January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार

सफलताका लक्षण देखाउँदै : प्राप्ती कुँवर

प्राप्ती कुँवर अहिले सेन्जेबिर्स स्कुल, गोदाबरीको छ कक्षामा पढ्छिन् । २०७० मङ्सिर ५ गते चापागाउँ, ललितपुरमा जन्मिएकी प्राप्तीको पढाइ राम्रो छ । उनका  विद्लयमा प्रथम, द्वितीय छुट्याउने चलन छैन । उनी भन्छिन्, “त्यस्तो चलन भए प्रथम, द्वितीय नै हुन्थेँ कि !” शिक्षकहरू उनलाई राम्रै विद्यार्थी ठान्नुहुन्छ र माया पनि गर्नुहुन्छ । त्यसले गर्दा पनि पढाइमा उनको रुचि झन् झन् बढ्दो छ ।
प्राप्ती कोर्सका किताब मात्र पढ्ने होइनन्; कोर्सबाहिरका किताब पढ्न पनि उत्तिकै रुचाउँछिन् । विद्यालयमा फुर्सद हुँदा उनी पुस्तकालय गएर पढ्ने गर्छिन् । उनले नापाली र अङ्‍ग्रेजी भाषामा लेखिएका कोर्सबाहिरका थुप्रै पुस्तक पढेकी छिन् । तीमध्ये Dork diaries उनलाई मनपर्ने पुस्तक हो ।

प्राप्तीलाई चित्रकला असाध्यै मनपर्छ । त्यसैले त उनी प्राय चित्रकलाको अभ्यास गरिरहन्छिन् । यसका लागि उनले परिवारबाट पनि राम्रो साथसहयोग पाएकी छिन् । भौतिक सुविधा मात्र दिएर बालबालिकालाई पुग्दैन; उनीहरूलाई असल बाटामा हिँडाइरहन र सफल बनाउन अभिभावकले समय पनि दिनुपर्छ । प्राप्तीका अभिभावकले प्रप्तीलाई चाहिँदो समय दिनुभएको छ । त्यसैले त उनमा सफलताका लक्षण देखिन थालेका छन् । बुबा पूर्ण बहादुर कुँवर हरेक शनिबार बिहान प्राप्तीलाई लिएर योङ पिकासोमा पुग्नुहुन्छ । करिब दुई घण्टा छोरीको मिहिनेत हेर्नुहुन्छ । सिसाकलम र रङका सहायताले छोरी चित्र उजिल्याउँछिन्; छोरीको लगनशीलता देखेर बुबाको अनुहार उजेल्लिन्छ ।

हुन त प्रप्ती दुई कक्षादेखि नै चित्र बनाउँथिन् । त्यस वेला उनले स्कुलमै चित्र बनाउन सिकेकी थिइन् । तर ती चित्र त्यति राम्रा थिएनन् । कक्षा चारमा पुग्दा उनले एउटा राम्रो चित्र बनाइन् । त्यो देखेर बाबा खुसी हुनुभयो । उहाँले चित्र र चित्रकार दुवैलाई प्रशंसा गर्नुभयो । अवसर पाउने हो भने छोरीले चित्रकारितामा आफ्नो पहिचान बनाउन सक्छिन् भन्ने बाबालाई लाग्यो । त्यसैले उहाँले चित्रकला सिक्नका लागि योङ पिकासोमा भरना गरिदिनुभयो । त्यसपछि उनी हरेक शनिवार योङ पिकासोमा आएर चित्र बनाउन थालिन् । त्यहाँ अजय सरले उनलाई फुरुक्क पार्नुहुन्छ । खुसी भएर काम गर्दा समय बितेको पत्तो हुँदैन रहेछ; एकाग्र भएर चित्र बनाउँदा बनाउँदै दुई घण्टा बितेको प्राप्तीलाई थाहै हुँदैन ।


प्रप्ती कहिले वाटरकलर गरेका पोट्रेट चित्र बनाउँछिन् । कहिले करुवाका स्केच गर्छिन् र त्यसलाई कल्पनाले सिँगार्छिन् । उनी कहिलेकहीँ इन्टरनेटमा हेरेर पनि चित्र बनाउँछिन् । कहिले उनले कल्पना गरेर बनाएका चित्र पनि आकर्षक हुन्छन् ।

प्रप्ती प्रकृतिका सुन्दर दृश्यको पेन्टिङ बनाएर कहिल्यै अघाउँदिनन् । एकाग्र भएर उनको कुची चलिरहन्छ र प्रकृतिको सौन्दर्य पोखिन्छ उनका क्यानभासमा । उनी रमाउँदै भन्छिन्, “आहा कति राम्रो जुनेली रात ! कस्तो राम्रो प्रकृति !”

