December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार

चित्रकला र मनोविज्ञानको संयोजन गर्न चाहने समीक्षा

शिक्षण कला हो । कला कलात्मक हुनुपर्छ; आकर्षक हुनुपर्छ; आहा ! भन्ने हुनुपर्छ । कलालाई साधन र साध्य दुवै हुन सक्नुपर्छ । सबै शिक्षकमा कला नहुन सक्छ; विषयवस्तु प्रशस्त भए पनि कलाबिनाको शिक्षण कहीँ न कहीँ चुक्न सक्छ । कलासहितको शिक्षण साँच्चै आकर्षक हुन्छ; जीवन्त हुन्छ । कलाचेत भएका शिक्षक सफल शिक्षक बन्न सक्छन् ।  समीक्षा भट्ट कलाचेत भएकी शिक्षक हुन् । 

हुन त समीक्षा भट्ट भर्खर किशोरावस्था पार गरेकी विद्यार्थी पनि हुन् । अहिले उनी सेन्जेबियर्स कलेज, माइतिघरमा मनोविज्ञान विषय लिई स्‍नातक तह अध्ययन गर्दै छिन् । बिहान आफू पढ्न र दिउसो साना बालबालिकालाई पढाउन जाने उनको नित्यकर्म छ । समीक्षा कक्षामा विद्यार्थीसँग खुलेर कुरा गर्छिन् । त्यसैले गर्दा पनि विद्यार्थी उनलाई अलि बढी रुचाउँछन् । बिनासङ्‍कोच आफ्ना कुरा सुनाउँछन् । कक्षामा पढानुभन्दा पहिले उनी बोर्डमा एउटा आकर्षक चित्र बनाउँछिन् । त्यससँग सम्बन्धित विचार लेख्छिन् । लेखिएको विचार र बनाइएको चित्रबाट विद्यार्थीहरू आकर्षित हुन्छन्; पढाइप्रति अभिप्रेरित हुन्छन् । यो चित्रकलासम्बन्धी ज्ञानले पनि उनी प्रिय शिक्षक बन्न सकिन् । कहिलेकहीँ समीक्षाले चित्र बनाउन छुटाइन् भने विद्यार्थीहरू नै उनलाई सम्झाउने गर्छन् ।  

समीक्षा राम्रा चित्र बनाउँछिन् । उनको चित्रकलाले धेरैको मन आकर्षित गर्न सक्छ ।  ५/६ वर्षकै उमेरदेखि उनमा चित्रकलासम्बन्धि रुचि थियो । सायद पारिवारिक पृष्ठभूमिबाट नै उनमा यो रुचि जागेको हुनुपर्छ । उनका साहिँला काका प्रेम भट्ट राम्रै चित्रकार हुनुहुन्थ्यो । उहाँले चित्रकलालाई नै पेसा बनाउने विचार गर्नुभएको थियो । परिस्थिति उहाँले सोचेजस्तो भएन; चित्रकला उहाँको पेसा बन्न सकेन । तथापि काकाको चित्रकलाप्रतिको रुचिबाट आफू प्रभावित भएको कुरा समीक्षा स्विकार्छिन् । कलाप्रति रुचि भएर मात्र हुँदैन रहेछ; त्यसलाई निखार्न कुशल गुरुको आवश्यकता पर्दोरहेछ । त्यसैले समीक्षा आफ्नो कलामा निखार ल्याउन योङ पिकासोमा भरना भइन् र अजय गुरुको मार्गनिर्देशन लिँदै कलाकारितामा उत्कृष्टता हासिल गरिरहेकी छिन् ।

चित्रकलामा समीक्षालाई तैल चित्र बढी मन पर्छ । त्यसमा पनि उनी प्रकृतिको चित्र बढी मन पराउँछिन् । उनले अहिलेसम्म त्यस्ता चित्र बनाएकी त छैनन् । अबको उनको चित्रकारिता त्यतैतिर लम्कने सुरसारमा छ ।  

हुन त समीक्षा इन्जिनियर बन्न चाहन्थिन् । त्यही भएर उनले विज्ञान विषय लिएर कक्षा १२ उत्तीर्ण गरिन् । उनका बुबा केशव भट्ट विज्ञान विषय नै प्राध्यापन गर्नुहुन्छ । त्यसले गर्दा समीक्षालाई विज्ञानकै क्षेत्रमा अघि बढ्न अझ सहज हुने देखिन्छ । तर,  उनले कोभिडकालमा धेरै मानिसहरूलाई मानसिक रूपमा पीडित भएको पाइन् । यस्तो अवस्थामा कुशल मनोपरामर्शदाता चाहिन्छ भन्ने उनलाई लाग्यो । म आफैँ मनोविज्ञान पढ्छु; मानसिक समस्यामा भएका मानिसहरूलाई उचित परामर्श दिन्छु र उनीहरूका अनुहारमा खुसी ल्याउँछु भन्ने विचार उनका हृदयमा अङ्कुरायो । त्यसैले उनी मनोविज्ञान पढ्न थालिन् । 

