July 20, 2024, Saturday
२०८१ श्रावण ६, आईतवार

पहिचानको खोजीमा राजन ठाकुर

राजन ठाकुर रेखादेवी र रामभरोस ठाकुरका छोरा हुन् । २०६६ साल माघ एक गते महोत्तरीमा जन्मिएका राजन अहिले काठमाडौँको कौटिल्या ग्लोबल स्कुल, कक्षा आठमा पढ्दै छन् । रोजीरोटीका सिलसिलामा बिदेसिने बुबा र सानोतिनो व्यवसाय सञ्‍चालन गरिरहेकी आमाले राजनको भविष्य उज्ज्वल बनाउने सपना देख्‍नुभएको छ । बुबाआमाको आशाभरोशाअनुसार नै राजन पनि मिहिनेत गरिरहेका छन् ।

राजनको पढाइ राम्रै छ । पढाइभन्दा राम्रो उनको चित्रकला छ । उनी चित्रकलामा नै आफ्नो पहिचान खोजिरहेका छन् । त्यसैले अझ राम्रा चित्र बनाउन उनी प्रयत्नशील छन् । चित्रकलामा उनी सेडिङ, मेजरमेन्ट र स्केच गर्न सिपालु भइसकेका छन् ।

राजन एक दुई कक्षा पढ्दादेखि नै चित्र बनाउँथे । उनले मोबाइलमा हेरेर चित्र बनाउन सिकेका हुन् । उनी चार कक्षामा पढ्दा विद्यालयले ‘पिस’ शीर्षकको एउटा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा राजनले एउटा ह्वेलले एउटा टापु हेरिरहेको चित्र बनाएका थिए । यो चित्र उक्त प्रतियोगितामा प्रथम भयो । यही क्रममा उनको भेट अजय सरसँग भयो । उहाँले त्यो चित्र इटली पठाउनुभयो । त्यसपछि उनमा चित्रकलाको रुचि अझ बढ्न थाल्यो ।

केही समयपछि पाटन म्युजियममा योङ पिकासोले चित्रकला प्रदर्शनी आयोजना गर्‍यो । त्यस प्रदर्शनीमा राजन पनि सहभागी हुने भए । उनले निकै मिहिनेत गरेर एउटा ड्रयागनले शान्ति खोजिरहेको चित्र बनाए । त्यस चित्रको मूल्य पाँच हजार राखिएको थियो । एक जना अस्ट्रेलियन नागरिकले त्यो चित्र खरिद गरे । चित्र बिक्दा राजन अति नै खुसी भए । उनी त्यस प्रदर्शनीमा सम्मानित पनि भए । साम्मान र चित्र बिकेको पैसा पाएर फुरुङ्‍ग हुँदै उनी घरतिर लागे । राजनले थोरै भए पनि सहयोग होला भनी त्यो पैसा आमालाई दिए । आमाले अहिले मलाई चाहिएको छैन; तिमी नै राख भन्नुभयो । आमाबुबा नै राजनको यो पहिलो कमाइ देखेर धेरै खुसी हुनुभएको थियो । राजनलाई म्युजिकमा पनि रुचि थियो । त्यसैले उनले केही दिनमै आफूले कमाइको पैसा खर्च गरेर एउटा गिटार किने ।

आफ्नो कला बिकेका कारण राजन चित्रकलामा अझ उत्साहित भए । चित्रकलामा निखार ल्याउने उद्देश्यले उनी कक्षा सात पढ्दादेखि योङ पिकासोमा भरमा भएर अजय सरसँग नियमित रूपमा चित्रकला सिक्न थाले । उनी अहिले पनि हरेक शनिवार योङ पिकासो पुगेर चित्रकलाको अभ्यास गरिरहन्छन् । अहिले त उनले भविष्यमा एउटा राम्रो आर्टिस्ट बन्ने र आर्टकै व्यापार व्यवसाय गर्ने मिठो सपना मनभरि साँचिसकेका छन् । त्यहीअनुसार मिहिनेत पनि गरिरहेका छन् ।

राजनलाई दृश्यावलोकन गर्दै चित्र बनाउन मनपर्छ । अजय सरले विद्यार्थीहरूलाई विभिन्न स्थानमा लगेर दृश्यावलोन गराउने गर्नुभएको छ । त्यस्ता अवसरमा राजन पनि सहभागी हुन्छन्; पुगेको ठाउँ राम्ररी नियाल्छन्; मन छुने विषयवस्तु  टप्प टिप्छन् र सुन्दर चित्र बनाउँछन् । उनका चित्रकलाका विषय कहिले ढुङ्‍गेधारा हुन सक्छन् कहिले मन्दिर । कहिले अरू नै विभिन्न विषयमा पनि उनले चित्र बनाउने गरेका छन् ।

जुनसुकै विषयलाई जब राजन हृदयबाट नियाल्छन् अनि उतार्छन् जीवन्त चित्र; मनमोहक चित्र । उनले बनाएका केही चित्रमा त जीवन्त चित्रकारिता पाइन्छ; सफल चित्रकारको छनक पाइन्छ ।

पहिले पहिले राजन कराँते पनि खेल्थे । विद्यालयमा आयोजित कराँते टुर्नामेन्टमा उनी पुरस्कृत पनि भएका छन् । अहिल पनि राजनलाई कराते खेल्न उत्तिकै रुचि छ । तर, कतिपय रुचिहरू पूरा नहुँदा रहेछन् । राजनको कराते खेलप्रतिको रुचि पूरा नहुने देखिन्छ । खुट्टामा लागेको चोटका कारण उनले कराते खेल्न छाडेका छन् । भोलिका दिनमा अनुकूल परिस्थिति बन्दै गयो भने यस खेललाई निरन्तरता दिने उनको सोच छ ।

मान्छेका धेरै रुचि हुन सक्छन् । ती सबै पूरा हुनपर्छ भन्ने छैन । समयको माग र आफ्नो क्षमताअनुसारको रुचिलाई निरन्तरता दिने हो भने मान्छे पक्कै सफल बन्न सक्छ । वर्तमान समयले राजनसँग चित्रकला र अध्ययनमा मिहिनेत र लगनशीलता बढाउन माग गरिरेहको जस्तो देखिन्छ । त्यसैले यिनै दुई क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने आफ्नो पहिचान भेट्न राजनले धेरै कुर्नु पर्दैन ।