December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

पसिनाले नुहाइ देऊ

मसँग दुइटा स्वस्थ आँखा छन्
मलाई एउटा भए पुग्छ
दुनियाँको कालो सेतो हेर्न
तिमी एउटा आँखो लैजाऊ
र, कतै बेच
त्यसले मनपर्ने पजेरो किन ।

मसँग दुईटा नगनशील हाल छन्
एउटा भए
जिन्दगीको कविता लेख्‍न पुगिहाल्छ
एउटा हात तिमी लैजाऊ
र, कतै बेच
त्यसैले रङ्‍गीबिरङ्‍गी पहिरन किन । 

मसँग एकमुठी चोखो मुस्कान छ
बिक्ला कि कतै बजारमा लैजाऊ
र, बेच
सपनाको मिल्दो प्रेमिकालाई देऊ । 

मसँग एउटा खुसीको बिरुवा छ
जो मेरा छातीमा सप्रन सकेन
कुनै सौखिनले फूलबारीमा सजाउला कि !
लैजाऊ, बेच !
अनि, रहरलाग्दो आधुनिक सभ्यता किन ।

कतै नबिकेको
मसँग एक गाग्रो पसिना छ लैजाऊ
त्यस्ले शरीर नुहाईदेऊ सामान्तहरूको
बग्दाबग्दै पनि कहिल्यै नरित्तिएका
मसँग दुई थोपा आँसु छन्
तिनले सबै कुबुद्धिहरूलाई पखालिदेऊ ।

अझै लान्छौं भने भन
मुस्किलले जेगाईराखेको
मेरो शुद्ध अस्मिता छ
सम्पतिका नाउँमा मसँग
यही कविता छ लैजाऊ
देशको एउटा पुस्तकालयमा राखिदेऊ ।

मसँग आशीर्वादका लागि
मानवता सञ्‍चित छ
लगेर देऊ सबैलाई
र भनिदेऊ
नेपाल आमाको सपना चहिँ
अधुरै रहेछ भनेर !