उनी कला र मनोविज्ञान एकअर्कामा सम्बन्धित हुन्छन् भन्ने ठान्छिन् । हुन पनि व्यक्ति आफ्नो मनोदशाअनुसारको कला सिर्जना गर्छ । अनि, कला देखेर आफ्नो मनोभाव प्रकट पनि गर्छ । त्यसैले समीक्षा आफ्नो पेसामा कला र मनोविज्ञानको सम्मिश्रण गर्न चाहन्छिन् । आज पेसागत जीवनका प्रारम्भिक चारणमै उनले यो सिप देखाउन थालेकी छन् ।  

आज समाजमा अनेक प्रकारका मनोरोगहरू बढ्न थालेका छन् । अटिजम, इन्जाइटी, डिप्रेसन आदि गम्भीर समस्या बन्दै गएका छन् । यस्ता समस्या समाधान गर्न मनोविज्ञानको ज्ञन त चाहिन्छ नै त्यसका साथै कला पनि भए सुनमाथि सुगन्छ हुन्छ । समीक्षा भविष्यमा अटिजम भएका बालबालिकाका लागि एउटा राम्रो केयर सेन्टर सञ्‍चालन गर्न चाहन्छिन् । त्यसैले पनि उनी मनोविज्ञान र चित्रकलालाई सँगसँगै अघि बढाइरहेकी छिन् ।

आजको समाजमा आपराधिक क्रियाकलाप पनि बढ्दा छन् । कतिपय व्यक्तिहरू अपराध गर्ने अनि कानुनी कारवाहीबाट बच्‍नका लागि मानसिक सन्तुलन बिग्रेको अभिनय गर्ने गर्दछन् । कसैको मानसिक सन्तुलन साँच्चै बिग्रेको हो वा उसले अभिनय मात्र गरेको हो भन्ने कुरा बुझ्‍ने काम फरेन्सिक साइकोलजिस्टले गर्छन् । समीक्षा फरेन्सिक साइकोलजिस्ट बन्न चाहन्छिन् । समयसँगै उनमा पेसाप्रति फरक विचार आउन सक्छ । उनका सामुन्ने पेसाका अनेकौँ विकल्प हुन सक्छन् । जुन पेसा अपनाए पनि कला र मनोविज्ञानका माध्यमबाट समीक्षा पेसागत दक्षता हासिल गर्न चाहन्छिन्; उनमा त्यो चाहना पूरा गर्न सक्ने सामर्थ्य छ । यसको प्रमाण उनको शैक्षणिक क्रियाकलापबाट नै पाउन सकिन्छ । 

आफ्नो सामर्थ्य के हो ? र त्यसलाई  कसरी उपयोग गर्न सकिन्छ ? भन्ने राम्रो चेतना समीक्षामा देखिन्छ । उनका विचारमा आफ्ना भावना व्यक्त गर्ने सबैभन्दा राम्रो माध्यम कला हो । अटिजम भएका बालबालिकाहरूसँग व्यवहार गर्नका लागि पनि कला अत्यन्तै उपयोगी हुन्छ । आर्टथेरापीका माध्यमबाट उनीहरूको मानसिक अध्ययन गर्न सकिन्छ । अटिजम भएका बालबालिकालाई  चित्रकारले बनाएका चित्र देखाई त्यस्तै चित्र कागजमा कोर्न लगाउने र त्यो कोराइ हेरी उनीहरूको मनोअधययन गर्न सकिन्छ । 

समीक्षाको अर्को कला कथावाचन हो । उनी प्रायः बालबालिकालाई कथा सुनाउने गर्छिन् । कथा सुनाउँदा पात्रानुकूलको हाउभाउ र आवाज निकाल्न उनी सिपालु  छिन् । यस कलाले गर्दा उनको कथावाचन आकर्षक हुन्छ । उनका श्रोताहरू उनीसँग नजिकिन्छन् र कुनै न कुनै माध्यमबाट मनका कुरा अभिव्यक्त गर्दछन् ।

समीक्षा आफ्नो पेसा, विश्वविद्यालयको शिक्षा र कलासम्बन्धी सिपको त्रिकोणात्मक पक्षलाई समानान्तर रूपमा अघि बढाइरहेकी छिन् । अर्थात् उनी विश्वविद्यालयबाट मनोविज्ञान र योङ पिकासो तथा स्वसाधनाबाट कला सिकिरहेकी छिन् । त्यो सिपलाई विद्यालयको शिक्षणका क्रममा प्रयोग पनि गरिरहेकी छिन् । यसरी कलिलो वयदेखि नै आफ्नो पेसामा चित्रकला र मनोविज्ञान सम्मिश्रण गर्ने अभ्यास गरिरहेकी समीक्षा भविष्यमा कला, मनोविज्ञान र आफ्नो पेसामा सफल बन्छिन् भनी सजिलै पूर्वानुमान गर्न सकिन्छ ।