आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
आज शनिबार ! बिहान साढे नौ बजे म सातोआकी स्मृति भवनको पुस्तकालयबाट निस्कँदै थिएँ । हातमा क्यानभास बोकेर पालिजा महर्जन आइन् । म उनैकै पेन्टिङ हेर्न र उनीसँग कुरा गर्न पर्खिरहेको थिएँ । उनी अलिकति ढिलो आइन् । दिउसो अन्त काम भएकाले धेरै बेर पर्खिएर कुरा गर्ने समय थिएन । त्यसैले पालिजासँग कुरा गर्न पाइनँ । अर्को कुनै दिन घरमै गएर कुरा गर्ने निधो गरियो ।
म अफिसमा थिएँ; अजय सरको म्यासेज आयो- “सर बुधबार पालिजालाई भेट्न जानुपर्छ है ।”
अब मलाई कहिले बुधबार आउला ? कहिले पालिजासँग कुरा गर्न र उनका पेन्टिङ मनभरि हेर्न पाउँला भन्ने लागिरह्यो । उनका हातमा भएको पेन्टिङ झल्याकझुलुक स्मृतिमा खेल्न थाल्यो । सल्लो जस्तो देखिने एउटा रुख, रुखमा बसेको चरो, सायद लाहाँचे हो कि ? रुख ठुङ्न तयार भए जस्तो देखिन्थ्यो । मैले राम्ररी नियाल्न पाएकै थिइनँ । तर, यस पेन्टिङले मेरो मन जोडसँग तानेको थियो ।
नभन्दै बुधबार आयो । मेरो अफिस बिदा भएपछि साँझतिर अजय सर र म झोँछे (काठमाडौँको वसन्तपुरनजिकै) पुग्यौँ । हामीले पालिजाको घर देखेका थिएनौँ । आमा लक्ष्मी महर्जन अलि वरसम्म आउनुभयो र हामीलाई स्वागत गर्दै निबाससम्म पुर्याउनुभयो ।
२०६७ साउन २७ का दिन काठमाडौँमा जन्मिएकी पालिजालाई चित्रकलामा रुचि छ भन्ने त मलाई राम्ररी नै थाहा थियो । उनी पुस्तक पढ्न पनि रमाउँदिरहिछिन् । कुराकानीका सिलसिलामा आफूले पढेका आठ दशओटा पुस्तकको नाम, ती पुस्तकको विषयवस्तु, सन्देश आदि फटटट भनिन् । यति कारणले गर्दा मलाई यो पुस्तक मनपर्छ पनि भनिन् ।
अन्तर्मुखी स्वभावकी पालिजा यसरी बोलेको मैले कहिल्यै सुनेको थिइनँ । एक पटक हिमालयन ह्वाइटहाउस स्कुल, तिनकुनेमा एउटा चित्रकला प्रदर्शनी भएको थियो । अजय सर र म नोरिनका चित्र हेर्न त्यहाँ पुगेका थियौँ । त्यस प्रदर्शनीमा पालिजाका चित्र पनि राखिएका रहेछन् । उनीसँग मेरो पहिलो भेट त्यहीँ भयो । त्यहाँ मैले उनको नामसम्म सोधेको थिएँ । त्यसपछि सातोआकी स्मृति भवनमा मैले उनलाई देखिरहेँ । उनी भावमा डुबेर सुन्दर कला सिर्जना गरिरहन्थिन् । न उनी केही बोल्थिन् न म केही सोध्थेँ । आज यसरी बोलेको सुन्दा अध्ययनप्रति पालिजाको रुचि कति छ भन्ने मैले महसुस गरेँ ।
अतिरिक्त पुस्तक पढ्ने मात्र होइन कोर्सका पुस्त पढ्न पनि उनी उत्तिकै रुचाउँछिन् । उनी गृहकार्यमात्र गर्दिनन्, अध्ययन पनि गरिरहन्छिन् । त्यसैले त उनी कक्षाका अब्बल विद्यार्थीहरूमध्ये नै पर्छिन् ।
उनी गीत सुन्न, नृत्य गर्न, ब्याडमिन्टन, बास्केट बल खेल्न पनि उत्तिकै रुचाउँछिन् । स्कुलमा हुने नृत्यकलामा उनी सहभागी हुन कहिल्यै पछि पर्दिनन् । कविता, वक्तृता र वादविवाद प्रतियोगितामा पनि उनी सहभागी हुने गरेकी छिन् र कति पटक त पुरस्कृत पनि भएकी छिन् ।
