पङ्खफुका चरीझैँ बनुन् रोजलिन
क्यानभासमा एउटी महिला उभिएको स्केच देखिन्छ । त्यसमा ब्याकग्राउन्ड कलर भरिँदै छ । आफ्ना सुकोमल हातले समाएको कुची उनी एकसुरले दौडाइरहेकी छिन् । सुहाउँदो रङ पोतिएर क्यानभास आकर्षक बन्दै छ ।
“आहा ! कत्ति राम्रो !!” मेरा मुखबाट आवाज आयो ।
दिल खोलेर क्यानभास रङ्गाउन पाउँदा उनी फुरुङ्ग त छँदै थिइन् । त्यसमाथि मेरा बोलीले उनको खुसी चुलिएछ । उनले मलाई पुलुक्क हेरिन् । उनको अनुहार धपक्क बलेको थियो ।
“नाम के हो नानी ?” मैले सोधेँ ।
“रोजलिन प्रधान ।” मृदु बोलीमा छोटो उत्तर दिइन् । हातको कुची क्यानभासमा नाचिरह्यो ।
डिसेम्बर एक २०१२ का दिन काठमाडौँमा जन्मिएकी रोजलिनलाई चित्रकला असाध्यै मनपर्छ । उनले धेरै चित्र बनाइन् । उनी आफ्ना चित्रको प्रथम दर्शक तथा टिप्पणीकार मामु लुना प्रधानलाई ठान्छिन् । त्यसैले त उनी हरेक पटक आफूले बनाएका चित्र देखाउँदै भन्छिन्, “मामु हेर्नुस् त !”
छोरीको चित्रकला देखेर मामु दङ्ग ! उहाँ छोरीलाई हौस्याउँदै भन्नुहुन्छ, “आहा ! कस्तो राम्रो ! अझ राम्रा चित्र बनाऊ है छोरी ।”
मामु लुना प्रधान पेसाले शिक्षक हुनुहुन्छ । उहाँले धेरै बालबालिकाको सुन्दर भविष्य निर्माण गर्नुभएको छ । आफ्नै छोरीको भविष्यप्रति चिन्तित र सचेत नहुने त कुरै भएन । आफू शिक्षक भए पनि राम्रो चित्रकार नभएकाले छोरीलाई आवश्यक मार्गनिर्देशन गर्न नसकिएला भन्ने ठान्नुभयो उहाँले । त्यसैले कुशल गुरु खोजी गर्न थाल्नुभयो । ललितपुर जिल्लाको कुपन्डोलमा सातोआकी स्मृति भवन छ । त्यस भवनको पुस्तकालयमा योङ पिकासोका सञ्चालक अजय देसारले बालबालिकालाई चित्रकला सिकाउनुहुन्छ भन्ने कुरा जानकारी भयो । त्यसपछि लुना प्रधानका दुवै छोरी योङ पिकासोमा भरना गरिए ।
अँ त, लुना प्रधान र रोमेन्द्र प्रधानका दुइटी छोरी छन् । जेठी छोरी रोजलिन हुन् भने कान्छी छोरी इन्द्रेणी हुन् । चित्रकलामा यी दुवैको रुचि उत्ति नै छ । दुवैले बुबाआमाको उत्तिकै माया र स्नेह पाएका छन्; साथ र हौसला पाएका छन् ।
अहिले यिनै जेठी छोरी रोजलिन सातोआकी स्मृति भवनको पुस्तकालयमा उभिएर क्यानभास रङ्गाउँदै छिन् ।
घरी घरी एउटा दुइटा कुरा सोध्दै मैले रोजलिनको कला नियालिरहेँ । रोजलिनको मामाघर दार्जिलिङ रहेछ । मामु लुना प्रधानले दार्जिलिङबाट नै आफ्नो एमएस्सीसम्मको शिक्ष पूरा गर्नुभयो । त्यसपछि दार्जिलिङमै कलेज पढाउन थाल्नुभयो । उहाँको वैवाहिक सम्बन्ध काठमाडौँका रोमेन्द्र प्रधानसँग भयो । विवाहपछि लुना काठमाडौँ आएर शिक्षण पेसामा आबद्ध हुनुभयो ।
दार्जिलिङसँगको सम्बन्ध सुन्दा मलाई लैनसिंह वाङ्देलको सम्झना भयो । उहाँ पनि उतै दार्जिलिङमै जन्मी हुर्की नेपाल आउनुभएको । उहाँ नेपाली साहित्य र कलाको सिद्ध पुरुष हुनुहुन्थ्यो । मैले दार्जिलिङका धेरै साहित्यकार र उहाँहरूका कृतिका बारेमा सुनेको छु; पढेको छु । मलाई लाग्यो- त्यही दार्जिलिङे कलाको प्रभाव परेको छ लुना प्रधान र उहाँका दुवै छोरीमा । र त, रोजलिन क्यानभासमा रङ मात्र होइन आफ्नो हृदय नै पोखिरहेकी थिइन् । जति जति कुची चल्दै गयो उति उति क्यानभास चम्कँदै गयो ।
मलाई भने उनीसँग कुरा गरौँ गरौँ लाग्यो र कुरा कोट्याएँ मैले ।
यति राम्रो आर्ट गर्ने रोजलिनको पढाइ चाहिँ कस्तो छ नि ?
