September 15, 2024, Sunday
२०८१ भाद्र ३०, आईतवार

मनन गरौँ

म सानो हुँदा, रोग के हो ? कसरी लाग्छ ? भन्ने कुराको ज्ञान कत्ति पनि थिएन । त्यही म आज दर्दनाक रोगसँग लड्ने शक्ति दिनुस् है भगवान् भनी दिनरात रुँदै छु । हिजोसम्म बिराना लाग्‍ने आफन्तहरू, छरछिमेकीहरू आज रोगबाट ग्रसित बनेको समयमा मेरा लागि सर्वस्व बनेका छन् । नौ नौ महिनासम्म कोखमा राखी ‘जन्माउने मेरी आमा र मेरा सदाबहार इच्छा पूरा गर्न लागिपर्ने बुवाको बुढेसकालमा सहारा बनौँला भनेको आफैँ पो रोगी बने छु । मलाई बचाउन भनेर अहिले दिनरात उहाँहरू छट्पटाउनुहुन्छ ।

मरेपछि के हुन्छ होला है ? यो सोचले सदैव मलाई पिरलेको छ । यस्तै सोचमा म टोलाइरहन्छु । यस्तो लाग्छ, म दिनहुँ मृत्युको परिधिलाई छोएर फर्कँदै छु । 

मेरो मरणपछि डाँको छोडी आमा रुँदिहोलिन्, बुवाले सायद पिर व्यक्त नगर्नुहोला, दिदीले मेरो लास हेर्न नसक्लिन् । अनि मेरा ती झगडाका कृत्यबिना भाइ कसरी बाँच्छ होला ? मुख्य कुरो समाजले के गर्छ होला ? यिनै प्रश्नको उत्तर खोज्दै मेरो दिनचर्या बित्‍न थालेको धेरै भयो । अनुत्तरित यी प्रश्नले भरिएको छ मेरो मगज । आज म मेरो भारी मगजलाई चिरफार गर्ने सन्दर्भमा छु । 

मृत्यु सत्य हो जुन अद्भुत छ । कहाँ, कसरी, कति, कुन बेला मानिसको प्राण अलप भएर अग्निको तापसँगै दनदनी बलेर खरानी हुन्छ; कसैलाई पत्तो नै हुँदैन । मान्छेको मृत्यु भएपछि उसका घरमा पक्कै पनि आफन्त तथा छरछिमेकहरू भेला हुन्छन् । उनीहरू आँसु झार्दै ग्वाँ ग्वाँ रुन्छन् । उसको आनीबानी, आचरणका कुरा हुन्छन् । जति गरे पनि उसको जीवन फर्कँदैन न त उसका व्यतीत दुःख नै फर्कन्छन् । त्यो विगत भइसक्छ, वर्तमानभन्दा धेरै टाढा भइसक्छ । अब उसको जीवन र पीडाहरू स्मरण मात्र बन्छन् । 

ओछ्‌यान परेका बेला आमाबालाई ‘के भयो ?’ भनी सोध्‍न आउने छिमेकका कैयौँ प्रश्न र स्वजनका विचलित मानसिकतासाथा आएका ‍फोनले बिरामी परेको बेला अझ झर्को थप्दोरहेछ, मन धुरु धुरु रुवाउँदो रहेछ । राम्रैका लागि हालखबर सोधिन्छन् होला । तर, ती सोधाइसँगै आवेग झल्किँदो रहेछ । आफूलाई पटक पटक पीडा भएका बेला, भित्रै घाउ बल्झिए जस्तो, त्यो आङ नै चिरा चिरा भएर बिस्फोट हुने जस्ता विविध समस्या महसुस हु्ँदा रहेछन् । जस्तासुकै पीडाका जलनमा आमा मायाको मलम लगाउन सक्छिन् । सन्तानको विवश स्थिति देख्दा कुनै मातापिता खुसी बाड्दै हिँड्न सक्दैनन् । कसैले आफ्नो नयनको अघि सन्तानको मृत्यु हुन आँट्दा जनार्दनलाई पुकार्दैनन् र ? 