यसरी हेर्दा नृत्य, खेल, गायन, अध्ययन आदिमा पालिजाको रुचि देखिन्छ । यी सबैमध्ये पनि चित्रकलामा उनको विशेष अनुराग देखिन्छ । आमासँगको सिकाइ अन्तर्हृदयदेखिकै सिकाइ हुन्छ; त्यो दिगो र चिरस्मरणीय सिकाइ हुन्छ । पालिजाले चित्रकला नजानिँदो तरिकाले आमाबाट नै सिकिन् र त्यस कलालाई आत्मसात् गरिन् । यस क्रममा उनी भन्छिन्- “पहिले पहिले मामू कपडामा विभिन्न फूलका बुट्टा भर्नुहुन्थ्यो । त्यो देखेर मलाई पनि त्यस्तै फूलका चित्र बनाउन मन लाग्थ्यो । मामूले जसरी नै रङसँग खेल्न मन लाग्थ्यो । त्यसैले म थाहा नपाई चित्र बनाउन र रङसँग खेल्न थालेछु ।”
पालिजाकै विचारलाई समर्थन गर्दै योङ पिकासोका सञ्चालक अजय देसार भन्नुहुन्छ, “पालिजा अत्यन्त कम बोल्छिन् तर अरूले के गरिरहेका छन् भन्ने गहिरिएर नियालिरहन्छिन् ।” उहाँ थप्नुहुन्छ, “पालिजाको अन्तर्मुखी स्वभावका कारण जोसुकैले उनको क्षमता हतपत पहिचान गर्न सक्दैन । मैले पनि बाजा म्युजियममा भएको कार्यशालाबाट मात्र उनको प्रतिभा राम्ररी पहिचान गरेँ । त्यहाँ उनले अत्यन्तै राम्रो पेन्टिङ गरेकी थिइन् ।”
पालिजालाई चित्रकलामा कति रुचि छ ? र उनका चित्रकलामा कतिको निखार छ भन्ने कुराको प्रमाण उनकै कोठाले पनि पेस गर्न सक्छ । त्यहाँ भित्ताभरि सजिएका क्यान्भासमा पालिजा स्वयम्ले बनाएका कला चम्किएका छन् । अनि गुणस्तरीय चित्रकलाको साक्षी बनेर नजिकै मेडलहरू झुन्डिएका छन् । अर्थात् उनका कोठामा आफूले बनाएका चित्रकला र पाएका मेडलहरू सजिएका छन् ।
पालिजाले चित्रकलाको सैद्धान्तिक पक्ष पनि बुझेकी छिन् । त्यसैले त उनी, “अहिले म यथार्थवादी चित्र बनाइरहेकी छु । अब अतियथार्थवादी चित्र बनाउने प्रयासमा छु” भन्छिन् ।
उनलाई फुर्सदको समय रङमा खेल्न नै मनपर्छ । स्कुलको पढाइलाई पनि महत्त्व दिनुपर्यो । उनी अहिले नौ कक्षामा पढ्दै छिन् । अहिले पढाइ बिग्रियो भने बर्बाद हुन्छ । पढाइ पनि छाड्नु भएन । पढाइ र चित्रकलालाई पालिजाले सन्तुलित रूपमा अधि बढाएकी छिन् । उनी पढाइबाट फुर्सद मिल्यो कि स्केच कोर्छिन्, त्यसपछि रङ भर्न थालिहाल्छिन् ।
“धेरै बोल्दिनन् । रिसाएको, खुसाएको केही थाहा हुँदैन । कि त पढिरहेकी हुन्छिन्, कि पेन्टिङ गरिरहेकी हुन्छिन्” आमाले छोरी पालिजाका बारेमा थप प्रस्ट पार्नुभयो ।
चित्रकला र पढाइ दुवैमा अब्बल रहिछ्यौ । भविष्यमा के बन्ने विचार छ त नानी ? कुराको सिलसिला मिलाउँदै मैले सोधेँ ।
“न्यायाधीश बन्ने इच्छा बोकेकी छु” गम्भीर हुँदै बोलिन् पालिजा ।
“न्यायाधीश ! किन नि ?” मैले जिज्ञासा राखेँ ।