पढाइ पनि राम्रै छ ।
पढाइ राम्रो कि चित्रकला ?
दुवै उस्तै उस्तै हुन् ।
रोजलिनले सहज र प्रस्ट जवाफ दिइन् । उनले कुराकानीका क्रममा पनि पेन्टिङ गर्न छाडिनन् ।
सेन्ट मेरिज स्कुलको कक्षा छमा अध्ययनरत रोजलिनले चित्रकला र पढाइलाई समानान्तर रूपमा अघि बढाएकी छिन् । उनी आफ्नो अध्ययन तथा गृहकार्य गर्नुका साथै बहिनीको पढाइमा पनि सहयोग गर्छिन् । उनलाई भान्साको काम गर्न पनि मनपर्छ । उनी मिठा मिठा खाने परिकार बनाउन सिपालु छिन् । फुर्सद हुँदा उनी भान्सामा मामुलाई सहयोग गर्न पुग्छिन् ।
लुना प्रधान कहिलेकहीँ भावनामा बग्नुहुन्छ र सुन्दर कविता सिर्जना गर्नुहुन्छ । आमा कवि, छोरी चित्रकार । आमाछोरीको यो सम्बन्ध निकै सुन्दर देखिन्छ ।
लुना आफ्नी छोरीका क्रियाकलापमा खुसी पनि हुनुहुन्छ । उहाँ आफ्नी छोरी आत्मनिर्भर बनुन्, उडेको चराझैँ स्वतन्त्र बनुन्, जहाँ गए पनि समायोजन हुन र गरिखान सकुन् भन्ने ठान्नुहुन्छ । अहिलेसम्मका क्रियाकलाप हेर्दा छोरी आत्मनिर्भर हुने कुरामा लुना ढुक्क हुनुहुन्छ । उहाँले ‘छोरी खाइदेऊ न’ भनेर खानमा बाहेक अरू केही कुरामा पनि रोजलिनलाई करकाप गर्नुपरेको छैन । उनी आफ्नो काम खुरु खुरु गरिरहन्छिन् । कला सिर्जना होस् या पढाइ रोजलिन मूल जरो समाएर नै गर्छिन् । त्यसले गर्दा पनि रोजलिनलाई जीवनमा आत्मनिर्भर बन्न तथा गरिखान कुनै समस्य नपर्ने पक्का छ ।
अन्तर्मुखी स्वभावकी रोजलिन थोरै बोल्छिन्; प्रस्ट बोल्छिन् । भविष्यमा के बनिएला ? के गरिएला भन्ने उनले निश्चय गरेकी छैनन् । उनको भित्री हृदयले कुशल चित्रकार बन्ने अठोट गरेको छ । त्यसैले त उनी दत्तचित्त भएर चित्रकलामा लागेकी छन् । कलाकी पारखी रोजलिन आफ्नो कलाले क्यानभास मात्र होइन सिङ्गो मानव जातिलाई नै सिँगार्न चाहन्छिन् । त्यसैले उनलाई फेसन डिजाइनर बनूँ बनूँ जस्तो पनि लाग्छ । राम्रा राम्रा फेसन डिजाइन गरूँ र धेरैभन्दा धेरै मानिसलाई सिँगारूँ भन्ने उनको चाहना छ । त्यसै गरी उनलाई मुटुको सर्जन बन्ने ठुलो रहर छ । मुटु मानव शरीरको मुख्य अङ्ग हो । मुटुले काम गर्न छाडेपछि मानव जीवन समाप्त हुन्छ । रोजलिन कुनै पनि मानिसले अकालमा मर्नु नपरोस्, सबैले लामो जीवन पाउन् भन्ने कामना गर्दछिन् । जे होस्, रोजलिनको हृदय मानवतावादी चेतनाले भरिएको छ । त्यसैले त उनी कहिले आफ्ना कलामार्फत मानिसको हृदय शान्त पार्न चाहन्छिन्; कहिले मानिसलाई कलाले नै सिँगार्न चाहन्छिन् र कहिले मानिसको जीवन रक्षाका लागि रातदिन खट्ने डक्टर बन्न चाहन्छिन् ।