वास्तवमा जीवन बुझाइको एउटा प्रक्रिया रहेछ; एउटा नाटक रहेछ । अनि, हामी त्यस नाटकका पात्रहरू रहेछौँ । हामी जीवनको यात्रालाई विविध परिस्थितिबाट नियाल्छौँ र बुझ्‍ने प्रयास गरिरहन्छौँ । मरण कस्तो हुन्छ ? केबल मर्नेलाई थाहा छ । मृत्यु किन हुन्छ ? त्यो त विधिको विधान होला । त्यसैले त यसलाई कसैले टार्न सक्दैन । त्यो मसानघाट पुग्‍ने पालो धनी, गरिब, शक्तिशाली, अशक्त सबैको अवश्य आउँछ ।

आफूलाई पीडा हुन्छ । तर, त्यो पीडा आमा महसुस गर्छिन् । आमाका स्पर्शले मात्र हाम्रा पीडा पखालिन्छन् । घरका कुनामा आँसुसँगै बगाउँछिन् उनी आफ्ना पीडा । सम्हाल्छिन् आफूलाई र परिवारलाई । त्यस बखत सायद सन्तानको सान्वनाभन्दा साडीको सप्को उनका लागि ठुलो साथ हुन्छ । त्यस्ती माया र करुणाकी खानी; ममताकी दानी आमाको हात च्याप्प समाउँदै सुम्साउन चाहन्छु सधैँ सधैँ। 

मलाई अत्यास लाग्छ- सन्तानले आमाबाको निधनको खबर सुन्दा कस्तो परिवेश होला ? बिरानो सहरमा बसी जीविका चलाएका सन्तानमाझ एक्कासी बाआमाको निधन भयो भनी समाचार आउँदा ती सन्तानको हालत के हुन्छ ? कसले उनीहरूलाई सम्हाल्छन् ? कसले आमाझैँ ममता दिन्छन् ? बुवाझैँ जिम्मेवार र परिपक्‍व बनाउँछन् ?

सानीआमा, ठुलीआमा आमाकै दोस्रो रूप हुन् भनी जति वकालत गरे पनि आफ्नी आमा नै महान् हुन्छिन् । सुन्दा नमिठो लाग्ला तर यो सत्य हो । यति भन्दै गर्दा समाजमा सम्पतिलाई नै सर्वस्व ठान्ने सन्तान पनि हुन्छन् । तिनलाई आमाबाको मृत्युले केही फरक पर्दैन । त्यसैले त धनको मोहमा आमाबाप्रतिको आदर, ममता फिका हुँदै गएको महसुस गर्छ मेरो एउटा मन ।

भनिन्छ, आँसु र खुसी मानिसले लुकाउन सक्दैन । तर, कोही सन्तानको आमाबाकै शोकमा आँसु झर्दैन, किन होला ? पक्कै पनि उनीहरू संवेदनशील छैनन् भन्नुहोला, आमाबा जीवनदाता हुन्, पथप्रदर्शक हुन्, जीवनका अनुयायी हुन, घरका धरोहर हुन्, जति नै आमाबाको तिरस्कार गरे पनि आमाबाको माया सन्तानको लागि अनन्त छ ।

भोलिको कुरा कसलाई के थाहा छ ? कतै म जस्तै रोगले ग्रसित भएर मृत्यु शय्यामा छटपटाउनु त नपर्ला ! पर्‍यो भने ? त्यस बेला मायाममता सिञ्‍न गरिरहेने त उनै आमाबा नै हुन्, होइन र ? रोग लागेर समयमै उपचार हुन नसक्दा थुप्रै मानिसहरूले दिनहुँ ज्यान गुमाइरहेका हुन्छन्; पीडामा छटपटाइरहेका हुन्छन् । एउटा घरको मजबुत खम्बा (छोराछोरी) र घरका धरोहर (आमाबा) जसको मृत्यु हुँदा पनि घर शून्य हुन्छ, समय हुँदा हामी केही कुराको महत्त्व बुझ्‍न सक्दैनौँ । अनि समय बितिसकेपछि त्यो कुरा आवश्यक पर्दै जान्छ । जति नै रुमानी दुनियाँमा भौतारिए पनि आमाबाकै छत्रछाया न्यानो हुन्छ । खराब सङ्‌गतमा लागेको आभास हुन्छ । यो कुरा बेलैमा मनन गरौँ । आफ्ना मातापिताले दिएको अर्ती उपदेशको पालना गरौं । जीवन अमूल्य छ; यो कुरा सधैँ मनन गरिरहौँ ।