January 18, 2025, Saturday
२०८१ माघ ५, शनिबार

रिसलाई कलामा उतार्ने लनी

भनिन्छ- परिवेशको प्रभाव मान्छेमा पर्छ । परिवेश जस्तो छ मान्छेको स्वभाव पनि त्यस्तै हुन्छ । सुन्दर परिवेशमा बसोबास गर्ने मानिसहरू सौन्दर्यमा रमाउँछन्; सौन्दर्यको खोजी गर्छन् । उनीहरूमा स्वस्फूर्त रूपमा सौन्दर्य चेतना सृजित हुन्छ । मैले सुन्दर परिवेशको प्रभाव लनी लामामा परेको पाएँ ।

इलाम ‘पहाडकी रानी’ का रूपमा प्रसिद्ध छ । अर्थात् इलाम प्राकृतिक दृष्टिले बिछट्टै सुन्दर छ । इलामको सौन्दर्यमा हराउन र रमाउन हरेक वर्ष धेरै मानिसहरूको ताँती लाग्छ । दोलखा पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला हो । यहाँ पनि पर्यटकहरू तँ छाड् म छाड् गर्दै दौडन्छन् । वरिपरि हरिया पहाडले घेरिएको काठमाडौँ कम सुन्दर देखिँदैन । त्यसमाथि आकाश छ्याङ्‌ङ उघ्रिएर उत्तरतिरका हिमाल टलक्क टल्कँदा काठमाडौँबासीले झनै सुन्दर दृश्य देख्‍न पाउँछन् । हो, यी तिनै प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्रसँग सम्बन्ध गाँसिएकी बालिका हुन् लनी ।

लनीको स्थायी घर अर्थात् उनका बाबा निरज लामाको जन्म घर दोलखा हो । आमा लक्की योञ्‍जनको जन्म घर अर्थात् लनीको मावलचाहिँ इलाम हो । यी दुई इलामेली र दोलखेली जोडी अर्थात् लनीका बुबा र आमा लगनगाँठो कसी काठमाडौँमै बसोबास गर्न थाल्नुभयो । यही क्रममा २०६८/४/६ मा लनीले काठमडौँ उपत्यकामा जन्म लिइन् । उनी अहिले यहीँ बसेर पवन प्रकृति स्कुलको कक्षा आठमा अध्ययन गर्दै छिन् । उनी समय मिलाएर इलाम तथा दोलखा गइरहने गर्छिन् । यसरी लनी सुन्दरै सुन्दर प्राकृतिक परिवेशमा विचरण गरिरहेकी छिन् ।

परिवेशको प्रभावस्वरूप उनी सौन्दर्यकै खोजीमा लागिन् । जता हेरे पनि सुन्दर दृश्य देख्‍न थालिन् । अनि थाहा नपाईकन तिनै सुन्दर दृश्य काजगमा उतार्न थालिन् । सिसाकलम, कलर पेन्सिल हुँदै अहिले उनी क्यानभासमा कुची दौडाएर सुन्दर आकृति निर्माणका क्रममा लागिपरेकी छिन् । उनले चित्र बनाएर धेरै कपी भरेकी छन् ।

लनीका एक जना साना भाइ छन् । उनको नाम फुर्साङ हो । भर्खर नर्सरीमा पढ्ने उनी अलि चकचके छन् । उनी लनीले ड्रइङ गर्दा बिगर गरिदिन्छन् । आफ्नो काम बिगारिदिँदा कसलाई रिस उठ्दैन र ? सबैलाई उठ्छ । लनीलाई पनि रिस उठ्छ । तर, के गर्नु ! भाइलाई कराउनु हुँदैन; भाइ सानै छन् । उनको धेरै कुरा बुझ्‍ने बेला भएको पनि छैन । त्यसैले लनी रिसलाई व्यवस्थापन गर्छिन् । त्यसका लागि उनी रिस उठ्दा पनि कुची र रङ लिएर बस्छिन् । अनि सुन्दर चित्र बनाउँछिन् । त्यही चित्र हेर्छिन् र रमाउँछिन् । रिस कता पुग्छ पुग्छ; लनीलाई पत्तै हुँदैन ।