आफ्ना विभिन्न रुचिमध्ये अहिले रोजलिनले कला सिर्जनालाई विशेष महत्त्व दिएकी छिन् । त्यसैले उनी हरेक शनिबार योङ पिकासो गएर गुरुसँग चित्रकलामा निखार ल्याउने सिप सिक्छिन् । फुर्सदमा सिसाकलम लिएर चित्र बनाइरहन्छिन् । मोबाइल हेर्दै घन्टौँसम्म चित्रकलामा हराइरहन्छिन् । निरन्तरको मिहिनेतका कारण उनले सयौँ चित्र बनाएकी छिन् । ती चित्रकला मामु लुना प्रधानले जतन गरी राखिदिनुभएको छ ।
“नानी आज यो पेन्टिङ बनाइ सक्छ्यौ त ?” मैले कुराकानीको सिलसिला जोडेँ ।
“अहँ, सक्दिनँ नि । धेरै समय लाग्छ ।” शान्त भावमा जवाफ दिइन् रोजलिनले ।
मलाई रोजलिनको पेन्टिङ मनभरि सजाउन मन छ । तर, आज त्यस पेन्टिङले पूर्णता पाएन । हृदयलाई सम्हाल्दै अर्को हप्ताको प्रतीक्षा गरेँ । नभन्दै अर्को हप्ता आयो आज बनेर । अगिल्लो हप्ताझैँ रोजलिङको कुची क्यानभासमा दौडन थाल्यो । ‘आहा ! झनै राम्रो !’ मैले सोचेभन्दा राम्रो भएछ । उनले घरमा पनि पेन्टिङलाई पूर्णता दिने प्रयत्न गरिछिन् । मेरा लागि त त्यस पेन्टिङले पूर्णता पाइसकेको थियो तर कलाकारका आँखाले अर्कै सौन्दर्य खोज्दा रहेछन्, सागरको गहिराइमा मोती खोजेझैँ ।
“यति राम्रा चित्र बनाउँदिरहिछ्यौ । कुनै एक्जिबिसनमा भाग लिएकी छ्यौ ?”
“अहँ, भाग लिएकी छुइनँ । मलाई त्यस्ता कार्यक्रममा भाग लिन डर लाग्छ । मान्छेले के भन्छन् भन्ने लाग्छ । मैले चित्रकलामा सिक्नुपर्ने कुरा अझ धेरै छन् । योङ पिकासोमा आउनुभन्दा पहिले त म पनि राम्रै चित्र बनाउँछु, राम्रै चित्रकार भइसकेँ भन्ने लाग्थ्यो । अहिले त त्यसो होइन रहेछ । मैले अझै राम्रा चित्र बनाउन सिक्नुपर्ने रहेछ भन्ने लाग्छ ।” गम्भीर कुरा गरिन् रोजलिनले ।
यो सानो उमेरमै कति गरम्भीर कुरा गर्न जानेकी रोजलिनले । कामप्रतिको कति गहिरो लगाव ! कति धैर्य ! म केही गर्छु; म सक्छु भन्ने दृढ इच्छा शक्ति ! यी धैर्य, लगाव र दृढ इच्छा शक्ति रोजलिनका गहना हुन्; औजार हुन् र सफलता प्राप्त गर्ने सामर्थ्य हुन् । उनी आफ्नै सामर्थ्यमा रमाउन् । आत्मनिर्भर बनुन्; पङ्ख फुका चरीझैँ निलो आकाशमा अनन्त उचाइ चुमुन्; यही शुभकामना छ रोजलिन तिमीलाई ।
लेखकको सम्वन्धमा