प्राप्तीमा चराहरूको जीवन्त चित्र उतार्ने कला पनि छ । पात, हाँगा र चरामा प्रयोग भएको फरक फरक रङले रूखका हाँगामा बसेका जोडी चराको साँच्चै आकार्षक चित्र उतार्छिन् प्राप्ती ।

बालबालिकालाई पान्डा मनपर्छ । उनीहरू पान्डाका गुडियाहरू खेलाउन रुचाउँछन् । रमाई रमाई पान्डाका चित्र बनाउन चाहन्छन् । दश बर्से बालिका प्रप्तीमा पनि बाल सुलभ गुण छन् । उनी पनि रमाउँदै पान्डाका सुन्दर चित्र बनाउँछिन् ।

चित्रकलाको डटविधिमा उनी सिपालु छिन् । यस विधिमा उनले बनाएका मुहार अङ्‍‌कित चित्रहरू कुनै प्रौढ चित्रकारले बनाए जस्तै देखिन्छन् ।

प्राप्तीलाई देवीदेवतामा विश्वास छ । त्यसैले उनी विभिन्न देवताका पनि चित्र बनाउने गर्छिन् ।

यति राम्रा चित्र बनाउने प्रेरणा कसले दिनुभयो भन्दा प्राप्ती आमालाई सम्झिन्छिन् । आमा प्रतिभा सुएल छोरीलाई हौसला दिन साह्रै सिपालु हुनुहुन्छ । प्राप्तीले बनाएका चित्र हेर्दै आमा भन्नुहुन्छ, “अहिल्यै त कस्ता राम्रा चित्र बनाउँछ्यौ; भविष्यमा तिमी राम्रो चित्रकार बन्छ्यौ ।” अनि त के चाहियो ! प्राप्ती भोकप्यास बिर्सिएर चित्रकारितामा लाग्छिन् । विद्यालयमा पनि उनका चित्रकलाले प्रशंसा नै पाउँछन् । विद्यालयमा “आहा कति राम्रा चित्र !” भन्दै प्रशंसा गर्नेहरूमा प्राप्तीका साथी अनुस्का पन्त र सन्जल सिलवाल सबैभन्दा अगाडि हुन्छन् । त्यसमाथि चित्र बनाउन सिकाउने मिसले पनि प्रशंसा गरिदिँदा प्राप्ती झनै खुसी हुन्छिन् ।

खुसी खुसीमै प्राप्तीले धेरै चित्र बनाइन् । ती चित्र योङ पिकासोले पाटन म्युजियममा आयोजना गरेको चित्रकला प्रदर्शनीमा प्रदर्शन गरिए । दर्शकहरूले मन पनि पराए । तर, उनका चित्र बिकेनन् । त्यस बेला उनलाई साह्रै दुःख लाग्यो । झट्ट उनले आफैँलाई सम्झाइन्, “मैले अझ राम्रा चित्र बनाउनुपर्छ । म अझ राम्रा चित्र बनाउन सक्छु । अहिले त म सिकारु त हुँ नि । पछि राम्रा चित्र बनाउन सकिहाल्छु । त्यसपछि त मेरा चित्र पनि बिकिहाल्छन् नि ।” हो, त्यसपछि प्राप्तीले झन् झन् मिहिनेत गरेर अझ राम्रा चित्र बनाउन थालिन् । त्यसकै परिणामस्वरूप एक पटक योङ पिकासोले आयोजना गरेको चित्रकला प्रतियोगितामा उनी पुरस्कृत भइन् ।

चित्रकारिताका अतिरिक्त प्राप्तीलाई नाच्‍न र गाउन पनि मनलाग्छ । तर, नृत्य र गायन सिक्ने राम्रो अवसर उनले पाएकी छैनन् । त्यसैले पारिवारिक कार्यक्रममा नाचगान गरेर चित्त बुझाउने गरेकी छिन् । उनी भन्छिन्, “सिक्ने हो भने त राम्ररी नै नाचगान गर्न सक्छु; प्रतियोगितामा भाग लिन सक्छु ।”

प्राप्तीलाई भविष्यमा डक्टर र चित्रकार दुवै बन्न मन रहेछ । तर, दुवै बन्न सकिँदैन; कि चित्रकार कि त डक्टर मात्र बन्न सकिन्छ भन्ने लागेको रहेछ । कुराकानी गर्दै गएपछि उनले भनिन्, “मलाई चित्र बनाउन रमाइलो लाग्छ, चित्र बनाउन थालेपछि समय बितेको थाहा पाउँदिनँ । त्यसैले पनि म चित्रकार बन्न चाहन्छु । अनि डक्टर बनेर विरामीको सेवा गर्ने, पैसा कमाउने र खुसी भएर बस्ने रहर छ ।” प्राप्तीको लगनशीलता र आत्मविश्वास हेर्दा उनले पक्कै राम्रो गर्न सक्छिन् भन्ने देखिन्छ । भविष्यमा हामीले एउटा असल चित्रकार र डक्टरका रूपमा प्राप्ती कुँवरलाई देख्‍ने छौँ; भेट्ने छौँ । त्यसका लक्षणहरू अहिले नै देखिन थालिसकेका छन् ।