मेरो कलम
केवल तीन अक्षरले बनेको शब्द हो कलम । आकारमा खिरिलो, सानो तर गहन भाव र जिम्मेवारी झल्काएको हुन्छ कलमले । मलाई आकाश छुन सिकाउँछ, जून बन्नुपर्छ है भन्छ । कथा, कविता लेखेर सुनाउनुपर्छ है भन्छ कलमले ।
बाले बिहान बेलुका दिन रात नभनी कमाएको केही पैसा मेरो कलमकै लागि खर्चिनुहुन्छ । हाँस्दै रमाउँदै कलम किनेर झोलामा किताब कापीको छेवैमा राखेर विद्यालय जान्छु म । मेरा धेरै साथीहरू छन् । खेल्नको धुनमा अकस्मात् कलम हराउँछ । “कलम देख्यौ त” भनी साथीलाई सोध्छु । मनमनै भन्छु, “मेरो कलम कत्ति हराउँछ ।” फेरि घरमा बासँगै गुनासो पोख्छु, “बा आज कलम हरायो ।” बा बिस्तारै निन्याउरो मुहारमा भन्नुहुन्छ, “ठिकै छ म अर्को कलम किनिदिन्छु । अब नहराऊ । निर्दोष साथीहरूलाई दोष पनि नलगाऊ। आफ्नो कलम आफैँ जतन गर है ।” यो चौथो पटक थियो । अब मैले कलम नहराउने वाचा गरेँ । मुस्कुराउँदै बालाई अङ्कमाल गरेँ ।
मख्ख पर्दै कलमले कविता लेख्न थालेँ । सगरमाथाको शिखरमा टेक्न सक्ने सपना देख्न थालेँ । आहा ! कस्तो राम्रो लेख्ने मेरो कलम ! राजकुमार र राजकुमारीको कथा लेखेँ । मनमनै आमाले कथामा भन्ने झैँ वायुपङ्खी घोडाको चित्र कोर्न थालेँ । बिहान म मैले देखेका स्वर्णिम सपना मेरै कलमले लेख्दै थिएँ । गाउँको सानो झुपडीबाट जून र तारा देख्दै थिएँ । मलाई गन्तव्यमा पुऱ्याउनुपर्छ है भन्दै कलमसँगै गुनासो पोख्दै थिएँ । मेरो कलम मलाई दौडाउँदै थियो । गहकिला, रमाइला शब्द मलाई मोडहरू पार गराउँदै थिए । मेरो मात्र होइन, बरु बाका सपनालाई पनि साकार बनाउने अठोट लिएर अगाडि लम्किदै थियो मेरो कलम ।
लेखकको सम्वन्धमा