उनी चित्रमा हृदयको भाव उतार्न सिपालु छिन् । त्यसैले रिसाएका बेला उनले बनाएका चित्रमा रिस अभिव्यक्त भएको हुन्छ । खुसी भएका बेला बनाएका चित्रमा खुसी मुस्कुराउँछ । “यी हेर्नुस् त, यो चराको आँखो कस्तो रिसाहा देखिएको छ । यो मैले रिस उठेका बेला बनाएको चित्र हो नि त” लनी आफूले बनाएको चराको चित्र देखाउँदै भन्छिन् ।

उनी कहिलेदेखि चित्र बनाउन थालिन् भन्ने कुरा उनैलाई थाहा छैन । उनी सम्झन्छिन्, “एक कक्षा पढ्दादेखि नै योङ पिकासो आएकी हुँ । यहाँ आएर चित्र बनाउन सिकेँ र अझै पनि सिकिरहेकी छु । कोरोनाकालमा चाहिँ घरमै बसेर चित्र बनाउने अभ्यास गरेँ । त्यसपछि यस वर्षदेखि फेरि योङ पिकासो आउन थालेकी छु ।”

अल्छी लाग्दा होस् वा फुर्सदको समय बिताउँदा लनी चित्र बनाएर नै बस्छिन् । कहिले बुद्धका चित्र कोर्छिन् । कहिले आफ्ना चित्रमा सुन्दर प्रकृति सजाउँछिन् । चराहरूको पनि उनले जीवन्त चित्र बनाएकी छिन् । मान्छेका विभिन्न भाव झल्कने चित्र उनले बनाएकी छिन् । उनी चित्र बनाउँछिन्, हेर्छिन् र मख्ख पर्छिन् । आहा कति राम्रो ! भन्ने लाग्छ । तर फेरि अर्को दृष्टिबाट हेर्दा त्यस चित्रमा अझै धेरै कुरा पुगेकै छैन भन्ने लाग्छ । र, फेरि फेरि उनी चित्र बनाउने अभ्यस गरिरहन्छिन् ।

आमा लक्की लामा पनि लनीको मिहिनेती स्वभावलाई खुलेरै प्रशंसा गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “जाने पनि नजाने पनि मेरी छोरी मिहिनेत गरिरहन्छिन् । थालेको काम जसरी पनि पूरा गरेरे छाड्ने उनको बानी छ ।”

एकै पटकमा सोचे जस्तो चित्र बनाउन सकिँदैन । भने जस्तो चित्र बनाउन पटक पटक प्रयास गर्नुपर्छ । कहिलेकहीँ त एउटै काम पटक पटक गर्दा लनीलाई दिक्क पनि लाग्छ । तर, आफूले बनाएको सुन्दर चित्र देखेपछि उनको मनै फुरुङङ हुन्छ । उनी खुसी हुन्छिन्; सबै तनाव बिर्सिन्छिन् ।

लनीको लगनशीलता देखेर बुबा निरज लामा पनि खुसी हुनुहुन्छ । “उहाँ भन्नुहुन्छ, “नानी आफ्नो काम आफैँ गर्छिन् । यसो गर, उसो गर भनिरहनुपर्दैन । लेख्‍ने, पढ्ने काम सकियो कि चित्र बनाउन थालिहाल्छिन् ।”

अहिलेसम्ममा कति चित्र बनाइयो भन्ने लनीलाई थाहा छैन । उनले सयौँको सङ्ख्यामा चित्र बनाएकी छिन् । सुरुतिर बनाएका चित्रहरू कता पुगे भन्ने पत्तो पनि छैन । चित्र बनाइयो एक दुई दिन हेरियो अनि कहाँ फ्यालियो थाहै भएन । तर, उनले पछिल्लो समयका धेरै चित्र सुरक्षित राखेकी छिन् । कहिलेकहीँ उनी पुराना चित्रहरू पल्टाएर हेर्छिन् । पहिले राम्रा लागेका चित्रहरू अहिले कता कता चित्त नबुझे जस्ता देखिन्छन् । त्यहाँ धेरै कुराको कमी छ भन्ने उनलाई लाग्छ । तिनलाई ‘फिनिसिङ’ गरूँ कि भन्ने पनि उनलाई लाग्छ तर भ्याउँदिनन् । स्कुलको पढाइलाई पनि समय दिनुपर्‍यो । घरमा काम पनि  सघाउनुपर्‍यो । बरू फुर्सद हुनासाथ उनी नयाँ चित्र बनाउनेतिर नै लाग्छिन् ।