“म आफैँ कम बोल्छु । मैले चाहिने कुरा बोल्न सक्नुपर्छ । त्यसको मानसिक तयारीका लागि पनि मैले न्यायाधीश बन्ने लक्ष्य लिएकी हुँ । अर्को कुरा मजस्तै कम बोल्ने वा चाहिने कुरा पनि समयमा र ठाउँमा बोल्न नसक्नेहरू यस समाजमा अरू पनि त होलान् । म ती आवाजविहीनहरूको आवाज बोलिदिन चाहन्छु” उनले प्रस्ट्याइन् ।
कथम्कदाचित् न्यायाधीश हुन सकिएनछ भने आर्किटेक बन्ने सपना पालेकी रहिछिन् पालिजाले ।
उनी भन्छिन्, “जेमा आफ्नो सिप छ त्यही काम गर्नु राम्रो हो । मलाई अरूमा भन्दा चित्रकलामा राम्रो ज्ञान छ । मैले घरका सुन्दर चित्र बनाएकी छु । आफ्ना चित्रमा घरको सजावट झल्काएकी छु । आर्किटेक भएँ भने मलाई त्यो काम गर्न सजिलो पनि हुन्छ ।”
चित्रकलामा जस्तै पालिजा विचारमा पनि खारिन थालेकी रहिछिन् । उनले तर्कसहित आफ्ना विचार राखेको देख्दा म दङ्ङ भएँ । मन फुरुङ्ङ भयो । मैले भविष्यको न्यायाधीशसँग अन्तर्वार्ता लिएँ; एउटा सफल कलाकारसँग कुराकानी गरेँ; आजको कुराकानी सफल भयो भन्ने लाग्यो । अनि कुराको सिलसिला मोड्दै सोधेँ, “नानी ! तिमी त काठमाडौँको मुटुमा जन्मिएकी, यहीँ हुर्किएकी, निक्कै राम्रामध्येकै स्कुल पढेकी, तिम्रा जीवनमा दुःख छैन होला है ? तिमीले सङ्घर्ष गरेकी छैनौ होला है ?”
उनले मेरो प्रश्न सुनिन् तर उत्तर दिइनन् । उत्तरको आशामा मैले उनको अनुहार नियालिरहेँ । उनको हृदयभित्र कहाँ हो कहाँ गाँठो परे जस्तो लाग्यो । गहिरो घाउ चसक्क चस्किए जस्तो लाग्यो । चित्रमा रङ पोत्ने चित्रकारको अनुहारमा पीडाको रङ पोतिए जस्तो लाग्यो । बेक्कार सोधेछु यो प्रश्न भन्ने लाग्यो ।
स्थितिलाई सामान्य तुल्याउँदै भने, “हो, दुःख गरेकी छ्यौ तिमीले; सङ्घर्ष गरेकी छ्यौ । त्यही दुःख र सङ्घर्षका कारण तिमीले यति राम्रा चित्र बनाएकी छ्यौ । तिम्रो पढाइ राम्रो छ । तिम्रा विचार अब्बल छन् । मैले त भविष्यमा न्यायाधीश हुने लक्षण पनि देखिसकेको छु ।”
बल्ल पालिजाका मुहारमा एक झुल्को मुस्कान देखियो । मलाई पनि ढुक्क भयो ।
कुराकानी सकियो । हामी फर्कियौँ । बाटामा म सोच्दै थिएँ- आवाजविहीनहरूको पनि आवाज बोलिदिन चाहने पालिजा किन आफ्नै पीडा बोल्न सकिरहेकी छैनन् ? के उनका पीडा, व्यथा, वेदना उनका चित्रकलामा प्रतिबिम्बित छन् ? छन् भने कसरी ? मैले त उनका कलामा उनका हृदयको पीडा खोज्दै खोजिनँ । मैले त त्यहाँ रङ हेरेँ, कला हेरेँ; निखार हेरेँ र आकर्षण हेरेँ ।
विचारको गहनतामा डुबेको म कति बेला घर पुगेँ, थाहा भएन । तर, अर्कै एउटा कुरा थाहा भयो । त्यो के भने नि- चित्रकारका चित्रमा रङ मात्र हुँदैन; चित्रकारको हृदय पनि हुन्छ । चित्रका पारखीहरूले चित्रभित्र चित्रकारको हृदय पनि नियाल्नुपर्छ ।
लेखकको सम्वन्धमा