January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

मनसुन

सारा देश त्रिशूलीमा केन्द्रित छ
त्यहीँ डुबेका छन् सयौँका हजारौँ सपनाहरू
अत्तोपत्तो छैन अहिलेसम्म
न लासको न सासको
यो मनसुनले च्वाट्टै चुडेको छ मुटु
छिया-छिया भएको छ छाती
बाढीपहिरोले उत्सव मनाउँदै छ यत्रतत्र
हामीलाई पीडा दिएर, दु:ख दिएर
कैयौँका घर उजाडेर
कैयौँका सिउँदो पुछेर
देश शोकमा छ
हामी अझै आशावादी छौँ
त्रिशूलीले निलेका ती आफन्तको सास अझै छ
मुटु धड्किँदै छन्

व्यग्र प्रतीक्षामा छन् उद्धारका लागि
तर,
अझै ताण्डव देखाइरहेको छ मनसुनले ।

जसको ध्यान उद्धारका लागि हुनुपर्थ्यो
हो तिनै स्यालहरू
संसद् भवन नामको रङ्‍गमञ्चमा
कुर्सीलाई हड्डी बनाएर
एउटा नौटङ्‍गी खेल खेल्नमै व्यस्त छन्
देश कता मोडियो थाहा छैन
जनताहरू कहाँ भासिए थाहा छैन
आज आफ्नै जनताहरू त्रिशुलीमा डुबेका छन्
आफन्तहरू रोइरहेका छन्
तर,
हामीले नै जिताएर संसदमा पठाएकाहरू
साँच्चिकै भेडा जस्तै बनेका छन्
आँखामा कुर्सीकै पट्टी बाँधेर अन्धा भएका छन्
कानमा लालची पदको कपास कोचेर
बहिरा भएका छन्
कसले सुनोस् हाम्रो चीत्कार ?
न मनसुनले सुन्छ
न संसद् भवनले
कठै ! मेरो देश !