रभावित भएर उनले कहिलेकहीँ कथा तथा कविता पनि लेख्ने गरेकी छिन् ।
“भविष्यमा के बन्ने इच्छा छ त नानी ?” कुराकानीका सिलसिलामा मैले सोधेँ ।
“पशु डाक्टर बन्ने रहर छ ।” भूमिले सहज उत्तर दिइन् । उनलाई सानैदेखि जनाबरहरू मनपर्थ्यो । ती जनाबरहरूको उचित स्याहार हुन नसक्दा विभिन्न समस्या भएको उनले देखेकी तथा महसुस गरेकी रहिछिन् । त्यसैले पशु डाक्टर भएर पशुको स्याहार गर्न उनले चाहेकी हुन् । उनका विचारमा मान्छेको उपचार गर्ने डाक्टर त अहिले धेरै छन् तर, पशुको उपचार गर्ने डाक्टरहरू कम छन् । उपचारका अभावले पशुहरूमा धेरै समस्या आएको छ; पशुले धेरै पीडा भोग्नु परेको छ ।
ओहो ! भूमि त साँच्चैकी ‘भूमि’ रहिछिन् । उनको हृदय कति कोमल र उदार रहेछ । धरतीले सम्पूर्ण चराचरमा समान दृष्टि राखे जस्तै भूमिले पशु र मानिस दुवैमा समान दृष्टि राखिन् । अर्थात् पशु र मानवमा समभाव खोजिन् उनले ।
पशुको डाक्टर बने पनि उनी चित्रकलालाई निरन्तरता दिइरहन चाहन्छिन् । चित्रकला प्रदर्शनीमा सहभागी भइरहन चाहन्छिन् । चित्रकलाबाट अलग्गिने उनको मनस्थिति देखिँदैन ।
भूमिका लक्ष्य, विचार र सोच अब्बल छन् । त्यहीअनुसार उनको पढाइ पनि राम्रो छ । उनी कक्षाका अब्बल विद्यार्थीहरूमध्ये अग्र स्थानमै आउँछिन् ।
घरमा पनि उनले आफ्नो कर्तव्य बिर्सिएकी छैनन् । सामान्यतया भान्साको काम आमाले नै गर्नुहुन्छ । त्यसैले भूमिले भान्साको काम नगरे पनि हुन्छ । तर, आमा बिरामी हुँदा अथवा आमाले काम गर्न नसक्दा भूमिले भान्साको सबै काम आफैँ गर्ने गरेकी छिन् ।
आमाका विचारमा भूमिसँग धेरै कुरा राम्रा छन् । उनी इमान्दार छिन्; ज्ञानी छिन्; केही कुरामा जिद्दी गर्दिनन्; मिलनसार छिन्; थोरै साथी बनाउँछिन् तर राम्रा साथी बनाउँछिन् । उनमा राम्ररी बोल्ने क्षमता छ । त्यसलाई पनि निरन्तरता दिनु आवश्यक छ । यति हुँदाहुँदै उनी आफूले बनाएका चित्रकलाहरू जतन गरेर राख्दिनन् । उनले बनाएका आर्टहरू प्रायः हराउँछन् । तिनलाई सम्हालेर राखे हुन्थ्यो । मान्छेमा सानातिना कमजोरी देखिन सक्छन् । तिनलाई समयक्रममा सुधार गर्दै अघि बढ्नुपर्छ । भूमिमा पनि आफ्ना चित्रकला सङ्कलन गरेर नराख्ने एउटा मुख्य कमजोरी रहेछ । धेरै चित्रकारहरूले आफ्ना चित्रकला सुरक्षित राखेका हुन्छन् । त्यस कार्यले आफ्नो प्रगति तुलना गर्न सजिलो हुन्छ । ठुलो लक्ष्य लिएका मानिसले आफ्नो प्रगतिको लेखाजोखा गरिरहनुपर्छ । भूमिको पनि लक्ष्य, सपना, सोच ठुलो छ, असल छ । अब चाहिँ उनी पनि आफ्ना कार्यको र प्रगतिको लेखाजोखा गरिरहन्छिन् भन्ने मलाई पूर्णतः आशा र विश्वास छ ।
लेखकको सम्वन्धमा