लनीको अध्ययन पनि राम्रै छ । उनी आफूलाई मध्यम खालको विद्यार्थी सम्झन्छिन् । उनी आफ्नो पढाइ साह्रो राम्रो वा साह्रै खत्तमै त छैन, ‘एभ्रेज’ नै छ भन्छिन् । तर पनि उनी कम्प्युटरमा अग्र स्थानमै आउँछिन् । यस विषयमा राम्रै गर्न सकिन्छ भन्ने उनको विश्वास छ । उनी कोडिङ गर्न रमाउँछिन् । उनले भविष्यमा आइटी इन्जिनियर बन्ने मिठो सपना साँचेकी छन् । चित्रकलामा पनि उनको रुचि उत्तिकै छ । त्यसैले उनी चित्रकला र कोडिङलाई सँगै अघि बढाउन चाहन्छिन् ।

लनीलाई मनपर्ने खेल उसु हो । उनी उसुको खेलाडी पनि हुन् । उनी स्कुलको क्लबमा आबद्ध भएर उसु खेल्छिन् । यही (वि.सं. २०८१) मङ्सिर आठ गते शनिबार एउटा उसु प्रतियोगिता भएको थियो । त्यसमा उनले प्रथम स्थान हासिल गरिन् । यस जितले उनलाई निक्कै प्रफुल्ल बनायो । अब त उनमा उसुलाई पनि निरन्तरता दिने मोह पलाउन थालेको छ ।

लनी नृत्य गर्न र अतिरिक्त पुस्तक पढ्न पनि रुचाउँछिन् । उनलाई मन पर्ने साहित्यिक विधा कथा हो । लनीले कहिलेकहीँ कथा लेख्‍ने प्रयास पनि गरेकी छन् । तर, उनले लेखेका कथाले पूर्णता पाएको छैन । त्यसका लागि चित्रकलामा झैँ पटक पटक अभ्यास गर्नु उचित हुन्छ; लनीले त्यसो गर्न सकेकी छैनन् । मौका मिलेसम्म उनी विद्यालयमा हुने नृत्यका कार्यक्रममा सहभागी हुने  गरेकी छिन् । नृत्य प्रतियोगिताका कार्यक्रमहरू अलि बढी आयोजना भइदिए नृत्यमा अझ राम्रो गर्न सकिन्थ्यो कि भन्ने उनका अन्तर्मनमा लोभ छ ।

खेलकुद, नृत्य, अध्ययन, चित्रकला जस्ता धेरै क्षेत्रलाई एकैसाथ अघि बढाइरहेकी लनीलाई थाकाइचाहिँ नलाग्ला त ? पक्कै पनि उनलाई थकाइ लाग्छ । तर, आमाले बनाएको एक कप मिठो कफी खाएपछि लनीको फकाइ टाप कस्छ । उनी भन्छिन्, “आमा साँच्चै मिठो कफी बनाउनुहुन्छ ।”

लनीका रुचिक्षेत्रहरू धेरै छन्; सबै राम्रै छन् । मुसुक्क मुस्कुराएर बोल्ने उनको स्वभाव पनि राम्रो छ । उनमा मनका कुरा निर्भीक भएर भन्न सक्ने खुबी छ ।  उनको अध्ययन राम्रो छ; चित्रकला राम्रो छ । सबैभन्दा रम्रो उनको चेतना छ । त्यही चेतनाले उनी रिसलाई पनि कलामा उतार्न सक्छिन् । साना र ठुलासँग स्तर र आवश्यकताअनुसारको व्यवहार गर्न सक्छिन् । धैर्य गर्न सक्छिन् । यी सबै लनीका सफलताका लक्षण हुन् । अघि बढिरहू लनी; तिम्रो कलाको ताज यो देशकै स्वाभिमान बनेर तिम्रै गृहजिल्लामा ठडिएको गौरीशङ्‍करझैँ ठडिन सक्छ ।